विकासन्युज

एक सय मिटर बत्तीको मूल्य ११ हजार रुपैयाँ

काठमाडौं । यतिबेला बजारमा तिहारका लागि सामान खरिदबिक्री गर्नेको भीड लागेको छ । तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स पसलहरूमा पनि बत्ती खरिद बिक्री गर्नेहरुको संख्या बढ्न थालेको छ । अहिले धेरैले बत्ती खरिद गरेर घर सजाइसकेका छन् भने कतिपय तयारी गरिरहेका छन् । अहिले विभिन्न किसिमका झिलिमिली बत्ती बजारमा उपलब्ध छन् । बजारमा उपलब्ध बत्ती खरिद गर्न ग्राहकहरुको भीड पसलपसलमा देखिन्छ । व्यापारीहरुका अनुसार अहिले सबैभन्दा बढी माग भइरहेको झिलिमिली बत्तीमध्ये पाइप लाइट बत्ती हो । अहिले यो बत्तीको सबैभन्दा बढी कारोबार भइरहेको न्यूरोडमा बत्तीको व्यपार गर्दै आएका उमेश मण्डल बत्ताउँछन् । उनका अनुसार पाइपलाइट बत्ती झिलिमिली बत्तीमध्येको सबैभन्दा बढी माग र मूल्य भइरहेको बत्ती हो । पाइपलाइट बत्तीको एक सय मिटरको मूल्य न्यूनतम ११ हजार रुपैयाँ पर्ने उनले बताए । सो बत्तीको एक मिटरको भने १५० रुपैयाँ पर्ने उनको भनाइ छ । यसको मुल्य पसल अनुसार फरक–फरक परे पनि न्यूनतम भने ११ हजार पर्छ । पाइपलाईट बत्ती ‘मल्टीकलर’ मा भएको उनीहरु बताउँछन् । ‘पाइपलाईट बत्ती तिहारमा बल्ने बत्ती मध्यको सबै भन्दा महँगो हो, यसको ग्यारेन्टी वारेन्टी हुँदैन, वाटर प्रुफ हुने भएकाले लामो समयसम्म टिक्छ,’ उनले भने । परम्परागत दियो बाल्ने चलन कम हुँदै गएकाले आधुनिक बिजुली बत्तीको प्रयोग बढ्दो छ । तिनै बत्ती, फूल र मानिसहरूको चहलपहलले काठमाडौं उपत्यकामा तिहार सुरु भइसकेको झल्को हुन्छ । तिहारमा घरमा सजाउने बत्तीको न्यूनतम १२० रुपैयाँदेखि लाखौंसम्म हुने व्यापारीहरु बताउँछन् । न्युरोडका अर्का व्यापारी रमेश शर्मा अघिल्ला वर्षको तुलनामा ग्राहकको उपस्थिति यस पटक कम भएको बत्ताउँछन् । उनका अनुसार बजारमा डाईमन, रकेट, रुफ लगायतका लाइट उपलब्ध छन् । ‘अहिले बत्ती धेरै मात्रामा बिक्री भएको छैन, तिहार नजिकिँदै छ, त्यो समयमा धेरै लाइटको माग आउला, केही दिन पछिबाट मात्र बत्तीको व्यापार राम्रो हुने हाम्रो अनुमान छ,’ उनले भने । बजारमा झिलिमिली बत्ती खोज्न ग्राहक आए पनि सो बत्तीको अभाव रहेको व्यापारीहरु बताउँछन् । चाइनाबाट बत्ती आयात गरेता पनि समयमा नै समान आउन नसक्दा बजारमा बत्तीको अभाव भएको उनीहरुको भनाइ छ । ‘आयातकर्ताले बत्ती आयात गरेता पनि सामान चीनियाँ नाकामै छ, आयात कर्ताका डिलरबाट हामीले सामान ल्याउने हो, तर सामान आउन नसक्दा महँगो हुने देखिन्छ,’ उनले भने । नेपाल विद्युतीय व्यवसायी महासंघले यो वर्षको तिहारमा करिब २० करोड बढी रुपैयाँ हाराहारीको झिलिमिली बत्ती बिक्री हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत भएको महासंघले जनाएको छ । यो वर्ष झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म महँगो बन्नसक्ने अनुमान महासंघको छ ।

