लगानीकर्ता र बीमकको दशैं : वर्षौंपछि घर जाँदाको उत्साह र दौतरीसँगको तास
काठमाडौं । गाउँ होस् या सहर । चारैतिर दशैंले घरिसकेको छ । विद्यालयसँगै अधिकांश कार्यालयहरु बन्द भइसकेका छन् । गाउँ घर फर्किनेहरु घर फर्किसके भने कोही जाँदै छन् । नयाँ लुगा किन्नेहरुले किनिसके भने कोही किन्नको लागि बजार धाउँदै छन् । कसैले दशैंको बिदामा नयाँ नयाँ ठाउँ घुम्न जाने योजना बनाएका छन् । कोही आफ्नै आफन्तजनको हातबाट टिका लाएर आशिर्वाद थापेर दशैं मनाउँदै छन् । यो अवसरमा पुँजीबजारका लगानीकर्ता तथा बीमा समितिका उच्च पदाधिकारीहरुले कसरी मनाउँदै छन् ? सूर्य प्रसाद सिलवाल बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल आफ्नो दाजुको घरमा दशैं मनाउँदै छन् । दाजुभाई कोही कता कोही कता भएकाले कहिले कसको कहिले कसको घरमा गएपछि दशैं सकिने उनी बताउँछन् । यो पटक कतै घुम्न जाने योजना नबनाएका उनले दाजुभाइसँगै बसेर तास खेल्ने योजना भने बनाएका छन् । सिलवालको ससुराली घर उपत्यका बाहिर भएपनि यो पटक सबै काठमाडौंमै भएकाले यतै टिका लगाउने तयारीमा उनी छन् । राजुरमण पौडेल बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको पनि यो पटक दशैंमा कुनै योजना छैन । ‘मेरो प्लान केही छैन, घर बस्ने, मासु खाने, टिका लगाउने आशिर्वाद थाप्ने, त्यत्ति हो,’ उनले भने । पौडेलको पहाड घर गोरखा हो । तर स–परिवार काठमाडौंमै भएकाले उनी काठमाडौंमै दशैं मनाउँदै छन् । उनको ससुराली भने चितवन हो । टिका पछि भने उनी चितवन जाँदै छन् । राधा पोखरेल नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले यसपाली दशैं काठमाडौंमै मनाउने तयारी गरिरहेकी छिन् । नयाँ योजना खासै केही पनि नबनाएकी उनी यो पटक भने यताउता भेटघाटसँगै दशैंको कार्यक्रमहरुमा व्यस्त हुँदैछिन् । लगानीकर्ता पोखरेल तासमा पनि खासै रुची राख्दिनन् । पहिलो पटक चुनावमा उठ्न लागेकी उनी दशैंको समयमा पनि त्यतै व्यस्त हुने बताउँछिन् । उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको निर्वाचनको लागि चुनाव लड्दैछिन् । तर, हालसम्म भने कुन पार्टीबाट उठ्ने भन्ने एकिन नभइसकेको उनी बताउँछिन् । उनी एमाले वा स्वतन्त्र पार्टीमध्येबाट चुनाव लड्ने तयारीमा छिन् । तुलसीराम ढकाल नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष ढकाल यो पटक गाउँ जाने तयारीमा छन् । उनको गाउँ मोरङ हो । कोभिड महामारीको कारणले विगत तीन वर्षदेखि दशैंमा गाउँ नगएका उनी यो वर्ष हर्षउल्लासका साथ आफ्नो जन्मघर जाँदै छन् । पुराना साथीभाई भेट्ने र आफन्त मान्यजनहरुबाट टीका लाउने आशिर्वाद थाप्ने नै उनको मुख्य योजना छ । पछिल्लो समय तरलता आभावसँगै देशमा आर्थिक मन्दी छाएको छ । त्यसको प्रभाव नेपाल पुँजीबजारमा पनि परेको छ । तर बजार घटेर नोक्सान भए पनि आफ्नो चाडवाड भने रमाइलोसँग मनाउने उनको सोच छ । ‘दशैं भनेको वर्षमा एक पटक आउने चाड हो, यसलाई सब्य अनि भब्य तरिकाले मनाउनु पर्छ, लगानीको पाटो आफ्नो ठाउँमा छ, यसलाई परम्परागत रुपमा मनाउँदै आएको दशैंसँग जोडेर हेर्न मिल्दैन, दुःख कष्ट बिर्सिएर चाडवाडमा रमाउनु पर्छ,’ उनले भने । तास खेल्नमा खासै रुची नराख्ने लगानीकर्ता ढकालले आम साथीभाईलाई तास खेलेर समय बर्बाद नगर्न समेत आग्रह गरेका छन् । ‘म तास कहिल्यै खेल्दिन, तासको साटो पुँजीबजार नै हो, पुँजीबजार मेरो पहिलो व्यवसाय तथा म यसलाई उद्योगको रुपमा लिन्छु,’ विकासन्युसँग बोल्दै ढकालले भने । छोटेलाल रौनियार नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारको पनि दशैं काठमाडौंमै हो । आफ्नै घरमै जमरा राखेका रौनियार आफैंले दैनिक पुँजा गर्ने गरेका छन् । पहिला पहिला तास खेल्न मन पराउने उनी हाल भने तास खेल्न खासै मन गर्दैनन् । उनी दशैंको समयमा विशेष गरी फुलपातीको दिनमा ट्रेकिङ जान भने औधी मन गर्छन् । तर, यो पटक भने उनको त्यो योजना छैन । ‘घरमा म र श्रीमती जी मात्रै हो, छोरी बाहिर गइन्, त्यसैले यो पटक ट्रेकिङ जान पाइएन,’ उनले भने ।
सर्वसाधारणलाई टिकटको सकस, व्यवसायी भन्छन् : सकेसम्म व्यवस्था गर्छौं
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर जानेहरुको आज पनि उल्लेख्य भीड छ । काठमाडौंको नयाँ बसपार्कमा दशैँ मनाउन घर जानेहरुको भीड लागेको हो । टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरु बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन् । नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरु यातायात व्यवसायीहरुले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरेका छन् । बीच बाटोबाट सर्वसाधारणहरु लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरुका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको उनीहरुको गुनासो छ । त्यस्तै यातायात व्यवसायीहरुले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खालि नरहेको उनीहरुको भनाइ छ । बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ । उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन् । त्यस्तै यातायात व्यवसायीहरुले भने अन द स्पोट आएर जसरी पनि घर जानैपर्ने भन्ने सर्वसाधारणका कारण यी समस्या आइरहेको बताए । पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले आज टिकट काट्न आउने र जसरी पनि जानैपर्छ भन्ने सर्वसाधारणहरुले यस्तो समस्या निकालिरहेको बताए । उनले टिकट काट्दा उभिएर पनि जान्छु भन्ने तर टिकट काटिसकेपछि टिकटमा अर्को मानिस राखेको छ भन्ने जस्ता कुरा गरेर भ्रम पैदा गरिरहेको बताए । नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किरहेका छन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाएर यातायातको सहज व्यवस्थापन गर्ने भनेपनि यात्रुहरु भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् । नयाँ बसपार्क, गौशाला, कोटेश्वर लगायतका स्थानमा टिकट काटेर घर फर्किने यात्रुको लर्को देख्न सकिन्छ ।
एनआरएनएको कार्यकारी अध्यक्ष बनिन् थापा, यस्ता छन् प्रतिवद्धता
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुरूप थापाले आइतबार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदीय प्रणाली अनुरूप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिवार भर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्यान्डेट अनुरूप आफूले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए । आचार्य अब संघभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा. बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् । यस्ता छन् थापाका प्रतिवद्धता : -गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रर्वधन, वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकतको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायतका कामलाई