विकासन्युज

प्रत्येक घरलाई ५० युनिट बिजुली निःशुल्क

काठमाडौं । सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि ५ प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो। मर्स्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने प्रस्ताव २१औँ गाउँसभाबाट पारित गरी लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत्को महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभाबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाका अनुसार पालिकाका नौवटै वडामा गरी चार हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब चार करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट प्राप्त रोयल्टीबाट उक्त युनिटसम्मको विद्युत्को महसुल गाउँपालिकाले तिर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए । यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठवटा विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसीसहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मर्स्याङ्दी बेँसी जलविद्युत्लगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीय सचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको ५० युनिटसम्मको निःशुल्क बिजुली सुविधाबाट गाउँपालिकाका ९० प्रतिशत नागरिक लाभान्वित हुने बताए । उनका अनुसार गाउँपालिकाका अधिकांश नागरिकले मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरेका छन् । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छन् र बिजुलीको प्रयोग पनि कम भएकाले उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि विद्युत् महसुल तिर्नु नपर्ने अवस्था रहनेछ । हालै सम्पन्न मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा बैठकले आव २०८३/८४ का लागि ६८ करोड ७३ लाख १८ हजार ५०० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका अनुसार यहाँ १८ हजार ७५९ जनसङ्ख्या रहेको छ । ५० युनिटसम्म बिजुली निःशुल्क गर्ने निर्णयपछि स्थानीय हर्षित भएका छन् ।

नेरुडे मिर्मिरे लघुवित्तका दुई सञ्चालकले दिए राजीनामा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका दुई जना सञ्चालकले पदबाट राजीनामा दिएका छन् । कम्पनी सचिव राजेश श्रेष्ठका अनुसार सञ्चालक मणिकुमार अज्र्याल  र सुधिरकुमार श्रेष्ठले दिएको राजीनामा असार १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । लघुवित्त स्रोतका अनुसार दुवैले राजीनामाको कारण स्वास्थ्य अवस्था उल्लेख गरे पनि अन्य सञ्चालकसँगको मतभेदका कारण उनीहरूले पद त्यागेको बताइएको छ ।

भूपेन्द्र खत्रीको कमान्डमा रहेको लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठको कार्यसम्पादन मूल्याङ्कन (रिपोर्ट कार्ड) अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ । वैशाख महिनामा पनि पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश प्रहरीले जेठमा समेत उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा परिणाममुखी, नागरिकमैत्री तथा प्रविधिमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिइएको, मातहतका प्रहरी कार्यालयको नियमित अनुगमन, समीक्षा र समन्वयलाई प्रभावकारी बनाइएको तथा अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, अवैध तस्करी नियन्त्रण, समुदाय-प्रहरी साझेदारी र सेवा प्रवाहमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो । डिआइजी खत्रीले प्रदेशभर शान्तिसुरक्षा सुदृढ बनाउन आफू नियमित रूपमा जिल्ला, इलाका, प्रहरी चौकी तथा सीमा क्षेत्रको निरीक्षणमा जाने, प्रहरी कर्मचारी तथा स्थानीय नागरिकका गुनासा प्रत्यक्ष सुन्ने र समस्याको तत्काल समाधानमा जोड दिँदै आएको बताए ।  उनले नागरिकको विश्वासलाई केन्द्रमा राखेर व्यावसायिक, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माणलाई प्राथमिकतामा राखिएकाले त्यसको सकारात्मक परिणाम कार्यसम्पादन मूल्याङ्कनमा देखिएको उल्लेख गरे । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उज्ज्वल खड्काले लुम्बिनी प्रदेश प्रहरीले चैत, वैशाख र जेठ महिनामा निरन्तर उत्कृष्ट कार्यसम्पादन गर्दै देशकै प्रथम स्थान कायम राख्न सफल भएको बताए ।  उनका अनुसार प्रदेशमा शान्तिसुरक्षा कायम गर्ने, लागूऔषध नियन्त्रण, अपराध अनुसन्धान, अवैध भन्सार तथा राजस्व चुहावट नियन्त्रण, नागरिकमैत्री सेवा विस्तार र सङ्गठनात्मक सुधारलगायतका सूचकको मूल्याङ्कनका आधारमा नेपाल प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेश प्रहरीलाई पहिलो स्थान प्रदान गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय  हेक्कफर सेफ्टी, लुम्बिनी पिस वाक, साइबर अपराध, लागूऔषध दुव्र्यसन, सडक सुरक्षा तथा ‘डिजिटल’ सुरक्षासम्बन्धी समुदायस्तरीय सचेतना कार्यक्रम सञ्चालन गर्नाका साथै प्रविधिमा आधारित प्रहरी सेवाको विस्तारलाई पनि प्राथमिकता दिएको जनाएको छ । कार्यालयले आगामी दिनमा पनि शान्तिसुरक्षा, सुशासन, अपराध नियन्त्रण तथा नागरिकको विश्वास अभिवृद्धि गर्दै आधुनिक, व्यावसायिक र उत्तरदायी प्रहरी सेवाको विकासमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

