विकासन्युज

ग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्दै एनआरएनएका पूर्व अध्यक्ष घले

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट-२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा लगानीका लागि तयारी गरेको हो । व्यवसायी घलेले ऊर्जाको वैकल्पिक स्रोतको रुपमा हाइड्रोजनको प्रयोग संसारभर नै भइरहेको सन्दर्भमा आफूहरूले यसमा लगानी गर्न लागेको जानकारी दिए । उनका अनुसार लगानीका लागि हाल प्रारम्भिक चरणको काम भइरहेको छ । काठमाडौंको दरबारमार्गमा होटल शेराटन निर्माण गरिरहेको घलेको एमआइटी समूहले ऊर्जाका वैकल्पिक स्रोतका रुपमा प्रयोग हुन थालेको हाइड्रोजनका लगानी गर्नका लागि तत्काल नीतिगत अभाव भए पनि क्रमशः त्यसको परिपूर्ति हुने बताए । संसारका दुई अर्ब मानिसको स्रोतका रुपमा रहेको हिमाल पग्लन थालेको, हिमनदीमा त्यस्तै समस्या देखिएको भन्दै उनले सामाजिक दायित्वका साथ आफूहरू यस क्षेत्रमा लगानीका लागि आतुर रहेको बताए । पछिल्ला दुई वर्ष कोरोनाका कारण संसारभर नै लकडाउनमा परेको बेला आफू र आफ्नो समूहले ऊर्जाको वैकल्पिक स्रोतमा लगानी गर्ने सोचको विकास गरेको जानकारी दिँदै व्यवसायी घलेले भने, ‘नेपाल ग्रीन हाइड्रोजनको हब बन्न सक्छ, त्यसका लागि आजैदेखि हामी सबैले पहल गरौं ।’ नेपालमा क्रमशः ऊर्जाको उपलब्धतामा बृद्धि हुँदै गएको छ । औपचारिक रूपमा जलविद्युत् आयोजनाको कूल जडित क्षमता दुई हजार तीन सय मेगावाट बराबर पुगेको छ । वर्षायाममा भारतलाई तीन सय ६४ मेगावाट बिजुली बिक्री गरिएको भएपछि पछिल्ला दिनमा चाडवाडको समयमा झण्डै पाँच सय मेगावाट बराबरको बिजुली खेर गएको छ । बिजुलीको प्रयोग गरेर नेपालमा उपलब्ध हुने स्वच्छ पानीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई वैकल्पिक ऊर्जाको रुपमा विश्व बजारमा बिक्री गर्ने योजनाका साथ आफूहरू यसमा लागिपरेको उनको भनाइ छ । हाल अध्ययनको क्रममा नै रहेको उल्लेख गर्दै उनले हाइड्रोजनका अलावा एमोनिया र यूरिया पनि उत्पादन गर्न सकिने बताए । कूल ऊर्जाका हिसाबले हाइड्रोजन उपयुक्त रहेको जानकारी आफूले विज्ञबाट पनि पाएको उनको भनाइ छ । नेपालका हिम श्रृङ्खलाहरू विश्वव्यापी जलवायु परिवर्तनको उच्च जोखिममा छन् । त्यहाँका हिमाल र हिमतालको हिउँ नै कोशी, गण्डकी, कर्णालीलगायत अन्य नदीको मुहान हुन् । यी नदीहरू नै गंगा नदीको तटमा बसोबास गरिरहेका ५० करोडभन्दा बढी मानिसले पिउने पानीको स्रोत बनिरहेको तर जलवायु परिवर्तनको असर स्वरुप निम्तिएको तापक्रम वृद्धिलगायत अन्य लक्षणका पहिलो प्रहार तिनै हिमालको हिउँ र हिमतालमाथि भइरहेको छ । गत वर्ष कोप-२६ मा सहभागी भएको नेपालले सन् २०४५ सम्ममा कार्बन तटस्थ बन्ने प्रतिबद्धता जनाएको छ । जलवायु परिवर्तनका कारण बढ्दो जोखिम, विश्वव्यापी रुपमा कार्बन उत्सर्जन कम गर्नुपर्ने आवश्यकताजस्ता विविध समस्यामाथि नेपालले नेतृत्व गरेर समाधान दिन सक्ने अवसर पनि हाइड्रोजनबाट नै देखिन्छ । कार्बनडाइ अक्साइड तथा कार्बन मोनो अक्साइडजस्ता विशालु