मूर्तरुप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा मेरो ध्यान केन्द्रित रहनेछ । -विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने छु । यसअघि जस्तै गैरआवासीय नेपाली संघ समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछ । -गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहनेछ । संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ । -संघको अभियानबाट बाहिर रहेका सदस्यहरुलाई समेत मुलधारमा ल्याउन पुर्णरुपमा मेरो पहल रहनेछ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ । -“एक प्रदेश, एक मोबाईल ब्लड बस” परियोजनाबाट कम्तिमा ३ वटा प्रदेशमा सञ्चालन गर्नको लागि आइसीसी एनसीसी तथा सरोकारवालाहरुसँग समन्वय आर्थिक सहयोग संकलन गर्ने र खरिद गरि हस्तान्तरण गरिने छ । -रेस्टरूम परियोजना अन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरि लागु गरिने छ । -संघले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरुसंग सहकार्य गरि समृद्ध नेपाल निर्माण टेवा पुर्याउने योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ । -“एक पल्टको नेपाली, सधैको नेपाली” लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरु समक्ष आग्रह गरि गैरआवासीय नेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने छ । -डेलिगेस प्रणालीलाई सहजीकरण गरिने छ । -नेपालमा बेरोजगारी कम गर्ने उदेश्यले ‘पढ्दै कमाउँदै; जस्ता आयमुल र सिपमुलक कामको लागि संस्थाभित्र आउने परियोजनालाई अघि बढाइने छ ।
दशैँमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैँमा पनि निरन्तरता दिइएको छ । दशैँ सुरु भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो । दशैँको टीकाको दिनबाहेक अन्य सबै दिन काम नरोकिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए । “आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउनका लागि कामको गति बढाएका छौँ”, उनले भने, “दशैँमा पनि काम रोकिँदैन ।” दशैँको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिइए पनि चिनियाँ मजदुर र अन्य केही नेपाली कामदारको सहभागितामा काम चलिरहने उनले बताए । “न्यूनतम कामदारबाट टीकाको दिनमा पनि काम हुन्छ”, सिल्पकारले भने, “आयोजनालाई समयमै सम्पन्न गराउनेतर्फ गम्भीर भएर लागिपरेका छौँ ।” यतिबेला आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल ९पानी फर्काउने सुरुङ० को काम चलिरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ । आयोजना प्रमुख सिल्पकरका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम सुरु गरिएको छ । आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार चार सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म तीन सय ५० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्र्याक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७।१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८०।८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ । प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि २५ वटा टावर सम्पन्न भएको छ । त्यस्तै हालसम्म ४८ वटा फाउण्डेशनको कार्य सम्पन्न भएको छ । यो प्याकेजको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्नका लागि मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण हुनेछ । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने
काठमाडौं । दशैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । यसैगरी महानगरले हाल काठमाडौँसहित देशैभरिमा डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ । महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेङ्गुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो । यतिमात्र नभई दशैँ बिदा अवधिभरमा महानगर पालिकाले पाँच सय ५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरुले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ ।
सिमेन्ट उद्योगमा विदेशी लगानी रोक्नुपर्छ : ध्रुब थापाको लेख
नेपालको सिमेन्ट उद्योगमा निजी क्षेत्र प्रवेश गरेको दुई दशक भयो । सुरूमा निजी क्षेत्रले लगानी गर्दा भारतबाट क्लिंकर ल्याएर ग्रान्डिङ (सिमेन्ट बनाउने र प्याकेजिङ) गर्ने उद्योग स्थापना भएको थियो । तर निजी क्षेत्रको प्रवेशपछि सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । यस्तै, क्लिंकर उत्पादनमा समेत नेपाल आत्मनिर्भर बनिसकेको छ । र, यतिबेला हामी भारततर्फ सिमेन्ट निर्यातको तयारी थालिरहेका छौं । २०७२ सालको भूकम्पपछि संविधान बन्यो र त्यसपछिको आमचुनावमा बहुमतसहितको सरकार बन्यो । त्यसपछि, नेपालको निर्माण क्षेत्रले फड्को मार्ने प्रक्षेपणसहित निजी क्षेत्रले क्लिंकर र सिमेन्टमा झनै लगानी बढाए । निजी क्षेत्रले संविधान निर्माण र भूकम्पपछि यस क्षेत्रमा लगानी गर्नुको मुख्य कारण आर्थिक क्रान्तिको सपना हो । आर्थिक प्रगति गर्नका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने र पूर्वाधारमा लगानी गर्न सिमेन्ट तथा डण्डी मुख्य वस्तु भएकाले यस क्षेत्रमा लगानी बढेको हो । तर, निजी क्षेत्रले गरेको अपेक्षाविपरीत सिमेन्टको खपत बढ्न सकेन । नेपाल सिमेन्टमा आत्मनिर्भर बन्ने बाटोतर्फ अग्रसर बनेको करिब ६÷७ वर्ष मात्रै भएको छ । २०७६ सालदेखि विश्वव्यापी महामारीका रूपमा कोरोना भाइरस आयो । यसले गर्दा सिमेन्ट क्षेत्रमा भएको लगानी अनुसार बजार पाउन सकेन । र, निजी क्षेत्रले लामो समयदेखि भारतमा सिमेन्ट निकासीको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरिरहेको थियो । आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत् सिमेन्टलाई निर्यातयोग्य वस्तुका रूपमा पहिचान गराउन सफल बनेका थियौं । चालु आवको बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले सिमेन्ट, डण्डी र जुत्ता निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरिदिएपछि केही सहज भएको छ । तर, यो पनि न्यून नगद अनुदान हो । यसलाई बढाएर १० प्रतिशत बनाउनुपर्छ भन्ने हाम्रो माग छ । यद्यपि, यो व्यवस्थासँगै सिमेन्ट उद्योगीहरू उत्साहित बनेका छन् । लामो समयदेखिको उद्योगीरूको माग सुनुवाई भए पनि कार्यान्वयनको पाटो बाँकी नै छ । सिमेन्ट निर्यात गर्दा प्रोत्साहन स्वरूप दिइने ८ प्रतिशत नगद अनुदान पाएमा नेपालमा उत्पादित सिमेन्टले भारतीय बजारमा प्रतिस्र्धा गर्न सक्छन् । नेपालबाट भारततर्फ परीक्षणका रूपमा सिमेन्ट निर्यात सुरू भइसकेको छ । नवलपरासीको पाल्पा सिमेन्टले भारततर्फ सामान पठाइसकेको छ । अब यो निर्यात प्रक्रियालाई निरन्तरता दिनु मुख्य चुनौती बनेको छ । यदि भारततर्फ सिमेन्ट निर्यात हुन सकेको स्थिथिमा भारतीय सीमानजिक रहेका उद्योगहरूले राम्रो बजार पाउने छन् । भारतको सय किलोमिटरभित्र पर्ने सहरी क्षेत्रमा पुगेर