विकासन्युज

बजार सामान्य अंकले ओरालो, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

काठमाडौं । बिहीबारको सेयर बजार सामान्य ०.५९ अंकले ओरालो लागेर १५२० अंकमा अडेको छ । बजारमा ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीको १४ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७२ रुपैयाँ रहेको छ । सामान्य अंकले ओरालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सको सेयर मूल्य क्रमशः ९.७६ र ९.७४ प्रतिशतले बढेको छ । बिहीबार होटल समूहको परिसूचक सबैभन्दा बढी २७ अंकले राताम्मे भएको छ । त्यस्तै, हाइड्रोपावर र बीमा समूहको परिसूचक क्रमशः २३ र २० अंकले राताम्मे भएका छन् । उता, अन्य समूहको परिसूचक भने १३ अंकले उकालो लागेको छ ।

साँसद नवराज सिलवाललाई कार्वाही गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले साँसद नवराज सिल्वालले तत्कालिन प्रहरी नायव महानिरिक्षक (डीआईजी) हुदा बुझाएको विवरण त्रुटीपुर्ण भएको ठहर गर्दे थप अनुसन्धान गरी कार्वाही गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले त्रुटी देखिएको भन्दै कार्वाहीका लागि आदेश दिएको हो । सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद हुन् । सर्वोच्चले सिलवालको बढुवा विवाद सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण त्रुटिपूर्ण भएको ठहर गरेको हो । सर्वोच्चले लोकसेवा आयोग लगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन सिलवालले कसरी पाए ? भन्ने प्रश्न उठाउँदै सर्वोच्चले सो विवरण केरमेट गरी अदालतमा प्रस्तुत गरेको विषयमा अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको हो । गत भदौ २७ गते फैसला सुनाएको थियो । सोको पूर्णपाठमा सर्वोच्चले गोप्य रहने कार्यसम्पादन फरक पार्ने कार्यमा संलग्न सबैलाई अनुसन्धान गरी दोषीलाई कारबाही चलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतका नाममा आदेश जारी गरेको छ । फैसलाको पूर्णपाठमा सिलवालले आफू प्रहरी प्रमुख हुनका लागि नक्कली कार्यसम्पादन मूल्यांकन पेश गरेको ठहर गरिएको छ ।

अब बाबुराम भट्टराई पनि स्वतन्त्र, विवेकशिल साझाले सांसद नपाउने

काठमाडौं । कुनै बेला मुलुककै सबै भन्दा ठुलो राजनीतिक दलको दोश्रो बरियताको नेता हुँदै प्रधानमन्त्री बन्न सफल भएका डा. बाबुराम भट्टराई अब स्वतन्त्र सांसदमै सिमित भएका छन् । डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले समानुपातिक तर्फ ३ प्रतिशत मत नपाउने पक्का भएसँगै अब उनी स्वतन्त्र सांसदको हैसियत लिएर संसद भवन प्रवेश गर्नेछन् । स्वतन्त्र सांसदलाई संसदिय दलको कार्यालय, कर्मचारी र सवारी साधनको सुबिधा हुन्न । यस अघि एक सिटे दलहरुले पनि संसदिय दलको कार्यालय, कर्मचारी र सवारी साधनको सुबिधा प्राप्त गर्दै आएका थिए । प्रत्यक्ष तर्फ १ सिट र समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाउने दलले मात्रै दलिय हैसियतमा संसदमा प्रतिनिधित्व गर्न पाउँछन् । नयाँ शक्तिका संयोजक डा. भट्टराईले प्रत्यक्षमा निर्वाचन जितेको भएपनि उनको दलले ३ प्रतिशत मत भने ल्याउन नसक्ने स्पष्ट संकेत देखिएको छ । अब उनलाई व्यवस्थापिका संसदमा स्वतन्त्र सांसदको हैसियतमा व्यवहार गरिनेछ । बाबुरामसहित नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र राप्रपाका राजेन्द्र लिङदेन पनि स्वतन्त्र हैसियतकै सांसद हुनेछन् । यी सांसदको पार्टीहरुले पनि समानुपातिक तर्फ ३ प्रतिशत मत पाउन नसक्ने स्पष्ट भैसकेको छ । त्यस बाहेक माओवादी केन्द्रसँग बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका छक्क बहादुर लामा पनि स्वतन्त्र सांसद नै रहनेछन् । साँझ ५ः १५ बजेसम्म बिभिन्न राजनीतिक दलहरुले समानुपातिक तर्फ प्राप्त गरेको मतको विवरण उता, यस पटक राष्ट्रिय पार्टी, अर्काे पटक देशको नेतृत्व भन्दै चुनावमा होमिएको विवेकशिल साझा पार्टीले भने संसदमा प्रतिनिधित्व नै गर्न नपाउने भएको छ । विवेकशिल पार्टीले प्रत्यक्ष तर्फ पनि सिट जित्न सकेन भने समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन् । एमाले, काँग्रेस, माओवादी, संघिय फोरम र राजपाले मात्रै थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाउने अवस्था सृजना भएको छ ।