ग्यासको उत्सर्जन घटाउन पनि स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने आवश्यकता छ । नेपालले सक्रिय रुपमा पर्यावरणीय समस्याको दीर्घकालीन समाधानका लागि नवीनतम उपाय पत्ता लगाउन सक्ने जानकारी दिँदै व्यवसायी घलेले सरकारबाट सक्रिय सहयोगको अपेक्षासमेत गरेका छन् । हाइड्रोजनबाट एमोनिया हुँदै रासायनिक मल कारखाना खोल्ने गरी ‘पाइलट प्रोजेक्ट’ निर्माण गर्ने निष्कर्षमा सरकार समेत पुगेको छ । तर, घले अब पाइलट प्रोजेक्टको जरुरी नरहेको बताउँछन् । विश्व बैंक, एशियाली बैंकजस्ता बहुपक्षीय दातृ निकायको सहयोगमा नेपालमा छिट्टै ग्रीन हाइड्रोजन उत्पादनको काम शुरु गर्नुपर्ने उनको भनाइ छ । एक अध्ययनअनुसार आवश्यक नीतिगत व्यवस्था र अन्य पूर्वसर्त पूरा गर्ने हो भने नेपालमा तीन वर्षभित्रै वार्षिक दुई लाख मेट्रिक टन उत्पादन गर्न सम्भव रहेको काठमाडौं विश्व विद्यालयका सहप्राध्यापक विराज सिंह थापाको भनाइ छ । वातावरणको संरक्षण र प्रवद्र्धनका दृष्टिले हाइड्रोजनको खपत यातायात र औद्योगिक क्षेत्रमा गराउन सक्दा जीवाश्म इन्धनको निर्भरतालाई कम गर्न सकिन्छ । अध्ययनहरूले ठूला पानी जहाज, लरी ट्रकहरू हाइड्रोजन मार्फत सञ्चालन गर्दा आर्थिक र वातावरणीय हिसाबले अत्यन्तै लाभदायी हुने निष्कर्ष निकालिसकेका छन् । युरोपेली मुलुकमा त्यस्ता बस तथा ट्रकको निर्माण शुरु भइसकेको छ । विद्युत्को प्रयोग गरी पानीको विद्युतीय विच्छेदन (इलेक्ट्रोलाइसिस)बाट उत्पादित हरित हाइड्रोजनलाई ‘केमिकल फिडस्टक’को रुपमा रासायनिक मल उद्योग, स्टील उद्योग, यातायातमा प्रयोग गर्न सकिन्छ । तर ग्रीन हाइड्रोजनको उत्पादनलागत ग्रीन हाइड्रोजनको तुलनामा धेरै छ । हरित हाइड्रोजनको उत्पादन लागत प्रतिकेजी पाँच दशमबल पाँच अमेरिकी डलर रहेको छ भने ग्रीन हाइड्रोजनको उत्पादन लागत दुई अमेरिकी डलर रहेको छ । उत्पादनलागत घटाउन विद्युतीय विच्छेदनमा लागेको लागत र नवीकरणीय ऊर्जा उत्पादनमा लाग्ने लागत कम गर्नुपर्छ । अध्ययनअनुसार इलेक्ट्रोलाइजरको लागत एक हजार अमेरिकी डलर बराबर छ । कोभिड-१९का कारण सिर्जित माग आपूर्तिबीचको असन्तुलन र रुस-युक्रेन युद्धका कारण इन्धनको मूल्य आकासिएको सन्दर्भमा लगानीको उपयुक्त विकल्पका रुपमा हाइड्रोजन नै रहेको व्यवसायी घलेको भनाइ छ । नेपाल जलसम्पदाले भरिपूर्ण भएका कारण पनि जलविद्युत् उत्पादनको सम्भावना उच्च छ । जलविद्युत् उत्पादन बढ्दै गर्दा अरु देशको तुलनामा हरित हाइड्रोजन उत्पादन गर्दा उत्पादनलागत कम हुनेछ । काठमाडौं विश्वविद्यालयको हाइड्रोजन ल्याबले गरेको अध्ययनअनुसार नेपालमा बढी भएको जलविद्युत् हरित हाइड्रोजन उत्पादनमा प्रयोग गर्ने हो भने उत्पादन खर्च दुई अमेरिकी डलरभन्दा कम पर्ने देखिन्छ । हाइड्रोजन अर्थतन्त्रको उदय हुँदै गर्दा नेपाल त्यसको हब बन्न सक्ने भएकाले विदेशी लगानीकर्ताको चासो समेत बढेको व्यवसायी घलेको भनाइ छ । उनले भारतको अडानी समूहले पनि ग्रीन हाइड्रोजनमा लगानी गर्न खोजेको र सो समूहसँग पनि सहकार्य हुन सक्ने जानकारी दिए । रासस

