विकासन्युज

नेपाल टेलिकमबाट एक हजार रुपैयाँमा एकैपटक २ हजार एसमएमएस पठाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबारबाट संचालनमा ल्याउने भएकाे छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ । यस अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ । टेलिकमकाे अनुसार प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० मात्र लाग्नेछ । त्यसैगरी, २५ सयमा ५ दिन भित्रमा ५ हजार एसएमएस, ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश नभएकाे कम्पनीले बताएकाे छ । ग्राहकले यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्टयाक्टमा भएका नम्बरहरु एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सक्नेछन् ।  

सिद्धार्थ बैंकको नाफासँगै ईपीएस पनि घट्यो

काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४७.४८ प्रतिशत घटेको छ । बैंकले यस अवधिमा ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९४ करोड ८७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी २१.६२ प्रतिशत बढेर २ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै बैंकको सञ्चालन नाफा ४६.८६ प्रतिशत घटेर ७२ करोड ८ लाख रुपैयाँमा सिमित भएको छ । बैंकको वितरणयोग्य नाफा ३११.३९ प्रतिशत बढेर १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ घटेर १५ रुपैयाँ ६१ पैसामा सिमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १५ पैसा छ । बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ लाख रुपैयाँ, जगेडा कोष ५.११ प्रतिशत बढेर ८ अर्ब ४३ करोड रुपैयाँ, निक्षेप संकलन ५.१४ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ९५ करोड रुपैयाँ र कर्जा ३.९० प्रतिशत बढेर १ खर्ब ७९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

एनएमबिको नाफा १३.४३ प्रतिशत घट्यो, वितरणयोग्य नाफा २ अर्ब २३ करोड

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.४३ प्रतिशतले घटेकाे छ । खुद नाफा १३.४३ प्रतिशतले घट्दा बैंकले ९० करोड ४१ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.४६ प्रतिशत बढेर २ अर्ब ५ करोड रुपैयाँ, सञ्चालन नाफामा १२.१२ प्रतिशत बढेर १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ३८७.११ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६ पैसाले घटेर १९ रुपैयाँ ६९ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६ पैसा रहेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष ६.५४ प्रतिशत बढेर ६ अर्ब ८८ करोड रुपैयाँ, निक्षेप २.२३ प्रतिशत घटेर १ खर्ब ८० अर्ब ६९ करोड रुपैयाँ र कर्जा २.१२ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

खुसी हुने थेरापी : मुस्कुराउँदा मांसपेशीहरू फैलिन्छन, राम्रो हर्मोन उत्पादन हुन्छ

एजेन्सी । कहिलेकाहीँ तनाव वा उदासीका कारण अनुहारबाट मुस्कान गायब हुन्छ। तर, बल गरेर मुस्कुराउने काम गर्यौ भने भित्रबाट केही समयको लागि मात्र खुसी मिल्छ। वास्तवमा यो अनुहार प्रतिक्रियाको विषयमा लामो समयदेखि विवाद भइरहेको थियो । तर, हालै अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले १९ देशका ४ हजारभन्दा बढी मानिसमाथि गरेको अनुसन्धानमा यो सिद्धान्त सही साबित भएको छ । देखावटी मुस्कानले पनि स्वास्थ्यलाई फाइदा गर्छ यस अनुसन्धानका लागि तीन समूह गठन गरिएको थियो । पहिलो समूहलाई कलमलाई मुखमा समात्न र मुस्कुराउनको लागि ओंठलाई फुकाउन भनियो । दोस्रो समूहलाई कलाकारहरु जस्तै मुस्कुराएर अभिनय गर्न भनिएको थियो भने तेस्रो समुहलाई मुस्कुराउने पोज दिएर मुस्कानको नाटक गर्न भनिएको थियो । यस क्रममा सबैलाई खाली पर्दा, फूल र अन्य फोटोहरू देखाइयो। फेसियल फिडब्याक रेस्पोन्स थ्योरीले बताउँछ कि जब तपाइँ अनुहारको मांसपेशिहरुलाई मुस्कुराउन भन्नुहुन्छ भने मांशपेशी फुक्न थाल्छ । यसो गर्दा शरिरमा हर्मोन पैदा हुन्छ, । मस्तिस्कमा खुसी सञ्चार हुन्छ र मानिस खुसी हुन्छ । मुस्कानले तनाव कम गर्छ अनुसन्धानले देखाएको छ कि मुस्कानको भावना ल्याउनाले सबैको अनुहारमा खुसी ल्याउँछ । वैज्ञानिकहरूले पहिलो समूहमा कम खुसी पाएका थिए भने अन्य दुई समूहका मानिसहरु बढी खुसी भएका थिए । यस अनुसन्धानको प्रभाव थोरै भए पनि यो थेरापीले काम गरिरहेको थियो ।

