काठमाडौं । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणबाटै बाहिरिएको छ ।
बोस्टन स्टेडियममा सोमबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औँ मिनेटमा काइ हाभेर्ट्जले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न सकेनन् ।
अतिरिक्त समयमा जर्मनीले जोनाथन टाहमार्फत गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिदिएको थियो । उक्त निर्णय खेलको सबैभन्दा विवादास्पद क्षण बन्यो ।
पेनाल्टी सुटआउटमा र्मनीका काइ हाभेर्ट्ज, निक वोल्टेमाडे र जोनाथन टाह गोल गर्न असफल भए । पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले दुई महत्वपूर्ण पेनाल्टी बचाउँदै टोलीलाई ऐतिहासिक जित दिलाए । अन्तिम निर्णायक पेनाल्टी होसे कानालेले सफलतापूर्वक प्रहार गर्दै पाराग्वेको जित सुनिश्चित गरे ।
यो हारसँगै जर्मनी पहिलो पटक पुरुष विश्वकपको इतिहासमा पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अर्कोतर्फ, पाराग्वेले विश्व फुटबलकै एक ठूलो उलटफेर गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
अब पाराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।