नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंका चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउनेछन् । बैंकका अनुसार सेवाग्राहीले बिरामी दर्ता र चेकअपमा शतप्रतिशत छुट पाउनेछन् भने अस्पतालका विभिन्न दन्त तथा मुखसम्बन्धी उपचार सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन् । बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीले गुणस्तरीय दन्त तथा मुख स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ । नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधि र ग्राहककेन्द्रित सेवामार्फत सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
वादविवाद होइन, समस्या समाधानमा जोड दिऔँ : कार्यकारी निर्देशक पौडेल
काठमाडाै । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अहिले वादविवाद भन्दा पनि समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले निरन्तर घटिरहेको ब्याजदरले निक्षेपकर्तालाई मार पर्छ कि भन्ने विषयमा राष्ट्र बैंक सजग रहेको बताए । राष्ट्र बैंकले ब्याजदर करिडोर २.७५ प्रतिशतको सिमा राखेको कारण सो भन्दा तल ब्याजदर झर्न दिएको छैन, उनले भने, ‘यदि उक्त सिमा पनि नतोकेको थियो भने ब्याजदर १ प्रतिशतमा झथ्र्यो ।’ कार्यकारी निर्देशक पौडेलका अनुसार ब्याजदर करिडोर राखेको कारण ठूलो लागत रास्ट्र बैंकले बेहोरेको छ । तर रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षात्मक गरेको रूपमा जोड दिनुपर्ने हुन्छ । अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्था बलियो नहुदा निजि क्षेत्र अग्रसर हुन नसक्ने उनको भनाई छ । तर बैंक तथा वित्तीय संस्थाहरु प्रुडेण्ट हुन जरुरी रहेको उनले औंल्याए । रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षाका लागि भूमिका निर्वाह गर्दै आएको बताए ।
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ । मकवानपुरका प्रमुुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज जारी गरेको सूचनामा असार १६ र १७ गते बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन आग्रह गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरिएको ‘आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध’ सम्बन्धी सूचनाअनुसार विसं २०८३ असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको प्रशासनको सूचनामा भनिएको छ । ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमयुक्त गतिविधि नगर्न तथा नगराउन आग्रह गर्दै प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा विशेष सतर्कता अपनाउन भनेको छ । मौसम तथा सडकको अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न तथा सुरक्षित भएपछि मात्र यात्रा गर्न तथा कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रको निशुल्क फोन नं ११४९ मा जानकारी गराउन पनि अनुरोध गरिएको छ । वर्षात्को समयमा जोखिमको परिस्थितिको मूल्याङ्कनको आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीद्वारा निश्चित समयको लागि आवागमन रोक्न सक्ने भएकाले सो कार्यमा सबैबाट सहयोग, समन्वयका लागि प्रशासनले सबैमा आग्रह गरेको छ ।
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्याङ्ककाे प्रारम्भिक मूल्याङ्कन अनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ । भेनेजुएलामा गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता भएको बताइएको छ । ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जामोन भान डेन होकका अनुसार भूकम्पको भोलिपल्ट जुन –२५ मा सङ्कलन गरिएको उपग्रह राडार तथ्याङ्को आधारमा “प्रभावित क्षेत्रमा लगभग ५८ हजार ८७० वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको हो । युरोपेली अन्तरिक्ष एजेन्सीको “उच्च–रिजोल्युसन राडार इमेजरी उपग्रह सेन्टिनेल–१” बाट तथ्याङ्क उद्धृत गरिरहेको जनाइएको छ । यो प्रारम्भिक तथाङ्क द्रुत मूल्याङ्कनले क्षतिसँग मिल्दोजुल्दो अवस्थालाई प्रतिबिम्बित गर्ने अनुसन्धानकर्ताहरूले जनाइएका छन् उनीहरुका अनुसार यो तथ्याङ् प्रमाणित हुने प्रक्रिया अझै बाँकी नै छ । नासाले उपग्रहहरूले “जमिनमा रहेका उद्धार टोलीहरूलाई प्रभावहरूको मूल्याङ्कन गर्न र प्रतिक्रिया प्रयासहरूलाई मार्ग–दर्शन गर्न मद्दत गर्नको लागि महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराएको जनाएको छ ।