कुकुर : सहरमा रहर, गाउँमा गोठालाका भर

बेनी । प्रायःसहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताए । ‘हामी पनि गोठमा हुन्छौँ, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ’, उनले भने । खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । अधिकांश समय जङ्गलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ । खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए । जङ्गलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले सुनाए । ‘गोठदेखि जङ्गलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र सङ्केत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौँ’, उनले भने । करिब छ सय बढी भेडापालन गर्नुभएका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन् । चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहनुभएका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजा बताए । गोठका सारथी बनेका कुकुरलाई जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ । जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ । यमपञ्चकअर्थात् दीपावलीपर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ । रासस

धेरै बीमा कम्पनीले सेयरधनीलाई लाभांश दिन सकेनन् : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले धेरै बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश दिन नसकेको बताएका छन् । सोमबार सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मर्जरपश्चात भने कम्पनीहरुको राम्रो परिमाण आउने र सेयरधनीहरुले पनि लाभांश पाउने विश्वास व्यक्त गरेका छन् । सिलवालले बीमा बजारलाई व्यवस्थित गर्न र जोखिम कम गर्न बीमामा मर्जर सुरु भएको बताए । बीमाको बजार बढाउन आवश्यक रहेको बताउँदै उनले अझै धेरै काम गर्नु बाँकी रहेको बताएका छन् । यस्तै, सिलवालले कात्तिक २२ गतेदेखि नयाँ ऐन लागू हुने जानकारी दिएका छन् । ‘सबैको प्रयासले नयाँ ऐन आएको छ, अहिले पनि बीमा कम्पनी अहिले पनि पुरानो ऐन २०४९ अनुसार चल्नु पर्ने बाध्यता छ, पुरानो ऐन अनुसार चल्नु भनेको पुरानाे तरिकामा चल्नु हो, त्यसैले समय परिस्थिति अनुसार नयाँ ऐन आएको हो,’ उनले भने । सिलवालले दुईटा फरक धार भएका कम्पनी एक भएकोमा सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बधाई दिएका छन् । उनले भोलिका दिनमा दुई ठाउँबाट आएको विचार एक भएपछि कम्पनीले अझै राम्रो प्रगति गर्ने बताए । यस्तै, उनले सरकारले बीमाको बारेमा बुझ्नुपर्ने धारणा राखेका छन् । ‘बीमा बारे बुझाउँदा सधै सरकारसँग झगडा गर्नुपरेको छ त्यसैले अब तीनै तहका सरकारलाई बीमाका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने छ,’ उनले भने । साेमबार सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । दुई कम्पनीकाे मर्जर पश्चात् सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट कारोबार हुनेछ ।

काठमाडौं महानगरको फुटपाथ व्यवसाय व्यवस्थापनमा क–कसले पहल गरे ? सफल होला त बालेनको मिसन ?

