एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा, अब पाराग्वेसँग भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

बुधबार बिहान न्यु जर्सी स्टेडियममा सम्पन्न खेलमा कप्तान केलियन एम्बाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए । यो जितसँगै उपाधि दाबेदार फ्रान्सले अन्तिम १६ मा जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अघि बढेको पाराग्वेसँग भेट पक्का गरेको छ ।

फ्रान्सले खेलभर बल नियन्त्रण र आक्रमणमा स्पष्ट वर्चस्व कायम राख्यो । पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोलको खाता खोले । त्यसअघि पनि उनले एक प्रहार पोस्टमा लागेका थिए भने अर्को गोल अफसाइडका कारण मान्यता पाउन सकेको थिएन ।

खेलको ५३औं मिनेटमा माइकल ओलिसेको सटिक पासमा बार्कोलाले शक्तिशाली प्रहार गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ७४औं मिनेटमा फेरि ओलिसेको सिर्जनात्मक पासलाई सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेलको नतिजा सुनिश्चित गरे । ओलिसेले खेलमा दुई असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे ।

यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याएका छन् । यससँगै उनी गोल्डेन बुटको दौडमा लियोनेल मेसीको बराबरीमा पुगेका छन् । साथै विश्वकप इतिहासमा उनको कुल गोल संख्या १८ पुगेको छ, जसले उनलाई सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा मेसीभन्दा केवल एक गोलले पछि राखेको छ ।

फ्रान्स लगातार प्रभावशाली प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेको छ । प्रशिक्षक डिडिएर डेसच्याम्प्सको टोलीले समूह चरणपछि नकआउटको पहिलो खेलमा पनि उत्कृष्ट लय कायम राख्दै स्विडेनलाई कुनै मौका नदिई अन्तिम १६ को यात्रा तय गरेको हो ।

Share News