फेरि बढ्यो अमेरिकी डलरको भाउ, हालसम्मकै कमजोर बन्यो नेपाली मुद्रा
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको बिक्रीदर १३२ रुपैयाँ २ पैसा तोकिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।
सहकारीको कारण किसानलाई खसीबोका कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दशैंमा मात्रै ७० लाख बराबरको खसीबोका बिक्री गरको छ । दशैं सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो । सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका बिक्री गरेको छ । किसानबाट खसीबोका सङ्कलन गरी सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमार्फत बिक्री गर्दै आएको छ । जिल्लाको पहाडी भेगका किसानले हुर्काएका खसीबोका सहकारीले सङ्कलन गरी बिक्री गरेको हो । जिउँदो तौल प्रणाली अनुसार सहकारीले यस वर्ष खसीबोका प्रतिकेजी पाँच सय ३० देखि पाँच सय ६० सम्ममा बिक्री गरेको उनले बताए । सहकारीले किसानबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दा किसानले पनि उचित मूल्य पाउने र किसानलाई बजारीकरणको दुःखसमेत नहुने उनको भनाइ छ । ‘अरू खसीबोका किन्न गए मूल्यको ठेगान हुँदैन, हामीले तोकिएको मूल्य र सही तौल मापन गरी लिन्छाैं, किसानलाई उचित मूल्य दिन्छौँ’, व्यवस्थापक परियारले भन्नुभयो, ‘किसानलाई कहाँ बेच्न भन्ने चिन्तासमेत हुँदैन ।’ उनका अनुसार अघिल्ला वर्षभन्दा यस पटक खसीबोका निकै कम बिक्री भएको छ । गत वर्ष करिब एक हजार र त्यसअघिको दशैंमा एक हजार सात सय ५५ वटा खसीबोका बिक्री गरेकामा यस वर्ष निकै कम बिक्री भएको छ । अहिले बजारको मन्दी भएर हो वा के कारणले कम मात्रामा माग भएको यसै भन्न नसकिने व्यवस्थापक परियारले बताए । कोभिडपछिका असरहरु बजारमा देखिएको हुनसक्ने उनको आङ्कलन रहेको छ । सहकारीले विगत ६ वर्षदेखि सामान्य मुनाफा राखी कृषकहरुबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१२, तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारी साथै मैनाघाटमा रहेको कृषि सहकारीले समेत खसीबोका सङ्कलन तथा बिक्री गरेको छ । जिल्लामा रहेका सहकारीले कृषकबाट खसीबाख्रा खरिद गरी बिक्री गर्दा बजारीकरणमा बाख्रापालक किसानलाई सहजता मिलेको छ । किसानलाई आफ्ना खसीबोका कहाँ लगेर बेच्न भन्ने चिन्ता हटेको छ । नवलपुरको पहाडी क्षेत्रमा प्रशस्त चरण क्षेत्र रहेकाले सो क्षेत्रका धेरै जसो किसानले बाख्रा पाल्ने गरेका छन् । सहकारीले सहजरूपमा बाख्रा खरिद गरिदिने र आम्दानीसमेत राम्रो लिन सकिने भएपछि पहाडी क्षेत्रका किसान बाख्रापालनतर्फ आकर्षित बनेका छन् । रासस
दश वर्षमा तिब्बतको वार्षिक कूल ग्राहस्थ उत्पादन वृद्धि दर ९.५ प्रतिशत पुग्यो
एजेन्सी । सन् २०१२ देखि २०२१ सम्म दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक औसत ९.५ प्रतिशतले वृद्धि भएको छ । यो राष्ट्रिय औसतभन्दा २.९ प्रतिशत बढी हो । क्षेत्रीय विकास तथा सुधार आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२१ मा यस क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २०० अर्ब युआन (करिब २८.१७ अर्ब अमेरिकी डलर) भन्दा बढी पुगेको बताइएको हो । सन् २०२१ मा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ५६ हजार ८०० युआन नाघेको छ । यससँगै एक दशकको औसत वार्षिक वृद्धि दर ७.६ प्रतिशतले वृद्धि गरेको छ । यो राष्ट्रिय औसतभन्दा १.५ प्रतिशत बढी हो । तिब्बतको औद्योगिक संरचनालाई निरन्तर अनुकूलन गरिएको आयोगका उपनिर्देशक तियान गुआङग्वाले बताए ।
क्राइमियालाई रुससँग जोड्ने पुलमा कारबम विस्फोट
एजेन्सी । सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शनिबार बिहान ६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र क्राइमियामा रेलमार्फत सात तेल ट्याङ्करमा आगो लगाइएको रूसी समाचार एजेन्सीले जनाएका छन् । यस बम आक्रमणमा राष्ट्रिय विरोधी तथा आतङ्ककारी समूहलाई आरोप लगाइएको मस्कोका अधिकारीले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण गरिएको र २०१८ मा उद्घाटन गरिएको यो पुल युक्रेनमा विशेष गरी दक्षिणमा लडिरहेका रुसी सैनिकलाई सैन्य उपकरण लैजानका लागि र साथै त्यहाँ सेना लैजानको लागि एक प्रमुख यातायात साधन थियो । रुसले युक्रेनमा लडाइँ भएपनि पुल सुरक्षित रहेको बताएको थियो ।
घट्न थाले डेंगुका बिरामी
