नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै
काठमाडौं । आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर सरकार चलाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना साथ भौतिक पूर्वाधारको विकास, ऊर्जा क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जडीबुटी क्षेत्रमा विशेष प्राथमिकता दिएर कार्यक्रम तयार पार्न लागेको हो । भावी विकासको खाकाको काममा संलग्न राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडा नियमित रुपमा भइरहेका ठूला र राष्ट्रिय रुपमा महत्वपूर्ण मानिएका आयोजनाका अलावा वाम गठबन्धनको सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिने बताउँछन् । गठबन्धनले आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेका आर्थिक समृद्धिका कार्यक्रमलाई अब बन्ने सरकारले कार्यान्वयन गर्ने जनाउँदै आएको छ । सरकारले चालु आवमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य प्रक्षेपण गरेको छ । आव २०७३/७४ मा ६.९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । यी लक्ष्य प्राप्ति हुने आधारबीच अब बन्ने सरकारले पनि भौतिक पूर्वाधार, ऊर्जा, कृषि तथा पर्यटनको क्षेत्रमा समेत विशेष ध्यान दिने गरी कार्ययोजना बनिरहेको डा खतिवडाले जानकारी दिए । पाँच वर्षको ‘म्याण्डेड’ सहित नयाँ सरकार गठन हुने भएकाले मुलुकमा लगानीको वातावरण सिर्जना हुने र त्यसले मुलुकमा स्रोत तथा साधन जुटाउने भन्दै अर्थ मन्त्रालयले पनि त्यसको गृहकार्य गरिरहेको छ । विगत २२ वर्षदेखिको काठमाडौंको सपनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना निकट भविष्यमै निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेर सबै साधन तथा स्रोतसमेत उपलब्ध गराएको थियो । सो आयोजनाको हाल करिब ७०० मिटर मात्रै सुरुङ खन्न बाँकी रहेको छ । एकाध दिनमै आयोजनाको सुरुङ निर्माण सम्पन्न हुनेछ भने वितरण लाइनको निर्माण पनि क्रमशः सम्पन्न हुने चरणमा पुगेको छ । विसं २०७५ को शुरुवातमै सो आयोजनाले काठमाडौंमा सहज रुपमा खानेपानी उपलब्ध गराउनेछ । यस्तै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासमेत आगामी मंसिरमा सम्पन्न हुनेछ । सो आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । निजी क्षेत्रले निर्माण गरिरहेका करिब तीन हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासमेत सम्पन्न हुनेछ । यस्तै चिलिमे जलविद्युत् कम्पनी निर्माण गरिहेका आयोजनासमेत सम्पन्न हुनेछन् । यो पृष्ठभूमिमा वाम गठबन्धनले पनि चुनावी घोषणापत्रमा आर्थिक समृद्धिका विषयलाई नै प्रमुख प्राथमिकता दिएका थिए । सिँचाइतर्फ रानी जमरा, कलरिया, भेरी बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजनासमेत एकाध वर्षमा सम्पन्न हुनेछन् । भेरी बबई डाइभर्सन आयोजनाबाट विद्युत् र सिँचाइ दुवै सुविधा प्राप्त हुने भएकाले त्यसबाट बर्दियामा करिब ४० हजार हेक्टरमा सिँचाइ सुविधा प्राप्त हुनेछ । सो कार्यका लागि कानुनी तथा संरचनात्मक परिवर्तन गर्नुपर्ने भन्दै मन्त्रालयले आवश्यक तयारी पनि शुरु गरेको जनाएको हो । यस्तै सरकारले विशेष प्राथमिकतामा राखेको गल्छी-त्रिशूली-रसुवागढी सडक निर्माण कार्यले समेत आगामी डेढ वर्षभित्र पूर्णता पाउनेछ । बेनी-जोमसोम-कोरला सडक, तातोपानी नाका प्रवेशको मार्ग पनि नयाँ ढंगले पुनः स्थापित हुने, किमाथांका र हिल्सा नाकाबाट पनि चिनियाँ बजार प्रवेश सहज बन्ने विश्वास वाम गठबन्धनले लिएको छ । यस्तै नेपाली सेनाले निर्माण शुरु गरेको काठमाडौँ तराई मधेश द्रुत मार्ग पनि आगामी पाँच वर्षभित्र सम्पन्न हुनेछ । सेनाले हाल सो मार्गमा प्रारम्भिक रुपमा निर्माण शुरु गरिसकेको छ । पोखरा विमानस्थल निर्माण सम्पन्न हुने र निजगढ विमानस्थल निर्माणले पनि एउटा गति लिने, हुलाकी राजमार्ग निर्माण सम्पन्न हुनेछ भने मध्यपहाडी लोकमार्गको निर्माण पनि क्रमशः सम्पन्न हुने चरणमा पुग्ने विश्वास लिइएको छ । गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन आगामी पाँच वर्षभित्र मुलुकको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा धेरै परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् । उनले विदेशिएका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्ने, निर्माण तथा पूर्वाधारको क्षेत्रमा पनि उल्लेख्य सफलता हासिल गर्ने लक्ष्यका साथ काम हुने बताए । गठबन्धनले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । यस्तै