नेपाली सिमेन्ट बेच्न सकिने आकलन गरिएको छ । किनकि, भारतको बिहार र उत्तरप्रदेश राज्यको आसपास सिमेन्ट उद्योगहरू छैनन् । ती राज्यमा यतिबेला पूर्वाधारमा लगानी ह्वात्तै बढेको छ । र, ती राज्यहरूभन्दा सयौं माइल पर मात्रै सिमेन्ट उद्योग सञ्चालनमा छन् । दूरीका हिसाबमा ती दुई स्थानमा अन्य राज्यबाट सिमेन्ट ल्याउनुको साटो नेपालबाट लग्न सहज हुन्छ । सबै कुरा हाम्रो आकलनअनुसार भएमा १ खर्ब ५० अर्ब रुपैयाँसम्मको सिमेन्ट निर्यात गर्न सकिन्छ । भारत निर्यात गर्न सकियो भने देशको अर्थतन्त्रमा फाइदा पुग्छ । भारततर्फ निर्यातको सम्भावना अपार छ । तर त्यहाँ पनि नेपालमा जस्तै बजारमागको तुलनामा उत्पादन बढी छ । भारतमा बजारको माग तुलनामा ०.५ प्रतिशत बढी उत्पादन भइरहेको छ । यस्तै, उनीहरूको चाहना भारतीय बजारमा नेपाली सिमेन्ट नआओस् भन्ने पनि हुन सक्छ । उनीहरूको पनि नेपालतर्फ निर्यात गर्ने चाहना हुन सक्छ । यसैगरी, नेपालको उत्पादन लागत भारतीय सिमेन्टको तुलनामा बढी छ । तर गुणस्तरीय वा वातावरणीय हिसाबमा हामी भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न तयार छौं । अहिलेसम्म सिमेन्ट क्षेत्रमा ३ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । यो लगानीबाट ६५ वटा सिमेन्ट उद्योग र १७ वटा क्लिंकर उद्योग सञ्चालनमा छन् । यी उद्योगहरूमा ५० हजारजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष त योभन्दा ४ गुणा बढीले रोजगारी पाएका छन् । विकट गाउँबाट ढुंगा ल्याएर सहरबजारसम्म सिमेन्ट बनेर आउँदाको ‘सप्लाइ चेन’ ठूलो छ । चेन ठूलो भएकाले यसको अप्रत्यक्ष रोजगारी धेरै छ । सिमेन्ट उद्योगले यातायात क्षेत्रलाई काम दिएको छ । सिमेन्ट लोड÷अनलोड गर्नेलाई रोजगारी दिएको छ । योबाहेक सबैभन्दा धेरै निर्माण क्षेत्रमा रोजगारी दिएको छ । देशको समग्र अर्थतन्त्रको चेनमा सिमेन्ट एउटा महत्वपूर्ण वस्तु हो । त्यसैले सिमेन्ट क्षेत्रले आर्थिक गतिविधिलाई चलायमान राख्न महत्वपूर्ण भूमिका खेलेको छ । सिमेन्ट क्षेत्रमा होङ्सी र ह्वासिन गरी दुईवटा उद्योगमा ठूला वैदेशिक लगानी आएको छ । यससँगै नेपालको वार्षिक सिमेन्ट उत्पादन २०.५ मिलियन टन पुगेको छ । जबकि, कुल उत्पादन क्षमताको ५० प्रतिशत सिमेन्ट पनि हामीले खपत गर्दैनौं । गत आवमा नेपालमा जम्मा ९ मिलियन टन सिमेन्ट खपत भएको तथ्यांक सिमेन्ट उत्पादक संघले निकालेको छ । यो विगत ३ वर्षअघि भएको खपतको बराबर परिमाण हो । बजारको मागभन्दा उत्पादन धेरै भएकाले अहिले नेपालका सिमेन्ट उद्योगहरूले उत्पादन लागतभन्दा सस्तो मूल्यमा बिक्री गरिरहेका छन् । अहिले उद्योगीलाई सिमेन्टको मूल्यमा प्रतिबोरा ४० रुपैयाँसम्म घाटा छ । सोहीकारण, यस वर्ष सबै उद्योगको ब्यालेन्स सिट ऋणात्मक आउँछ । अहिले विश्वव्यापी रुपमा बढेको महँगीका कारण र कोरोना महामारीका कारणसमेत सिमेन्ट उद्योग घाटामा रहेका हुन् । विश्वभर बढेको महँगीले कोइलाको मूल्य उच्च बनाएको छ । जसले गर्दा उत्पादन लागत बढेको छ । अब यही गतिमा सिमेन्ट बजार रहेमा ८÷१० वटा उद्योग बन्द हुन सक्छन् । यसका लागि खपत बढ्नुपर्छ र नाफामा सिमेन्ट बेच्न पाएमा ती उद्योग बाँच्न सक्छन् । सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएर बजार नै नभएको स्थितिमा पनि विदेशी लगानीको ओइरो लागिरहेको छ । होङ्सी र ह्वासिन सिमेन्टबाहेक अन्य उद्योगमा पनि केही प्रतिशत विदेशी लगानी भित्रिएको छ । अब सिमेन्ट क्षेत्रमा