बैंकहरूमा ६० अर्ब बढीको धितो सम्पत्ति थुप्रियो : अध्यक्ष प्रचण्ड
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मुलुकको बैंकिङ क्षेत्र अहिले गम्भीर दबाबमा रहेको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका यथार्थ समस्यालाई सम्बोधन गर्दै वित्तीय स्थायित्व र आर्थिक पुनरुत्थानबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । श्रेष्ठका अनुसार कागजमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता देखिए पनि वास्तविक अर्थतन्त्रमा कर्जाको माग घटेको छ भने व्यावसायिक आत्मविश्वास कमजोर बनेको छ। विभिन्न आर्थिक क्षेत्रहरूमा नगद प्रवाह कमजोर भएकाले बलिया र सक्षम व्यवसायहरूको समेत ऋण भुक्तानी गर्ने क्षमता प्रभावित भएको उनको भनाइ छ । यही अवस्थाको प्रत्यक्ष असर बैंकहरूको सम्पत्ति व्यवस्थापनमा परेको उल्लेख गर्दै उनले बैंकहरूले ६० अर्ब रुपैयाँभन्दा बढीको गैर-बैंकिङ सम्पत्ति थुपार्न बाध्य भएको बताए । धेरै ऋणीले ऋण तिर्न नसक्दा बैंकहरूले धितो सम्पत्ति स्वीकार गर्नुपरेको र ठूलो परिमाणमा बैंकहरूको पुँजी अनुत्पादक सम्पत्तिमा फसेको उनको भनाइ छ ।
डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) को खेलमा बुधबार (आज) राति एटलान्टा स्टेडियममा इंग्ल्यान्डले डीआर कङ्गोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार पौने ११ बजे सुरु हुने भएको हो । यस खेलमा इंग्ल्यान्डलाई बलियो टोली मानिएको छ । प्रशिक्षक थोमस टुचेलको टोलीले शनिबार पानामालाई २–० ले पराजित गर्दै समूह ‘एल’को शीर्ष स्थान सुरक्षित गरेको थियो । तर त्यो जित निकाल्न इंग्ल्यान्डले अपेक्षाभन्दा धेरै संघर्ष गर्नुपरेको थियो । इंग्ल्यान्डले एक घण्टाभन्दा बढी समयसम्म गोल गर्न सकेन । त्यसपछि जूड बेलिङ्घमले कर्नरबाट आएको बललाई आकर्षक शैलीमा गोलमा परिणत गर्दै अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि कप्तान ह्यारी केनले अर्को गोल गर्दै विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक ११ गोल गर्ने खेलाडी बने । तर यो जितले समर्थकहरूको असन्तुष्टि पूर्ण रूपमा भने हटाउन सकेन । किनभने यसअघि इंग्ल्यान्डले घानासँग गोलरहित बराबरी खेलेको थियो, जहाँ टोलीले ७८.९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि जित निकाल्न सकेन । समूह चरणभर कुनै पनि टोलीले यति धेरै बल नियन्त्रणमा राखेर पनि खेल जित्न नसकेको तथ्यांक छ । डीआर कङ्गोले पनि इंग्ल्यान्डलाई त्यस्तै कठिन चुनौती दिन प्रयास गर्ने अपेक्षा गरिएको छ । समूह चरणमा डीआर कङ्गोको औसत बल नियन्त्रण केवल ३८.५ प्रतिशत थियो, जुन सबै टोलीमध्ये ३८औं स्थानमा थियो । यता इंग्ल्यान्ड भने ६५.३ प्रतिशत औसत बल नियन्त्रणसहित तेस्रो स्थानमा रह्यो । टुचेलको उत्कृष्ट सुरुआत हालसम्म केही उतारचढावपूर्ण प्रदर्शन गरे पनि टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डले खेलेका ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन । टोलीले १० खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । यो सुरुआत इंग्ल्यान्डका पूर्व प्रशिक्षक रोन ग्रिनवुड (१९७७–१९८० बीच लगातार १६ खेल) र रोय होज्सन (२०१२–२०१३ बीच १४ खेल) पछि तेस्रो उत्कृष्ट अपराजित सुरुआत हो । यद्यपि टुचेलले डीआर कङ्गोलाई हल्का रूपमा नलिन चेतावनी दिएका छन् । ‘यदि हामी बहकियौं र अन्तिम १६ वा त्यसपछिका सम्भावित प्रतिद्वन्द्वीबारे सोच्न थाल्यौं भने त्यसको सजाय पाउनेछौं । अहिले हाम्रो ध्यान केवल एटलान्टामा हुने डीआर कङ्गोविरुद्धको खेलमा केन्द्रित हुनुपर्छ,’ टुखेलले भने । इतिहास रच्दै नकआउटमा पुगेको डीआर कङ्गो समूह ‘के’को अन्तिम खेलमा उज्बेकिस्तानसँग लामो समय १–० ले पछि परेको डीआर कङ्गो प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । तर योआने विस्साले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्यसपछि फिस्टोन मायेले र पुनः विस्साले गोल गर्दै डीआर कङ्गोलाई ३–१ को ऐतिहासिक जित दिलाए । यो जितसँगै डीआर कङ्गो पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो । विस्साले प्रतियोगितामा डीआर कङ्गोका चारमध्ये तीन गोल गरेका छन् । उनले क्लब फुटबलमा २०२५–२६ सिजनभरि गरेका गोलको संख्या पनि यही हो । क्लबका लागि उनले औसत ३०१ मिनेटमा एक गोल गरेका थिए भने विश्वकपमा प्रत्येक ९० मिनेटमा एक गोल गर्ने प्रभावशाली लयमा छन् । अफ्रिकी टोलीको कठिन चुनौती डीआर कङ्गोको यो विश्वकप नकआउट चरणमा प्रवेश ऐतिहासिक भए पनि अब उसले पूर्वविश्वविजेता इंग्ल्यान्डसँग खेल्नुपर्नेछ । यो विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीले पूर्व विश्वविजेतासँग खेल्ने ११औं अवसर हुनेछ । यसअघि सन् २०२२ मा मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर मात्र यस्तो चुनौती पार गर्न सफल भएको थियो । प्रशिक्षक सेबास्टियन डेसाब्रेले अनुभवी स्ट्राइकर सेड्रिक बाकाम्बुलाई निरन्तरता दिने कि उज्बेकिस्तानविरुद्ध प्रभावशाली प्रदर्शन गरेका फिस्टोन मायेलेलाई सुरुआती रोजाइमा राख्ने भन्ने निर्णय गर्नुपर्नेछ । इंग्ल्यान्डको टोली ह्यारी केन फेरि गोल गर्ने लक्ष्यमा हुनेछन् । उनले समूह चरणमा तीन गोल गर्दै पुरुष विश्वकपमा इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता बनेका छन् । यदि उनले डीआर कङ्गोविरुद्ध पनि गोल गरे भने विश्वकप नकआउट चरणमा चार गोल पुर्याउँदै ज्योफ हस्र्टको कीर्तिमान बराबरी गर्नेछन् । इंग्ल्यान्डका लागि नकआउट चरणमा सबैभन्दा बढी ६ गोल गर्ने कीर्तिमान भने ग्यारी लिनेकरको नाममा छ । मिडफिल्डर डेक्लान राइस पिण्डुलाको सामान्य समस्याका कारण पानामाविरुद्ध विश्राममा थिए । उनी यस खेलमा सुरुआती टोलीमा फर्किने अपेक्षा गरिएको छ । इलियट एन्डरसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले यस विश्वकपमा इंग्ल्यान्डका खेलाडीमध्ये सबैभन्दा धेरै लाइन (ब्रेकिङ पास (३०), बल पुनः जित्ने (२०) र द्वन्द्व जित्ने (२४) तथ्यांक बनाएका छन् । समूह चरणमा इक्वेडरका पेड्रो भिटे बाहेक कुनै अन्य खेलाडीले यी तीनै सूचकमा २० भन्दा बढी उपलब्धि हासिल गरेका छैनन् । रक्षापङ्क्तिमा जारेल क्वान्सा घुँडाको चोटका कारण बाहिर रहने सम्भावना छ । रीस जेम्स अझै उपलब्ध नभएकाले टुचेलले राइट ब्याकमा जेड स्पेन्स वा एज्री कोन्सालाई खेलाउन सक्नेछन् । हेड–टु–हेड घानासँग बराबरी खेलेपछि यो विश्वकपमा इंग्ल्यान्डले दोस्रो अफ्रिकी टोलीसँग खेल्न लागेको हो । यसअघि सन् १९९० को विश्वकपमा इंग्ल्यान्डले समूह चरणमा इजिप्टलाई १–० ले तथा क्वार्टरफाइनलमा क्यामरुनलाई ३–२ ले हराएको थियो । विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीविरुद्ध इंग्ल्यान्डको अर्को खेल सन् २०२२ मा सेनेगलसँग भएको थियो, जहाँ इंग्ल्यान्ड ३–० ले विजयी भएको थियो । टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डले जम्मा चार खेल मात्र जित्न सकेको छैन, जसमध्ये दुई खेल अफ्रिकी टोलीविरुद्ध परेका छन् । घानासँगको बराबरीबाहेक सन् २०२५ जुनमा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड सेनेगलसँग ३–१ ले पराजित भएको थियो । खेलको सम्भावित नतिजा रक्षापङ्क्तिमा केही चोटको समस्या र आक्रमणमा अस्थिर प्रदर्शन देखिए पनि इंग्ल्यान्डलाई यस खेलको स्पष्ट दाबेदार मानिएको छ । अप्टा सुपरकम्प्युटरले गरेको २५ हजार सिमुलेसनअनुसार : ९० मिनेटभित्र इंग्ल्यान्डको जित्ने सम्भावना : ७३.९५ प्रतिशत डीआर कङ्गोको जित्ने सम्भावना : ११.३५ प्रतिशत खेल बराबरी हुने सम्भावना : १४.८५ प्रतिशत समग्रमा अन्तिम १६ मा पुग्ने सम्भावना : इंग्ल्यान्ड – ८२.०५ प्रतिशत डीआर कङ्गो – १८.०५ प्रतिशत
फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबार मौद्रिक नीतिका महत्वपूर्ण एजेन्डा हुन् : पण्डित
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । पण्डितले वित्त नीति र मौद्रिक नीतिबीच स्वाभाविक रूपमा अन्तरसम्बन्ध र कतिपय अवस्थामा द्वन्द्वसमेत देखिने भए पनि दुवै नीति समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा उनले जोड दिए । उच्च आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि मौद्रिक नीतिले सहयोग गर्नुपर्ने भए पनि मुद्रास्फीति, वित्तीय स्थायित्व तथा अन्य आर्थिक सूचकहरूलाई वाञ्छनीय सीमाभित्र राख्ने दायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए । पण्डितले राष्ट्र बैंकले आफ्ना लक्ष्य, मौद्रिक नीति सञ्चालनका आधार तथा संयन्त्रलाई ध्यानमा राखेर नीति निर्माण गर्ने स्पष्ट पारे । बजारमा मौद्रिक नीतिप्रति ठूलो अपेक्षा सिर्जना भएको उल्लेख गर्दै उनले ती अपेक्षालाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, नियामकीय सुधार र मौद्रिक नीतिबीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्नुपर्नेमा पनि उनले जोड दिए । उनले बैंकिङ क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय र नियामकीय व्यवस्थाबारे स्पष्ट भाष्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । कोभिड-१९ महामारीका क्रममा लागू गरिएका कर्जा पुनर्संरचना तथा सहुलियतपूर्ण व्यवस्थाले बैंकिङ प्रणाली र पुँजी निर्माणमा पारेको प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ । कार्यवाहक गभर्नर पण्डितले वित्तीय क्षेत्रमा तीव्र रूपमा विकसित भइरहेका डिजिटल चुनौतीहरूतर्फ पनि ध्यानाकर्षण गराए । फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबारको निगरानी तथा प्रविधिसम्बन्धी जोखिम व्यवस्थापनजस्ता विषयहरू अब मौद्रिक नीति र नियामकीय ढाँचाका महत्वपूर्ण एजेन्डा बनेको उनले बताए । उनले नीति निर्माण तह र सर्वसाधारणबीच रहेको दूरी हटाउनुपर्नेमा पनि जोड दिए । विशेषगरी युवा, किसान तथा तल्लो तहका नागरिकका वास्तविक आवश्यकता र समस्या नीति निर्माण प्रक्रियासम्म पुग्न नसकेको उल्लेख गर्दै उनले यस खाडललाई कम गर्न आवश्यक रहेको बताए । उनका अनुसार यस्ता छलफलले नीति निर्माता र सरोकारवालाबीच संवाद विस्तार गर्दै व्यावहारिक नीतिगत सुधारका लागि उपयोगी सुझाव प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । उनले भने, ‘वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स-साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ ।’ निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्दै आएको छ । वर्षातको अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ । निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनले बताए । चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ । यहाँ घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन् ।
