विकासन्युज

एक हजार ५९२ सवारीसाधन कारबाही, २० लाख राजस्व संकलन

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको जानकारी दिए । यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारबाही गरेको प्रवक्ता सुवेदीले बताए । पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारीसाधनलाई तीव्र रुपमा कारबाही गर्दै आएको छ । 

अब पहुँचवालाको काठमाडौं बसाइ रोकिने, दुर्गममा कर्मचारी अनिवार्य खटाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्न कडा मापदण्ड ल्याएकी छन् । नार्कमा सुशासन कायम गर्न र मुलुकका विभिन्न भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन मन्त्री चौधरीले कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ कार्यान्वयनमा ल्याउने भएकी हुन् । यस मापदण्डले वर्षौंदेखि काठमाडौं केन्द्रित बस्दै आएका कर्मचारीको बसाइलाई अन्त्य गर्दै दुर्गम क्षेत्रका कार्यालयहरूमा समेत कर्मचारी खटाउने व्यवस्था गर्नेछ । मन्त्री चौधरीको यो निर्णयलाई नार्कमा देखिएको विकृति अन्त्य गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । वर्षौंदेखि नार्कमा राजनीतिक पहुँचका आधारमा केही कर्मचारी काठमाडौंमा मात्र बस्दै आएका छन् । केही कर्मचारी काठमाडौंबाट नियुक्ति लिई सोही स्थानबाट अवकाशसमेत पाउने गरेका छन् । तर, आगामी दिनमा भौगोलिक क्षेत्रको आवश्यकता अनुसार कर्मचारी खटाइने मन्त्री चौधरीको भनाइ छ । पहुँच नभएका कर्मचारी मात्र दुर्गममा नियुक्त भई त्यहीँबाट अवकाश हुने अवस्था अब रहने छैन । उनले भनिन्, ‘दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारीको चरम अभाव हुने र धेरै कर्मचारी काठमाडौं केन्द्रित मात्र हुने अवस्थाले संस्थाको अनुसन्धान कार्यमा गम्भीर विसंगति र असमानता सिर्जना गरेको छ । यसले नेपालको भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यसमेत प्रभावित भएको छ ।’ नयाँ मापदण्डअनुसार अब निश्चित समयावधिमा मात्र सरुवा हुने, समान भौगोलिक वर्गका कार्यालयबीच सरुवा नगर्ने र काठमाडौं केन्द्रित भएर मात्र कर्मचारी बस्न नपाउने व्यवस्था गरिएको छ । साथै, कार्यालय प्रमुखको जिम्मेवारी नेतृत्व क्षमता, कार्यसम्पादन, बेरुजु फछ्र्योट र लक्ष्य प्रगतिका आधारमा दिइनेछ । विभागीय कारबाहीको प्रक्रियामा रहेका कर्मचारीलाई प्रमुखको जिम्मेवारी नदिने (भएमा हटाउने) र पदअनुसार तथा वरिष्ठताका आधारमा मात्र जिम्मेवारी दिने व्यवस्था पनि मापदण्डमा समावेश गरिएको छ । साथै, अब नियुक्त हुने सबै कर्मचारीलाई काठमाडौँ बाहिरका रिक्त पदहरूमा पदस्थापन गरिने व्यवस्था पनि यस मापदण्डमा गरिएको छ । मन्त्री चौधरीले यस मापदण्डले नार्कमा देखिएका विकृतिहरूको अन्त्य गरी किसानको आवश्यकता अनुसारको अनुसन्धानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘यो मापदण्डले संस्थालाई नयाँ दिशा प्रदान गर्नुका साथै दुर्गम क्षेत्रसम्म अनुसन्धान सेवा पुर्याउन कर्मचारीलाई प्रतिबद्ध बनाउनेछ । अनुसन्धानका नतिजा किसानको खेतबारीसम्म पुर्याउनु नै हाम्रो मुख्य दायित्व हो ।’

