कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव
जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहँुदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको छ । महिनौँ दिनसम्म कर्णाली राजमार्ग नखुल्ने हल्ला चलेका हुनाले बजारमा कालोबजारी भएको जनगुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको हो । खाद्यान्न र पेट्रोलियम पदार्थ बेच्ने पसलको अनुगमन गरिएको छ । अनुमगनका क्रममा झण्डै दुई महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रजिअ रिजालले बताइन् । दशवटा पसलको अनुगमन गर्दा पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छिटोभन्दा छिटो अवरुद्ध राजमार्ग खुलाउनका लागिपरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । रासस
जनकपुरधाममा चार लाख १२ ले गराए स्वास्थ्य बीमा
जनकपुरधाम । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले स्वास्थ्य बीमाअन्तर्गत मधेस प्रदेशका चार लाख १२ हजार नौ सय ९४ जनाले बीमा गराएको जानकारी दिए । विसं २०७४ माघ २५ गतेदेखि मधेस प्रदेशमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका ६२ लाख जनसङ्ख्यामध्ये करिब सात प्रतिशतले स्वास्थ्य बीमा गराएको प्रमुख पौडेलले बताए । उनका अनुसार मधेस प्रदेशमा दुई लाख १० हजार सात सय १४ पुरुष र दुई लाख दुई हजार दुई सय ८० महिलाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लागतरूपमा सबैभन्दा बढी सिरहामा एक लाख पाँच हजार चार सय जनाले बीमा गराएका छन् भने सबैभन्दा कम सर्लाही जिल्लामा २३ हजार छ सय ५५ जनाले बीमा गराएको बीमा बोर्ड प्रादेशिक कार्यालयले जनाएको छ । सिरहामा अतिविपन्न समूहमा पर्ने एक हजार आठ सय १४ जनाले बीमा गराएका छन् । मधेस प्रदेशका सरकारी तथा निजी गरेर आठवटै जिल्लामा ४८ वटा स्वास्थ्य संस्थाले बीमा गर्ने गरेको प्रमुख पौडेलले बताए । गरिबी, अशिक्षा र प्रचार–प्रसारको कमीलगायतका कारणले मधेस प्रदेशमा थोरै मात्र सङ्ख्याले मात्र स्वास्थ्य बीमा गराएको प्रमुख पौडेलको भनाइ थियो । त्यस्तै स्वास्थ्य बीमा गराएकाहरूले पनि पुनः दर्ता नगराउने, स्वास्थ्य बीमा गराएका व्यक्तिहरूले पनि उपचार नपाउनेजस्ता कारणले बीमाप्रति सर्वसाधारणको रुचि नबढेको प्रमुख पौडेलले बताए । नेपालको संविधान २०७२ ले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु आम जनताको मौलिक हकका रूपमा रहेकाले स्वास्थ्यमा आम जनताको पहुँच बढाउने उद्देश्यले सरकारले स्वास्थ्य विमालाई ठूलो माध्यम बनाएको छ । विसं २०७४ माघ २५ गते मधेस प्रदेशको महोत्तरी जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर अहिले प्रदेशको आठवटै जिल्लामा सो कार्यक्रम लागू रहेको उनले बताए । रासस
पर्वतका कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित
पर्वत । पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाको दुर्लुङ, चित्रे, क्याङ, राम्जा, फलामखानी, लुङ्खुदेउराली, शालिजा, बाँसखर्कलगायतका क्षेत्रमा लगाइएको कोदोखेतीमा पहेँलो हुने, बाला नलाग्ने र विस्तारै बोट मर्ने समस्या देखिएको हो । धेरै गर्मी हुने बेँसीमा भन्दा केही चिसो हुने लेक क्षेत्रमा लगाइएको कोदोको गवारे किराको प्रभाव परेको देखिएको तथा विगतमा भन्दा यो वर्ष झनै क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । ‘पछिल्ला दुई–तीन वर्षयता गवारो किराको प्रकोप देखिएकामा अहिले झनै क्षति भएको भनेर लेक क्षेत्रका कृषकले गुनासो गरेका छन् । यसले पर्वतमा हुने कोदोको उत्पादनमा ह्रास ल्याउने भयो’, उनले भने, ‘कोदो पसाउने बेलामा बिरुवाको काण्डमा गवारोले छेड्छ । त्यसको असरले पसाउन पाउँदैन । विस्तारै बोट पहेँलो हुँदै मर्छ ।’ कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत नारायण शर्माले कृषकको धेरै गुनासो आएपछि जिल्लाको मोदी गाउँपालिकाको क्याङमा ‘बाली उपचार शिविर’ राखेर त्यसको प्रभाव कम गर्ने प्रयास गरिएको बताए । त्यहाँका ३५ कृषकले ल्याएको बिरुवा परीक्षण गर्दा ५० प्रतिशतमा गवारोको समस्या देखिएको र त्यस बाहेक पातमा लाग्ने थोप्ले रोग र मरुवाको पनि प्रकोप रहेको पाइएको उनको भनाइ छ । ‘हामीले बाली उपचार शिविर नै राखेर प्रकोपको बारेमा खोजेका थियौँ । तर अबको उपचारले त्यो प्रकोप नियन्त्रणमा आउने अवस्था छैन । त्यही पनि हामीले तत्काल गर्न सकिने प्रयास भने गरेका छौँ’, उनले भने, ‘प्रकोप देखिएका अन्य ठाउँमा पनि कृषि प्राविधिकहरू पुगेर तत्काल गर्न सकिने प्रयास त गरेका छन् । सकेसम्म कम क्षति होस् भन्नेमा लागिरहेका छौँ ।’ ज्ञान केन्द्र प्रमुख थापाले गवारोको प्रकोप बढ्नुको कारण जलवायु परिवर्तनसँगै बारीमा गरिने सरसफाइको अभाव भएको बताए । जलवायु परिवर्तनले बालीका मित्र जीवलाई भन्दा शत्रु जीवलाई उपयुक्त हुने वातावरणको विकास भएकाले हरेक बालीमा फरक–फरक समस्या देखिएको उनको भनाइ छ । बारीका कान्ला वा कोदो रोपिएकै ठाउँमा पनि सरसफाइको आवश्यकता हुन्छ । तर कान्लाभरि झाडी छ, बारीका पाटा पनि सफा नहुँदा रोगको जीवाणुले आश्रय पाइरहेका छन् । गवारो किराको समस्या नियन्त्रण गर्ने विषादी कडा हुने र त्यसको प्रभाव लामो समय रहने भएका कारण अन्तिम अवस्थामा विषादीको प्रयोग नगर्न कृषकलाई कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ । विषादीको ‘वेटिङ’ समय लामो हुँदा बाली भित्र्याएपछि पनि अन्न र नल ९बाला काटिएको कोदोको बोटमा पनि विषादी कायमै रहन्छ । त्यस्तो अन्न र नल मानिस वा पशु दुवैलाई विषाक्त हुने भएकाले यो वर्ष विषादीको प्रयोग नगरिएको हो । तर आगामी वर्षमा भने कोदो गोड्दासाथ विषादी प्रयोग गरेर समस्या हल गर्न कृषकलाई सुझाइएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लामा आठ हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुने गरेको छ । यसबाट करिब ११ हजार एक सय ८९ मेट्रिक टन कोदो उत्पादन हुन्छ । सात हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गवारो किराको प्रकोपकै कारण यस वर्ष कोदो उत्पादन गिरावट आउने भएको छ । रासस
कञ्चनपुरका घरबासमा आउन थाले पाहुना
दोधारा चाँदनी । पछिल्लो समयनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरबास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताए । ‘कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्’, उनले भने, ‘अहिले त अग्रिम बुकिङ हुने गरेका छन् ।’ उनले अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ घरबास हुने गरेको बताए । ‘होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्’, उनले भने, ‘अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन् ।’ अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए । ‘कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्’, उनले भने, ‘पाहुना आउने समय पनि यही हो ।’ विशेषगरी चाडपर्वको बेला र फागनुमा पाहुनाहरू बढी आउने गरेको उनले बताए । पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताए । ‘राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ’, उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन् ।’ घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताए । ‘यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौँ’, उनले भने, ‘यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ ।’ पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार विसं २०७५ मा दुई सय ६६ विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन् । त्यसैगरी विसं २०७६ मा सार्क मुलुकका तीन सय आठ जनाले भ्रमण गरेका छन् भने तीन सय ५० विदेशीले भ्रमण गरेका छन् । विसं २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए । ‘शुक्लाफाँटाको फाँटमा देखिने बाह्रसिङ्गाको झुण्ड पर्यटकको आकर्षण हो’, उनले भने, ‘यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ ।’ शुक्लाफाँटा छेउमै रहेको रानाथारू समुदायको घरबासमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा रानाथारू नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन् । रासस
आठ करोड बढी खर्चेर बनेको बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै
बलेवा । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमार्डाैं र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर्चाहरू भइरहे । तर विमानस्थल न त उपयोग भएको छ न प्रयोग । विमानस्थलको झन्डै सात सय मिटर लामो धावनमार्ग पछिल्लो समय कालोपत्र गरिएको छ । चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको विमानस्थल हवाईजहाजको पर्खाइमा छ । यो विमानस्थलको धावनमार्ग आठ करोड रुपैयाँ बढी खर्चेर बनेको हो । निर्माणका बेला हतार–हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन् । ‘हिजो गौचरण रहेको विमानस्थल अहिले टल्किने भएको छ, अब जहाज चलाउनुपर्छ’, पूर्व सांसद डा सूर्य पाठकले भने, ‘विमान चल्न यात्रु चाहिन्छन्, सडक राम्रो नहुँदा यात्रुको समस्या भएको हो ।’ नागरिक उड्डयन प्राधिकरण, बागलुङ नगरपालिका र राजनीतिक दलका नेतृत्वले बनिसकेको विमानस्थलको सदुपयोगबारे चासो राख्नुपर्ने स्थानीय बताउँछन् । प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले कालोपत्रपश्चात तत्कालै जहाज सञ्चालन गर्ने जनाउँदै आउनुभएको थियो । तर गत वैशाख–जेठमै विमानस्थलको धावनमार्गलगायतका संरचना तयार भएका भए पनि सहज सञ्चालनमा आउन सकेको छैन् । विमानस्थलबाट जहाज चल्ने सम्भावना अझै नभएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । मालढुङ्गादेखि १० किमी दूरीमा पुग्न सकिने विमानस्थलका लागि दुईवटा सडक छन् । तर तीन वर्षदेखि खसेको पहिराले दुवै सडक अवरुद्ध बनाउने गरेको छ । वर्षाका तीन महिना सडक ठप्पप्रायः हुन्छ । पहिरो पन्छाउने र सडक चलाउन नसक्दा यात्रीले पैदल हिँड्नुपर्ने बाध्यता छ । ‘वर्षाको समयमा सवारी चढेर सदरमुकाम पुग्नै कठिन छ, यहाँ जहाज चल्ने कुरामा कसरी विश्वास गरौँ’, बलेवा पैञ्युपाटाका भवानी रिजालले भने, ‘पहिले सडक मजबुद बनाउन लाग्नुपर्छ, जहाज नचलाएर त सुख होला र ?’ सडकको पहुँच नभएसम्म जहाज चलाएर पनि यात्री लैजान नसकिने नरहेको उनको भनाइ छ । सरकारले मालढुङ्गाबाट बलेवासम्मको कालीगण्डकी करिडोरको १० किमी खण्ड कालोपत्र गर्न ठेक्का लगाएको छ । तर यो सडक कहिले कालोपत्र बन्छ भन्ने यकिन छैन । गत असोज १३ गते यो सडक कालोपत्रका लागि ठेक्का खुलेको भए पनि प्रक्रियागत काम बाँकी रहेको भन्दै करिडोर आयोजना कार्यालय पाल्पाले निर्माण व्यवसायीसँग चुनावपछिमात्रै सम्झौता गर्ने योजना बनाएको छ । ‘दशैंमा खुलेको बागलुङ–कुश्मीशेरा सडक तिहारमा खुल्छ कि खुल्दैन थाहा छैन’, जैमिनी नगरपालिका–४ सर्कुवाका तेजेन्द्र नेपालीले भने, ‘गाडीका पट्टा भाँचिने सडक हुँदै जहाज चढ्न यात्रु जाँदैनन् ।’ काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनीले गत वर्ष आठ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्र गरेको हो । विमानस्थलमा छ सय २० मिटर लामो पक्की नाली, एक हजार पाँच सय मिटर लामो घेराबार र एउटा मुख्य तथा अर्को आपत्कालीन गेट बनेको छ । मैदानको सबै भाग एक किमी दूरीको छ । तर हाल झन्डै सात सय मिटर कालोपत्र गरिएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्छन् । रासस
