मेसीसहित ३ खेलाडीको ह्याट्रिक, भिनिसियस र एमबाप्पेको दमदार प्रदर्शन

काठमाडौं । उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका सम्पूर्ण खेलहरू सोमबार बिहान सकिएका छन् । यस पटकको समूह चरण रोमाञ्चक हुनुका साथै खेलाडीहरूको व्यक्तिगत कीर्तिमानका हिसाबले समेत ऐतिहासिक बनेको छ ।

समूह चरणका खेलहरू सकिँदासम्म अर्जेन्टिनाका कप्तान लियोनल मेसी, क्यानडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले ह्याट्रिक गर्न सफल भएका छन् । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका लागि यो विश्वकप अहिलेसम्म निकै सुखद र कीर्तिमानी सावित भएको छ ।

उनले समूह ‘जे’ को पहिलो खेलमै अल्जेरिया विरुद्ध उत्कृष्ट ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए । त्यसपछिको अस्ट्रिया विरुद्धको खेलमा थप दुई गोल गर्दै मेसी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बने ।

समूह चरणको तेस्रो खेलमा जोर्डन विरुद्ध बेन्चबाट मैदान छिरेर दोस्रो हाफमा गोल गर्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्याएका छन् । यससँगै उनी विश्वकपका लगातार ७ खेलमा (सन् २०२२ का अन्तिम ४ खेल र २०२३ को समूह चरणका ३ खेल) गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

हाल ६ गोलसहित मेसी जारी विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा एकल रूपमा अगाडि रहँदै गोल्डेन बुटको मुख्य दाबेदार बनेका छन् । यसअघि दुई पटक विश्वकपको उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जिते पनि मेसीले हालसम्म गोल्डेन बुट भने जित्न सकेका छैनन् । मेसीबाहेक अन्य दुई खेलाडीले पनि समूह चरणमा आफ्नो नाममा ह्याट्रिक दर्ता गराएका छन् । 

क्यानडाका जोनाथान डेभिडले कतार विरुद्ध तथा फ्रान्सका उसमान डेम्बेलेले नर्वे विरुद्धको खेलमा ह्याट्रिक पूरा गरे । यतिबेला गोल्डेन बुटको रेसमा ६ गोल गरेका मेसीलाई ४-४ गोलसहित फ्रान्सका कप्तान किलियन एमबाप्पे, उसमान डेम्बेले, ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्डले पछ्याइरहेका छन् । 

नर्वेका हालान्डले सुरुवाती दुई खेलमा २-२ गोल गरे पनि फ्रान्स विरुद्धको अन्तिम खेल खेलेका थिएनन् । यता फ्रान्सका एमबाप्पेले पनि सुरुवाती दुई खेलमा गोल गरे पनि नर्वे विरुद्ध गोल गर्न सकेनन्, तर सोही खेलमा उनका सहकर्मी डेम्बेलेले ह्याट्रिक गरे । 

एमबाप्पेले ४ गोलका साथै दुई असिस्ट (गोल गर्न पास) समेत गरेकाले उनलाई गोल्डेन बुटको दौडमा थप फाइदा पुग्ने देखिन्छ । उनले सन् २०२२ को कतार विश्वकपमा फाइनलको ह्याट्रिकसहित ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

यसैगरी, ब्राजिलका युवा स्टार भिनिसियस जुनियरले पनि यो विश्वकपमा सानदार प्रदर्शन गरिरहेका छन् । समूह चरणका तीनवटै खेलमा गोल गर्न सफल भएका उनी विश्वकप इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने पाँचौँ ब्राजिलियन खेलाडी बनेका छन् ।

साथै, उनी तीनवटै खेलमा ’प्लेअर अफ दि म्याच’ समेत घोषित भए । यी शीर्ष पाँच खेलाडीबाहेक जर्मनीका डेनिस उन्डाभले ’सुपर सब’ (वैकल्पिक खेलाडी) को रूपमा मैदान प्रवेश गर्दै ३ गोल र २ असिस्ट गरेर सबैको ध्यान तानेका छन् । त्यस्तै, स्वीडेनका अलेजान्डर इसाक जारी विश्वकपमा सर्वाधिक ३ असिस्ट गर्ने खेलाडी बन्दै समूह चरणको खेललाई बिट मारेका छन् ।

Share News