विदेशी लगानी बन्द गर्नुपर्ने स्थिति आएको छ । हामी सिमेन्ट उद्योगीहरू सिमेन्टमा वैदेशिक लगानी आवश्यक छैन भनेर माग उठाउन थालेका छौं । हामी स्वदेशी उद्योगीले स्वदेशी पुँजीबाटै सिमेन्टलाई यो स्थितिसम्म पु¥याएका हौं । सिमेन्ट क्षेत्रलाइ यो स्थितिसम्म ल्याइपु¥याउन सानो स्केलबाट सुरू गरेर ठूलो दुःख गरेका छौं । अहिले सिमेन्ट क्षेत्रमा हामी आत्मनिर्भर बनेर निर्यात गर्ने अवस्थामा पुगेका छौं । तर अहिले स्वदेशी उद्योगी नै विस्थापित हुने गरेर विदेशी लगानी भित्रिरहेको छ । यस्तै स्थिति रहिरहे स्वदेशी लगानीमा स्थापना भएका सम्पूर्ण सिमेन्ट उद्योग धराशायी बन्छन् । र, विदेशी लगानीसहित स्थापना भएका उद्योगहरूको एकाधिकार हुन पुग्छ । त्यसपछि सिमेन्ट क्षेत्रबाट कमाएको नाफा विदेश जान्छ । स्वदेशी लगानीले नै आत्मनिर्भर बनेको क्षेत्रमा किन विदेशी लगानी ल्याउने ? सिमेन्टभन्दा अन्य धेरै क्षेत्रमा विदेशी लगानी आवश्यक छ । तिनै क्षेत्रको पहिचान गरेर विदेशी लगानी भित्राउने वातावरण बनाउनुपर्छ । हामीले नेपाल लगानी बोर्ड र नेपाल सरकारलाई लिखितरूपमै पत्र पठाइसकेका छौं । सिमेन्ट क्षेत्रमा आइरहेको विदेशी लगानी रोक्नुपर्छ । विदेशी लगानी आइरहने, सिमेन्ट उत्पादन क्षमता बढिरहने, खपत घटिरहने हो भने नेपालका सबै उद्योग धराशायी बन्छन् । यस्तो स्थितिमा कुल उत्पादन क्षमताको आधा पनि सिमेन्ट खपत नहुनु अर्थतन्त्रका निम्ति सकरात्मक सूचक होइन । खासगरी, हाम्रो देशको विकास बजेट कम हुनु र विनियोजित बजेटको ५० प्रतिशत पनि खर्च नहुनु मुख्य समस्या हो । नेपालमा सिमेन्टको खपत बढाउनका लागि सरकारले विकास बजेट बढाउनुपर्छ । र, विनियोजन गरेको विकास बजेटलाई शतप्रतिशत खर्च गर्नुपर्छ । छुट्याइएको विकास बजेटले नपुगेमा निजी क्षेत्रसँग ऋण उठाउने वा विदेशी दातृ निकायसँग समेत ऋण लिने व्यवस्था गर्नुपर्छ । यसो गर्न सकेमा उत्पादित सिमेन्टको खपत बढ्न जान्छ । सडक कालोपत्रे गर्दा नेपालको भौगोलिक अवस्थाका कारण धेरै टिकाउ हुँदैनन् । अहिलेसम्म बनाइएका सबै सडकको स्थिति हेर्दा विकास निर्माण कार्यलाई नै ‘बदनाम’ बनाएको अवस्था छ । त्यसैले सडकलाई कालोपत्रे गर्नुको साटो कंक्रिटको बनाउनुपर्छ । एकपटक कंक्रिटको सडक बनाएपछि बीसौं वर्षसम्म टिक्छ । गुणस्तरीय ढंगमा बनाउँदा ५० वर्षसम्म पनि टिक्छ । यसो गर्न सकेमा नेपालको अलकत्रा आयात र कालोपत्रे गर्न चाहिने वस्तुको आयात पनि घट्न जान्छ । त्यसले व्यापार घाटा पनि घटाउँछ । वर्षेपिच्छे सडक मर्मत गरिराख्नुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ । नेपालका उच्च हिमाली र पहाडी क्षेत्रका सडक कंक्रिटको बनाउनु उत्तम हुन्छ । यसका लागि निजी क्षेत्रले लामो समयदेखि सरकारसमक्ष आवाज उठाउँदै आएको छ । सिमेन्ट खपत उच्चतम बिन्दुमा पुगे पनि नेपाली बजारले मात्रै हाम्रो सबै उत्पादन प्रयोग गर्न सक्दैन । त्यसैले भारतीय बजार नेपाली सिमेन्टका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । छिमेकी मुलुकमा रहेको अथाह निर्यातको सम्भावनालाई सदुपयोग गर्नुपर्छ । तर नेपाली सिमेन्ट भारतीय सिमेन्टको तुलनामा महँगो भएकाले सरकारले नगद अनुदान दिनुपर्ने भएको हो । सरकारले ८ प्रतिशतसम्म नगद अनुदान दिँदा सिमेन्टलाई यति धेरै प्रोत्साहन किन भन्ने प्रश्न पनि उठिरहेको छ । सिमेन्ट नेपालमा उत्पादन हुने जलविद्युत्, सेवा र कृषिजन्य व्यवसायपछि सबैभन्दा धेरै मूल्य अभिवृद्धि हुने