काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति तय गरेको छ । आज उम्मेदवारहरुले मनोनयन पनि दर्ता गरिसकेका छन् । यस पटकको चुनावमा धेरै निर्वाचन क्षेत्रबाट नयाँ अनुहारहरु देखिएका छन् । राजधानी काठमाडौंसँगै विभिन्न जिल्लाका निर्वाचन क्षेत्रमा नयाँ अनुहार देखिएका छन् । अधिकांश नयाँ अनुहारहरुले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् भने कतिपयले पार्टीबाटै टिक पाएर चुनावमा होमिएका छन् । प्रधानमन्त्री शेरशादुर देउवादेखि चर्चित नेताहरुसँग भिड्नका लागि नयाँ अनुहार तम्तयार बनेका छन् ।
यी हुन् नयाँ अनुहार
प्रधानमन्त्री देउवासँग सागरको सगर्मी
प्रधानमन्त्री शेर बहादुर देउवा तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सागर ढकाल प्रतिस्पर्धा गर्नेछन् । गुल्मीका सागर ढकालले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएसँगै उनको प्रतिस्पर्धा अब देउवासँग हुनेछ ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । यस क्षेत्रबाट नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल पनि एमालेको समर्थनसहित चुनावी मैदानमा छन् । देउवा २०४८ सालयतादेखि डडेल्धुराबाट अपराजित छन् । ढकाल पेशाले इञ्जिनियर हुन् ।
व्यवसायी श्रेष्ठसँग रविको टक्कर
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट व्यवसायी उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामाछाने भिड्ने भएका छन । श्रेष्ठ काँग्रेस र लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भिड्ने भएका हुन् ।
यस्तै, एमालेको तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् । प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका श्रेष्ठ र लामिछानेले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट पाएको यो पहिलो हो ।
पाण्डेलाई पौडेल र ढकालको चुनौति
मंसिर ४ गते हुने चुनावको नयाँ अनुहारको रुपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल पनि हुन् । जसले चितवन क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका छन् । उनले उम्मेदवार बन्नैका लागि आयोगको उपाध्यक्षबाट पनि राजीनामा दिइसकेका छन् । अब उनको प्रतिस्पर्धा नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग हुनेछ । सोही क्षेत्रबाट सेयर बजारका लगानीकर्ता हरि ढकालले पनि उम्मेदवारी दिएका छन् ।
चितवन क्षेत्र नम्बर एक सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट काँग्रेसका स्वर्णिम वाग्ले र विश्व पौडेलको नाम सिफारिस भएको थियो । तर, वाग्लेले टिकट पाएनन् । नेता पाण्डे सो क्षेत्रका लोकप्रिय नेता हुन् । काँग्रेसबाट परिचित अर्थशास्त्री डा. पौडेल, पूर्वअर्थमन्त्री पाण्डे र ढकालबीच प्रतिस्पर्धा हुने भएपछि माहोल रोचक हुने देखिएको छ ।
प्रकाशमान र रविन्द्रलाई पुकार र रमेश भारी
काठमाडौं क्षेत्र नम्बर एक चर्चित क्षेत्र हो । यस क्षेत्रमा यसपटक रोचक भीडन्त हुने देखिएको छ । यस क्षेत्रबाट सबै चर्चित अनुहारहरु प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं क्षेत्र नम्बर एकमा काँग्रेसबाट प्रकाशमान सिंह, एमालेका तर्फबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीबाट पुर्व प्रहरी डीआइजी रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यो क्षेत्रमा गत २०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका थिए । त्यतिखेर उनीसँग मिश्र झिनो मतान्तरले पराजित भएका थिए । तर, अहिले यी दुवै जनाका लागि चुनौतिका रुपमा खरेल र बम देखिएका छन् । खरेल र बम अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।
पोखरल र पौडेललाई रञ्जु, सितेबा र थापाको चुनौति
काठमाडौं क्षेत्र नम्बर पाँच पनि चर्चित निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा काँग्रेसबाट प्रदिप पौडेल र एमालेबाट ईश्वर पोखरेल उम्मेदवार बनेका छन् । यही क्षेत्रमा हास्य टेली शृङ्खला ‘सक्किगो नी’ बाट ‘सितेका बा’ नामले प्रख्यात कलाकार मधुसूधन पाठक, रन्जु दर्शना र हेमराज थापाले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
सो क्षेत्रमा अघिल्लो चुनावमा नेपाली कांग्रेसका नेता प्रकाश सरण महतलाई पराजित गर्दै ईश्वर पोख्रेल निर्वाचित भएका थिए । यस पटक भने यी दुवै चचिर्त नेतालाई रञ्जु, सितेका बा र थापाले ठूलो चुनौति दिने देखिन्छ । रञ्जु यसअघि काठमाडौं महानगरको मेयरमा पराजित भएकी थिइन् भने थापा विद्यार्थीहरुका माझ लोकप्रिय छन् ।
कमेडियन हिमेश पन्त पनि उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नं १ को लागि कमेडियन हिमेश पन्तले उम्मेद्वारी दिएका छन् । उनले आइतबार प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका हुन् । धादिङ क्षेत्र नम्बर एकमा एमालेबाट भुमि त्रिपाठीले उम्मेदवारी दिएका छन् ।
ढकाल र शर्मालाई रेखाको टक्कर
मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नायिका रेखा थापाले पनि राप्रपाबाट उम्मेदवारी दिएकी छन् । नेकपा (एमाले)बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनील शर्मा उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा पनि ढकाल र शर्माबीच नै प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा ढकालले शर्मालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । शर्मा विराटनगरस्थित नोबेल मेडिकल र काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । अहिले यी दुवै जनासँग रेखा थापाले टक्कर गर्नेछिन् ।