सूचना प्रविधिको अधिकतम विकास तथा विस्तार गर्ने, सबैजसो सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने लक्ष्यसमेत राखेको छ । गठबन्धनमा आबद्ध नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार आगामी पाँच वर्षभित्र जनताले अनुभव गर्ने गरी विकास र समृद्धिको अनुभव गर्न सक्नेछन् । निर्वाचनमा विजय हासिल गरेपछि उनले मतदातासँग भेट्ने क्रममा समेत आगामी पाँच वर्षभित्र आर्थिक समृद्धि, भौतिक पूर्वाधारको विकास तथा ऊर्जाको क्षेत्रमा महत्वपूर्ण प्रगति हुने बताएका छन् । हाल रेल विभागले निर्माण गरिरहेको जनकपुर-बिजलपुरा खण्डमा रेल सञ्चालनमा आउने, बर्दिबास–लालबन्दी हुँदै सिमरासम्मको रेल मार्ग तयार हुने, पूर्व र पश्चिमको रेलमार्ग निर्माणले गति लिनेसमेत विश्वास लिइएको छ । विभाग मातहत नै रहेको केरुङ-काठमाडौं विद्युतीय रेलमार्गको अध्ययन सम्पन्न भई निर्माण शुरु हुनेछ । गत वर्ष ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सामान्य प्रयास गर्दा देशभर नै विद्युत्भार कटौतीको अन्त्य गर्न सकिएजस्तै वाम गठबन्धनको सरकारले भौतिक पूर्वाधार तथा ऊर्जाको क्षेत्रमा समेत महत्वपूर्ण विकास गर्ने लक्ष्य लिएको छ । रासस
३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ
धादिङ । लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए । साना–साना २२ वटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले सोही गाडी चालक पर्सा जिल्ला कल्याणपुर गाउँपालिका वडा नं ४ का २७ वर्षीय हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको छ । आरोपी महतोलाई लागुऔषध कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी उपरीक्षक राउतले जानकारी दिएका छन् । गाँजा बोक्ने गाडी र आरोपी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
नेप्सेको कारोबार समय थप, साझ ५ बजेसम्म खुल्ने
काठमाडौं । बिहीबारको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार समय दुई घण्टा थप गरिएको छ । बिहीबार २ घण्टा ढिलो बजार खुलेकाले अब साँझ ५ बजेसम्म कारोबार सुचारु हुने छ । बजार दिउँसो १ बजेदेखि मात्र खुलेको हो । बुधबार राति नेप्सेमा आगलागीका कारण प्रविधिक समस्या आएपछि आजको सेयर कारोबार ढिलो खुलेको हो । नेप्सेमा बुधबार राती भएको आगलागीले केही ठाउँमा क्षति पुगेका कारण सम्पूर्ण सर्भर नै डाउन गरेर राखिएको थियो ।
१ नम्बर प्रदेशको मुख्य मन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई
काठमाडौं । १ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि एमाले भित्र तेश्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ । पार्टी सचिव तथा प्रदेश इञ्चार्ज भिम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईले एक अर्कालाई अस्विकार गर्ने अवस्था सृजना भएपछि तेश्रो विकल्पका रुपमा युवा नेता राजेन्द्र राईको नाम अघि सारिएको हो । आचार्यलाई एमाले बरिष्ठ नेता झलनाथ खनालको सहयोग रहेको छ भने उनी प्रति माधव नेपालको पनि सहानुभूति रहेको बताइन्छ । तर शेरधन राईलाई एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्र मानिन्छ । त्यति मात्रै होइन शेरधनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आशिर्वाद प्राप्त छ । भिम आचार्य र शेरधन राईले एक अर्काको अस्थित्व अस्विकार गर्ने अवस्था बनेपछि मध्यमार्गी प्रस्तावका रुपमा राजेन्द्र राईको नाम अघि बढाउन लागिएको एमाले श्रोतले बतायो । उनले पनि विजयी भएपछि आयोजना गरिएको कार्यक्रमहरुमा आफु मुख्य मन्त्रीका लागि योग्य भएको र सफलता पुर्वक जिम्मेवारी सम्हाल्ने अभिव्यक्ति दिँदै आएका थिए । दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष सम्हालेका राई हाल एमाले केन्द्रिय सदस्य रहेका छन् । उनलाई एमाले भित्र वौद्धिक व्यक्तित्वका रुपमा हेरिन्छ । भोजपुरबाट प्रत्यक्ष निर्वाचन लडेर प्रदेश सभा सदस्यमा निर्वाचित भएका राईलाई मुख्य मन्त्री बनाउन माधव नेपालले बिशेष सहयोग गर्नेछन् भने पछिल्लो समय एमाले अध्यक्ष केपी समेत सकारात्मक बन्दै गएको बताइन्छ ।