देशभर मनसुन सक्रिय हुँदै, ५ प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका केही स्थानमा र देशका तराई भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
परीक्षा सकिएको सात दिनमै नतिजा
काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित ३ वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उनले बताए । प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन सङ्काय (म्यानेजमेन्ट एन्ड ल) मा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) सङ्कायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ ।
१ करोडमा ‘डग होस्टेल’ सञ्चालन, पहिलो चरणमा २० कुकुर राखियो
काठमाडौं । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो । बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको थियो । ५० वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेवारिसे, बिरामी तथा अशक्त भएका २० सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगपालिकाले जनाएको छ । बागलुङ नगरपालिका-३ स्थित पाँच रोपनी जग्गामा १ करोड रूपैयाँ खर्चेर जग्गा तारबारसहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए । नगरपालिका-३ सिम्लेस्थित पाँच रोपनी सार्वजनिक जग्गामा बागलुङ नगरको ३५ लाख रुपैयाँ र मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपैयाँ खर्च गरेर होस्टेल बनाइएको थियो । नगरपालिकाले दुई वर्षअघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य ल्याएको थियो । ‘कुकुर बन्ध्याकरणसमेत भइरहेको र छाडा कुकुरलाई होस्टेलमा खानपानसहित व्यवस्थापन गर्ने योजना छ,’ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘घरपालुवा कुकुर बिरामी परेपछि बजारमा छोड्ने चलनले बजारमा यात्रुलाई टोकेर, दुर्घटना निम्ताउने समस्या भएकाले होस्टेल निर्माण गरिएको हो ।’ नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ । साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ । दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ । दर्ता गर्दा २०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
इतिहास रच्दै नर्वे विश्वकपको अन्तिम १६ मा
काठमाडौं । फिफा विश्वकप २०२६ मा नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हात पारेको छ । मंगलबार अमेरिकाको डलास स्टेडियममा भएको अन्तिम ३२ को प्रतिस्पर्धामा नर्वेले अफ्रिकी टोली आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । नर्वेका लागि पहिलो गोल एन्टोनियो नुसाले ३९औं मिनेटमा उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गरे । पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा आइभरी कोस्टले खेलमा शानदार पुनरागमन गर्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका अमाद डियालोले ७४औं मिनेटमा बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला स्टार फरवार्ड एर्लिङ हालान्डले ८६औं मिनेटमा निर्णायक गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए । प्याट्रिक बर्गको लो–क्रसलाई उनले सहज रूपमा जाली चुमाएका थिए । यो जारी विश्वकपमा हालान्डको पाँचौं गोल पनि हो । आइभरी कोस्टले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा अवसरको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । बराबरी गोल गरेपछि पनि रक्षापंक्तिमा आएको सानो कमजोरी नर्वेले पूरा उपयोग गर्दै अन्तिम १६ को यात्रा तय गर्यो । यो जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जित्ने कीर्तिमान बनाएको छ । अब नर्वेले अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।