काठमाडौं । जाडो याम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको संक्रमण खास गरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । दशैँ अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम शुरु भएसँगै डेंगुको संक्रमण कम हुँदै गएको र बिरामीहरु पनि कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । उनका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन भने एक जना आईसीयूमा उपचाररत छन् । त्यस्तै इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उनले बताए । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेको बताए । उनले दशैँको बेलामा अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामीहरु कम भएको बताए । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगीबाट बच्न सक्ने बताए । उनले डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे । उनले भने, ‘अहिले हामीले डेंगीको प्रकोप झेलिरहेका छौँ । अस्पतालमा साधारण बेडमा ११ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । आइसीयूमा एकजना हुनुहुन्छ । इमर्जेन्सीमा करिव ७० जना दैनिकजसो आइराख्नुभएको छ । अरु सरुवा रोगहरु कम नै छ । असोजको मध्यतिर पनि सर्पदंशका बिरामीको संख्या बढी छ, कम भएको छैन । ५ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । डेंगीका बिरामीको संख्या भने पहिलाको भन्दा केही घटेको छ । दशैँमा हामीले जसरी डेंगु बढ्छ भनेर अनुमान गरी तयारी गरेका थियौँ । त्यो अनुसार भने बिरामी बढ्नुभएन । त्यसलाई राम्रो नै मान्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा हामी डेंगीबाट बच्न सक्छौँ । नेपाल सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आवश्यक छ ।’ सूचना अधिकारी गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढीरहेको बताए । गत वर्षहरुमा असोज महिनाबाट सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने हाल पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेको बताउनु भयो । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेकाले सतर्क रहन आग्रह गरेको छ ।
एक सातापछि मनसुन बाहिरिने
काठमाडौं । नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए। जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताए। उनले भने, ‘मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।’ अहिले राजधानी काठमाडौँ, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रीत रहेको मौसमविद् पौडेलले बताए। उनका अनुसार आगामी मङ्गलबारदेखि मौसम सुधार आउनेछ । मनसुन रहदासम्म पानी पर्ने सम्भावना रहेपनि लगातारको झरी पर्दैन । महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।
नेपाल र अमेरिकाबीच द्विपक्षीय हवाई सम्झौता हुने
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई सम्झौताको तयारी गरेको हो । अमेरिकालगायत विभिन्न मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौताका लागि आवश्यक प्रक्रिया अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनले भने, ‘अमेरिकाले हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यस मुलुकसँग छिट्टै हवाई सम्झौता गर्ने तयारीमा छौँ ।’ नेपालले हाल ४० देश र युरोपेली सङ्घ (इयु) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको थियो । अमेरिकासँगको हवाई सम्झौतापछि अमेरिकाको युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, नेपालका तर्फबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने जनाइएको छ । हाल नेपालमा टर्किस एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, थाई एयरलगायत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् । स्विट्जरल्यान्डसँग सम्झौता नेपाल र स्विट्जरल्यान्डबीच द्विपक्षीय हवाई सम्झौताको अन्तिम तयारी भएको छ । क्यानाडाको मन्ट्रियलमा हालै भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४१औँ त्रैवार्षिक महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको हो । नेपाल र स्विट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयु भएको र अरू धेरै मुलुकसँग एमओयु गर्ने पाइपलाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए। दुई मुलुकबीच हवाई सम्झौता गर्ने सहमति भएको र छिट्टै औपचारिक सम्झौता हुने पर्यटन मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए । ‘नेपालले स्विट्जरल्याण्डसँग हवाई सेवा सम्झौता गर्ने छलफल भई करिब अन्तिम चरणमा पुगेको छ । नेपालसँग हवाई सम्झौता गर्ने स्विट्जरल्यान्डको रुचि थियो । हामी (नेपाल)ले प्रक्रिया पु¥याएर सम्झौता गरौँ भन्ने सहमत भयौँ । भेटको उपलक्षमा ‘रेकर्ड अफ डिस्कसन’ भएको छ । दुवै मुलुकले आन्तरिक तयारी गरेर छिट्टै यसलाई पूर्णता दिन्छौँ ।’ सहसचिव लामिछानेले नेपालको नीति नै अन्य मुलुकसँग हवाई सम्झौता गर्दै जाने रहेको भन्दै कुनै मुलुकले चासो जनाएमा सम्झौता गरेर जाने बताए। दुवै देशका नागरिक उड्डयन मन्त्रालयबीच हवाई सम्झौता हुन्छ । ‘औपचारिक सम्झौताका लागि ‘टेक्स्ट्’ आदान–प्रदान हुन्छ । हामीले पठाइसकेका छौं उता (स्विट्जरल्यान्ड) बाट पनि टेक्स्ट आएपछि सम्झौता प्रक्रिया टुङ्गिन्छ’, सहसचिव लामिछानेले भने। इन्डोनेसियासँगको सम्झौता अन्तिम चरणमा नेपालले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता गर्नेगरी तयारी गरेको छ । दुई मुलुकबीच हवाई सम्झौताको अन्तिम तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । इन्डोनेसिया–नेपाल दुईतर्फी उडानका लागि मन्त्रालयले आधिकारिक जिएसए तोकिसकेको छ । इन्डोनेसियाको गरुडा एयरका लागि नेपालको सोसाइटी इन्टरनेशनल आधिकारिक सिएसए रहेको छ । के छ हवाई सम्झौताको महत्व ? नेपालले अन्य मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्दा अन्तर्राष्ट्रिय सम्पर्क सञ्जाल विस्तारका साथै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने सहसचिव लामिछानेले बताए। उनले भने, ‘नेपालले कुन–कुन मुलुकसँग हवाई सम्झौता गरेको छ भन्ने विषयको अन्तर्राष्ट्रिय महत्व हुन्छ । कतिपय मुलुकले सिधा उडान गर्न सक्छन् । सम्बन्धित मुलुकमा ‘कोर्ड सेयरिङ’का एयरलाइन्समार्फत पनि सहज हवाई उडान हुने भएकाले हवाई सम्झौता हुनु भनेको राम्रो कुरा हो ।’ नेपाल इयुको सुरक्षासूचीबाट हट्छ नेपालले सबै हिसाबले प्रगति गरेकाले यो पटक इयुको सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’ बाट हट्ने विश्वास लिइएको छ । ‘अहिले हाम्रो (नेपालको) सबै हिसाबले ‘स्टाटस’ राम्रो छ त्यसैले अहिले नेपाल आएको इयुको अडिट टोलीले पनि नेपालको हालको स्थितिलाई हेरेर आएको जस्तो लाग्छ । यो पटक नेपाल सेफ्टी लिस्टबाट हट्छ’, सहसचिव लामिछानेले भने । नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको भन्दै आइकाओले डिसेम्बर २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । यसअघि आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकास सुरक्षित देखिएको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अङ्क पाएको थियो । आइकाओको टोलीले १३ अप्रिलदेखि २५ अप्रिलसम्म विस्तृत अध्ययन तथा मूल्याङ्कन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट प्राधिकरणलाई बुझाएको थियो । इयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै सुरक्षा सूचीमा राखेको थियो ।
प्रतिनिधि सभाको उम्मेद्वार नबन्ने सभामुख सापकोटाको घोषणा
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले आफूले सो निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताएका हुन् । त्यस अवसरमा उनले लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति आभारसमेत व्यक्त गरेका छन् । सभामुख सापकोटाले आफू संसदीय भुमिकामा नरहेपनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिवद्धता व्यक्त गरे । अग्रगामी राजनीतिक अभियन्तामार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने उनको भनाइ थियो । सभामुख सापकोटाले राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार रहेको उल्लेख गर्दै राजनीतिक एवम सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन आफ्नो सक्रियतामा कुनै कमी आउन नदिने पनि बताए । उनले भने, ‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा सिन्धुपाल्चोकका आधारणीय मतदाता एवम जनसमूदायमा हार्दिक आभार व्यक्त गर्दछु । संघर्षशील पृष्ठभूमि, राजनीतिक पहलकदमीको सम्भाव्यता तथा जिम्मेवारीप्रतिको इमान्दारिताका कारण पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता एवम् शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भुमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु । संसदीय भुमिका नरहेपनि म देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहनेछु । र, अग्रगामी राजनीतिक अभियन्तामार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्नेछु । त्यस्तै, राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी वहन गर्न तयार छु । राजनीतिक एवम् सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिनेछैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो ।’ सभामुख सापकोटा २०६४ को पहिलो संविधान सभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि माओवादी केन्द्रबाट सभामुख बन्ने अवसर उनलाई प्राप्त भएको थियो । यस अवधिमा सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री र वन तथा वातावरणमन्त्री बन्ने अवसरसमेत पाएका थिए । सभामुख सापकोटाले जनप्रतिनिधिको रुपमा र सभामुखको रुपमा आफूले देश र जनताको पक्षमा सदैव समर्पित भएर काम गरेको दाबीसमेत गरे । उनले जनप्रतिनिधिको रुपमा आफूले सिन्धुपाल्चोकबासीको विकासको चाहनालाई मूर्तरुप दिन ज्ञान, क्षमता र विवेकले भ्याएसम्म मेहनत गरेको पनि बताए ।