प्रतिनिधिसभा बैठकमा बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आज (आइतबार) को बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्नेछन् । त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । सभामुख डोलप्रसाद अर्यालले ती विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनेछन् ।
कक्षा १२ उर्तीण विद्यार्थी लक्षित एनसेल १२थ पास : द ग्लिच’ कार्यक्रम सम्पन्न
काठमाडौँ । ग्लोकलद्वारा प्रस्तुत र इम्बार्क कलेजले सञ्चालन गरेको एनसेल १२वेल्थ पास : द ग्लिचको पहिलो ब्याच सम्पन्न भएको छ । पहिलो ब्याच सिकाई रचनात्मकता, नवप्रवर्तन, र व्यक्तिगत विकासका तीन रूपान्तरणकारी दिनहरूपछि सफलतापूर्वक सम्पन्न भएको आयोजनकले जनाएको छ । यस बुटक्याम्पमा भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका ५० जना विद्यार्थीहरूलाई एकसाथ ल्याइएको थियो । जसले उनीहरूलाई वयस्क जीवन र व्यावसायिक यात्रामा प्रवेश गर्न मद्दत गर्ने उद्देश्यले गेमिफाइड (खेलमा आधारित) तरिकाबाट भविष्यका लागि आवश्यक सीप र व्यावहारिक अनुभवहरू प्रदान गरेको थियो । तीन दिने बुटक्याम्पलाई एक इमर्सिभ उडान योजनाको रूपमा डिजाइन गरिएको आयोजकको भनाई छ । आयोजकका अनुसार यसले सहभागीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई), व्यक्तिगत ब्रान्डिङ, सामग्री लेखन/सिर्जना, वित्तीय साक्षरता, सञ्चार, र करियर विकासमा आवश्यक क्षमताहरू प्रदान गरेको छ । पहिलो दिन चेक–इन र आइडेन्टिटी एभटार क्रिएसन कार्यक्रमको सुरुवात भएको थियो । जसमा सहभागीहरूले आफ्नो डिजिटल यात्राको सुरुवात स्वरूप आधिकारिक एनसेल सिम कार्ड र हाई–स्पीड डेटा प्याकहरू प्राप्त गरे । एआई नीति अनुसन्धानकर्ता तथा प्रशिक्षक चन्दन गुप्ताको नेतृत्वमा, सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, प्रम्प्ट इञ्जिनियरिङ, र डिजिटल पहिचान निर्माणको अन्वेषण गरे । नवीनतम एआई उपकरणहरूमार्फत, सहभागीहरूले आफ्नै एन्टी वायो विकास गरेर आफ्नो भविष्यको प्रतिनिधित्व गर्ने व्यावसायिक डिजिटल एभटारहरू सिर्जना गरे। पहिलो दिनको समापन प्रोफाइल शोकेससँगै भएको थियो, जहाँ सहभागीहरूले आफ्नो प्लेयर प्रोफाइलहरू प्रस्तुत गरे । दोस्रो दिन नीरज न्यौपानेको सहजीकरणमा डिजाइन थिङ्किङ, कन्टेन्ट क्रिएसन, र भिजुअल ब्रान्डिङमा केन्द्रित रहेको आयोजनकले जनाएको छ । आयोजका अनुसार सहभागीहरूले ‘एनसेल कनेक्टिभिटी च्यालेन्ज’ मा भाग लिएका थिए जहाँ टोलीहरूले क्यापकट र एआई–सहायता प्राप्त रचनात्मक उपकरणहरू प्रयोग गरेर सामग्रीहरू तयार गरे । सहभागीहरूले आफ्ना सिर्जनाहरू सामाजिक सञ्जालमा प्रदर्शन र प्रकाशित गरेका थिए । अन्तिम दिन सहभागीहरुले वित्तीय साक्षरता, बजेटिङ, पब्लिक स्पिकिङ (सार्वजनिक भाषण), र करियर योजनामा केन्द्रित थियो । ओजस्वी श्रेष्ठ र ग्लोकल टोलीको सहजीकरणमा सहभागीहरूले ‘द काठमाडौँ सर्भाइभर एण्ड प्लान ट्रिप टु बाली’ नामक एक अन्तरक्रियात्मक रोल–प्लेइङ चुनौतीमा भाग लिए । यसका साथै, सहभागीहरूले एनसेल एपमार्फत सुरागहरू पत्ता लगाउँदै ट्रेजर हन्ट (खजाना खोजी) खेल पनि खेलेका थिए । अन्तिम दिन करियर मार्गदर्शन सत्र र ग्लोकल टिन हिरो साउथ एसिया २०२६ को परिचय पनि गराइएको आयोजकले जनाएको छ ।
मेसीसहित ३ खेलाडीको ह्याट्रिक, भिनिसियस र एमबाप्पेको दमदार प्रदर्शन