अवैध आयात भएका साढे ३ करोडका सामान बरामद

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ । राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको हो ।  भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह अनुसार भन्सार कार्यालयले १५, प्रहरी कार्यालयले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच गरेको थियो ।  बरामद गरिएका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका सामग्री रहेका छन् । बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।  भन्सार कार्यालयका सूचना अधिकारी गैह्रेलेसुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा मूल्याङ्कन गरे पनि अन्तिम मूल्य भने खाद्य गुण नियन्त्रणसम्बन्धी परीक्षण, अन्तरराष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयका आधारमा कायम गरी बिक्रीयोग्य सामग्री लिलाम गरिने र खान अयोग्य वस्तु सम्बन्धित निकायका प्रतिनिधिको रोहवरमा नष्ट गरिने व्यवस्था रहेको बताए । जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार प्रहरीको गस्ती, सवारीसाधन जाँच तथा प्राप्त सूचनाका आधारमा भेटिएका सबै प्रकारका अवैध सामग्री नियन्त्रणमा लिएर तत्काल भन्सार कार्यालयमा बुझाउने कार्यलाई कडाइका साथ निरन्तरता दिइएको छ ।  यसैबीच, बिरामी ओसार्ने एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसारपसार गरिएको घटनामा आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्स चालकले गरेको र गैरकानुनी क्रियाकलाप गरेको भेटेपछि चालकलाई गत चैत ६ गते बेत्रावतीबाट रसुवा प्रहरीले पक्राउ गरेको थियो । कानुनी प्रक्रिया पूरा भएपछि चालकलाई धरौटीमा रिहा गरिएको गरी एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता बुझाइएको भन्सार कार्यालयले जनाएको छ ।  राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न सुरक्षा निकाय र भन्सार कार्यालयले संयुक्त अनुगमन तथा जाँचलाई थप प्रभावकारी बनाउँदै जाने भन्सार अधिकारीले बताएका छन् । 

प्राइम बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला, ६.२५ प्रतिशत ब्याज पाइने

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।  बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय असार ३० गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

खेर जाने केराबाट नयाँ क्रान्ति, चितवनमा बन्यो वाइन र ब्रान्डी

काठमाडौं । विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका-१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल भएका छन् । उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि उनले केराका बाइ-प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका हुन् । एक एण्ड बी केरा फार्ममार्फत करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका उनले हावाहुरी, बजार अभाव तथा अन्य प्राविधिक कारणले बोटमै कुहिने र खेर जाने केरालाई कच्चा पदार्थका रूपमा उपयोग गर्ने सोचका साथ मदिराजन्य पेय पदार्थ उत्पादनको परीक्षण थालेको बताए । कृषि विकास कार्यालय, भरतपुरको सहयोग, प्राविधिक उपकरण तथा प्रोत्साहनमा सञ्चालन गरिएको अनुसन्धानबाट केराको वाइन उत्पादन पूर्ण रूपमा सफल भएको छ भने ब्रान्डी उत्पादनसम्बन्धी अनुसन्धान सफल चरणमा पुगेको उनको भनाइ छ । उनका अनुसार एक पटकमा ५०० केजी पाकेको केरा प्रशोधन गर्दा करिब २०० लिटर वाइन उत्पादन गर्न सकिन्छ । त्यसैगरी, ३०० केजी केराबाट करिब १२० देखि १३० लिटर ब्रान्डी उत्पादन हुने गरेको छ । यो प्रविधि पूर्ण रूपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन प्रक्रियामा आधारित रहेको उनले बताए । सापकोटाले यस व्यवसायलाई ठूलो डिस्टिलरीका रूपमा नभई स्थानीयस्तरमै सञ्चालन हुने ‘माइक्रो-डिस्टिलरी’ (लघु मदिरा उद्योग) का रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले गण्डकी गाउँपालिका तथा खोटाङका स्थानीय तहहरूले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि स्थानीय कानुन तथा कार्यविधिमार्फत ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘हामी ठूलो डिस्टिलरी होइन, स्थानीय स्तरको माइक्रो-डिस्टिलरीका रूपमा दर्ता प्रक्रिया अगाडि बढाउँदैछौँ । गण्डकी गाउँपालिका वा खोटाङले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि ब्रान्डिङ गर्न सकियो भने यसले कृषि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ । चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो उत्कृष्ट चिनोसमेत बन्न सक्छ ।’ हाल परीक्षणका रूपमा करिब एक हजार जनालाई केराबाट उत्पादित पेय पदार्थ चखाइएकामा अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन तथा बजार विस्तार गर्ने तयारी भइरहेको सापकोटाले बताए । उनका अनुसार हाल परीक्षण चरणमा परिवारका सदस्यसहित उद्योग र बजार व्यवस्थापनमा प्रत्यक्ष रूपमा ८ देखि ९ जना संलग्न छन् । यसका साथै, केराका बहुउपयोगी परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले रत्ननगरको टाँडी बजारस्थित बकुलहर चोकमा छुट्टै आउटलेट सञ्चालनमा ल्याइएको छ । उक्त आउटलेटमा केराको मःमः, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली तथा अचारलगायतका विभिन्न परिकार उपलब्ध गराइएको छ, जसले स्थानीय उपभोक्ता तथा पर्यटकलाई आकर्षित गरिरहेको छ । सापकोटा भन्छन्, ‘धेरै वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउँदा बजारीकरण र प्राकृतिक विपत्तिका कारण ठूलो समस्या भोग्नुपर्यो । बारीमै पाकेर खेर जाने केरालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सोच्दै जाँदा यो अवधारणा विकसित भएको हो ।’ केरालाई विविधीकरण गरी चितवनको पहिचानका रूपमा स्थापित गर्ने तथा यसको व्यावसायिक विस्तारमार्फत स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य रहेको उनले बताए । 

