पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणमा मोरक्कोले तीन पटकको उपविजेता नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १–१ को बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टीबाट भएको थियो । 

मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले ७२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेल सकिन केही क्षण मात्र बाँकी रहँदा इस्सा डियोपले उत्कृष्ट हेडरमार्फत बराबरी गोल फर्काउँदै मोरक्कोलाई खेलमा फर्काए ।

अतिरिक्त समयभर मोरक्कोले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले  बचाउ गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म पुर्याएका थिए ।

पेनाल्टी सुटआउटमा मोरक्कोका नील एल आयनाउई, सुफियान रहिमी र चादी ताल्बीले गोल गरे । कप्तान अशरफ हाकिमीले पेनाल्टी चुकाए पनि त्यसले टोलीको जितमा असर पारेन । 

नेदरल्यान्ड्सका तर्फबाट ट्युन कुपमाइनर्स र वाउट वेघोर्स्टले मात्र गोल गर्न सके। जस्टिन क्लुइभर्ट, क्विन्टेन टिम्बर र क्रिसेन्सियो समरभिल पेनाल्टीमा असफल भए। 

यस जितसँगै मोरक्कोले विश्वकपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ । सन् २०२२ मा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले यसपटक पनि उपाधि दाबेदार टोलीलाई हराउँदै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

Share News