काठमाडौं । उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका सम्पूर्ण खेलहरू सोमबार बिहान सकिएका छन् । यस पटकको समूह चरण रोमाञ्चक हुनुका साथै खेलाडीहरूको व्यक्तिगत कीर्तिमानका हिसाबले समेत ऐतिहासिक बनेको छ । समूह चरणका खेलहरू सकिँदासम्म अर्जेन्टिनाका कप्तान लियोनल मेसी, क्यानडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले ह्याट्रिक गर्न सफल भएका छन् । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका लागि यो विश्वकप अहिलेसम्म निकै सुखद र कीर्तिमानी सावित भएको छ । उनले समूह ‘जे’ को पहिलो खेलमै अल्जेरिया विरुद्ध उत्कृष्ट ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए । त्यसपछिको अस्ट्रिया विरुद्धको खेलमा थप दुई गोल गर्दै मेसी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बने । समूह चरणको तेस्रो खेलमा जोर्डन विरुद्ध बेन्चबाट मैदान छिरेर दोस्रो हाफमा गोल गर्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन् । यससँगै उनी विश्वकपका लगातार ७ खेलमा (सन् २०२२ का अन्तिम ४ खेल र २०२३ को समूह चरणका ३ खेल) गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । हाल ६ गोलसहित मेसी जारी विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा एकल रूपमा अगाडि रहँदै गोल्डेन बुटको मुख्य दाबेदार बनेका छन् । यसअघि दुई पटक विश्वकपको उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जिते पनि मेसीले हालसम्म गोल्डेन बुट भने जित्न सकेका छैनन् । मेसीबाहेक अन्य दुई खेलाडीले पनि समूह चरणमा आफ्नो नाममा ह्याट्रिक दर्ता गराएका छन् । क्यानडाका जोनाथान डेभिडले कतार विरुद्ध तथा फ्रान्सका उसमान डेम्बेलेले नर्वे विरुद्धको खेलमा ह्याट्रिक पूरा गरे । यतिबेला गोल्डेन बुटको रेसमा ६ गोल गरेका मेसीलाई ४-४ गोलसहित फ्रान्सका कप्तान किलियन एमबाप्पे, उसमान डेम्बेले, ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्डले पछ्याइरहेका छन् । नर्वेका हालान्डले सुरुवाती दुई खेलमा २-२ गोल गरे पनि फ्रान्स विरुद्धको अन्तिम खेल खेलेका थिएनन् । यता फ्रान्सका एमबाप्पेले पनि सुरुवाती दुई खेलमा गोल गरे पनि नर्वे विरुद्ध गोल गर्न सकेनन्, तर सोही खेलमा उनका सहकर्मी डेम्बेलेले ह्याट्रिक गरे । एमबाप्पेले ४ गोलका साथै दुई असिस्ट (गोल गर्न पास) समेत गरेकाले उनलाई गोल्डेन बुटको दौडमा थप फाइदा पुग्ने देखिन्छ । उनले सन् २०२२ को कतार विश्वकपमा फाइनलको ह्याट्रिकसहित ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यसैगरी, ब्राजिलका युवा स्टार भिनिसियस जुनियरले पनि यो विश्वकपमा सानदार प्रदर्शन गरिरहेका छन् । समूह चरणका तीनवटै खेलमा गोल गर्न सफल भएका उनी विश्वकप इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने पाँचौँ ब्राजिलियन खेलाडी बनेका छन् । साथै, उनी तीनवटै खेलमा ’प्लेअर अफ दि म्याच’ समेत घोषित भए । यी शीर्ष पाँच खेलाडीबाहेक जर्मनीका डेनिस उन्डाभले ’सुपर सब’ (वैकल्पिक खेलाडी) को रूपमा मैदान प्रवेश गर्दै ३ गोल र २ असिस्ट गरेर सबैको ध्यान तानेका छन् । त्यस्तै, स्वीडेनका अलेजान्डर इसाक जारी विश्वकपमा सर्वाधिक ३ असिस्ट गर्ने खेलाडी बन्दै समूह चरणको खेललाई बिट मारेका छन् ।
मेटलाइफले व्यतित जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने
काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा शत प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै सो छुट घोषणा गरेको हो । कम्पनीका अनुसार ग्राहकले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन् । पाँच वर्षभित्र व्यतित भएका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा शतप्रतिशत छुट यस योजनाको मूख्य विशेषता हुन् । त्यस्तै ग्राहकले पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा ७५ प्रशित छुट पाउनेछन् । यसका लागि वान बाई मेटलाइफ एप वा मेटलाइफको शाखा कार्यालयमार्फत सेवा उपलब्ध हुने छ । यो अवधि जुन १८ देखि जुलाई १६, २०२६ सम्म रहने छ । यस अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानामा बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनःसुरु गर्न सक्नेछन् । वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकहरूले शाखा कार्यालयमा उपस्थित नभई सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सक्ने कम्पनीले जनाएको छ । एपमार्फत पोलिसी पुनःसक्रिय गर्न ग्राहकहरूले एपमा लगइन गरी माई इन्सुरेस अन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि रेंस्तेट पोलिसी विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो अनुरोधको अवस्था पनि एपबाटै सहज रूपमा हेर्न सक्नेछन्, जसले बारम्बार जानकारी लिनुपर्ने आवश्यकता हटाउँछ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी ग्राहकहरूका लागि बीमा सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने दिशामा निरन्तर काम गरिरहेका छौं, वान बाई मेटलाइफ एपमार्फत पोलिसी पुनःसक्रिय गर्ने प्रक्रिया अहिले अझ छिटो, सजिलो र सुविधाजनक बनेको छ । हामी सबै ग्राहकहरूलाई यस विशेष अभियानको लाभ उठाई आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न अनुरोध गर्दछौं ।’
१४ सय भन्दा बढीको मृत्यु, ठूला पराकम्पन जारी
काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा विनाशकारी भूकम्पको शृंखला अझै रोकिएको छैन । बुधबार दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको केही दिन नबित्दै आइतबार फेरि ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार अरागुआ तटनजिक समुद्रमा केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीको सतहबाट करिब ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । यसअघि जुन २४ को साँझ केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलालाई हल्लाएका थिए । ती भूकम्पपछि लगातार परकम्प (आफ्टरशक) आइरहेका छन्, जसका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ । हालसम्म विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ४३० पुगेको छ । ३ हजार २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने हजारौं मानिस अझै सम्पर्कविहीन वा भग्नावशेषमा फसेको आशंकामा खोजी कार्य जारी छ । उद्धारमा स्वदेशी सुरक्षाकर्मीका साथै विभिन्न देशबाट पुगेका अन्तर्राष्ट्रिय टोलीसमेत परिचालित छन् । शनिबार पनि ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको एक दिनपछि फेरि ५.६ म्याग्निच्युडको धक्का महसुस भएपछि प्रभावित क्षेत्रमा त्रास कायमै रहेको छ । विज्ञहरूले शक्तिशाली भूकम्पपछिका परकम्प केही दिनदेखि केही सातासम्म जारी रहन सक्ने भएकाले क्षतिग्रस्त भवनबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण सुरु भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यपालिका अनुरूप तीन वटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यस प्रक्रियाको विस्तृत कार्यपालिका मन्त्रालयका आधिकारिक माध्यममार्फत सार्वजनिक गरिसकिएको छ । छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ । साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि पृथक विज्ञहरूको प्यानलको व्यवस्था गरिएको छ । पूर्वनिर्धारित कार्य तालिकाअनुसार भोलि सोमबार बाँकी दुई पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन हुने जनाइएको छ । यसअघि शनिवार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण सम्पन्न भएको थियो । यससँगै आठ वटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउनेछ, जसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई नयाँ उचाइतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।
