प्रतिनिधि सभाको उम्मेद्वार नबन्ने सभामुख सापकोटाको घोषणा

<p>काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले आफूले सो निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताएका हुन् । त्यस अवसरमा उनले लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने [&hellip;]</p>

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले आफूले सो निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताएका हुन् । त्यस अवसरमा उनले लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति आभारसमेत व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले आफू संसदीय भुमिकामा नरहेपनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिवद्धता व्यक्त गरे । अग्रगामी राजनीतिक अभियन्तामार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने उनको भनाइ थियो । सभामुख सापकोटाले राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार रहेको उल्लेख गर्दै राजनीतिक एवम सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन आफ्नो सक्रियतामा कुनै कमी आउन नदिने पनि बताए ।

उनले भने, ‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा सिन्धुपाल्चोकका आधारणीय मतदाता एवम जनसमूदायमा हार्दिक आभार व्यक्त गर्दछु । संघर्षशील पृष्ठभूमि, राजनीतिक पहलकदमीको सम्भाव्यता तथा जिम्मेवारीप्रतिको इमान्दारिताका कारण पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता एवम् शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भुमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु । संसदीय भुमिका नरहेपनि म देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहनेछु । र, अग्रगामी राजनीतिक अभियन्तामार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्नेछु । त्यस्तै, राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी वहन गर्न तयार छु । राजनीतिक एवम् सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिनेछैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो ।’

सभामुख सापकोटा २०६४ को पहिलो संविधान सभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि माओवादी केन्द्रबाट सभामुख बन्ने अवसर उनलाई प्राप्त भएको थियो । यस अवधिमा सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री र वन तथा वातावरणमन्त्री बन्ने अवसरसमेत पाएका थिए । सभामुख सापकोटाले जनप्रतिनिधिको रुपमा र सभामुखको रुपमा आफूले देश र जनताको पक्षमा सदैव समर्पित भएर काम गरेको दाबीसमेत गरे । उनले जनप्रतिनिधिको रुपमा आफूले सिन्धुपाल्चोकबासीको विकासको चाहनालाई मूर्तरुप दिन ज्ञान, क्षमता र विवेकले भ्याएसम्म मेहनत गरेको पनि बताए ।

Share News