सरकारी कर्मचारी र शिक्षक नै चुनावी प्रचार प्रसारमा लागेपछि…

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ । त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ । आयोगले त्यस्ता कर्मचारीलाई स्पष्टीकरणको मौका दिइ दोषी देखिएमा सचेत, विभागीय कारबाही वा निलम्बनसम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई आदेश दिनसक्ने उक्त दफामा उल्लेख छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको आचारसंहिताको अनुगमनका लागि आयोगमा रहेको अनुगमन समितिको अनुगमनका क्रममा ती कर्मचारीले पालन गर्नुपर्ने आचरणको उलङ्घनका घटना भेटिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ । आचारसंहिताको दफा ९ मा निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण, दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचारण, दफा, ११ मा सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारण र दफा १२ मा गैरसरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ती कर्मचारीले आचारसंहिताको प्रतिकूल हुनेगरी कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुन ध्यानाकर्षण गराएका छन् । रासस

आईपीओकै मूल्य बराबर पाइन थाल्यो हाइड्रोको सेयर, यी हुन् २०० भन्दा कममा पाइने १० कम्पनी

काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ । सेयर बजर घटेको बेला सेयर किन्न सबैभन्दा उत्तम रहने जानकारहरु बताउँछन् । घट्दो बजारमा सबै कम्पनीको सेयर मूल्य कम हुन्छ । तर, यतिबेला पूँजी बजार घटेको हुँदा विभिन्न कम्पनीको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कममा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७ हाइड्रोपावर कम्पनी सूचीकृत छन् । जसमा माउन्टेन इनर्जीको सेयर मूल्य सबैभन्दा सर्वाधिक रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ रहेको छ । यस्तै, सबैभन्दा कम सेयर मूल्य भएको कम्पनी आँखु खोला जलविद्युत कम्पनीको प्रतिकित्ता १७२ रुपैयाँ रहेको छ । विभिन्न १० वटा जलविद्युत कम्पनीको सेयर मूल्य भने २ सय रुपैयाँ भन्दा कम रहेको छ । कम्पनीले प्राथमिक सेयर जारी गर्दा नै प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गर्छ । केही कम्पनीको सेयर मूल्य भने आईपीओ जारी गर्दाको मूल्यमा झरेको छ । युनियन हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १८३.९० रुपैयाँ रहेको छ । नेप्सेमा जुन ११, २०१९ मा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ४४४ रुपैयाँ र न्युनतम १६५.१० रुपैयाँ रहेको थियो । यस्तै, आँखु खोला जलविद्युत आयोजनाको सेयर मूल्य प्रतिकित्ता १७२ रुपैयाँ रहेको छ । डिसेम्बर २०१८ मा का दिन नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ३९४ रुपैयाँ र न्युनतम प्रतिकित्ता १६२ रुपैयाँ रहेको थियो । यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १८४.१० रुपैयाँ रहेको छ । अक्टोबर १०, २०१८ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४११ रुपैयाँ र न्युनतम प्रतिकित्ता १७८ रुपैयाँ रहेको छ । यस्तै, नेशनल हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । जुलाई २६, २००७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४८४ रुपैयाँ र न्युनतम प्रतिकित्ता १८५.३० रुपैयाँ रहेको थियो । यस्तै, खानीखोला हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १७५ रुपैयाँ रहेको छ । जनवरी ११ २०१७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी ४६ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ३९३ रुपैयाँ र न्युनतम प्रतिकित्ता १६८ रुपैयाँ रहेको थियो । यस्तै, जोशी डेभलपमेन्ट हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । जनवरी ६, २०१९ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४१६.१० रुपैयाँ र न्युनतम प्रतिकित्ता १६४.८० रुपैयाँ रहेको थियो । यस्तै, दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १७१.१० रुपैयाँ रहेको छ । फेब्रुअरी १३, २०१७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकत प्रतिकित्ता ३८१.४० रुपैयाँ र न्युनतम प्रतिकित्ता १६६.६० रुपैयाँ रहेको थियो । यस्तै, घलेम्दी हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ । फेब्रुअरी १३, २०१७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४२० रुपैयाँ र न्युनतम प्रतिकित्ता १६९ रुपैयाँ रहेको थियो । यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १७१ रुपैयाँ रहेको छ । फेब्रुअरी १३, २०१७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४१८ रुपैयाँ र न्युनतम प्रतिकित्ता १६२.४० रुपैयाँ रहेको थियो । यस्तै, शिवश्री हाइडोपावर कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १८३.९० रुपैयाँ रहेको छ । अक्टोबर २२, २०२० मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम ४२६.९० रुपैयाँ र न्यूनतम प्रतिकित्ता १७७.९० रुपैयाँ रहेको थियो ।