महालक्ष्मी विकास बैंकको ७०औँ शाखा दार्चुलाको गोकुलेश्वरमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ७०औँ शाखा दार्चुलाको गोकुलेश्वरमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखा विस्तार गरि बिहिबारदेखि सञ्चालनमा ल्याएकाे हाे । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ७० पुगेको छ भने बैंकको एटिएम संख्या ३५ रहेको छ । यस बैंकले गत कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

लक्ष्मी बैंकको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ८ अर्ब नाघ्यो

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाले कम्पनीको संचालक समितिको सो प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । उक्त सभाबाट पारित बोनस सेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकले आ.व. २०७३/७४ मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि आवमा बैंकले १ अर्ब रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गरेको छ ।

कुपोषणले आउँदो वर्ष ४ लाख बालबालिकाको मृत्यु हुने चेतावनी

संयुक्त राष्ट्रसङ्घ । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले आउँदो वर्ष सन् २०१८ मा मात्रै कङ्गोमा ४ लाख बालबालिकाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । कुपोषणको अवस्था अहिलेकै जस्तै रहे मृत्यु हुनेको संख्या भयावह हुनसक्ने युनिसेफले बुधबार चेतावनी दिएको हो । युनिसेफले आयोजना गरेको पत्रकार सम्मेलनमा सबैभन्दा धेरै कसाई क्षेत्रमा मृत्यु भएको पाइएको जानकारी दिइएको छ । विभिन्न खालका हिंसा, आम विस्थापन र न्यून गुणस्तरको कृषि उत्पादनका कारण गत १८ महिनाको अवधिमा ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको छ । ती ठाँउहरूमा सुरक्षाको अवस्था पनि कमजोर भएको, विस्थापित भएकाहरू आफ्नो गाँउघरतर्फ फर्किन लागेको र मानवअधिकारको अवस्था नाजुक रहेको अधिकारीहरूले बताएका छन् । ठूलो क्षेत्रमा धेरै जनामा खाद्य असुरक्षा देखिएको र आउँदो सन् २०१८ को जुनसम्ममा सुधार हुने अवस्था पनि देखिएको छैन । स्वास्थ्य सेवा खस्कीदै गएको, सबैलाई उपचार सेवा पु¥याउन गाह्रो भइरहेको र कुपोषण भएका बालबालिकालाई पर्याप्त हेरचाह हुन नपाएकाले मृत्यु हुनेको संख्या बढ्ने देखिएको युनिसेफको ठम्याई छ । रासस÷सिन्ह्वा

बाल्ट्राको नयाँ ईलेक्ट्रोनिक गिजर नेपाली बजारमा

काठमाडौं । जाडोको मौसमसँगै बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राका नयाँ ग्याँस तथा ईलेक्ट्रोनिक गिजरहरु नेपाली बजारमा भित्र्याएको छ । नवीनतम प्रविधिको प्रयोग गरी बनाइएको यस ग्याँस गिजरमा ठूलो एलसिडि तापक्रम डिस्प्ले का साथै ‘लो अक्सिजन प्रोटेक्सन डिभाइस’ को प्रयोग गरिएको छ । त्यसैगरी, बाल्ट्राले ‘ओसियन’, ‘म्याक्रो’ तथा ‘स्वेल्टर’ नामका ईलेक्ट्रोनिक गिजरहरु पनि नेपाली बजारमा भित्राएको छ । सुरक्षित, थर्मो स्टाट, ग्लास लाईन कोटिङ्ग प्रविधि, तापक्रम डिस्प्ले जस्ता अन्य धेरै विशेषता रहेको यस ग्याँस तथा ईलेक्ट्रोनिक गिजरहरु १ लिटर देखि ५० लिटर मा उपलब्ध छ ।  

एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस र ६ लाख रुपैयाँ नगद लाभांश दिने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंसिर २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।