आइतबार सुनको मूल्य ४ हजार ७ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य बढेको छ । लगातार दुईदिन बढ्ने क्रममा आइतबार सुन ४ हजार ७ सय रुपैयाँले महङ्गिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धिसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८३ जार ८ सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबारपनि सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो । यस्तै आज १० ग्राम सुनको भाउ पनि २ लाख ४३ हजार ३१५ रुपैयाँ कायम भएको छ । सुनसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ । चाँदी १४५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ ।
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
बलेवा । १० वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किनुभएका बागलुङ नगरपालिका–१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आएका छन् । स्वदेमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गरेको व्यवसायले उनलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ । शर्माको फार्ममा अहिले २५ वटा माउ गाई छन् भने केही साना बाच्छा र भैँसी पनि छन् । उनले गाउँमा दूध उत्पादन गरेर बागलुङ बजारमा बिक्री केन्द्र पनि सञ्चालन गरेका छन् । चार वर्ष साउदीअरेबिया बसेर फर्किएका जैमिनी नगरपालिका नगरपालिका–१ कुश्मीशेराका विकास पौडेलको गोठ पनि दुधालु गाईले भरिभराउ छ । व्यावसायिक दूध उत्पादक किसान बनेका उनको दम्पतीलाई अहिले दूधको उत्पादन र बिक्रीमा भ्याइनभ्याइ छ । पौडेल र शर्मा मात्रै होइन पछिल्लो समय विदेशका दुःख सम्झेर गाउँ फर्किने र विदेश जान नचाहने युवाहरू व्यावसायिक कृषि उत्पादनमा लाग्न थालेका छन् । विदेश जानुभन्दा स्वदेशमा बसेर आम्दानी गर्न सकिन्छ भनेर बागलुङका किसान व्यवसायिक पशुपालनमा लाग्न थालेका हुन् । गाईभैँँसी पाल्ने किसानलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अनुदान, उपचार र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि किसान थप हौसिएका छन् । बागलुङमा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ दूध उत्पादनमा आत्मनिर्भर बनेको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताएका छन् । व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र सङ्घीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रम किसानसँगै पुग्ने भएकाले दूधको उत्पादन पनि बढेको प्रमुख सापकोटाले बताए । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्याङ्क रहेको प्रमुख डा सापकोटाले बताउनुभयो । केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बिक्री गर्दैै आएका व्यापारी अहिले भने किसानको घरबाट सिधै खरिद गरी डेरी पसलमा ल्याउने गरेका छन् । जिल्लामा १५ वटा सहकारीबाट दूध बिक्री हुँदै आएको छ । यहाँका किसानले व्यक्तिगत, समूहगत र सहकारीमार्फत गाई, भैँसीपालन गरी दूध उत्पादन गर्दै आएका जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले बताए । बजारमा स्थानीय उत्पादनले पर्याप्त हुने गरेको उनको भनाइ छ । जिल्लाभर ८६ हजार ९२० भैँसी र २१ हजार ६६० गाईपालन भइरहेको केन्द्रका प्रमुख डा सापकोटाले जानकारी दिए । व्यावसायिक र घरायसी प्रयोजनलाई पालिएका पशुचौपायको समेत तथ्याङ्क निकालेर केन्द्रले दूधको उत्पादनको मूल्याङ्कन गर्दै आएको उनले बताए । केन्द्रका प्रमुख डा सापकोटाका अनुसार यहाँ मुर्रा, स्थानीय क्रस, जर्सी, होलस्टेन जातका गाईपालन हुँदै आएको छ । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस तथा परालको उपलब्धतालगायत कारणले किसानलाई पशुपालनमा व्यावसायिक बनाउन सहयोग पुगेको किसान विकास पौडेलले बताए । उनका अनुसार हाल बजारमा दूधको मूल्य थोकमा रु ७० देखि रु ९० तथा खुद्रा रु एक सयदेखि रु १२० सम्ममा बिक्री हुँदै आएको छ ।