सङ्खुवासभा पहिरोमा ७ परिवार विस्थापित, विद्यालय र सडकमा ठूलो क्षति

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले ७ परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ-१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् । शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ-१ तल्लो तेन्छोङका ७ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको ७ जनाको परिवार, मङ्गलबहादुर राईको छ जनाको विस्थापित भएको हो । त्यस्तै, सुकप्रसाद राईको ४ जनाको, मिरा राईको ५ जनाको धनमान राईको ३ जनाको र अरुणसङ्गम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताए । पहिरोबाट विस्थापित ७ परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ । बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घटना लगत्तै सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । उनका अनुसार थप क्षतिको विवरण सङ्कलन तथा अनुगमन भइरहेको छ । यसैबीच सिलिचोङ गाउँपालिकाले विज्ञप्ती जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बाढीपहिरोले विद्युत्, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएका छन् । सिलिचोङ-१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढीका कारण २ वटा विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए । बाढीपहिरोका कारण गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुनुका साथै केन्द्रीय विद्युत्, माइक्रोहाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित भएपछि सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको उनले बताए । अध्यक्ष मेवाहाङका अनुसार पहिरोले गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् । बाढीले स्थानीय दुई वटा माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ । माथिबाट खसेको पहिरोले  सिलिचोङ-१ नेवाटारको कालिका माध्यमिक विद्यालयमा क्षति पुगेको छ । विद्यालयको १५ वटा कक्षा कोठा चिराचिरा परेका छन् भने शैक्षिक सामग्रीसमेत क्षति भएका छन् । त्यसैगरी सिलिचोङ-४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ । पहिरोले विद्यालय भवन तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पुर्याएपछि २ विद्यालयको पठनपाठन रोकिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले जानकारी दिए । पहिरोको उच्च जोखिममा परेकाले विद्यालयलाई पूर्ण रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । बाढीपहिरो प्रभावित बस्तीको अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताए । उनका अनुसार सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको उच्च जोखिम भएपछि स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसेका छन् । स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको जनाउँदै निरन्तर वर्षा हुँदा सडक अवरुद्ध भएकाले राहत तथा उद्धार व्यवस्थापनमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ । 

अफ्रिकन स्वाइन फिभर फैलियो, २५० भन्दा बढी सुँगुरको मृत्यु

काठमाडौं । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेका छन् । दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका-६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् । त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उनले बताए । बाँकी अन्य किसानका फार्मका सुँगुर/बङ्गुर पनि सङ्क्रमणका कारण मरेका हुन् । अहिलेसम्मको तथ्याङ्कअनुसार गोरखा नगरपालिका-६, ७ र ८ तथा सहिद लखन गाउँपालिका-७ का फार्ममा रहेका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिएको कोइरालाले बताए । उनका अनुसार जिल्लामा यो रोगको सङ्क्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ । कार्यालय प्रमुख कोइरालाले भने, ‘अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ । त्यसैले सङ्क्रमण भएपछि सुँगुर/बङ्गुर मर्नु निश्चितजस्तै हुन्छ । सङ्क्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ ।’  उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो । ‘अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुर/बङ्गुर मरेका जानकारी आएका छन् । केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ,’ कोइरालाले भने ।  रोगबाट बच्न सङ्क्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन सुझाव दिए । किसान धनकुमार गुरुङका अनुसार सङ्क्रमण भएपछि सुँगुर/बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने तथा करिब एक साताभित्र मर्ने लक्षण देखिने गर्दछ ।

४ पटकको विश्वविजेता जर्मनीलाई पराजित गर्दै पाराग्वे अन्तिम १६ मा

काठमाडौं  । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणबाटै बाहिरिएको छ ।  बोस्टन स्टेडियममा सोमबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औँ मिनेटमा काइ हाभेर्ट्जले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न सकेनन् ।  अतिरिक्त समयमा जर्मनीले जोनाथन टाहमार्फत गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिदिएको थियो । उक्त निर्णय खेलको सबैभन्दा विवादास्पद क्षण बन्यो । पेनाल्टी सुटआउटमा र्मनीका काइ हाभेर्ट्ज, निक वोल्टेमाडे र जोनाथन टाह गोल गर्न असफल भए । पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले दुई महत्वपूर्ण पेनाल्टी बचाउँदै टोलीलाई ऐतिहासिक जित दिलाए । अन्तिम निर्णायक पेनाल्टी होसे कानालेले सफलतापूर्वक प्रहार गर्दै पाराग्वेको जित सुनिश्चित गरे । यो हारसँगै जर्मनी पहिलो पटक पुरुष विश्वकपको इतिहासमा पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अर्कोतर्फ, पाराग्वेले विश्व फुटबलकै एक ठूलो उलटफेर गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब पाराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।