क्षेत्र हो । सिमेन्ट उत्पादन गर्दा ६५ प्रतिशतसम्मको मूल्य अभिववृद्धि भइरहेको छ । विश्वबजारमा कोइलाको मूल्य बढ्नुअघि सिमेन्टमा ७०–७५ प्रतिशतसम्म मूल्य अभवृद्धि हुन्थ्यो । अहिले कोइलाको भाउ बढ्दा पनि ६० देखि ६५ प्रतिशतसम्म मूल्य अभिवृद्धि भइरहेको छ । सिमेन्ट उत्पादन गर्नका लागि विदेशबाट कोइला, जिप्सम र पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट (पीपीसी)का लागि फ्लाइ एसको आयात भइरहेको छ । विदेशबाट सिमेन्टका लागि चाहिने कच्चा पदार्थका रूपमा आयात हुने मुख्य वस्तु यिनै हुन् । यीमध्ये पनि कोइला सबैभन्दा मुख्य वस्तु हो । फ्लाइ एस पीपीसी सिमेन्टका लागि मात्रै प्रयोग हुन्छ भने जिप्समको हिस्सा ५ प्रतिशत हाराहारीमात्रै हुन्छ । हाल विश्वबजारमा फ्लाइ एसको विकल्पको खोजी भइरहेको छ । युरोपियन मुलुकहरूमा लाइमस्टोन सिमेन्टको प्रयोग हुन थालिसकेको छ । यो भनेको नपकाएको चुनढुंगाबाट उत्पादन गरिने सिमेन्ट हो । हालसम्म नेपालमा पकाएको चुनढुंगाबाट सिमेन्ट उत्पादन हुँदै आइरहेको छ । नेपालमा पनि युरोपको जस्तै प्रविधिबाट सिमेन्ट उत्पादनका लागि पहल सुरू भइसकेको छ । निजी क्षेत्रले सरकारसँग यस प्रकारको सिमेन्ट उत्पादनका लागि छलफल गरिरहेको छ । साथै, एलसी थ्री भन्ने सिमेन्टसमेत प्रचलनमा आउन थालेको छ । यो सिमेन्टमा चुनढुंगाको साटो रातो र कमेरो मिसिएको माटोलाई कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ । विशेषप्रकारको माटोलाई पोलेर सिमेन्टका रूपमा प्रयोग गर्ने प्रविधिबाट उत्पादित सिमेन्टलाई एलसी थ्री भनिन्छ । फ्लाइ एसको सट्टा ती कच्चा पदार्थ प्रयोग गरेर लाइमस्टोन र एलसी थ्री सिमेन्ट उत्पादन गर्न सुरू गरियो भने मूल्य अभिवृद्धि झनै बढ्छ । हुन त अहिले पनि ओपीसीमा उच्च दरको मूल्य अभिवृद्धि भइरहेको छ । अब सिमेन्ट उद्योग सञ्चालन गर्दा वातावरणमा हुने प्रदूषणको कुरा गरौं । वातावरण र विकासबीच धेरथोर प्रतिस्पर्धा शदिऔंदेखि चल्दै आएको छ । अहिले सिमेन्ट उत्पादन गर्दा उच्च प्रविधिको प्रयोग हुन थालिसकेको छ । त्यसैले अहिले सिमेन्ट उद्योगबाट धुलो, धुवाँ, फोहोरमैला आउँदैन । तर सिमेन्ट उत्पादन गर्दा कार्बनडाइअक्साइड भने उत्सर्जन हुन्छ । क्लिंकर बनाउँदा क्याल्सियम कार्बोनेटलाई पोलेर क्याल्सियम अक्साइड र कार्बनडाइअक्साइड छुट्याउनुपर्छ । यसरी छुट्याउँदा वातावरणमा कार्बनडाइअक्साइड उडेर जान्छ । यसले प्रदूषण बढाउँछ । यो रोक्न सकिँदैन । बिजुलीबाट सिमेन्ट उत्पादन गर्दा प्रदूषण कम होला भन्ने अपेक्षा गर्न सकिन्छ । तर अहिलेसम्म सिमेन्ट उत्पादनमा कोइलाको विकल्प भेटिएको छैन । भावी दिनमा भेटिने सम्भावना भए पनि अहिले नै त्यो विकल्प हात लाग्ने सम्भावना कम छ । क्लिंकर बनाउनका लागि १४ सय डिग्रीमा पकाउनुपर्छ । उच्च तापक्रममा पकाउनुपर्ने भएकाले सिमेन्ट उत्पादनमा कोइलाको विकल्प बिजुली बन्न कठिन छ । यतिबेला बिजुलीबाट फलाम पगाल्ने प्रविधि प्रचलनमा आइसकेको छ । त्यसलाई हेर्दा भने भविष्यमा सिमेन्ट उत्पादन गर्दा पनि बिजुलीको प्रयोग हुने प्रविधि आउन सक्छ । यदि सिमेन्ट उत्पादनमा बिजुलीको प्रयोग गर्न सकियो भने ९५ प्रतिशतसम्म मूल्यअभिवृद्धि हुन सक्छ । (नाफिजको अर्थचित्रबाट–थापा सिमेन्ट उत्पादक संघका अध्यक्ष हुन् । )
माछापुच्छ्रे बैंक २३औं वर्षमा प्रवेश, ल्यायो छुट र उपहारको बहार
