२ साताभित्र भारतबाट छुट्दैछ पाइप, १ महिनापछि मोतिहारी-अमलेखगञ्ज पाइपलाइन निर्माण सुरु
काठमाडौं । दुई साताभित्र भारतले महाराष्ट्रबाट नेपालका लागि पाइप ढुवानी गर्ने भएको छ । नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने उद्येश्यले निर्माण हुनलागेको मोतिहारी-रक्सौल-अमलेखगञ्ज पाइपलाइन परियोजनाका लागि पाइप ल्याउन लागिएको हो । भारतको महाराष्ट्रमा करिब ४३ किलोमिटर लामो पाइप निर्माण भइसकेको नेपाल आयल निगमका प्राविधिक विज्ञ शरद पौडेलले जानकारी दिए । उनले विकासन्युजसँग कुरा गर्दै भने, ‘प्राप्त जानकारी अनुसार पाइप निर्माण कार्य सम्पन्न भइसकेको छ । अब दुई हप्ताभित्रै महाराष्ट्रबाट पाइप ‘सिफ्ट’ हुने कुरा जानकारीमा आएको छ ।’ सम्भवत: पाइप भारतको महाराष्ट्रबाट पटनादेखि सिभान हुँदै मोतीहारीसम्म आइपुग्ने उनले बताए । भारतीय आयल निगमले गत अक्टोबरमा नै टेण्डरबाट पाइप निर्माण कार्य सुरु गरेको थियो । उनले भने, ‘पाइप कुन रुटबाट आउने तय भइसकेको छैन। दुई साताभित्र रुट पनि तय हुनेछ ।’ नेपालको वीरगञ्जसम्म पाइप आइपुग्न करिब एक महिना लाग्ने अनुमान गरिएको छ । गत कात्तिकमा भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य डिसेम्बरदेखि अघि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)का अधिकारी सहमत भएको थियो । परियोजना निर्माण कार्य थाल्ने सहमति भएपछि नेपाली अधिकारी उत्साहित बनेका छन् । पाइपलाइन बिछ्याउने रुटको स्थलगत अध्ययनपछि आइओसीका प्राविधि टोली सकारात्मक देखिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । उनले भने, ‘आइओसीका टोलीका अनुसार पाइपलाइन निर्माणका लागि लोकेसन (स्थान) निकै उपयुक्त छ ।’ पाइपलाइन लम्बाइ ३७ किलोमिटर हुनेछ । ४ अर्ब २० करोड रुपैयाँ लागतमा यो परियोजना निर्माण गर्न लागिएको हो । त्यसमा भारतले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता छ । निगमले पाइप तथा अन्य सामग्री राख्नका लागि बिरगञ्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ । ३ विगाह क्षेत्रफलमा रहेको उक्त जग्गालाई मासिक २ लाख रुपैयाँ बुझाउने शर्तमा भाडामा लिइएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । सिमानादेखि अमलेखगञ्जसम्म पिलर निगमले भारतको सिमाना रक्सौल नाकादेखि अमलेखगञ्जसम्म पाइपलाइन बिछ्यानका लागि सडकको दायाँ-बायाँमा (राइट अफ वे) दिशानिर्देश गर्न पिलर गाड्ने काम पनि पुरा गरिसकेको छ । सडक विस्तारका क्रममा पाइपलाइन परियोजनालाई अवरोध पुग्नबाट रोक्न उक्त पिलर गाडिएको उनले जानकारी दिए । निगमले १५ * २५ * ७५ सेन्टीमिटर आकारका पिलर गाडिसकेको पौडेलले जानकारी दिए । उनका अनुसार त्रिभुवन राजपथको ८१ वटा घुम्ती र ६२ वटा मध्यवर्ती क्षेत्रमा पिलर गाड्ने काम सम्पन्न भइसकेको छ । सडकको केन्द्रबिन्दुदेखि १४.