देशभर मनसुन सक्रिय हुँदै, सोमबार भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी गतिविधि क्रमशः सक्रिय बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन वर्षाको मात्रा बढ्दै जाने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।  विभागका अनुसार शनिबारको तुलनामा आइतबार वर्षा थप बढ्नेछ भने सोमबार अझ सक्रिय हुने अनुमान गरिएको छ ।  विशेषगरी असार १५ गते राति कोसी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ भने मधेस प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । विभागले कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  हाल कोसी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकीका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।  गण्डकी र लुम्बिनीका बाँकी भूभाग, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा पनि आगामी तीन–चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ । विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी परे भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ ।  सम्भावित वर्षा र हावाहुरीका कारण पहिरो, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले विभागले आफ्नो पछिल्लो मौसम सूचना नियमित रूपमा हेर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घण्टामा २५ वटा विपद्का घटना भएको छ ।  प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बारामा खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ । उनले २५ वटा घटनामा झण्डै आधा १२ वटा घटना सर्पदंशका रहेको जानकारी दिए ।  उनका अनुसार सङ्खुवासभा, बारा, नवलपरासीपूर्व, कविपलवस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना भएको र ती घटनामा परेर १० जना घाइते भएका छन् ।       यस्तै, पहिरोले बझाङमा एक, जनावरको आक्रमणबाट दोलखामा एक, आगलागीबाट कास्कीमा एक जना घाइते भएका पनि उनले बताए ।  ती विपद्जन्य घटनाबाट कुल दुई लाख ७७ हजारको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । ती घटनामा परेर २२ वटा पशु चौपाया क्षति भएको जनाइएको छ ।

कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोडिए, धरौटी जफत

काठमाडौं । जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै कार्यालले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ मा सम्झौता भएका कालिकोटका १२, जुम्लाका तीन र मुगु जिल्लाका एक वटा सडक डिभिजन कार्यालयका मातहतका जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिंहको भनाइ छ ।  ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागिपरेको छ । विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराले बताए । कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नाका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने कार्यालय प्रमुख महतराको भनाइ छ ।  यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सडकका १० वटा रुग्ण आयोजनाका ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

माल्दिभ्स, मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार प्रहरीले बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरीलाई पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये गगन बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै चार जनाबाट चार लाख ३० हजार रुपैयाँ, निर्जलले मलेसिया पठाइदिन्छु भन्दै एकजनाबाट तीन लाख ९० हजार रुपैयाँ र बल बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख  लिई सम्पर्कविहीन भएको पाइएको छ ।   पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं र ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउमध्ये गगन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने निर्जल र बल बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी इलाम देऊमाई नगरपालिका-२ का कृष्णकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत इलामबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं-१४ बल्खुबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ ।  

गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको निधन

काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको शनिबार भएको सवारी दुर्घटनामा निधन भएको छ । प्रहरीका अनुसार रानामगर आफैंले चलाएको लु प्रदेश १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा स्वर्गद्वारी नगरपालिका-२, बांगेसल्ला क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपप्रमुख रानामगरको असामयिक निधनले स्वर्गद्वारी नगरपालिकासहित जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ ।