विकासन्युज

१८ वर्षमुनिका ३५ हजारभन्दा बढीलाई सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको सार्वजनिक सदस्यता विवरणअनुसार १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना पार्टी सदस्य रहेको देखिएको दाबी गरिन्। ‘एउटा तथ्यांकले निकै गम्भीर र आश्चर्यचकित बनाएको छ। रास्वपाको सदस्यता सूची हेर्दा १८ वर्षमुनिका ३५ हजार २ सय ५७ जना सदस्य रहेको देखिन्छ। औपचारिक रूपमा सार्वजनिक भएको यो विषयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनिन्। उनले नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार १८ वर्ष नपुगेका व्यक्तिलाई कुनै पनि राजनीतिक दलको सदस्य बनाउन नपाइने व्यवस्था रहेको स्मरण गराइन्। काउँचाले कानुन उल्लंघन गर्ने व्यक्तिलाई जरिवाना र कैदसम्मको सजायको व्यवस्था रहेकाले रास्वपामाथि पनि समान रूपमा कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाइन्। ‘कानुनले यस्तो कार्यमा ८० हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था गरेको छ। के यो व्यवस्था रास्वपालाई लागू हुँदैनरु कि रास्वपा संविधान र कानुनभन्दा माथि छरु’ उनले प्रश्न गरिन्। उनले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने भन्दै सरकारले एकातिर विद्यार्थी राजनीति सीमित गर्ने र विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० लाई खारेज गर्ने तयारी गरिरहेको अवस्थामा अर्कोतर्फ आफ्नै दलमा बालबालिकालाई सदस्य बनाएको आरोप लगाइन्। ‘विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्ने सरकारको धारणा छ भने आफ्नै पार्टीको झोला बोकाउन कलिला विद्यार्थीलाई प्रयोग गर्न मिल्छ कि मिल्दैनरु’ भन्दै उनले सरकारसँग स्पष्ट जवाफ मागिन्। रास्वपाले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट अंक ल्याउने १६० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार कलेजले इन्जिनियरिङका विभिन्न विधा तथा आर्किटेक्चरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, शिक्षक प्रतिनिधि सदस्य प्रा.डा. सावित्री त्रिपाठी लगायतले विद्यार्थीहरुलाई प्रमाणपत्र, ट्रफी सहित सम्मान गरेको हो । सो अवसरमा बोल्दै प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरुले हासिल गरेको सफलता प्रति कलेज गौरवान्तिक भएको बताए । ‘तपाईहरुले गर्नुभएको मेहनत र प्राप्त गर्नुभएको सफलता प्रति कलेज गौरवान्तिक छ । तपाईहरुको सिकाईलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन हामी प्रतिबद्ध छौं ।’ प्राचार्य भण्डारीले भने । कार्यक्रममा पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा सर्वोत्कृष्ट हुने आर्किटेक्चरका ६५ जना,  सिभिल तथा सिभिल एण्ड रूलर इन्जिनियरिङका ३३ जना, कम्प्युटर इन्जिनियरिङका २२ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा इन्फरमेशन एण्ड कम्युनिकेशनका २० जना र विडिएच कार्यक्रमका २१ जनालाई सम्मान गरिएको छ । कलेजले पोखरा विश्वविद्यालयको सेमेष्टर परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रुपमा स्थापित यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकोत्तर तह सम्मको अध्ययन अध्यापन हुने गर्दछ । प्रयोगात्मक शिक्षण विधि, पूर्णकालिन शिक्षक शिक्षिका, सहरी कोलाहल भन्दा टाढा शान्त तथा हरियाली क्षेत्रमा रहेको यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले समेत स्थायी मान्यता दिएको हुनाले इन्जिनियरिङ शिक्षा हासिल गर्न विद्यार्थीहरुको घुईचो लाग्दछ । साथै, प्रत्येक वर्ष कलेजले जेहेन्दार, अनुशासित विद्यार्थीहरुलाई १५ करोड भन्दा बढीको छात्रवृत्ति समेत प्रदान गर्ने गरेकोले विद्यार्थीहरुको आकषर्ण छ । शैक्षिक सत्र २०२६ का लागि कलेजले यही असार २५ गते प्रवेश परीक्षा सञ्चालन गर्दैछ । यस कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन र विडिएच कार्यक्रममा पठनपाठन हुन्छ ।  