५ देखि १५ मिटर दुरीमा पिलर गाडएको छ । दुई सातामा नेपालका लागि पाइप छुटाउने तयारीमा वीरगञ्ज आइपुग्ने नेपाल आयल निगमले जनाएको छ । पौडेलका अनुसार पहिलो चरणमा पाइप निर्माणका लागि पटनादेखि सिभानसम्म पाइप आउनेछ । त्यसपछि सिभानबाट दुईवटा गन्तव्य- मोतीहारी र बेतानपुरमा पाइपको ढुवानी गरिने उनले बताए । भारतले नेपालसँगसँगै भारतको बेतानपुरमा पनि पेट्रोलियम पाइपलाइन निर्माण काम गरिरहेको छ । साइड क्लियरेन्समा ढिलाइ भारतबाट पाइपलाइन परियोजनाको तयारी अन्तिम चरणमा पुगिरहँदा नेपालमा साइड क्लियरेन्सको काम अझै बाकी रहेको छ । पेट्रोलियम पाइपलाइन बिछ्याउने क्रममा केहि भागमा रुख काट्नु पर्ने देखिएपछि ‘साइड क्लियरेन्स’को काममा अवरोध पुगेको छ । पाइपलाइन बिछ्याउनका अधिग्रहण गर्नुपर्ने स्थानमा रहेका रुखहरु काट्नका लागि निगमले बुझाएको वातावरणीय प्रभाव मूल्याकंन (इआइए) प्रतिवेदन वन मन्त्रालयले फिर्ता पठाएको छ । गत नोभेम्बरमा मन्त्रालयले प्रतिवेदनमा ‘अपुग’ देखिएका कुराहरु पुरा गर्न आपूर्ति मन्त्रालयलाई फिर्ता पठाएको हो । आपूर्ति मन्त्रालयले महत्त्वपूर्ण परियोजनालाई सघाउन तिव्र गतिबाट रुख काट्न वन मन्त्रालयलाई पत्राचार गरेको थियो । यद्दपी मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्न निर्देशन दिएको थियो । मन्त्रालयका उपसचिव प्रेम आचार्यले भने, ‘आपूर्तिले प्रारम्भिक चरणको प्रतिवेदन पेश गर्दा बन मन्त्रालयले केही कुरा अपुग भन्दै प्रतिवेदन फिर्ता पठाएको छ ।’ गत असोजमा इआइए सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो । पेट्रोलियम पाइपलाइनमा पर्ने रुख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिएको भट्टराईले बताए । राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बीचमा पर्ने करिब १३ हजार रुख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्त्रालयमा प्रस्ताव पठाएको थियो।
हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने, पुस १४ गतेदेखि बुक क्लोज
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने कम्पनी सञ्चालक समितिले निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई कम्पनीको आगामी पुस ३० गते हुन लागेको वार्षिका साधारणसभाले पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुँदै छ ।
एनबीआईले नबिल बैंकका कर्मचारीहरुलाई तालिम दिने
काठमाडौं । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एन.बी.आई) बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार आर्थिक वर्ष २०७४/७५ काे लागि एनबीआईले नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनीलकुमार खनाल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
सिटिजन्स बैंकले ल्यायो नयाँ मुद्दती योजना, वार्षिक ब्याजदर ९.५ प्रतिशत
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा उक्त योजना बजारमा ल्याएको हो । व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत वार्षिक ब्याजदर रहेको छ । साथै, यस योजनाबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ । बैंकका अनुसार १४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुने छ ।
राहुघाट जलविद्युत आयोजना कम्पनी मोडेलमा, आईपीओ निष्कासन गर्ने
काठमाडौं । प्रस्तावित ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजनाले आईपीओ निष्कासन गर्न रघुगंगा हाइड्रोपावर लिमिटेड स्थापना गरेको छ । कम्पनी रजिष्टारको कार्यालयमा रघुगंगा दर्ता भएको छ । पुस १ गतेदेखि कम्पनीको नामबाट कारोबार हुनेछ । आईपीओ निष्कासनका लागि राहुघाट कम्पनी प्रारुपमा निर्माण हुन लागेको आयोजना प्रमुख श्रीराम पाण्डेले बताए । कम्पनी स्थापना भएकाले आउदो केही महिनाभित्र आयोजना प्रभावित स्थानियबासिन्दा, नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी र सर्वसाधारणलाई गरी ३० प्रतिशतसम्म आईपीओ निष्कासनको प्रक्रिया थाल्ने उनले जानकारी दिए । आईपीओ निष्कासनका लागि आयोजनालाई कम्पनी मोडेलमा विकास गर्न लागिएको पाण्डेले स्पष्टपारे । भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियत ऋणमा निर्माण हुन लागेको राहुघाटमा हाल विद्युत प्राधिकरणको सत्प्रतिशत लगानी छ । आयोजना निर्माणको जिम्मेबारी भारतको जयप्रकास (जेपी) एसोसियट्स लिमिटेडले पाएको छ । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र जययप्रकाशबीच ठेक्का सम्झौता भइसकेको छ । काम सुरु गरेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो । आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । आयोजना ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको हो । आयोजनाको काम अगामी सन् २०२१ मा सम्पन्न हुने छ । एक्जिम बैंकले सहमति दिएपछि ठेकेदार परिचालन हुने छ । एक महिनाभित्र सहमति लिएर ढिलोमा माघदेखि ठेकेदार परिचालन गर्ने योजना कम्पनीको छ । इलेक्ट्रोमेकानिकल प्याकेजका लागि छिट्टै ग्लोबल टेण्डर हुदै छ । भारतको ऋण सहयोगमा आयोजना निर्माण हुन लागेको हो । भारतीय कम्पनीबीच प्रतिस्पर्धा गराइएको थियो । यस्तै इलेक्ट्रोमेकानिकल प्याकेज पनि भारतीयबीच नै प्रतिस्पर्धा हुने छ । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ । यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट प्राधिकरणले आयोजनाको काम अघि बढाएको हो । आरभीआरसीएलसंग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्क लगाइ निर्माण सुरु हुन लागेको हो । कार्यतालिकाअनुसार सम्झौताअनुसार आयोजना सन् २०७० सालमा आयोजनाको सकिनु पर्ने थियो । नदीको बहावमा आधारित छ । यसको संभाव्यताको अध्ययन सन् १९९८ मा भइ सन् २००८ मा संभाव्यताको अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरीसकेको छ । आयोजना म्याग्दीको पिप्ले, झी र डिगम गाविसमा पर्छ । जिल्लामा पर्ने सो आयोजना पोखरादेखि ८३ किलोमिटर टाढा रहेको छ । आयोजना वाग्लुङ जोमसोम राजमार्गको गलेश्वरमा रहेको छ । राहुघाट कालिगण्डकीको सहायक नदी हो । आयोजनाबाट उत्पादन हुने बिजुली २८ किलोमिटर लामो मोदीखोला सवस्टेशनमा ल्याएर राष्ट्रिय प्रशारणमा जोडिने छ ।
आरएसडीसी लघुवित्तको संस्थापक र साधारण सेयर लिलामी हुदै, पुस १८ गते अन्तिम दिन
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र साधारण सेयर लिलामी हुने भएको छ । संस्थाको संस्थापकर सर्वसाधारण समूह गरी कुल १ लाख ९५ हजार ७०७ कित्ता हकप्रंद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ १ लाख २ हजार ६८० र साधारण समूहको ९३ हजार २७ कित्ता रहेको छ । हकप्रद सेयर खरिदका लागि सिलबन्दी बोलपत्र पेश गर्ने मिति पुस ११ देखि १८ गतेसम्मलाई तोकिएको छ । संस्थाको चुक्तापुँजी बढाउन असोज २ देखि कात्तिक २० गतेसम्म बिक्री आब्हान गर्दा आवेदन नपरेपछि संस्थाले लिलामीबाट बिक्री गर्न लागेको हो ।
अब ‘डिजिटल सिग्नेचर’ बाटै भवन निर्माण इजाजत, १८ महिनाभित्र महानगर धुम्रपान मुक्त
काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतमा डिजिटल सिग्नेचर प्रणाली लागू गरेको छ । महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले शुक्रबार २३ औं महानगर दिवसका अवसरमा डिजिटल सिग्नेचर सिस्टम आजबाट लागू भएको घोषणा गरेका छन् । आगामी बैशाख १ गतेदेखि पूर्णरुपमा भवन निर्माण प्रक्रियालाई स्वचालित बनाइने शाक्यले बताए । उनले स्मार्ट काठमाडौं निर्माणको महत्वपुर्ण योजनाका रुपमा अनलाइनबाट नक्सा पास गर्ने व्यवस्था अघि सारेको समेत बताए । मेयर शाक्यले महानगरपालिकाका पाँच जना इञ्जिनियरहरुलाई अनलाइनबाटै घरको नक्सा पास गर्न सकिने प्राबिधिक प्रणालीको साचो हस्तान्तरण गरेका हुन् । अनलार्इनमार्फत नक्सापास हुने गरेपनि डिजिटल सिग्नेचर प्रणाली नहुँदा यसले पूर्णता पाउन सकेको थिएन । सुरुमा महानगरपालिकाले २०७० साल भदौ १६ गते काठमाडौं महानगरपालिका भित्रका सातवटा वडाहरुमा इबिपिएस लागु गरेको थियो। त्यसको एक वर्षपछि अरु थप सात वटा वडाहरुमा यो प्रकृया सुरु भएको थियो। अनलार्इन प्रक्रियाले वडा कार्यालयहरुको भवन निर्माण इजाजतलार्इ व्यवस्थित बनाउँदै सरकारले तोकेको भवन निर्माणका मापदण्ड कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने शाक्यले बताए । अनलार्इनमा भवन निर्माणका लागि आवश्यक मापदण्ड नपुगेका डिजाइनका नक्सालार्इ अस्विकार गर्ने प्रणालीको विकास गरिएको छ । के हो डिजिटल सिग्नेचर प्रणाली ? डिजिटल कागजातलाई कानुनी मान्यता दिन ‘हस्ताक्षर’ को रुपमा प्रयोग गरिने प्रविधिलाई डिजिटल सिग्नेचर प्रणाली भनिन्छ । यसले लिखित हस्ताक्षरको तुलनामा विश्वासिलो मान्यता प्रदान गर्दछ । यसलाई विद्युतीय हस्ताक्षर पनि भनिन्छ । धुम्रपान मुक्त शहर प्रमुख शाक्यले १८ महिनाभित्र काठमाडौं महानगरपालिकालाई धुम्रपान मुक्त बनाउने घोषणा पनि गरेका छन् । धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न महानगरले यस्तो निर्णय गरेको हो । शुक्रबारदेखि महानगरलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त शहर घोषणा गर्ने कार्यक्रम सुरु भएको शाक्यले जानकारी दिए । उक्त कार्यक्रम अन्तर्गत महानगरपालिकाले तिव्र अनुगमन, जनचेतनामुलक कार्यक्रमको आयोजना, सन्देशमूलक प्रकाशन तथा प्रशारण गरी १८ महिनाभित्र यो अभियान सम्पन्न गर्ने उनले जानकारी दिए । उनले भने, ‘महानगरवासीलाई स्वस्थ र निरोगी बनाउन जनचेतनामूलक एवं प्रवर्धनात्मक स्वास्थ्य सेवा प्रदान गर्नु हाम्रो दायित्व हो ।’
बोटलर्स नेपाल तराईको नाफा साढे २२ करोड
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बोटलर्स नेपाल तराई लिमिटेडको नाफा बढेको छ । गत असोजसम्म कम्पनीले २२ करोड ४३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बोटलर्सले १७ करोड ९८ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बोटलर्सले झण्डै ५ करोड रुपैयाँ खुदनाफा बढाएको छ । समीक्षा अवधिमा कम्पनीले विभिन्न ब्राण्डका पेयपदार्थ बिक्रि गरेर १ अर्ब ७२ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा उसले १ अर्ब २२ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवको तुलनामा यो आवमा बोटलर्सको आम्दानी झण्डै ५२ करोड रुपैयाँ बढेको कम्पनीले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमाशिक वित्तीय विवरणमा उल्लेख गरिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८५ रुपैयाँ छ ।