प्रभु लाइफ इन्स्योरेन्सको कारोबार आजबाट शुरु, जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहिबार(आज)देखि कारोबार सुरु गरेको छ । उक्त कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले गरेका हुन् । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईँले सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताएका छन् । उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने दाबी गरेका छन् । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताएका छन् । भट्टचनले प्रभु जीवन बीमा कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन्। ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं। जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौँ’ उनले भने, अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित हामी आएका छौं।’ कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरेका छन् । सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताउँदै यसले बीमा बजार छुट्टै स्थान बनाउने बताएका छन् । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गर्ने निर्णय गरेको छ ।
वाणिज्य बैंकको विपन्न क्षेत्रमा १०१ अर्ब ५७ करोड लगानी
काठमाडौं । वाणिज्य बैंकहरुले विपन्न क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले कुल कर्जाको न्युनतम ५ प्रतिशत विपन्न क्षेत्रमा लगानी गर्नु पर्ने व्यवस्था गरेकोमा बैंकले ५.९४ प्रतिशत लगानी गरेका छन् । हालसम्म २८ वाणिज्य बैंकले विपन्न क्षेत्रमा मात्रै १ खर्ब १ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । साना तथा मझौला उद्योग र व्यावसायिक कृषि परियोजनाको धितोमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने १० लाख रुपैयाँसम्मको कर्जालाई समेत विपन्न वर्ग कर्जामा गणना गर्नेव्यवस्था मिलाइएको छ । यस व्यवस्था अन्तर्गत २०७४ असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुले प्रत्यक्ष रुपमा १.७४ प्रतिशत, अप्रत्यक्ष रुपमा ४ प्रतिशत र युवा स्वरोजगार कोष अन्तर्गतको ०.२० प्रतिशत लगानी समेत गरी कुल कर्जाको ५.९४ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । बैंकहरुले प्रत्यक्षतर्फ २९ अर्ब ७८ करोड, अप्रत्यक्षतर्फ ६८ अर्ब ३१ करोड र युवा स्वोरोजगार कोषअन्र्तगत ३ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको छ ।
व्यवसायीले ओलीलाई भने-समाजवाद उन्मुख अर्थतन्त्र स्वीकार गर्छौ
काठमाडौं । नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरुले समाजवाद उन्मुख अर्थतन्त्र स्विकार गर्ने घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवास बालकोटमा भेटेर उनीहरुले समाजवाद उन्मुख खुला बजार नीतिलाई स्विकार गर्ने बताएका हुन् । ‘राजनीतिक स्थायित्वको लागि बाम गठबन्धनको दुइ तिहाई नजिकको अत्यन्त सहज बहुमतले अब पाँच बर्षको लागि स्थायी सरकार बन्ने कुरामा हामी बिश्वस्त छौ । तपाइको नेतृत्वमा बन्ने नया सरकारले ‘समृद्धि र आर्थिक बिकासको‘ लागि निजिक्षेत्रको सहभागितामुलक सहयोग र साथ रहने बिश्वास दिलाउन चाहन्छौ ।’, नेपाल उद्योग बाणिज्य महासंघ पुर्व अध्यक्ष परिषदले एमाले अध्यक्षलाई भनेको छ । उनीहरुले एमाले अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारलाई पुर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुको टोलीले एमाले अध्यक्ष ओलीलाई भेटेर ओलीको नेतृत्वमा गठन हुने बामपन्थी सरकारसँग मिलेर देश विकासमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले निजिक्षेत्र सधै राज्यको समाबेशी अर्थतन्त्र, समाजबाद उन्मुख उदार बजार नीति र निजिक्षेत्र केन्द्रित सहभागिता मुलक आर्थिक विकासमा प्रतिवद्ध रहेको पनि बताएका थिए । उनीहरुले आर्थिक समृद्धि र विकासको सरकारी योजनामा सहयोग गर्ने बताउँदै सहकार्यका लागि प्रस्ताव समेत गरेका थिए । एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्य ज्योति, प्रदिपकुमार श्रष्ठ, रविभक्त श्रेष्ठ, विनाद बहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य पुगेका थिए । भेटमा एमाले अध्यक्ष ओलीले नयाँ सरकारले नीजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । ओलीले बापमन्थी सरकार अधिनायकवादी नहुने समेत प्रष्ट पारेका थिए ।
करिब एक अर्बको राजस्व असुली
रसुवा । उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि एक अर्ब रुपैयाँको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ । सरदरमा दैनिक एक करोड रुपैयाँ राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालु आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताए । भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ । रासस