काठमाडौं । माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंकले २२ वर्ष पुरा गरेर २३ औं वर्षमा प्रवेश गरेको हो । बैंकले ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको बताएइको छ । २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसै सञ्चालक समितिका सदस्य रोशन के.सीले बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे । साथै कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहि समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे । साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड ) बाट लिन सकिनेछ । उक्त अफर अन्तर्गत बैंकका ग्राहकले फुडमाण्डूमार्फत् बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत पहिलो पटक मोबाईल टपअप गर्दा १०% वा अधिकतम १०० रुपैयाँ, एमबीएल एम स्माटमार्फत ९ आश्विन २०७९ देखि २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खन्डमा २२% वा अधिकतम २२२ रुपैयाँ, सीजी डिजिटल मार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०% वा अधिकतम १५०० रुपैयाँ सम्मको क्यासब्याकहरु (यो योजना दशमी सम्मको लागि मात्र), सेन्ट्रल बजार मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १०% वा अधिकतम १००० रुपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२% वा अधिकतम २२२२ रुपैयाँ सम्मको डिस्काउन्ट (यो योजना सिमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्नेछन् । स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६५ वटा शाखाहरु लगायत १७४ शाखा रहित बैंकिङ्ग , १० वटा एक्सटेन्सन काउण्टर गरी जम्मा ३४९ स्थानवाट १६०० भन्दा बढि कर्मचारी मार्फत ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर २०५ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ । २२ वर्षअघि क्षेत्रिय बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आफूलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ । बैंकले २२ औँ वार्षिकोत्सवको अवसरमा आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधि मैत्री सुविधाहरुमा जोड दिने प्रतिवद्धता गर्दै बैंकको २२ वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावहरुमा बैंकले कृतज्ञता प्रकट गरेको छ ।
मर्जर पश्चात् यस्तो बन्नेछ साना किसान आरएमडीसी लघुवित्त
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच गत भदौ ३१ गते मर्जर सम्झौता भएको थियो । दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र प्रमुख कार्यकारी अधिकृत पछिको कार्यकारी पदमा ज्योति चन्द्र ओझा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २÷२ जना, सर्वसाधारण समूहबाट १÷१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । चुक्ता पुँजी गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार साना किसान विकास लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ र आरएमडीसी लघुवित्तको १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । दुवै संस्था एक आपसमा गाभिएपछि चुक्ता पूँजी २ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । जगेडा कोष साना किसानको जगेडा कोष १ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ रहेको छ भने आरएमडीसीको जगेडा कोष १ अर्ब ३ करोड ५० लाख ९२ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् लघुवित्तको जगेडा कोष २ अर्ब ७१ करोड ६८ लाख ८२ हजार रुपैयाँ रुपैयाँ पुग्नेछ ।