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक छुटका साथै उच्च ब्याज

काठमाडौं । महालक्ष्मी विकास बैंकले विशेष ९महा बचत० खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कात्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् । बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड ९कास्कीं० शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ ।

टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा पुकार बमलाई सोधियो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमलाई स्पष्टीकरण सोधेको छ । आयाेगले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा स्पष्टीकरण सोधेको हाे । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं १ का उम्मेदवार हुन् बम । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको उल्लेख गर्दै स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईँले निर्वाचन प्रचार–प्रसारका क्रममा आफ्नो नाम अङ्कित टिसर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार कारण के छ ? स्पष्टीकरणपत्रमा अगडि भनिएको छ, ‘तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो ? यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेश गर्नुहोला ।’

पर्वतमा चुनाव प्रचार गर्ने प्रधानाध्यापक तिवारीसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ । रासस

नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा आजको खेलमा स्वर्ण पदकबाट चुकिन । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् । सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । नवौँ राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसकेकी छिन् । रासस

कैलालीमा आयोजनाले निरन्तरता नपाउँदा सडक निर्माणकाे काम अलपत्र

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ मा सञ्चालनमा रहेका दुई क्रमागत आयोजना सङ्घीय सहरी विकास तथा भवन निर्माण एकाइको क्रमागत योजनाबाट हटाइएका छन् । स्मार्ट सिटीअन्तर्गत निर्माण सुरु भएका योजनालाई प्रदेश र स्थानीय सरकारमार्फत कार्यसञ्चालन गर्ने गरी हटाइएको हो । साना आयोजनाको जिम्मेवारी स्थानीय र प्रदेश सरकारको पूर्वाधार कार्यालयमार्फत सम्पन्न हुने गरी जिम्मेवारी दिने भनेपछि यतिबेला ती दुवै आयोजनाको काम अलपत्र अवस्थामा पुगेको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण एकाइ धनगढीका इञ्जीनियर मोहन अवस्थीका अनुसार प्रदेशमा क्रमागतरूपमा सञ्चालन भएका त्यस्ता १५ आयोजनाको काम प्रभावित भएको छ । ‘चालु आर्थिक वर्षको कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा निर्माणका क्रममा रहेका १५ वटा क्रमागत आयोजना समावेश गरिएका छैनन्’, उनले भने, ‘ती योजनालाई प्रदेश र स्थानीय सरकारको मातहतमा रहने गरी प्रक्रिया अगाडि बढाइएको भन्ने छ । तर आधिकारिकपत्र कार्यालयमा अहिलेसम्म केही आएको भने छैन ।’ उनले बजेट र कार्यक्रममा आयोजनाको नाम समावेश नभएपछि निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिनसमेत नसकेको बताए । ‘बजेट छैन, कसरी काम गर भनेर निर्देशन गर्न सकिन्छ ?’, इञ्जीनियर अवस्थीले भने, ‘कार्यक्रममा बजेट र योजना देखिएपछि काम गर्न निर्देशन गर्न सकिन्छ ।’ उनका अनुसार स्मार्टसिटीअन्तर्गत निर्माण भइरहेको टीकापुरको छ लेन सडक र ब्लक नं ‘ए’ को सडकको काम सङ्घीय आयोजनाअन्तर्गत नै हुने गरी अहिले अर्थ मन्त्रालयले विभागलाई पत्राचार गरेको छ । ‘छ लेन सडक र ब्ल्क ‘ए’ को काम कार्यान्वयन एकाइबाटै सम्पन्न हुने गरी अर्थ मन्त्रालयले विभागलाई पत्र पठाएको भन्ने खबर पाएका छौँ । त्यसो हो भने तिहारलगत्तै काम सञ्चालन गर्न निर्माण कम्पनीलाई निर्देशन दिन्छौँ ।’ इञ्जीनियर अवस्थीले भने, ‘दुई आयोजनाको लागत अन्य आयोजनको भन्दा बढी भएका कारण कार्यान्वयन एकाइकै मातहतबाट हुनसक्ने सम्भावना छ ।’ चार वर्ष अगाडि सुरु भएका आयोजनाको काम सम्पन्न हुनसकेको छैन । मुख्य बजारको जमरा पुलबाट बसपार्कसम्मको दुई किलोमिटर सडक र स्मार्ट सिटी कार्यक्रमअन्तर्गत सुरु भएका आयोजनाको काम निर्माण कम्पनीकै कारण ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । कार्यालयको अनुमानभन्दा दोब्बर समय अर्थात् चार वर्ष बितिसक्दासमेत निर्माण कम्पनीले जम्मा दुई किलोमिटर सडक पूरा गर्न सकेको छैन । रोमन केएस जेभीसँग विसं २०७५ असोज ११ गते सुरु भएको दुई लेन सडक २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको थियो । सङ्घीय सरकारको रु १८ करोडको लागतमा निर्माण हुने जमरा पुलबाट बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटर छ लेन सडक चार–चार वर्ष बितिसक्दासमेत पूरा हुनसकेको छैन । कम्पनीले जमरापुलबाट बसपार्कसम्म कालोपत्र गरेको छ । सडकको बाहिरी लेन, गार्डेन अलपत्र छ । सडकको दुवैतर्फ जथाभावी ग्राभेल र माटो थुपारिएको छ । ‘वर्षामा पानी परेपछि सडकको माटो पसलमा पुग्छ । व्यवसायीलाई सडक निर्माण सम्पन्न नहुँदा निकै समस्या भएको छ’, व्यवसायी रुपकबहादुर विष्टले भने, ‘वर्षात्मा हिलो र गर्मीमा धुलोको सास्ती निकै खेप्नुपरेको छ । चार वर्षमा पनि जम्मा दुई किलोमिटर सडक नसक्ने ठेकेदारलाई कारबाही हुनुपर्छ ।’ इञ्जीनियर रवीन्द्र विष्टले चार वर्षसम्म निर्माणकार्य नसक्ने कम्पनीलाई कारबाही हुनुपर्ने बताए । ‘म आफैँ इञ्जीनियर हो, दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षसम्म पनि पूरा भएको छैन, बनेको कालोपत्र पनि अपूरो छ’, उनी बताउँछन् । सडक निर्माण कम्पनीका इञ्जीनियर गगन शाहीले काम गर्दा पनि बिल भुक्तानीमा समस्या हुन थालेपछि काम सुरु गर्न नसकिएको गुनासो गरेका छन् । ‘बर्खाको समय भएका कारण पनि काम गर्न सक्ने स्थिति थिएन । अर्कोतिर सहरीले काम गर्न ताकेता नगरेका कारण पनि काम हुन नसकेको हो’, उनले भने, ‘हामीले गर्ने कामको शीर्षकमा बजेट नै छैन भन्ने खबर पाएपछि काम अगाडि बढाउन समस्या भएको हो । अब तिहारलगत्तै काम अगाडि बढाउँछौँ ।’ उनका अनुसार सडकको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब ४० प्रतिशतमात्रै काम गर्न बाँकी छ । ‘यस्तो महँगीको समयमा निर्माण कम्पनीले पनि डराएर काम गर्नुपर्ने बाध्यता छ । भनेको बेला बिल भुक्तानी नहुँदा झेल्नुपर्ने समस्याका बारेमा बुझ्ने कोही छैन ।’ उनले भने, ‘उधारोमा काम गर्नुपर्छ, बिल भएको बेला कार्यालयले खातामा पैसा छैन भन्छ, कसरी काम गर्ने ?’ रासस

नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन् । एपिएफ क्लबले २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गरेको छ । पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गरेको छ । यसैगरी बागमती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले १० स्वर्ण, आठ रजत र २० कास्यसहित कुल ३८ पदक प्राप्त गरेको छ । गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०ले छ स्वर्ण, छ रजत र चार कास्यसहित कुल १६ पदक हासिल गरेको छ । यस्तै प्रदेश नं १ सातौँ, मधेश प्रदेश आठौँ, सुदूरपश्चिम प्रदेश नवौँ, लुम्बिनी प्रदेश १०औँ तथा कर्णाली प्रदेश पदक तालिकाको ११औँ स्थानमा छन् । प्रदेश १ ले हालसम्म तीन स्वर्ण, आठ रजत र २१ कास्यसहित कुल ३२ पदक पाएको छ । मधेशले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित कुल १२ पदक, सुदूरपश्चिमले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित कुल १४, लुम्बिनीले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल २२ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित कुल चार पदक प्राप्त गरेको छ । हालसम्म एक सय ३९ स्वर्ण, एक सय ३९ रजत र एक सय ८६ कास्यसहित कुल चार सय ६४ पदकको छिनोफानो भएको छ । छ हजार एक सय ५७ खेलाडी सहभागी नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेको छ । कुल तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा दुई प्रदर्शनीसहित ३८ खेल समावेश गरिएका छन् । तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडीबीच खेल भइरहेको छ । पोखरामा यसअघि २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । रासस

विद्युत् विस्तारमा गति लिँदै भोजपुर

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो । यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्यद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत्गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत्गृह तत्कालीन द्वन्द्वमा विग्रिएपछि लामो समय भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो गृहबाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पु¥याउने कोसिस भइरहेको छ । पूर्णरूपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबैभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । यो प्रदेश नं १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो । दोस्रोमा केन्द्रीय प्रसारण लाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । जिल्लामा पनि जलविद्युत्को क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुलाखोला हाइड्रोपावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । इष्टर्नबाट पाँच र टक्सार पिखुवाखोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । यी विद्युत्गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । जलविद्युत् आयोजना संरक्षणविहीन संरक्षणको अभावमा जीर्ण बनेकोे सिक्तेलखोला जलविद्युत् आयोजनाको संरक्षण ध्यान गएको देखिँदैन । बिग्रिएको करिब १४ वर्ष बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का साम्रगी कबाडीमा परिणत भएका छन् । जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाउँहरूमा विद्युत् वितरण गरिरहेको यो आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो । बन्द भएको लामो समय हँुदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन । सडक विस्तार गर्ने क्रममा ढुङ्गा लडेर विद्यु्त्गृहमा क्षति पुगेको छ भने सामग्री क्षतविक्षत बनेका छन् । तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युत्गृह हस्तान्तरण गर्ने क्रममा यो जलविद्युत् आयोजना भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सिर्जना भएको समिति र प्राधिकरणबीच आपसी किचलोका कारण यो विद्युत्गृह अलपत्र बनेको हो । जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युत्गृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो । आयोजनाले तत्कालीन समयमा दुई सय ५० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । विद्युत्गृह बन्द हुनुमा स्थानीयले पनि दुःखेसो गरेका छन् । विद्युत्गृह विसं २०३८ बाट सञ्चालनमा आएको थियो । भोजपुरको विद्युत्को विकासमा महत्वपूर्ण भूमिका खेलेको उक्त विद्युत्गृह संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कबाडीमा परिणत भएका छन् । यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्ने सके आर्थिकरूपमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–६ कोटमा पर्ने यो विद्युत्गृहको पोखरी पनि जीर्ण बन्दै गएको छ भने पानी ल्याउनका लागि प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ । आयोजना अलपत्र बन्दा यहाँ काम गर्दै आएकाले रोजगारीसमेत गुमाएका छन् । अहिले यहाँका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् । रासस