९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिव ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरिएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा देखिएका सात जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’अन्तर्गत ९७.७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जानकारी दिए । उनका अनुसार ती सात जिल्लाका एक लाख २८ हजार ३५९ बालबालिका तथा मानिसलाई खोप लगाइएको छ । अछाम र दैलेखमा पनि दादुराको जोखिम रहे पनि न्यून सङ्ख्यामा बिरामी भेटिएकाले अभियान सञ्चालन नगरेको उनले बताए । सरकारले यस वर्ष दादुरको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ जेठको अन्तिम सातादेखि असार १० गतेसम्म सञ्चालन गरेको थियो । उनका अनुसार सर्लाहीमा १० हजार २५४, सिराहा दुई हजार ५५०, महोत्तरीमा ७७ हजार ९७, बागलुङमा पाँच हजार ९५०, कालीकोटमा ४१६, सुर्खेतमा दुई हजार ६७ र जाजरकोटमा तीन हजार ८०० जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । ती जिल्लाभरि नभएर दादुराको प्रकोप देखिएको स्थानीय तहका र वडामा मात्र खोप अभियान सञ्चालन गरिएको थियो । दादुरा सङ्क्रामक रोग हो । एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण सार्न सक्दछ । त्यसैले सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको शाखा प्रमुख डा. गौतमले जानकारी दिए।
सुशासन र पारदर्शितामा नबिल बैंक अब्बल, लगातार तेस्रो पटक जित्यो 'गोल्ड अवार्ड'
काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने विधामा नबिल बैंकले लगातार तेस्रो पटक निजी क्षेत्रको बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड हात पारेको हो । यसका साथै विधाको इतिहासमै पहिलो पटक थपिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ पनि बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ पाएको छ । मंगलबार आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गरे । आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपना जस्ता कडा मापदण्डहरूमा अब्बल ठहर गर्दै नबिल बैंकलाई यी पुरस्कारहरू प्रदान गरेको हो । यसअघि सन् २०२३ र २०२४ को प्रतिवेदनका लागि समेत सोही पुरस्कार पाएको नबिल बैंकको यो पुरस्कृत वार्षिक प्रतिवेदन अब नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना गरिने ’साफा बिपिए अवार्ड’ का लागिसमेत मनोनित हुने भएको छ । ४ दशकदेखि गुणस्तरीय र दिगो बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ भने पछिल्लो समय डिजिटल बैंकिङका लागि ’एनबैंक’ समेत सञ्चालनमा ल्याएको छ ।
उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले नेकपा (एमाले) उपाध्यक्ष पौडेलकी पत्नी दोमाया पौडेलले गैरकानुनीरूपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै मंगलबार (आज) उक्त मिसिल झिकाउन आदेश गरेको हो । रिट निवेदनमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाउँदै गैरकानुनी थुनामुक्त गर्न माग गरिएको थियो । अदालतले मुद्दाको अभियोग पत्रसहितको सक्कल फाइल इजलास समक्ष देखाइ फिर्ता लैजाने गरी सम्बन्धित अदालतबाट झिकाइ मिति यही असार १८ गते पेशी तोक्न भनेको छ । आदेशमा रिट निवेदनसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल, भट्टकै वैकिङ कसुर मुद्दा पाटनबाट झिकाउन भनिएको छ । आशिष श्रेष्ठसमेत रहेको बिमासम्बन्धी कसुर मुद्दाको काठमाडौं जिल्ला अदालतबाट सक्कल मिसिल झिकाउने, सुलभ अग्रवालसमेत भएको धितोपत्रसम्बन्धी कसुरको मुद्दाको सक्कल मिसिल काठमाडौं जिल्ला अदालतबाट झिकाउन भनिएको छ ।
साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई गर्यो आममाफी
काठमाडौं । नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति मंगलबार (आज) कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबीच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यो आममाफी रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपश्चात प्रदान गरिएको हो । उक्त कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्किने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विद्युत् प्राधिकरणमा थपिए ५० हजार नयाँ मिटर, सातै प्रदेशमा वितरण सुरु