झापामा दुई मोटरसाइकल एकआपससँग ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते
बनियानी । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे३प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । मत्यु हुनेमा मे३प ५५८० नंका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे५प १६०४ नंका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् । भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको बेलुका ५ः२५ बजे मृत्यु भएको हो । घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ । दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस
चिसो बढ्न थाल्यो, घट्दो क्रममा तापक्रम
काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए । उनले भने, ‘मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।’ पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको थियो । बाँकी प्रदेश नं १ को मनसुन पनि आइतबार बाहिरिएको छ । अहिले नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भू–भाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौंबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरिय डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौंंको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । रासस
आजदेखि चालू पुँजी कर्जा मार्गदर्शन लागू, बैंकहरुलाई ११ अर्बको दबाब
काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मागनिर्देशन २०७९ आज (मंगलबार) देखि लागू भएको छ । गत भदौ ७ गते सार्वजनिक भएको सो माग निर्देशन आजदेखि लागू भएको हो । नेपाल राष्ट्र बैंकले सो मार्गनिर्देशमार्फत् कुनै पनि संस्थालाई चालू पुँजी प्रकृतिको अल्पकालीन कर्जा दिनुभन्दा अगाडि उक्त संस्थाको वार्षिक कारोबार हेर्नु पर्ने व्यवस्था गरेको गरेको छ । बैंक तथा वित्तीय संस्थाले कुनै संस्थालाई चालु पुँजी कर्जा प्रवाह गर्दा सो संस्थाको कारोबारको आधारमा ऋण प्रवाह गर्नु पर्ने व्यवस्था गरेको छ । कुनै संस्थाको वार्षिक कारोबारको २५ प्रतिशत भन्दा बढी चालू पुँजी प्रवाह गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको क्षमताभन्दा बढी चालू पूँजी कर्जा लगानी गरेको भए त्यस्तो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ । त्यससँगै यो मार्गदर्शन लागू हुनुपूर्व प्रदान गरिएका चालू पुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने व्यवस्था गरेको छ, मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ । यस्तै, राष्ट्र बैंकले १ करोडभन्दा कम रकमको चालू पुँजी प्रकृतिका कर्जा प्रवाह/नवीकरण गर्नु अघि समेत अन्य इजाजतपत्रप्राप्त संस्थाबाट त्यस्तो कर्जा लिए नलिएको यकिन गरी लिएको भएमा कर्जा दिने संस्थाबाट अनिवार्य रुपले नो अब्जेक्सन लेटर लिएर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्थालाई यथावत राखेको छ भने नो अब्जेक्सन लेटर माग गरिएको संस्थाले सोसंग सम्बन्धित पत्र प्राप्त गरेको ५ कार्यदिनभित्र उपलब्ध गराउनु पर्ने व्यवस्था पनि सोही चालू पुँजी कर्जा मार्गनिर्देशनमा छ । नो अब्जेक्सन लेटर उपलब्ध नगराउने भएमा सो सम्बन्धी जानकारी पत्र माग गर्ने संस्थालाई उपरोक्त समयावधिभित्र नै उपलब्ध गराउनु पर्ने उल्लेख छ । यी विभिन्न व्यवस्थाहरुको कारण बैंक तथा वित्तीय संस्था मात्रै होइन उद्योगी व्यवसायीले पनि असन्तुष्टि जनाएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने आज देखि नै चालु पुँजी कर्जा मार्गनिर्देश लागू हुने बताए । अहिलेसम्म कार्यान्वयन नगर्ने विषयमा कुनै