नवलपुरका चार पालिका डुबानका कारण सयौं घरपरिवार विस्थापित

<p>नवलपुर । लगातार चार दिनसम्म परेको झरीका कारण एक सय ४४ घरपरिवार बाढीको डुबानमा परी विस्थापित बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका गरी एक सय ४४ घरपरिवार बाढीको डुबानका कारण विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार [&hellip;]</p>

नवलपुर । लगातार चार दिनसम्म परेको झरीका कारण एक सय ४४ घरपरिवार बाढीको डुबानमा परी विस्थापित बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका गरी एक सय ४४ घरपरिवार बाढीको डुबानका कारण विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार अविरल वर्षाका कारण गैँडाकोटमा ८० घर, मध्यविन्दुका २०, विनयी त्रिवेणीका २८, हुप्सेकोटका १६ घर गरी एक सय ४४ घर बाढीले गर्दा डुबानमा परी विस्थापित बनेका छन् ।

विस्थापित क्याम्पस, विद्यालय, सार्वजनिक भवन तथा वन क्षेत्रका खाली चौरमा त्रिपाल टाँगी आश्रय लिएका छन् । नारायणी नदी, विनयी खोलासहितका खहरे खोलामा आएका बाढीका कारण र पहिराको जोखिममा भएका परिवार विस्थापित बनेका हुन् । विस्थापितलाई सरोकारवालाहसँगको समन्वयमा अवस्था हेरी पुनःस्थापनाको काम अघि बढ्ने प्रहरीले जनाएको छ । सूचना अधिकारी पाठकले भने, ‘तत्काल डुबानमा परेकालाई नजिकका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ, अब जोखिमको अवस्था हेरी सरोकारवालाहरूको समन्वयमा पुनःस्थापनाको काम गर्छौं।’

अविरल वर्षाले घरपरिवार विस्थापितसँगै जिल्लाको मुख्यगरी सडक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । अविरल वर्षाले पहाडी क्षेत्रको बाटोहरू अस्तव्यस्त बनेको छ । ठाउँठाउँमा गएका पहिराका कारण नवलपुरको पहाडी क्षेत्रको सदरमुकामसँग को यातायात सम्पर्क टुटेको छ । जिल्लाको बौदिकाली, बुलिङटार दुई पालिकाको यातायात सम्पर्क पूर्ण रुपमा टुटेको छ । हुप्सेकोट, मध्यविन्दु, विनयी त्रिवेणीका पहाडी क्षेत्रहरूमा यातायात चल्न सक्ने अवस्था छैन् । पहाडी क्षेत्रका लागि मुख्य नाका मानिने कुमसोत –पोखरी खण्डअन्तर्गत हुप्सेकोट–५ पाङ्ग्रेमा गएको पहिरो अझै हटाउन नसक्दा यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

जिल्लाको कालीगण्डकी करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएको सूचना अधिकारी पाठकले बताए । बुलिङटार–६ फुलमती भन्ने स्थान र बौदिकाली–३ मा झरेको पहिराले सो खण्डमा समेत यातायात सञ्चालन हुन सकेको छैन । अविरल वर्षाको समयमा जिल्लामा कुनै मानवीय क्षति नभए पनि जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१, मा एक सय ५० बिघा क्षेत्रफलको धानबाली डुबानमा परी नष्ट भएको छ । बुलिङटार–४, जौवारीमा चारवटा बाख्राको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बौदिकाली तीन, बुलिङटारमा ६ घर र पाँच गोठमा अविरल वर्षाका कारण क्षति पुगेको छ । अविरल वर्षासँगै पानीका मुहान धमिलो हुँदा कतिपय स्थानमा खानेपानीको समस्यासमेत परेको सूचना अधिकारी पाठकले बताए । प्राप्त जानकारीअनुसार जिल्लाको हुप्सेकोट क्षेत्र र बुलिङटार गाउँपालिका–३ मा खोनेपानीको समस्या भएको उनले बताए।

Share News