हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको उद्योगका सूचना अधिकारी बरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए । क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाइने तयारी भइरहेको उनले बताए । सूचना अधिकारी आचार्यले भने, 'हामीसँग दुई सातालाई पुग्ने कच्चापदार्थ छ, त्यसैबाट क्लिङ्कर उत्पादन भइरहेको छ भने थप कच्चा पदार्थ व्यवस्थापन भइरहेको छ ।' नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल क्षमता भएपनि हाल छ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ छ । विसं २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै उनीहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज शरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशका निम्ति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्रीको कार्यालयको पोष्टमा भनिएको छ, ‘PM@narendramodi, तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद । हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु ।’ त्यसैगरी, प्रधानमन्त्री शाहका तर्फबाट पाकिस्तानका सम्माननीय राष्ट्रपति, तपाईंको हार्दिक बधाइका शब्दको लागि धन्यवाद । म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावना अनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याउँछु @PresOfPakistan भनिएको छ । यसैगरी, Prime Minister @CMShehbaz तपाईंको हार्दिक बधाइको लागि धन्यवाद। हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु, प्रधानमन्त्रीले भनेका छन् ।
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको छ । थाइल्याण्डले इरान सँग हर्मुज जलडमरूमध्य हुँदै आफ्ना तेल ट्याङ्करहरू सुरक्षित रूपमा सञ्चालन गर्न सहमति गरेको छ, जसले इन्धन आपूर्ति अवरुद्ध हुने चिन्ता केही हदसम्म कम गरेको छ । तर, यही जलमार्गमा इरानले केही जहाजहरू फिर्ता पठाएको बताएको छ, विशेष गरी अमेरिक–इजरायललाई सहयोग गर्ने देशसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै, जसले विश्व व्यापार र ऊर्जा आपूर्तिमा अनिश्चितता थप बढाएको छ । यसैबीच, संयुक्त अरब इमिरेट्सको अबु धाबीस्थित औद्योगिक क्षेत्रमा मिसाइल र ड्रोन आक्रमणपछि आगलागी हुँदा कम्तीमा पाँच जना घाइते भएका छन् । कुवेतको मुख्य व्यापारिक बन्दरगाह शुवैखमा पनि ड्रोन आक्रमणबाट भौतिक क्षति पुगेको छ, यद्यपि मानवीय क्षति भने नभएको बताइएको छ । यी घटनाहरूले खाडी क्षेत्रका प्रमुख ऊर्जा र व्यापारिक केन्द्रहरू असुरक्षित बन्दै गएको सङ्केत दिएका छन् । युद्धको प्रत्यक्ष प्रभाव विश्व ऊर्जा बजारमा देखिएको छ । तेलको मूल्य तीव्र रूपमा बढेको छ, किनकि लगानीकर्ताहरूले द्वन्द्व चाँडै अन्त्य हुने आशा गुमाउँदै गएका छन् । यसको असर सेयर बजारमा पनि परेको छ, जहाँ प्रमुख बजार सूचकहरू लगातार घटिरहेका छन् र लगानीकर्तामा अनिश्चितता बढेको छ । स्पेन को केन्द्रीय बैङ्कले अर्थतन्त्रमा ‘उल्लेखनीय मन्दी’ आउन सक्ने चेतावनी दिएको छ, साथै वित्तीय बजारमा अस्थिरता देखिन सक्ने सङ्केत गरेको छ । त्यहाँ इन्धन र ताप ऊर्जाको मूल्य बढ्दा मुद्रास्फीति पनि बढेको छ । इरानमा भने युद्धका कारण डिजिटल मुद्राको प्रयोग उल्लेखनीय रूपमा बढेको छ । विज्ञहरूका अनुसार यसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न र बढ्दो महँगीबाट जोगिन वैकल्पिक वित्तीय माध्यमका रूपमा प्रयोग गरिएको छ । उता, हवाई उडान क्षेत्रमा सुरुवाती दिनको तुलनामा उडान रद्द हुने दर घटे पनि कुल उडान सङ्ख्या अझै कम छ, जसले पर्यटन र व्यापारिक यात्रामा असर पारिरहेको छ । ऊर्जा सङ्कट अझ गहिरिँदै जाँदा जर्मनीले आवश्यक परे कोइला–आधारित विद्युत् उत्पादनलाई अपेक्षाभन्दा लामो समयसम्म सञ्चालनमा राख्न सक्ने सङ्केत दिएको छ । इजिप्टले ऊर्जा खर्च नियन्त्रण गर्न पसल, रेष्टुरेन्ट र किनमेल केन्द्रहरूलाई राति ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ । इथियोपियामा पेट्रोल अभावका कारण मानिसहरू घण्टौँ लामो लाइनमा बस्न बाध्य भएका छन्, कतिपयले त गाडीमै रात बिताएका छन् । यसैगरी, केन्या मा हजारौँ टन चिया मुख्य बन्दरगाहमै अड्किएको छ, जसले निर्यात व्यापारमा ठूलो असर पारेको छ । समग्रमा, मध्यपूर्व युद्धले ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार, वित्तीय बजार, यातायात र दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा व्यापक प्रभाव पार्दै विश्व अर्थतन्त्रमा अस्थिरता र अनिश्चितता बढाएको स्पष्ट देखिन्छ। रासस
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए ।
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
वीरगञ्ज । भारत सरकारले १९ थान वान टन सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारीसाधन हस्तान्तरण गरेका हुन् । सरकारको आग्रहअनुसार सो सवारीसाधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका सहायक प्रजिअ कार्कीले सवारीसाधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारीसाधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिए ।
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् ।
चिनियाँ प्रधानमन्त्रीद्वारा बालेन्द्र शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई शनिबार एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताएका छन् । यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री लीले नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एण्ड रोड इनिसिएटभ्’ लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताएका छन् । साथै प्रधानमन्त्री लीले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
केपी ओलीको पक्राउबारे एमालेले गर्यो ४ निर्णय
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले विभिन्न चार निर्णय गरेको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार केपी शर्मा ओलीको पक्राउविरुद्द आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय गरेको छ । यस्तै, प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई कार्यालयमा विरोधपत्र बुझाउने र लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने निर्णय पनि गरेको छ ।