निर्णय नभएकोले पहिलेकै परिपत्र अनुसार चालू पुँजी कर्जा मार्गनिर्देश लागू हुने उनको धारणा छ । उद्योगी व्यवसायीहरुले भने यसको कार्यान्वयन हुन नुहुने बताइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका व्यवसायिक छाता संस्थाहरुले विज्ञप्ति नै जारी गरेर यो मार्ग निर्देशन अव्यवहारिक भएको बताउँदै आएका छन् । उद्योगी व्यवसायीहरुले उत्पादनमूलक उद्योग र व्यवसायका लागि चालु पुँजी कर्जाको सीमा फरक–फरक निर्धारण गरिनुपर्ने, २५ प्रतिशत कर्जा सीमाले व्यवसाय सञ्चालन मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पर्ने भएकोले यो सीमालाई बढाउनु पर्ने लगायतका माग राख्दै व्यवसायिक छाता संस्थाहरुले यो मार्गनिर्देशन कार्यान्वयन गर्न सममस्या हुने बताउँदै आएका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले सोमबार राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई भेट्दै चालू पुँजी कर्जा मार्ग निर्देशन स्थगन गर्न समेत माग गरेको छ । सर्तअनुसार कर्जा रकम व्यावसायिक प्रयोजनमा उपयोग गरे/नगरेको यकिन गर्न अनुगमन गरिनुपर्ने र अन्यत्र प्रयोग गरेको भए कारबाही गर्न पनि महासंघले सुझाव दिएको छ । तर, राष्ट्र बैंकले भने यही मार्ग निर्देशलाई कार्यान्वयनमा लिएको छ । ११ अर्ब तत्काल तिर्नु पर्ने बैंकहरुका अनुसार अहिले १८ अर्ब रुपैयाँ चालू पुँजी कर्जा बजारमा प्रवाह भएको छ । कात्तिक १ गतेदेखि यो व्यवस्था लागू भएपछि ११ अर्ब रुपैयाँ उद्योगी व्यवसायीले तत्काल तिर्नु पर्ने अवस्था छ । बैंकहरुले ऋणीको क्षमता भन्दा बढी अर्थात् कारोबारभन्दा पनि धितोको आधारमा चालु पुँजी कर्जा दिएको भएमा त्यसलाई तत्काल फिर्ता ल्याउनु पर्नेछ । असुल मात्रै होइन त्यस्तो रकमलाई बैंकले खराब कर्जाका रुपमा वर्गीकरण गर्नु पर्नेछ । यो व्यवस्थाले बैंकहरुले तत्काल ११ अर्ब रुपैयाँ तिर्नु पर्ने अवस्था हुन सक्ने बैंकर्स बताउँछन् । ‘अहिले तरलताको समस्या छ, बैंकहरुले यसअघि चालू पुँजी कर्जाको नाममा सम्पत्ति धितो राअेर ऋणीको क्षमताभन्दा पनि बढी ऋण प्रवाह गरेका छन्, अब त्यो सबै खराब कर्जामा वर्गीकरण गर्नु पर्ने अवस्था पनि आउन सक्छ, यसले ऋणीसँगै बैंकहरुलाई पनि सकस हुने देखिन्छ,’ एक बैंकका नायव प्रमुख कार्यकारी अधिकृतले भने । ती बैंकरका अनुसार यो मार्गनिर्देशन प्रभावकारी भएपनि तत्काल लागू गर्दा धेरै समस्या सिर्जना हुन सक्ने बताए । उनले तत्काल यो मागनिर्देश लागू गर्दा मनिटरमा समस्या आउने, कर्जा प्रवाहका लागि पैसा नपाइने, एलसी खोल्न समस्या हुने, ७ दिनभित्र कर्जा नवीकरण गर्न समस्या आउने लगायतका समस्या देखा पर्ने धारणा राखे । हाल बैंक तथा वित्तीय संस्थाले व्यवसायको आवश्यकता भन्दा पनि घर जग्गा धितो राखेर चालू पूँजी कर्जा लगानी गरेको छन् । यही प्रवृतिको अन्त्य गर्नैका लागि राष्ट्र बैंकले यो नीति अघि सारेको हो । गत वर्ष नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण प्रतिवेदन २०२१ ले बैंकहरुले कर्जा प्रवाह गर्दा अनुमानित कारोबार र धितोमा अत्याधिक भर पर्ने गरेको देखाएको थियो । यसले पनि बैंकहरुले चालु पुँजी कर्जा प्रवाह गर्दा संस्थाको क्षमता र कारोबारभन्दा पनि त्यो संस्थाको धितो हेरेर कर्जा लगानी गर्थे । अब त्यो अभ्यासको अन्त्य हुने राष्ट्र बैंकको विश्वास छ । यस्तै, राष्ट्र बैंकको सो प्रतिवेदनले प्रोपराइटर आफैंले कर्जा प्रयोग गर्ने गरेको, कर्जाको उद्देश्य अनुसार कर्जा प्रयोग नभएको, उद्देश्य अनुसार कर्जाको सदुपयोगिताका लागि बैंकहरुबाट कडाइका साथ अनुगमन नभएको लगायतका निष्कर्श निकालेको थियो । यिनै कमजोरीहरुलाई अध्ययन गरेर राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्ग निर्देश २०७९ जारी गरेको हो ।