नेपाल टेलिकमको मासिक प्याकेज अब स्वतः नवीकरण हुने

काठमाडाै‌‌‌ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ‘सब्क्रिप्सन बेस मोडल’ अन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको छ । यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने आवश्यकता हटेको छ । सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटक देखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण टेलिकमले जनाएको छ ।  टेलिकमले यसका लागि ३० दिन समयावधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ । यस अन्तर्गत रु. २९९ मा ‘नमस्ते रिकरिङ २९९’ प्याक उपलब्ध हुनेछ । यसमा ३०० मिनेट सबै नेटवर्कमा कल गर्न सकिने अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने चार जीबी डाटा र राती ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने दुई जीबी नाइट डाटा तथा कम्पनीको नेटवर्कमा मात्र पठाउन सकिने २० वटा अन–नेट एसएमएस उपलब्ध हुनेछन् । त्यसैगरी रु. ४९९ मा ‘नमस्ते रिकरिङ ४९९’ प्याक उपलब्ध हुनेछ । यसमा ५०० मिनेट अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने आठ जीबी डाटा र राती ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने चार जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन सकिने १०० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछन् ।  ७९९ रुपैयाँमा ‘नमस्ते रिकरिङ ७९९’ प्याक उपलब्ध हुनेछ । यसमा सबै नेटवर्कमा असीमित रुपमा कल गर्न सकिने सुविधा भएको अल–नेट भ्वाइस, प्रतिदिन प्रयोग गर्न सकिने १० जीबी अर्थात मासिक ३०० जीबी डाटा र ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछन् ।  यसैगरी उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकता अनुसार एड–अन प्याकेज समेत उपलब्ध गराइने छ । सो प्याकेज अन्तर्गत रु. ३० मा १ दिनका लागि १ जीबी, रु. ५० मा ३ दिनका लागि २ जीबी र रु. ९९ मा ७ दिनका लागि ४ जीबी डाटा उपलब्ध हुनेछ ।  सेवाग्राहीले  *1415# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याकेज खरिद गर्न सक्नेछन् ।

प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।   सभाको आजको बैठकको सुरुमा विपक्षी दलका सांसद आफ्ना आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई आफ्ना धारणा सदनमा प्रस्तुत गर्न समय दिएका थिए । नेपाली कांग्रेसका रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने विषयहरु पार्टीको महाधिवेशनमा प्रस्तुत हुनुले सदनको गरिमा घटाएको आरोप लगाए ।    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा. पुष्पराज कँडेलले पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्नेमा जोड दिँदै सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पार्नुपर्ने बताए ।  उनले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रही भएर पक्राउ गरेको आरोप लगाए ।  नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयास परिलक्षित हुनुपर्नेमा जोड दिए ।  उनले प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति विमति जनाए ।   श्रम संस्कृति पार्टीका आरेन राईले राष्ट्रियतासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले सदनमा उपस्थित भएर स्पष्ट पार्नुपर्ने माग गरे ।

प्रतिनिधिसभा बैठकमा बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आज (आइतबार) को बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्नेछन् ।  त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । सभामुख डोलप्रसाद अर्यालले ती विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनेछन् ।   