काठमाडौं । राजनीतिक दलहरुसँग स्वतन्त्र ढंगले चुनावी प्रतिस्पर्धा गरेर काठमाडौं महानगरको प्रमुखमा लोकप्रिय मतसहित विजय भएका हुन् बालेन्द्र शाह ‘बालेन’ । काठमाडौं महानगरमा प्राचिनताको संरक्षण गर्दै आधुनिक विकासको सपना बाँडेर विजय भएका बालेनको कार्यशैलीप्रति भने पछिल्लो समयमा विभिन्न कोणबाट आलोचना हुन शुरु भएको छ । विशेषगरी फुटपाथ तथा ठेलागाडामा व्यवसाय गर्ने सिमान्तकृत समुदायका मानिसहरुप्रति निर्ममतापूर्वक प्रस्तुत भएको भनेर महानगरप्रमुख बालेनलाई आलोचना गरिएको छ । तर, बालेनले आलोचनाका बाबजुद फुटपाथमा भइरहेको व्यवसायलाई र अनधिकृत भौतिक पूर्वाधार हटाउने अभियानलाई निरन्तरता दिएका छन् । काठमाडौं महानगरको प्रमुखमा मेयर बालेन गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत विजयी भएका हुन् तर काठमाडौंको सडकपेटी तथा फुटपाथमा मानिसहरुले व्यवसाय गर्न लागेको धेरै समय भइरसकेको छ । सो सँगै फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भनेर विषय उठ्न थालेको पनि झण्डै ३ दशक भएको छ । तर पनि काठमाडौंको फुटपाथ व्यवसायलाई दिगो व्यवस्थापन गर्ने कुरा चुनौतिकै रुपमा देखिन्छ । महानगर प्रमुख बालेनले फुटपाथ व्यवसायलाई हटाउन निरन्तर पहल गरेपछि सो विषयमा राजनैतिक र वौद्धिक जगतको मत पनि विभाजित भएको देख्न सकिन्छ । केहीले फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्ने बताइरहेका छन भने केहीले फुटपाथमा भइरहेको व्यवसायलाई महानगरले निःसर्त रुपमा हटाइरहेको तरिकाको समर्थन गरेका छन् । सडक व्यवसायलाई व्यवस्थित गर्दै संस्कृतिको विकास गर्ने पहल गरेका थिए स्थापितले काठमाडौंलाई तत्कालीन सरकारले ०५२ सालमा देशकै पहिलो महानगरको रुपमा घोषणा गरेको थियो । आँफू महानगरको मेयरमा ०५४ सालमा निर्वाचित हुँदा फुटपाथमा व्यवसाय गर्ने प्रचलन अहिलेको जस्तो नभएको केशव स्थापित बताउँछन् । जसले गर्दा त्यतिबेला यो विषय समस्याको रुपमा विकास भइनसकेको उनको भनाइ छ । तरपनि फुटपाथ तथा खुल्ला ठाउँमा व्यवसाय गर्नेहरुलाई लक्षित गरेर स्थापितले ‘नाइट मार्केट’को अवधारणा ल्याएका थिए । ‘म मेयर हुँदा बसन्तपुर क्षेत्रमा नाइट मार्केटको अवधारणा शुरु गरेको थिएँ । इच्छुकहरुले व्यवसाय पनि गर्न सकुन र यो एउटा संस्कृतिको रुपमा पनि विकास होस भन्ने मेरो धारणा थियो’, स्थापितले बताए । उनका अनुसार सो रात्रिकालिन बजार निकै राम्रो ढंगले सञ्चालन भएको थियो तर केही व्यक्तिहरुले सो बजारका कारण फोहोरमैला भएको सवाल उठाएका थिए । सो रात्रिकालिन बजार स्थापित मेयर हुनेबेलासम्म राम्रैसँग सञ्चालन भयो, उनको कार्यकाल वितेको केहीसमयपछि भने बन्द हुन पुग्यो । पूर्व मेयर स्थापितका अनुसार ०६० सालको सरकारमा गृहमन्त्री भएको बेलामा बामदेवले काठमाडौंमा भइरहेको फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने विषयमा चासो देखाए । गौतमले मन्त्रालय स्तरकै निर्णयबाट केशव स्थापितको नेतृत्वमा ७ सदस्यीय टास्कफोर्सको निर्माण गरेका थिए । सो टास्कफोर्सले ४० दिनजति समय