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरूको मागलाई सम्बोधन गर्दै ५० हजार वटा नयाँ विद्युत् मिटर भित्र्याएको छ । प्राधिकरणका अनुसार नयाँ मिटर जडानका लागि पर्खिरहेका सेवाग्राहीहरूलाई मध्यनजर गर्दै ती मिटरहरू सम्बन्धित सातै प्रदेशका प्रादेशिक तथा स्थानीय कार्यालयहरूमा पठाइसकिएको छ । नयाँ मिटर उपलब्ध भएसँगै प्राधिकरणले मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई आ-आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । इच्छुक ग्राहकहरूले कार्यालयमा गई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर तत्काल निवेदन दर्ता गर्न सक्नेछन् । विगतमा मिटर अभावका कारण केही समय रोकिएको नयाँ कनेक्सन प्रक्रिया अब तीव्र गतिमा अघि बढ्ने प्राधिकरणले जनाएको छ । आफ्ना सेवाग्राहीहरूलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न नेपाल विद्युत् प्राधिकरण सधैं प्रतिबद्ध रहेको र आगामी दिनमा पनि मिटरको अभाव हुन नदिने विश्वास प्राधिकरणले दिलाएको छ ।
३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । राष्ट्र बैंकले मंगलबार (आज) सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ । काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ । राष्ट्र बैंकल न्यूनतम रु पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।
होटलको खानामा गृहको नजर: ७७ वटै जिल्लामा 'एक्सन' लिन सर्कुलर
काठमाडौं । गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टहरूको खानाको गुणस्तर सुधार गर्न र नागरिकका गुनासाहरू जिल्ला तहबाटै तत्काल सम्बोधन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको छ । देशभरका होटल तथा रेस्टुरेन्टहरूमा खानाको स्वच्छता निकै कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि मन्त्रालयले आइतबार (असार १५ गते) सबै प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई परिपत्र गर्दै बजार अनुगमन र प्रशासनिक जबाफदेहितामा कडाइ गर्न निर्देशन दिएको हो । मन्त्रालयले होटल तथा रेस्टुरेन्टहरूले प्रदान गर्ने खानाको गुणस्तर सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न भनेको छ । अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुऱ्याउने वा कानुन उल्लङ्घन गर्ने पक्षलाई हदैसम्मको कडा कारबाही गर्न समेत सर्कुलरमा उल्लेख छ । नागरिक केन्द्रित शासनको साख जोगाउन र सानातिना स्थानीय समस्या समाधानका लागि पनि सर्वसाधारण केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रूपमा अन्त्य गर्न सिडिओहरूलाई सचेत गराइएको छ । 'स्थानीयस्तरका गुनासा र समस्याहरू जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा समाधान हुनुपर्छ,' भन्दै मन्त्रालयले आम नागरिकका गुनासाहरू सहजै दर्ता गर्न र तिनको तत्काल समाधान खोज्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत वा डेस्क स्थापना गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले जिल्लाको कार्यसम्पादनलाई प्रत्यक्ष सुपरीवेक्षण गर्ने जनाउँदै कार्यसम्पादनका क्रममा कुनै पनि किसिमको अक्षमता वा उदासीनता प्रस्तुत नगर्न र विधिको शासन कायम गर्न स्थानीय प्रशासनले पूर्ण व्यावसायिकता देखाउनुपर्ने स्पष्ट पारेको छ । गृह मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित यो सर्कुलर गृहमन्त्री सुधन गुरुङको निर्देशानुसार जारी गरिएको हो ।
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ । सङ्क्रमण देखिएलगत्तै चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु भाइरस नियन्त्रणका लागि निरन्तर औषधि छर्किने, जीवजन्तु राखिएका स्थानको सरसफाइ गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । उनले पछिल्लो परीक्षणका आधारमा असार १२ गतेयता चिडियाखानाभित्र बर्डफ्लुको नयाँ सङ्क्रमण नदेखिएको जानकारी दिए । सङ्क्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्डफ्लु नियन्त्रण अध्ययन समितिसमेत गठन गरिएको छ । उक्त समितिले केही दिनभित्र विस्तृत प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा विज्ञहरूको सुझाव लिएपछि हाल बन्द रहेको चिडियाखाना कहिलेदेखि सर्वसाधारणका लागि पुनः सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गरिने सूचना अधिकारी कोइरालाले बताए । पशु सेवा विभागले भने काठमाडौं उपत्यकामा बर्डफ्लुको जोखिम अझै कायम रहेको जनाएको छ । विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा बर्डफ्लु तीव्र रूपमा फैलिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ । चिडियाखाना प्रशासनले जीवजन्तुको सुरक्षा र सर्वसाधारणको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आवश्यक सबै सावधानी अपनाइरहेको जनाएको छ । हाल चिडियाखाना बन्द रहे पनि सङ्क्रमण नियन्त्रणको अवस्था सकारात्मक देखिएकाले विज्ञहरूको प्रतिवेदनपछि पुनः सञ्चालनबारे अन्तिम निर्णय गरिने बताइएको छ ।