कक्षा १२ उर्तीण विद्यार्थी लक्षित एनसेल १२थ पास : द ग्लिच’ कार्यक्रम सम्पन्न

काठमाडौँ  । ग्लोकलद्वारा प्रस्तुत र इम्बार्क कलेजले सञ्चालन गरेको एनसेल १२वेल्थ पास : द ग्लिचको पहिलो ब्याच सम्पन्न भएको छ  । पहिलो ब्याच सिकाई रचनात्मकता, नवप्रवर्तन, र व्यक्तिगत विकासका तीन रूपान्तरणकारी दिनहरूपछि सफलतापूर्वक सम्पन्न भएको आयोजनकले जनाएको छ । यस बुटक्याम्पमा भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका ५० जना विद्यार्थीहरूलाई एकसाथ ल्याइएको थियो । जसले उनीहरूलाई वयस्क जीवन र व्यावसायिक यात्रामा प्रवेश गर्न मद्दत गर्ने उद्देश्यले गेमिफाइड (खेलमा आधारित) तरिकाबाट भविष्यका लागि आवश्यक सीप र व्यावहारिक अनुभवहरू प्रदान गरेको थियो । तीन दिने बुटक्याम्पलाई एक इमर्सिभ उडान योजनाको रूपमा डिजाइन गरिएको आयोजकको भनाई छ । आयोजकका अनुसार यसले  सहभागीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई), व्यक्तिगत ब्रान्डिङ, सामग्री लेखन/सिर्जना, वित्तीय साक्षरता, सञ्चार, र करियर विकासमा आवश्यक क्षमताहरू प्रदान गरेको छ ।  पहिलो दिन चेक–इन र आइडेन्टिटी एभटार क्रिएसन कार्यक्रमको सुरुवात  भएको थियो । जसमा सहभागीहरूले आफ्नो डिजिटल यात्राको सुरुवात स्वरूप आधिकारिक एनसेल सिम कार्ड र हाई–स्पीड डेटा प्याकहरू प्राप्त गरे । एआई नीति अनुसन्धानकर्ता तथा प्रशिक्षक चन्दन गुप्ताको नेतृत्वमा, सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, प्रम्प्ट इञ्जिनियरिङ, र डिजिटल पहिचान निर्माणको अन्वेषण गरे ।  नवीनतम एआई उपकरणहरूमार्फत, सहभागीहरूले आफ्नै एन्टी वायो विकास गरेर आफ्नो भविष्यको प्रतिनिधित्व गर्ने व्यावसायिक डिजिटल एभटारहरू सिर्जना गरे। पहिलो दिनको समापन प्रोफाइल शोकेससँगै भएको थियो, जहाँ सहभागीहरूले आफ्नो प्लेयर प्रोफाइलहरू प्रस्तुत गरे ।   दोस्रो दिन नीरज न्यौपानेको सहजीकरणमा डिजाइन थिङ्किङ, कन्टेन्ट क्रिएसन, र भिजुअल ब्रान्डिङमा केन्द्रित रहेको आयोजनकले जनाएको छ । आयोजका अनुसार सहभागीहरूले ‘एनसेल कनेक्टिभिटी च्यालेन्ज’ मा भाग लिएका थिए जहाँ टोलीहरूले क्यापकट र एआई–सहायता प्राप्त रचनात्मक उपकरणहरू प्रयोग गरेर सामग्रीहरू तयार गरे । सहभागीहरूले आफ्ना सिर्जनाहरू सामाजिक सञ्जालमा प्रदर्शन र प्रकाशित गरेका थिए । अन्तिम दिन सहभागीहरुले वित्तीय साक्षरता, बजेटिङ, पब्लिक स्पिकिङ (सार्वजनिक भाषण), र करियर योजनामा केन्द्रित थियो । ओजस्वी श्रेष्ठ र ग्लोकल टोलीको सहजीकरणमा सहभागीहरूले ‘द काठमाडौँ सर्भाइभर एण्ड प्लान ट्रिप टु बाली’ नामक एक अन्तरक्रियात्मक रोल–प्लेइङ चुनौतीमा भाग लिए ।  यसका साथै, सहभागीहरूले एनसेल एपमार्फत सुरागहरू पत्ता लगाउँदै ट्रेजर हन्ट (खजाना खोजी) खेल पनि खेलेका थिए ।  अन्तिम दिन करियर मार्गदर्शन सत्र र ग्लोकल टिन हिरो साउथ एसिया २०२६  को परिचय पनि गराइएको आयोजकले जनाएको छ । 

