विकासन्युज

एमाले र जसपाबीच चुनावी तालमेल गर्न सहमति

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । प्रतिनिधिसभामा एमालेलाई जसपाले ३५ सिटमा जसपाले सघाउने तथा जसपालाई १७ सिटमा एमालेले सघाउने सहमति भएको छ । त्यस्तै प्रदेशसभामा एमालेलाई ७० सिटमा जसपाले सघाउने र जसपालाई ४२ सिटमा एमालेले सघाउने गरी सिट बाँडफाँटको सहमति भएको एमालेले जनाएको छ । जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा एमालेले समर्थन गर्ने भएको छ । यस्तै एमालेलाई जसपाले प्रतिनिधिसभा क्षेत्रतर्फ सप्तरी–३, सिरहा क्षेत्र नं १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३, रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको १, २, ३, ४ र ५ निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा समर्थन र सहयोग गर्ने सहमति भएको छ । अध्यक्षद्वय ओली र यादवबीच तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र पनि दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति पत्रमा उल्लेख छ ।

एकीकृत समाजवादीले उम्मेदवारको नाम टुङ्गो लगायो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । गठबन्धनका तर्फबाट एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको सो पार्टीले सबै उम्मेदवारको नाम टुङ्गो लगाएको महासचिव डा. वेदुराम भुसालले जानकारी दिए । पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट र नेता झलनाथ खनाल इलाम क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन्। उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ क्षेत्र नं १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नं २ र किसान श्रेष्ठ बारा क्षेत्र नं ४ बाट उम्मेदवारका रुपमा सिफारिस भएका छन्। त्यसैगरी जीवनराम श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८, कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं २, विरोध खतिवडा मकवानपुर क्षेत्र नं २, श्रीनाथ बराल कास्की क्षेत्र नं २, रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं २, सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नं २, राजु गुरुङ रुपन्देही क्षेत्र नं २, मेटमणि चौधरी दाङ क्षेत्र नं १, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख क्षेत्र नं १, भानुभक्त जोशी बझाङ र प्रेमबहादुर आलेले डोटीबाट उम्मेदवारी दिने भएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवारको छनोटका लागि गृहकार्य गरिरहेको सो पार्टीले जनाएको छ । पार्टीले दुवै सभाका समानुपातिक उम्मेदवारको नाम भने निर्वाचन आयोगमा बुझाइसकेको छ ।

मकवानपुरमा पहिरोमा परेर दुईजनाको मृत्यु

फाइल फाेटाे मकवानपुर । मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ ।

एमाले नेता बालकृष्ण ढुङ्गेलको मृत्यु

काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा ९एमाले० का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उनको मृत्यु भएको हो । दशैंको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उहाँ एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ । विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उनी एमालेमै बसेका थिए । ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए । यसअघि उनी संविधानसभाका सदस्यसमेत बनेका थिए ।

एमाले नेता घनश्याम भुसालद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा(एमाले) का नेता घनश्याम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा(एमाले)को गौरवलाई पुनःस्थापित गर्न सकिन्छ कि भनेर आशा र विश्वासले चरम अपमान र सहँदै आएपनि पार्टीमा विधी र नीति स्थापित नहुने देखेकाले आफूले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गरेपनि आगामी राजनीतिक जीवनबारे भने भुसालले केही उल्लेख गरेका छैनन् । हेर्नुहोस नेता भुसालको स्टाटस : देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु । नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं । घनश्याम भूसाल मणिग्राम, रुपन्देही २०७९ असोज २२

जुम्लामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु, दुई घाइते

फाइल फाेटाे जुम्ला । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। “बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्’, उनले भने, ‘प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।’ जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताए। ‘हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो’, उनले भने, ‘साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।’सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताए। वर्षाका कारण जिल्लाभरी टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।

