लुम्बिनीमा देउवा समूहको भेला, संगठन पुनर्जागरणको प्रयास
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि समानान्तर रूपमा सक्रिय रहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंगलबार लुम्बिनीमा समापन भेला गर्दैछ । पूर्व सभापति देउवाको नाममा संगठित कांग्रेसको एक समूहले सातै प्रदेशमा सञ्चालन गरेको प्रदेशस्तरीय भेलाको श्रृंखला मंगलबार लुम्बिनी प्रदेशमा सम्पन्न गर्न लागेको हो । दाङको लमहीमा हुने यो भेला उक्त समूहको अन्तिम प्रदेशस्तरीय कार्यक्रम हो । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको ध्रुवीकरण कम गर्दै संगठनलाई पुनः एकताबद्ध बनाउने उद्देश्यले देशव्यापी प्रदेश भेला सञ्चालन गरेको समूहले लुम्बिनी भेलालाई निष्कर्षात्मक कार्यक्रमका रूपमा लिएको छ । यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको लुम्बिनी प्रदेश भेला आज सम्पन्न हुन लागेको हो । कांग्रेस नेता दामोदर भुसालका अनुसार समूहले सातै प्रदेशमा भेला आयोजना गर्ने निर्णय तीन प्रमुख उद्देश्यका साथ गरेको थियो । उनका अनुसार पहिलो, पार्टीभित्र बृहत् एकताको वातावरण निर्माण गर्ने, दोस्रो विशेष महाधिवेशनका क्रममा संगठनको मूल प्रवाहबाट बाहिरिएका वा निराश बनेका नेता–कार्यकर्तालाई पुनः सक्रिय बनाउने, र तेस्रो, मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे साझा समीक्षा गर्दै आगामी रणनीति तय गर्ने । प्रदेश कार्यक्रम संयोजक गेहेन्द्र गिरीका अनुसार लुम्बिनीको भेलासँगै सातै प्रदेशमा तय गरिएका कार्यक्रम सम्पन्न हुनेछन् । उनका अनुसार भेलामा विशेष महाधिवेशनको पक्षमा नदेखिएका तथा पछिल्लो समय संगठनात्मक गतिविधिबाट टाढिएका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा उक्त समूहले गरेको छ । समूहका संरक्षक मानिएका पूर्व सभापति शेरबहादुर देउवा हाल विदेशमा उपचाररत रहेकाले कार्यक्रमको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । भेलामा नेता गुरु बराल, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौरलगायतका नेताले पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे धारणा राख्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा प्रभाव कमजोर बन्दै गएको संकेत कुनै समय लुम्बिनी प्रदेश देउवा समूहको सबैभन्दा उर्वर क्षेत्र मानिन्थ्यो । अहिले भने लुम्बिनी प्रदेशमा यो समूहको संगठनात्मक प्रभाव अघिल्ला वर्षहरूको तुलनामा कमजोर देखिएको छ। एक समय देउवा समूहसँग रहेका प्रदेशका प्रभावशाली नेताहरू क्रमशः संस्थापन पक्षतर्फ ढल्किएका छन् । कुनै समय देउवाकी दाहिने हात मानिएकी नेत्री पुष्पा भुसालले देउवाको साथ छोडेर विशेष महाधिवेशनबाट उपसभापति बनेकी छन् । त्यसैगरी देउवाका सारथी नै भनिने बालकृष्ण खाण पछिल्लो समय सभापति गगन थापाको नजिक देखिएका छन् । विनोद चौधरी, देवेन्द्रराज कँडेललगायतका नेताले पनि संस्थापन पक्षलाई नै साथ दिइरहेका छन् । यसले लुम्बिनीमा देउवा समूहको पुरानो शक्ति संरचनामा परिवर्तन आएको देखिन्छ। यही कारण आजको भेला केवल नियमित संगठनात्मक कार्यक्रम मात्र नभई विशेष महाधिवेशनपछि निराश र निष्क्रिय बनेका कार्यकर्तालाई पुनः सक्रिय बनाउने तथा समूहको राजनीतिक सन्देश स्पष्ट पार्ने प्रयासका रूपमा पनि हेरिएको नेताहरूले बताएका छन् । आगामी रणनीतितर्फ केन्द्रित सातै प्रदेशका भेला सम्पन्न भएसँगै समूहले अब ती भेलाबाट प्राप्त सुझाव, संगठनात्मक अवस्थाको समीक्षा तथा पार्टीभित्र आफ्नो भूमिकाबारे थप रणनीति तय गर्ने तयारी गरेको एक नेताले बताए । कांग्रेसभित्र एकताको सन्देश प्रवाह गर्ने र संगठनमा देखिएको विभाजनको मनोविज्ञान अन्त्य गर्ने उद्देश्य व्यक्त गरे पनि, प्रदेशका प्रभावशाली नेताहरूको संस्थापनतर्फको झुकावले यो समूहको आगामी राजनीतिक दिशालाई चुनौतीपूर्ण बनाएको विश्लेषण भइरहेको छ ।
पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणमा मोरक्कोले तीन पटकको उपविजेता नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १–१ को बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टीबाट भएको थियो । मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले ७२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेल सकिन केही क्षण मात्र बाँकी रहँदा इस्सा डियोपले उत्कृष्ट हेडरमार्फत बराबरी गोल फर्काउँदै मोरक्कोलाई खेलमा फर्काए । अतिरिक्त समयभर मोरक्कोले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले बचाउ गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म पुर्याएका थिए । पेनाल्टी सुटआउटमा मोरक्कोका नील एल आयनाउई, सुफियान रहिमी र चादी ताल्बीले गोल गरे । कप्तान अशरफ हाकिमीले पेनाल्टी चुकाए पनि त्यसले टोलीको जितमा असर पारेन । नेदरल्यान्ड्सका तर्फबाट ट्युन कुपमाइनर्स र वाउट वेघोर्स्टले मात्र गोल गर्न सके। जस्टिन क्लुइभर्ट, क्विन्टेन टिम्बर र क्रिसेन्सियो समरभिल पेनाल्टीमा असफल भए। यस जितसँगै मोरक्कोले विश्वकपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ । सन् २०२२ मा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले यसपटक पनि उपाधि दाबेदार टोलीलाई हराउँदै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ । बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइन्छ । ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रुपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरे। जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रुपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ । यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाइने निर्णय गरिएको थियो । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको जनाइएको थियो । रासस
प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद
लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० लाख ५० हजार रुपैयाँ बराबरको ‘आइफोन’ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारी बरामद गरिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीले एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
लिची किलोको २०० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ । समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३५, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ९०, सजीवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ६०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १३०, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० नरिवल (हरियो) प्रतिकिलो रु १७०, अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।
एक हजार ५९२ सवारीसाधन कारबाही, २० लाख राजस्व संकलन
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको जानकारी दिए । यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारबाही गरेको प्रवक्ता सुवेदीले बताए । पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारीसाधनलाई तीव्र रुपमा कारबाही गर्दै आएको छ ।
अब पहुँचवालाको काठमाडौं बसाइ रोकिने, दुर्गममा कर्मचारी अनिवार्य खटाइने
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्न कडा मापदण्ड ल्याएकी छन् । नार्कमा सुशासन कायम गर्न र मुलुकका विभिन्न भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन मन्त्री चौधरीले कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ कार्यान्वयनमा ल्याउने भएकी हुन् । यस मापदण्डले वर्षौंदेखि काठमाडौं केन्द्रित बस्दै आएका कर्मचारीको बसाइलाई अन्त्य गर्दै दुर्गम क्षेत्रका कार्यालयहरूमा समेत कर्मचारी खटाउने व्यवस्था गर्नेछ । मन्त्री चौधरीको यो निर्णयलाई नार्कमा देखिएको विकृति अन्त्य गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । वर्षौंदेखि