मेसीसहित ३ खेलाडीको ह्याट्रिक, भिनिसियस र एमबाप्पेको दमदार प्रदर्शन

काठमाडौं । उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका सम्पूर्ण खेलहरू सोमबार बिहान सकिएका छन् । यस पटकको समूह चरण रोमाञ्चक हुनुका साथै खेलाडीहरूको व्यक्तिगत कीर्तिमानका हिसाबले समेत ऐतिहासिक बनेको छ । समूह चरणका खेलहरू सकिँदासम्म अर्जेन्टिनाका कप्तान लियोनल मेसी, क्यानडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले ह्याट्रिक गर्न सफल भएका छन् । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका लागि यो विश्वकप अहिलेसम्म निकै सुखद र कीर्तिमानी सावित भएको छ । उनले समूह ‘जे’ को पहिलो खेलमै अल्जेरिया विरुद्ध उत्कृष्ट ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए । त्यसपछिको अस्ट्रिया विरुद्धको खेलमा थप दुई गोल गर्दै मेसी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बने । समूह चरणको तेस्रो खेलमा जोर्डन विरुद्ध बेन्चबाट मैदान छिरेर दोस्रो हाफमा गोल गर्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्‍याएका छन् । यससँगै उनी विश्वकपका लगातार ७ खेलमा (सन् २०२२ का अन्तिम ४ खेल र २०२३ को समूह चरणका ३ खेल) गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । हाल ६ गोलसहित मेसी जारी विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा एकल रूपमा अगाडि रहँदै गोल्डेन बुटको मुख्य दाबेदार बनेका छन् । यसअघि दुई पटक विश्वकपको उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जिते पनि मेसीले हालसम्म गोल्डेन बुट भने जित्न सकेका छैनन् । मेसीबाहेक अन्य दुई खेलाडीले पनि समूह चरणमा आफ्नो नाममा ह्याट्रिक दर्ता गराएका छन् ।  क्यानडाका जोनाथान डेभिडले कतार विरुद्ध तथा फ्रान्सका उसमान डेम्बेलेले नर्वे विरुद्धको खेलमा ह्याट्रिक पूरा गरे । यतिबेला गोल्डेन बुटको रेसमा ६ गोल गरेका मेसीलाई ४-४ गोलसहित फ्रान्सका कप्तान किलियन एमबाप्पे, उसमान डेम्बेले, ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्डले पछ्याइरहेका छन् ।  नर्वेका हालान्डले सुरुवाती दुई खेलमा २-२ गोल गरे पनि फ्रान्स विरुद्धको अन्तिम खेल खेलेका थिएनन् । यता फ्रान्सका एमबाप्पेले पनि सुरुवाती दुई खेलमा गोल गरे पनि नर्वे विरुद्ध गोल गर्न सकेनन्, तर सोही खेलमा उनका सहकर्मी डेम्बेलेले ह्याट्रिक गरे ।  एमबाप्पेले ४ गोलका साथै दुई असिस्ट (गोल गर्न पास) समेत गरेकाले उनलाई गोल्डेन बुटको दौडमा थप फाइदा पुग्ने देखिन्छ । उनले सन् २०२२ को कतार विश्वकपमा फाइनलको ह्याट्रिकसहित ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यसैगरी, ब्राजिलका युवा स्टार भिनिसियस जुनियरले पनि यो विश्वकपमा सानदार प्रदर्शन गरिरहेका छन् । समूह चरणका तीनवटै खेलमा गोल गर्न सफल भएका उनी विश्वकप इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने पाँचौँ ब्राजिलियन खेलाडी बनेका छन् । साथै, उनी तीनवटै खेलमा ’प्लेअर अफ दि म्याच’ समेत घोषित भए । यी शीर्ष पाँच खेलाडीबाहेक जर्मनीका डेनिस उन्डाभले ’सुपर सब’ (वैकल्पिक खेलाडी) को रूपमा मैदान प्रवेश गर्दै ३ गोल र २ असिस्ट गरेर सबैको ध्यान तानेका छन् । त्यस्तै, स्वीडेनका अलेजान्डर इसाक जारी विश्वकपमा सर्वाधिक ३ असिस्ट गर्ने खेलाडी बन्दै समूह चरणको खेललाई बिट मारेका छन् ।

मेटलाइफले व्यतित जीवन बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा शत प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै सो छुट घोषणा गरेको हो । कम्पनीका अनुसार ग्राहकले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन् । पाँच वर्षभित्र व्यतित भएका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा शतप्रतिशत छुट यस योजनाको मूख्य विशेषता हुन् । त्यस्तै ग्राहकले पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा ७५ प्रशित छुट पाउनेछन् । यसका लागि  वान बाई मेटलाइफ एप वा मेटलाइफको शाखा कार्यालयमार्फत सेवा उपलब्ध हुने छ । यो अवधि जुन १८ देखि जुलाई १६, २०२६ सम्म रहने छ ।  यस अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानामा बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनःसुरु गर्न सक्नेछन् । वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकहरूले शाखा कार्यालयमा उपस्थित नभई सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सक्ने कम्पनीले जनाएको छ ।   एपमार्फत पोलिसी पुनःसक्रिय गर्न ग्राहकहरूले एपमा लगइन गरी माई इन्सुरेस अन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि रेंस्तेट पोलिसी विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो अनुरोधको अवस्था पनि एपबाटै सहज रूपमा हेर्न सक्नेछन्, जसले बारम्बार जानकारी लिनुपर्ने आवश्यकता हटाउँछ । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘हामी ग्राहकहरूका लागि बीमा सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने दिशामा निरन्तर काम गरिरहेका छौं, वान बाई मेटलाइफ एपमार्फत पोलिसी पुनःसक्रिय गर्ने प्रक्रिया अहिले अझ छिटो, सजिलो र सुविधाजनक बनेको छ । हामी सबै ग्राहकहरूलाई यस विशेष अभियानको लाभ उठाई आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न अनुरोध गर्दछौं ।’