राराको मुर्माटपमा पुग्यो फोरजी, पर्यटकले अब हाईस्पिड इन्टरनेट पाउने
काठमाडौं । नेपाल टेलिकमले मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार असार १५ गतेदेखि उक्त क्षेत्रमा फोरजी सेवा औपचारिक रूपमा सुरु गरिएको हो । रारा राष्ट्रिय निकुञ्जभित्र रहेको मुर्माटप रारातालको मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुगिने यस स्थानबाट राराताल, हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिमका प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ । नेपाल टेलिकमका अनुसार फोरजी सेवा विस्तारसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सहज रूपमा प्रयोग गर्न सक्नेछन् । यसले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ मार्गमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने विश्वास कम्पनीको छ । सेवा सञ्चालनपछि पर्यटकले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमार्फत तत्कालै साझा गर्न सक्नेछन् । साथै स्थानीय होटल, होमस्टे र व्यवसायीले पनि डिजिटल सेवाको प्रयोग सहज रूपमा गर्न पाउने भएकाले पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । नेपाल टेलिकमले जडान गरेको नयाँ टावरले मुर्माटपमा मात्रै सेवा नदिई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनका रूपमा पनि काम गर्ने कम्पनीले जनाएको छ । यसबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ । कम्पनीले ‘राष्ट्रको सञ्चार’ अभियानअन्तर्गत दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको लक्ष्यलाई सघाउने जनाएको छ । नेपाल टेलिकमले यसअघि २०७६ मंसिर १९ गतेदेखि राराताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइसकेको थियो ।
बीमा क्षेत्रमा १२ हजारभन्दा बढी कर्मचारी आवद्ध
काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली बीमा क्षेत्रमा आवद्ध कर्मचारीको संख्यामा वृद्धि हुँदै गएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको जेठ मसान्तसम्ममा बीमा क्षेत्रमा १२ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । हाल सञ्चालनमा रहेका जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा अहिले १२ हजार ३९२ जनाले प्रत्यक्ष रोजगारी पाएका हुन् । नेपालमा हाल जीवन, निर्जीवन, तथा लघु बीमा कम्पनी गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन् । हाल आवद्ध कर्मचारीको संख्या गत आवको यही अवधिको तुलनामा १.२९ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरुमा १२ हजार २३४ कर्मचारी आवद्ध थिए । प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुमा आवद्ध कर्मचारीको संख्या ६ हजार १२९ जना रहेको छ । जुन गत आवको यही अवधिको तुलनामा ०.२९ प्रतिशतले बढी हो । गत आवको जेठ मसान्तसम्ममा बीमा कम्पनीहरुमा ६ हजार १११ जना कर्मचारी आवद्ध थिए । त्यस्तै जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा ६ हजार २६३ कर्मचारी आवद्ध छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरुमा १२ हजार २३४ कर्मचारी आवद्ध थिए ।
रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ भोलि, पहिलो केन्द्रीय समिति बैठक पनि बस्ने
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम भोलि बुधबार हुने भएको छ । पार्टीका अनुसार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराइनेछ । पार्टी सभापतिमा निर्विरोध निर्वाचित रवि लामिछानेले भने महाधिवेशनकै क्रममा यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । शपथग्रहणसँगै रास्वपाको नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाल्ने बताइएको छ । त्यसलगत्तै बस्ने पहिलो केन्द्रीय समिति बैठकले पार्टी सचिवालयलाई पूर्णता दिने, सभापतिले मनोनयन गर्ने बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको टुंगो लगाउने र महाधिवेशनबाट पारित राजनीतिक तथा सांगठनिक कार्यदिशा कार्यान्वयनका विषयमा छलफल गर्ने तयारी गरिएको छ ।
भाडा नतिर्ने उद्योगको लाइन काटियो
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । मन्त्री यादवले लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् । उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै केहि उद्योगहरुले भाडा तिर्न बाँकी राखेका थिए । केही दिन अगाडि करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सुचनानै प्रकशित गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन् । बाँकी उद्योगको बिजुली काटियो मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ । सुरुमै झन्डै २ सय बढी उघोगको लाइन काटिएको थियो।ति उधोगहरुके धमाधम भाडा तिरेपछि लाइन जोडिएको छ । अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए । मन्त्री यादवले उक्त उधोगहरुको बक्यौता पूर्ण रुपमा चुक्ता नहुदा सम्म लाइन नाजोड़ने स्पष्ट निर्देशन दिएको लिमिटेडले बताएको छ । बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.को करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा.लि.को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ । हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ ।
विदेशिएका नेपाली फर्किने वातावरण बनाउन सबै पक्ष सक्रिय हुनुपर्छ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताएका छन् । ६८औँ संसद् दिवसको अवसरमा मङ्गलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गरे । नेपाल बस्नलायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताए । वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने उल्लेख गरे । विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उनको तर्क छ । ‘आगामी दिनमा जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र निर्माण गर्ने विषयमा, सुशासन कायम गर्ने विषयमा तथा भ्रष्टाचारको अन्त्य गर्ने विषयमा यहाँहरूले हामीलाई निरन्तर झक्झक्याइरहनुपर्छ,’ उनले भने । सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ (गति र भावना) मिलेमा मात्र जनताको चाहनाअनुसार परिणाममुखी काम गर्न सकिने उल्लेख गरे । संविधानको अक्षरशः पालना गर्दै कानुनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । मुलुकमा प्रिमियम क्लासको राजनीति गर्ने अवसर अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गर्दै उनले वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए।
विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
उदयपुर । जेनजी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई सुचारु गर्न माग गरेका छन् । जेनजी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो । उनका अनुसार दैनिक विद्युत् अवरोध हुँदा जनताले सास्ती भोग्न परेको छ । जेनजी युवाका जिल्ला सचिव प्रवेश खड्काले पटक–पटक विद्युत् अवरोध हुने गरेको कारण बैंकसहित सरकारी कार्यालयमा ग्राहकले नियमित सेवा प्राप्त गर्न कठिनाइ हुन थालेको कारण जनगुनासो व्यापक उठ्न थालेकाले आफूहरुले विद्युत् नियमित सुचारु गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको बताए । कार्यालय प्रमुख झाले पछिल्ला दिन प्रायः दैनिक हावाहुरी चल्ने गरेको कारण विद्युत् सेवा अवरोध भइरहेको र आफूहरुले यस्तो अवरोध हटाउन नियमित प्रयास गर्दै आइरहेका जानकारी दिए ।
पहिराले कान्ति लोकपथ अवरुद्ध
मकवानपुर । हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेकोे छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारीसाधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् ।
मध्यपूर्व युद्धविरामपछि इन्धनको मूल्यमा गिरावट
काठमाडाैं । मध्य पूर्व युद्धविराम पछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ । अमेरिका र इरानले आफुहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमती भए पछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि उर्जाको मुल्यमा कटौती गरिएको जनाइएको छ । गत फेब्रुअरी –२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो । द्वन्द्वको समयमा उच्च आयात र लागत बीच सन्तुलन कायम गर्न श्रीलङ्कामा बिजुलीको शुल्क पनि एक तिहाइले वृद्धि गरिएको अधिकारीहरूले बताएका थिए । श्रीलङ्काले आवाश्यक सबै तेल खरीद गर्ने र बिजुली उत्पादनका लागि आयातित कोइलामा पनि निर्भर रहने अवस्था रहेकाले मध्य पूर्वमा जारी लामो द्वन्द्वले कमजोर आर्थिक अवस्थालाई प्रभावित पार्न सक्ने चेतावनी दिइएको थियो ।