नवलपुरका चार पालिका डुबानका कारण सयौं घरपरिवार विस्थापित

नवलपुर । लगातार चार दिनसम्म परेको झरीका कारण एक सय ४४ घरपरिवार बाढीको डुबानमा परी विस्थापित बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका गरी एक सय ४४ घरपरिवार बाढीको डुबानका कारण विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार अविरल वर्षाका कारण गैँडाकोटमा ८० घर, मध्यविन्दुका २०, विनयी त्रिवेणीका २८, हुप्सेकोटका १६ घर गरी एक सय ४४ घर बाढीले गर्दा डुबानमा परी विस्थापित बनेका छन् । विस्थापित क्याम्पस, विद्यालय, सार्वजनिक भवन तथा वन क्षेत्रका खाली चौरमा त्रिपाल टाँगी आश्रय लिएका छन् । नारायणी नदी, विनयी खोलासहितका खहरे खोलामा आएका बाढीका कारण र पहिराको जोखिममा भएका परिवार विस्थापित बनेका हुन् । विस्थापितलाई सरोकारवालाहसँगको समन्वयमा अवस्था हेरी पुनःस्थापनाको काम अघि बढ्ने प्रहरीले जनाएको छ । सूचना अधिकारी पाठकले भने, ‘तत्काल डुबानमा परेकालाई नजिकका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ, अब जोखिमको अवस्था हेरी सरोकारवालाहरूको समन्वयमा पुनःस्थापनाको काम गर्छौं।’ अविरल वर्षाले घरपरिवार विस्थापितसँगै जिल्लाको मुख्यगरी सडक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । अविरल वर्षाले पहाडी क्षेत्रको बाटोहरू अस्तव्यस्त बनेको छ । ठाउँठाउँमा गएका पहिराका कारण नवलपुरको पहाडी क्षेत्रको सदरमुकामसँग को यातायात सम्पर्क टुटेको छ । जिल्लाको बौदिकाली, बुलिङटार दुई पालिकाको यातायात सम्पर्क पूर्ण रुपमा टुटेको छ । हुप्सेकोट, मध्यविन्दु, विनयी त्रिवेणीका पहाडी क्षेत्रहरूमा यातायात चल्न सक्ने अवस्था छैन् । पहाडी क्षेत्रका लागि मुख्य नाका मानिने कुमसोत –पोखरी खण्डअन्तर्गत हुप्सेकोट–५ पाङ्ग्रेमा गएको पहिरो अझै हटाउन नसक्दा यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध रहेको छ । जिल्लाको कालीगण्डकी करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएको सूचना अधिकारी पाठकले बताए । बुलिङटार–६ फुलमती भन्ने स्थान र बौदिकाली–३ मा झरेको पहिराले सो खण्डमा समेत यातायात सञ्चालन हुन सकेको छैन । अविरल वर्षाको समयमा जिल्लामा कुनै मानवीय क्षति नभए पनि जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१, मा एक सय ५० बिघा क्षेत्रफलको धानबाली डुबानमा परी नष्ट भएको छ । बुलिङटार–४, जौवारीमा चारवटा बाख्राको मृत्यु भएको छ । प्रहरीका अनुसार बौदिकाली तीन, बुलिङटारमा ६ घर र पाँच गोठमा अविरल वर्षाका कारण क्षति पुगेको छ । अविरल वर्षासँगै पानीका मुहान धमिलो हुँदा कतिपय स्थानमा खानेपानीको समस्यासमेत परेको सूचना अधिकारी पाठकले बताए । प्राप्त जानकारीअनुसार जिल्लाको हुप्सेकोट क्षेत्र र बुलिङटार गाउँपालिका–३ मा खोनेपानीको समस्या भएको उनले बताए।

लाङटाङ राष्ट्रिय निकुञ्जको जडीबुटी सदुपयोग गर्न माग

सिन्धुपाल्चोक । प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गइरहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चिराइतो, कुड्की, नागबेली, पाउडर झ्याउ, ठूलो ओखतो, लोठसल्ला, धूपी, सुनपाती, जटामसीलगायत जडीबुटी पाइन्छ । निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा, गोल्चे, गुन्सा, थाङपालकोट, भोताङलगायत जङ्गलहरूमा यस्ता जडीबुटी प्रशस्त मात्रामा पाइने गरेको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका वडाध्यक्ष काले गोलेले बताए । अन्य जडीबुटी सङ्कलन नभए पनि आंशिक रूपमा यार्सागुम्बा सङ्कलन गर्न शुरु भएको पाँचपोखरी थाङपाल गाउँपालिका–३ का वडाध्यक्ष नीमछिरिछ तामाङले जानकारी दिए । यस क्षेत्रका कमैले मात्रै रोग लागेपछि मेडिकलको औषधि प्रयोग गर्ने गरेको भोताङका नीरबहादुर तामाङ बताए। उनले भने, ‘जे भए पनि यहीँको झारपातलाई औषधि बनाएर खाने गरेका छौँ ।’ राजधानीबाट नजिक रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी इन्द्रबहादुर गुरुङलाई जडीबुटीको सदुपयोग नहुँदा दुःख लागेको बताए । उनका अनुसार यस क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी पहिचान गरेर यसको सदुपयोग गर्नसके यस क्षेत्रका बासिन्दाको जीवनस्तर उठ्न सहज हुने थियोे ।