नार्कमा राजनीतिक पहुँचका आधारमा केही कर्मचारी काठमाडौंमा मात्र बस्दै आएका छन् । केही कर्मचारी काठमाडौंबाट नियुक्ति लिई सोही स्थानबाट अवकाशसमेत पाउने गरेका छन् । तर, आगामी दिनमा भौगोलिक क्षेत्रको आवश्यकता अनुसार कर्मचारी खटाइने मन्त्री चौधरीको भनाइ छ । पहुँच नभएका कर्मचारी मात्र दुर्गममा नियुक्त भई त्यहीँबाट अवकाश हुने अवस्था अब रहने छैन । उनले भनिन्, ‘दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारीको चरम अभाव हुने र धेरै कर्मचारी काठमाडौं केन्द्रित मात्र हुने अवस्थाले संस्थाको अनुसन्धान कार्यमा गम्भीर विसंगति र असमानता सिर्जना गरेको छ । यसले नेपालको भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यसमेत प्रभावित भएको छ ।’ नयाँ मापदण्डअनुसार अब निश्चित समयावधिमा मात्र सरुवा हुने, समान भौगोलिक वर्गका कार्यालयबीच सरुवा नगर्ने र काठमाडौं केन्द्रित भएर मात्र कर्मचारी बस्न नपाउने व्यवस्था गरिएको छ । साथै, कार्यालय प्रमुखको जिम्मेवारी नेतृत्व क्षमता, कार्यसम्पादन, बेरुजु फछ्र्योट र लक्ष्य प्रगतिका आधारमा दिइनेछ । विभागीय कारबाहीको प्रक्रियामा रहेका कर्मचारीलाई प्रमुखको जिम्मेवारी नदिने (भएमा हटाउने) र पदअनुसार तथा वरिष्ठताका आधारमा मात्र जिम्मेवारी दिने व्यवस्था पनि मापदण्डमा समावेश गरिएको छ । साथै, अब नियुक्त हुने सबै कर्मचारीलाई काठमाडौँ बाहिरका रिक्त पदहरूमा पदस्थापन गरिने व्यवस्था पनि यस मापदण्डमा गरिएको छ । मन्त्री चौधरीले यस मापदण्डले नार्कमा देखिएका विकृतिहरूको अन्त्य गरी किसानको आवश्यकता अनुसारको अनुसन्धानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘यो मापदण्डले संस्थालाई नयाँ दिशा प्रदान गर्नुका साथै दुर्गम क्षेत्रसम्म अनुसन्धान सेवा पुर्याउन कर्मचारीलाई प्रतिबद्ध बनाउनेछ । अनुसन्धानका नतिजा किसानको खेतबारीसम्म पुर्याउनु नै हाम्रो मुख्य दायित्व हो ।’
अवैध आयात भएका साढे ३ करोडका सामान बरामद
काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ । राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह अनुसार भन्सार कार्यालयले १५, प्रहरी कार्यालयले १९ र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक विभिन्न स्थानमा छापा तथा जाँच गरेको थियो । बरामद गरिएका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायतका सामग्री रहेका छन् । बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका सूचना अधिकारी गैह्रेलेसुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा मूल्याङ्कन गरे पनि अन्तिम मूल्य भने खाद्य गुण नियन्त्रणसम्बन्धी परीक्षण, अन्तरराष्ट्रिय बजार मूल्य तथा मूल्य निर्धारण समितिको निर्णयका आधारमा कायम गरी बिक्रीयोग्य सामग्री लिलाम गरिने र खान अयोग्य वस्तु सम्बन्धित निकायका प्रतिनिधिको रोहवरमा नष्ट गरिने व्यवस्था रहेको बताए । जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार प्रहरीको गस्ती, सवारीसाधन जाँच तथा प्राप्त सूचनाका आधारमा भेटिएका सबै प्रकारका अवैध सामग्री नियन्त्रणमा लिएर तत्काल भन्सार कार्यालयमा बुझाउने कार्यलाई कडाइका साथ निरन्तरता दिइएको छ । यसैबीच, बिरामी ओसार्ने एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसारपसार गरिएको घटनामा आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्स चालकले गरेको र गैरकानुनी क्रियाकलाप गरेको भेटेपछि चालकलाई गत चैत ६ गते बेत्रावतीबाट रसुवा प्रहरीले पक्राउ गरेको थियो । कानुनी प्रक्रिया पूरा भएपछि चालकलाई धरौटीमा रिहा गरिएको गरी एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता बुझाइएको भन्सार कार्यालयले जनाएको छ । राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न सुरक्षा निकाय र भन्सार कार्यालयले संयुक्त अनुगमन तथा जाँचलाई थप प्रभावकारी बनाउँदै जाने भन्सार अधिकारीले बताएका छन् ।