बोनसको लागि गुराँस लाइफको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको बोनस सेयरको लागि मंगलबार सेयर मूल्य समायोजन गरेको हो । इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५१.४० रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ४८५ रुपैयाँमा भएको थियो ।

नेपाली सेनाको व्यानरमा रजनीगन्धा तस्करी, चार भाई पक्राउ

काठमाडौं । नेपाली सेनाको लोगोसहितको व्यानर प्रयोग गरी एक गिरोहले रजनीगन्धा तस्करी गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभागले ३११ केजी रजनीगन्धा चोरी पैठारी गर्दै आएका ४ जनालाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । नुवकोट लिखु–३ का रामशरण बोगटी, सिरहा मिर्चैया–२ का अमित कुमार साह, अछाम पञ्चदेवल विनायक–१ का नमराज तिमिल्सैना र तिर्थराज ढकाल विरुद्ध विभागले मुद्दा दायर गरेको हो । उनीहरुले ट्रकको नम्बर नै नक्कली राखेको, नेपाली सेनाको लोगोसहितको व्यानर ट्रकमा राखेर विदेशबाट रजनीगन्ध ल्याउने र राजश्व छलि गर्ने काम गरेको आरोप उनीहरुमाथि लागेको छ । विभागले उनीहरुलाई १८ लाख ४६ हजार विगो तोकेको छ ।

विद्युत निर्यात १ अर्ब युनिट नाघ्यो, झण्डै ८ अर्ब आम्दानी

काठमाडौं । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो’, उहाँले भन्नुभयो । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

हुण्डाई टेष्ट ड्राइभ गर्ने शेरबहादुर र हस्तमायाले वर्ल्ड कप हेर्न जान पाउने

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाई टेस्ट ड्राइभ, वाच फिफा वर्ल्ड कप २०२२ को विजेता घोषणा गरेको छ । हुण्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले मंगलबार उक्त योजनाको विजेता घोषणा गरेको हो । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत शेरबहादुर जिसी र हस्त माया गुरुङ्ग विजेता छनौट भएका छन् । दुई विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले आफ्नो नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बैदेशिक रोजगार बीमाबाट सन लाइफले उठायो दोब्बर बढी प्रिमियम, सानिमा र रिलायबलबीच टक्कर

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेखबाट ५६ करोड २३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । बीमा समितिका अनुसार १९ कम्पनीमध्ये ७ वटा कम्पनीले सो मात्राको प्रिमियम संकलन गरेका हुन् । चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौसम्ममा ७ वटा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गरी सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । जसमा सुर्या लाइफ, आईएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल, सिटिजन लाइफ र सानिमा लाइफ रहेका छन् । यीमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा सन नेपाल लाइफ रहेको छ । इन्स्योरेन्सले समीक्षा अवधिमा २७ करोड ५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको समितिले जानकारी गराएको छ । जुन अन्य कम्पनीको तुलनामा दोब्बर बढी हो । त्यस्तै, सुर्या लाइफले १० करोड ७३ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बीमाशुल्क संकलन गरेको छ । ज्योति लाइफले ७ करोड ९९ लाख, सिटिजनले ३ करोड ७६ लाख, सानिमा लाइफले २ करोड ८५ लाख, रिलायबल लाइफले २ करोड ८१ लाख र आइएमई लाइफले ९८ लाख रुपैयाँ बराबरको सो प्रकारको बीमाशुल्क उठाएका छन् ।