विदेशी पीआर लिएका ४ कर्मचारी सेवाबाट बर्खास्त
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डिभी) लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन् । मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने जानकारी दिइन् । मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।
सामान्य थुनुवाजस्तै हिरासतमा छन् पौडेल, भेट्न जाने नेता/कार्यकर्ताको भीड
काठमाडौं । यतिखेर पूर्वअर्थमन्त्री विष्णु पौडेल प्रहरीको हिरासतमा छन् । ललितपुरको पुल्चोक प्रहरी प्रभागकाे हिरासतमा उनी छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएपछि विभागको सिफारिस अनुसार प्रहरीले केही एक साताअघि उनलाई सुर्खेतबाट पक्राउ गरेको थियो । उनलाई सामान्य थुनुवा व्यक्ति जस्तै गरेर हिरासतमा राखिएको ललितपुर प्रहरी परिसरका प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए । उनका अनुसार कुनै पनि सुविधायुक्त ठाउँमा राखिएको छैन । उनको सम्पूर्ण अनुसन्धान विभागले गर्ने गरेको छ । प्रहरीले स्वास्थ्य सुरक्षादेखि बसोबासको प्रबन्ध मिलाएको उनको भनाइ छ । ‘हिरासतमा रहेका अन्य थुनुवा व्यक्ति सरह उनलाई पनि प्रहरी हिरासतमा राखिएको छ,’ उनले भने,’ हिरासतमा रहेका अन्य मानिसलाई जस्तै भेटघाटको समय तय गरिएको छ । हिरासत भित्र हुनुहुन्छ ।‘ परिवार, आफन्त तथा साथीहरू भेटघाटका लागि आउने गरेको प्रहरीले जनाएका छन् । सामान्य नागरिक, कार्यकर्ता तथा नेताहरू भेटघाटका लागि आउनेजाने गरेको एक प्रहरीले विकासन्युजलाई बताए । भेटघाट गर्ने समयमा नाम चलेका नेता तथा कार्यकर्ताहरू आउन गरेको प्रहरीले जनाएका छन् । हिरासतमा रहेका पौडेललाई भेटघाट गर्न आउने प्रत्येक व्यक्तिहरुको रेकर्ड राखिएको प्रहरीले बताएको छ । विशेष तरिकाले भेट्न आएका नेतालाई भने विभागको अनुमति लिएर मात्र भेटघाट गर्न दिने गरेको उनको भनाइ छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ । पहिलो पटक पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित, विद्युत सेवा अवरुद्ध
किमाथाङ्का । सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन् । वर्षासँगै बाढीपहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको सङ्ख्या २८ पुगेको छ । तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई, विन्दुर राईको घर विस्थापित भएको जानकारी दिए । पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्यचौकी पनि जोखिममा परेको छ । त्यसैगरी, सिलिचोङ–१ मा रहेको कुन्ती राईको पाँच, धनपूर्ण राईको सात, मङ्गलबहादुर राईको छ, सुकप्रसाद राईको चार, मीरा राईको पाँच, धनमान राईको तीन, परिवार विस्थापित भएका छन् । पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ । प्रभावित क्षेत्रमा सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ । सिलिचोङ गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए । सिलिचोङस्थित दुईवटा जलविद्युत् आयोजना क्षति पुग्दा गाउँका ६०० भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । सिसुवामा ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । सिसुवाखोलामा आएको बाढीले यहाँस्थित दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन बन्द भएको छ । पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयवासी आफन्तका आश्रय लिएर बसेका छन् ।
२४ अंकले घट्यो सेयर बजार, ३ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २४ अंकले घटेर २६०८ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३६५ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकको भएको छ । सिद्धार्थको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै टक्सार पिखुवाको ११ करोड, आँखु खोलाको ९ करोड ८९ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको ९ करोड ६१ लाख र याम्बलिङ हाइड्रोको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज स्नो रिभरकाे सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।