विकासन्युज

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ । मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं.८५ (घ) अन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रमअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले सरकारी अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च घटाउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ । मन्त्री मेहताले सरकारी अस्पतालमा आउने बिरामीले आवश्यक औषधि सहज र सस्तो मूल्यमा अस्पतालबाटै प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएकी थिइन् ।  सोही निर्देशनअनुसार ट्रमा सेन्टर र वीर अस्पतालमा पनि सेवा सुरु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब यी अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले आवश्यक औषधि बजारको तुलनामा सहुलियत मूल्यमा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।  मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पताललाई सुलभ फार्मेसी सुरु गर्न निर्देशन दिएको छ ।

अनलाइन प्रणालीमार्फत मात्र सरुवाको आवेदन लिन सुरु, अन्य माध्यमका निवेदनमाथि कारबाही नहुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउने उद्देश्यले नयाँ अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरेको छ ।  मन्त्रालयले एक सूचना जारी गर्दै अबदेखि सरुवा सम्बन्धी सम्पूर्ण कार्यहरू उक्त प्रणालीमार्फत मात्र सञ्चालन गरिने जानकारी गराएको छ। मन्त्रालयका अनुसार सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी आवेदन पेस गर्नु पर्नेछ ।  अनलाइन प्रणालीभन्दा बाहेक अन्य कुनै पनि माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदनहरू उपर कुनै पनि कारबाही नगरिने व्यहोरा समेत मन्त्रालयले स्पष्ट पारेको छ । यस अनलाइन सरुवा प्रणालीको प्रयोग सम्बन्धी निर्देशिका  तथा आवश्यक जानकारीहरू प्रणालीमै उपलब्ध गराइएको छ ।  मन्त्रालयले यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै कर्मचारी तथा सम्बद्ध निकायहरूबाट सहयोगको अपेक्षा गरेको छ ।  सरुवाका लागि इच्छुक कर्मचारीले मन्त्रालयको वेबसाइट [http://saruwa.mofaga.gov.np/](http://saruwa.mofaga.gov.np/) मार्फत वा सूचनामा दिइएको क्यूआर (QR) कोड स्क्यान गरेर प्रणालीमा पहुँच पाउन सक्नेछन् ।

भक्तपुरमा डेरा गरेर बस्‍ने पशुपति क्षेत्रमा आएर लुटपाट गर्ने दुई भारतीय पक्राउ

काठमाडौं । सार्वजनिक यातायात तथा पशुपति मन्दिर क्षेत्रमा लुटपाट गर्ने दुई जना भारतीय पक्राउ परेका छन् । भारत गोरखपुर घर भई हाल भक्तपुर बस्ने ३४ वर्षीय रन्जीत चौधरी र सिसवा घर भएका भक्तपुर ४५ वर्षीय शान्ति चमार रहेका छन् । उनीहरूले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको तथा पशुपति नाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको सुनचाँदीका गरगहना लुट्ने गरेका थिए ।   दुई जना भारतीय नागरिकहरूलाई चोरी गरिएको सुनचाँदीका गरगहना, नगद र मोबाइल सहित प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । सुनको सिक्री लकेट थान- १  सुनको झुम्का थान-४  सुनको मुन्द्रा थान- ६  पोते सहित सुनको मङ्गलसूत्र थान-१  चाँदीको औँठी थान- १  चाँदीको सिक्का थान- १  चाँदीको पाउजु थान-४  चाँदीको सिक्री थान-१  चाँदीको खुट्टामा लगाउने बिच्छी थान- २  चाँदीको ब्रासलेट थान १  नेपाली नगद रु १,१५,५००  भारतीय रुपैयाँ ८०,०००  विभिन्न कम्पनीका मोबाइलहरू थान- ६ भारतीय प्यान कार्ड थान- २ आधार कार्ड थान- १  जैविक कृषि बिस्तार योजनाको कार्ड थान- १ १८. खोप कार्ड थान- १  चाँदीको लकेट थान - १

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा

चितवन । वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्को समयमा पहिरो खस्न सक्ने जोखिम रहेका स्थानमा पहिरो गई सडक आवागमन अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो । उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहोलोडर पहिरो पन्छाउनका लागि तयारी अवस्थामा राखिएको छ । यस्तै, सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहोलोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखेको उनले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल हटाई सवारी आवागमनलाई चुस्त र नियमित सञ्चालन राख्ने उद्देश्यले उपकरण अपरेटरसहित तयारी अवस्थामा राखिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक वर्षात्‌को समयमा लेदोसहितको पहिरो र हिँउदको समयमा सुक्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुने गर्दछ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यस सडकमा दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्दछन् । रासस

पौडेलको रिटमा भट्टको सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।  मंगलबार सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो ।  सर्वोच्चले पौडेल जोडिएको विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दिपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कलै मिसिल झिकाउन भनेको हो । पौडेलविरुद्ध सोही अभियोग अन्तर्गत पुरक अभियोग लैजाने गरी अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मिसिल माग गरेको हो । पौडेलका कानुन व्यवसायीले भने मूल मुद्दामा विष्णु पौडेलका विरुद्धमा कुनै पनि कसुर नदेखिने दाबी गरेका छन् ।  उनीहरूको दाबीपछि सर्वोच्चले उक्त मिसिल झिकाउँदै बिहीबारका लागि अर्को पेसी तोकेको छ । पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उनले थुनामुक्त गर्न आदेश माग गरेकी थिइन् ।  यसअघि असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ । पौडेल अहिले ललितपुरको पुल्चोक प्रहरी प्रभागको हिरासतमा छन् ।

मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाट जस्ता गतिविधिलाई वैधानिकता दिने काम भयो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको बताएका छन् ।  मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनै पनि क्षेत्र गतिका साथ अघि बढन नसकेको तर्क समेत गरे । अध्यक्ष ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भए पनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए । उनले आम जनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने दाबी समेत गरे ।  अध्यक्ष ओलीले भने, ‘खेलाडीहरूमा देशभक्ति चाहिन्छ । देशको प्रतिष्ठाका लागि खेलाडीहरूले कसरी ज्यान फालेर खेलेका हुन्छन् । हामी हरेकमा देशभक्ति चाहिन्छ । हामीले त्यसलाई बुझ्नुपर्दछ । देश विकसित भएन भने मलाई खेलसँग मतलब छ अरूथोक भनेर देश नै बर्बाद छ भने खेलमात्रै कसरी अघि बढ्छ र । नेपालको हालत त्यही भएको त हो ।’ अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको पनि बताए ।

अमेरिकी दूतावासद्वारा प्रहरीलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न उपकरण हस्तान्तरण

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू उपलब्ध गराएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रमबीच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासको लागि उन्नत डिजिटल फरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको बताए। यस किसिमका सहयोगहरू दुई देश बिचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको उनको भनाइ छ । प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ती, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवम् सहजीकरण हुने बताए । यस्ता उपकरणहरूको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने विश्वास उनले विश्वास व्यक्त गरे । कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, अमेरिकी राजदुतावासका प्रतिनिधिहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

चलचित्र उद्योगको आवश्यकता सम्बोधन गर्न सरकार तयार छ: सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।  चलचित्र विकास बोर्डको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताएका हुन् ।  सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका बहन गर्नुपर्नेसमेत आवश्यकता औंल्याए ।  बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई कसरी लाभ पुर्‍याउँछ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्रै बोर्डको सफलता अर्थपूर्ण हुने धारणा राखे ।  बोर्डले आगामी आर्थिक वर्षका लागि बजेट बनाईरहेको परिप्रेक्ष्यमा चलचित्रकर्मीको भावना समेट्नेगरी योजना बताउन पनि उनले आग्रह गरे ।  संसदमा विचाराधिन रहेको चलचित्र विधेयकलाई समयसापेक्ष, व्यावहारिक र चलचित्र उद्योगको वास्तविक आवश्यकताअनुकूल बनाउन सबै सरोकारवालासँग सुझाव लिइने पनि सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए । ‘चलचित्र विधेयकमा यस क्षेत्रका सरोकारवाला सबैको सुझाव आवश्यक छ । चलचित्रकर्मीका अहिलेका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने बलियो कानुनी दस्तावेज तयार गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ,’ उनले भने ।  चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले निरन्तर संवाद र सहकार्यबाट मात्र प्रभावकारी कानुन बन्न सक्ने विश्वास व्यक्त गरे । चलचित्रकर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनात्मक सुधार अघि बढाइने पनि सञ्चारमन्त्री डा. तिमिल्सिनाले स्पष्ट पारे ।  कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बाबजुद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्रकर्मीको अथक योगदानलाई दिए ।  ‘पुराना पुस्ताका चलचित्रकर्मीको निरन्तर संघर्ष र समर्पणकै कारण नेपाली चलचित्र आजको अवस्थासम्म आइपुगेको हो,’ भने ।  साथै चलचित्र क्षेत्रको इतिहास, विकासक्रम र योगदानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमा आधारित लेख, पुस्तक तथा अध्ययन प्रकाशनमा पनि जोड दिन आवश्यक रहेको धारणा राखे । त्यस्तै, सञ्चारमन्त्री डा. तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक क्षेत्रले नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै चलचित्र क्षेत्र त्यसबाट अलग रहन नसक्ने बताए ।  विभिन्न लोकतान्त्रिक आन्दोलनमा चलचित्र क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले यस क्षेत्रले पनि नागरिकको आशाअनुसार काम गर्न सक्नुपर्ने बताए  ।  चलचित्र उद्योगलाई आर्थिक रूपमा अझ सक्षम बनाउन चलचित्रकर्मीले स्वस्थ प्रतिस्पर्धा, पारस्परिक सहयोग र सहकार्यको संस्कृतिलाई बलियो बनाउन आग्रह गरे ।  ‘एक–अर्कालाई सहयोग गरेर अघि बढ्नुहोला । चलचित्र उद्योग बलियो भयो भने त्यसको प्रत्यक्ष लाभ कलाकार, प्राविधिक, निर्माता, वितरकदेखि राज्यसम्म सबैलाई पुग्छ,’ उनले भने । समारोहमा सञ्चार सचिव लक्ष्मी कुमारी बस्नेतले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय सामग्री उत्पादन, आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी प्रवद्र्धन आवश्यक रहेको धारणा राखे ।  नेपाली चलचित्रको विश्वव्यापी पहुँच विस्तारका लागि सरकार, बोर्ड र निजी क्षेत्रबीच अझ सुदृढ सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ चलचित्र विधेयक निर्माणको चरणमा रहेकाले सम्पूर्ण सरोकारवालाले सक्रिय रूपमा सुझाव दिनुपर्ने आवश्यकता औंल्याए ।  चलचित्र क्षेत्रको अनुभव र व्यावहारिक पक्ष समेटिएको ऐनले मात्र उद्योगलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले सबै क्षेत्रबाट रचनात्मक सुझावको अपेक्षा रहेको बताए ।