लगाएर काठमाडौंको फुटपाथ व्यवसायलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा रिपोर्ट बनाएर तत्कालिन गृहमन्त्री गौतमलाई बुझाएको स्थापीत बताउँछन् । ‘हामीले ४० दिनजती समय लगाएर हजारौं व्यवसायी, उद्योग वाणिज्य संघ र विभिन्न संघसंस्थाहरुसँग छलफल गरेर रिपोर्ट तयार गर्यौं’, उनले भने, ‘रिपोर्ट गृहमन्त्री बामदेवलाई बुझायौं, तर लगत्तै उहाँको मन्त्रीपद गएकाले कार्यान्वयन हुन पाएन ।’ आँफूहरुले तयार गरेको प्रतिवेदनमा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नको लागि धेरै विषयहरु समेटिएको स्थापितको भनाइ छ । ‘हामीले प्रतिवेदनमा ७ दिनमा ७ ठाउँमा त्यस्तो व्यापार गर्न सकिने, व्यवसायीहरुलाई १० लाख सम्म ऋण उपलब्ध गराउने र आधुनिक गाडा उपलब्ध गराउने सम्मको विषय समेटेका थियौं’, स्थापितले भने । मानिसहरु काठमाडौंमा आफ्नो जीवनको सम्भावना देखेर आएर सडकमा व्यवसाय गरेको हुँदा उनीहरुलाई निरपेक्ष ढंगले हटाउने भन्दापनि व्यवस्थित गर्नुपर्छ र गर्नसकिन्छ भन्ने सोंचबाट आफूहरुले प्रतिवेदन बनाएको उनको भनाइ छ । स्थापित पछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयरमा मनोनित भएका थिए । उनको कार्यकालमा पशुपति क्षेत्र, माइतिघर, तिनकुने लगायतका क्षेत्रमा भएका अव्यवस्थित संरचनालाई हटाउने काम पनि भएको थियो । ०६२/०६३ सालको आन्दोलन पछि ०७४ सालको निर्वाचनसम्म काठमाडौं महानगर जनप्रतिनिधिविहिन बन्यो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा काठमाडौंका सडकहरुलाई फराकिलो बनाउने काम गरियो । तर, फुटपाथमा व्यवसायीको संख्या बढ्दै गयो, त्यसलाई नियमन गर्ने कुनै ठोस नीति तथा कार्यक्रम कुनै निकायले बनाएन् । फुटपाथ व्यवस्थित गर्न पूर्व मेयर विद्यासुन्दर शाक्यले उल्लेख्य पहल गरेनन् ०७४ भएको पहिलो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखको रुपमा विद्यासुन्दर शाक्य विजयी भएका थिए । शाक्यले ५ वर्ष काठमाडौंको प्रमुख पदमा रहेर काम गर्दा खासगरी फुटपाथमा भइरहेको अनधिकृत व्यवसायलाई हटाउन कुनै निर्णायक पहल गर्न सकेनन् । उनको कार्यकालमा फुटपाथमा अव्यवस्थित व्यवसाय थप भयो तर घट्न सकेन् । महानगरका एक अधिकारीका अनुसार शाक्यको कार्यकालमा कहिलेकाहीँ फुटपाथमा भइरहेको अव्यवस्थित व्यवसायको विषयमा प्रसंग उठेपनि सो विषयमा कुनै ठोस नीति तथा कार्यक्रम ल्याएन । ती अधिकारीले फुटपाथमा व्यवसाय गर्न दिने कुरा गैरकानूनी हुने तर त्यसलाई हाटबजार वा क्षेत्र तोकेर गर्न दिने सम्बन्धमा महानगरले कुनै ठोस कदम नचालेको बताए । कतिपय समयमा बजारलाई व्यवस्थित गर्नको लागि केन्द्रीय सरकार, महानगर र विभिन्न निकायहरुको पहलमा विभिन्न प्रकारका बजारहरु स्थापना गरिएको पनि देखिन्छ । अव्यवस्थित व्यवसायीहरुलाई त्यसरी व्यवस्थापन गरिसकेपछि पनि पुनः नयाँ व्यवसायी काठमाडौंका फुटपाथमा व्यापार गर्न आउने चक्र भने रोकिएन । पछिल्लो समयमा काठमाडौंका कतिपय फुटपाथहरुमा मानिसहरु हिँडडुल नै गर्न नमिल्ने गरी अव्यवस्थित पसलहरु पनि राख्ने गरेको पाइन्छ । पछिल्लो ५ वर्षको सरकारमा सबैभन्दा धेरै मन्त्री फेरिएको सहरी विकास मन्त्रालयले काठमाडौं महानगरको अव्यवस्थित व्यवसायलाई हटाउन खासै पहल गरेन । छोटो समय मन्त्री बनेकी रामकुमारी झाँक्रीले पनि फोहोर व्यवस्थापनमा थोरै चासो देखाएपनि अव्यवस्थित व्यवसायमा कुनै पहल गरेको देखिएन । बालेनको पहल सफल होला ? काठमाडौंलाई व्यवस्थित बनाउने मिसनमा नै महानगर प्रमुखमा निर्वाचित भएका बालेनले लामो समयदेखि समस्याको रुपमा रहेको अव्यवस्थित फुटपाथ व्यवसायलाई तिव्र गतिमा हटाउने कोशिष गरिरहेका छन् । गाडामा सामान राखेर व्यवसाय गर्नेहरुको सामग्री महानगर प्रहरीले पछिल्लो समयमा आक्रामक रुपमा नियन्त्रणमा लिने काम गरिरहेको छ । दशैंको पूर्वसन्ध्या गत असोज १३ गते महानगर प्रमुख शाहले विज्ञप्ति जारी गरेर चाडबाडको समयमा समेत फुटपाथ व्यवसाय गर्न नपाइने र सो विषयमा महानगर लचिलो नहुने बताएका थिए । आर्थिक वर्ष ०७९/८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्थाअनुसार महानगरले कार्यक्रम सञ्चालन गरेको बालेनले बताए । फुटपाथमा व्यवसाय गर्दै आएकी लमजुङ स्थायी घर भएकी एक महिलाको ठेला महानगर प्रहरीले उठाएपछि उनको विषयलाई लिएर धेरै व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत भावनात्क रुपमा प्रतिक्रिया जनाए भने कतिपयले उनलाई नगद राहत जुटाउने अभियानको नेतृत्व समेत गरे । त्यस्तै महानगरले फुटपाथ खाली गर्नको लागि सञ्चालन गरेको अभियानको विरुद्धमा सोही क्षेत्रका व्यवसायीहरुले संगठित रुपमा विभिन्न समयमा पदर्शन गर्दै आएका छन् । तर उनीहरुको पदर्शनमा अन्य आम मानिसहरुको घनिभूत समर्थन भएको भने देखिँदैन । पूर्वअर्थसचिव रामेश्वर खनालले बालेनले अगाडि सारेको फुटपाथ क्लियर गर्ने अभियान सफल हुनुपर्ने तर सफल हुनेमा आफूलाई शंका लागेको बताउँछन् । खनालले सबै सुविधा लिएको सम्पन्न वर्गले नै घरमा बसेर फुटपाथ व्यवसायीको पक्षमा वकालत गर्दै बालेनको अभियानलाई अवरोध गर्न खोजेको बताएका छन् । ‘फुटपाथमा निर्वाद रुपमा मान्छे हिँड्न पाउनुपर्छ, फुटपाथमा निर्वाद रुपमा मान्छे हिँड्न पायो भने सो सँग जोडिएका पसलहरुको व्यापार पनि बढ्छ’, उनले भने, ‘वृद्ध तथा बालबालिकाहरुलाई स्वस्थ रहनको लागि पनि हिँड्न पर्छ ।’ खनालले मानिसहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरेपछि उसको अन्तिम क्षमताले भ्याएसम्म त्यहाँ नियन्त्रण जमाउन चाहने प्रवृत्ति देखिएको बताए । जसले गर्दा उनीहरुको विकास हुने अन्य विकल्पहरु पनि बन्द भएको आँफूले महशुस गरेको बताए । फुटपाथ खाली गर्ने अभियानमा महानगरलाई खनालले धेरै बल प्रयोग नगर्न सुझाव दिएका छन् । ‘महानगरले धेरै बल प्रयोग गर्नु हुँदैन, बरु महानगरीय प्रहरीको संख्या बढाएर १/१ सय मिटरमा उनीहरुलाई राखेर फुटपाथमा व्यवसाय गर्न नदिने वातावरण बनाउनुपर्छ, जसले गर्दा स्वभाविक रुपमा मानिसले आफ्नो अन्य विकल्प खोज्छ’, उनले भने, ‘बल प्रयोग गर्नुभन्दा पनि निरन्तर निगरानी राखेर गर्नुपर्छ ।’ नगर प्रहरीको विस्तार गर्दा पनि फुटपाथमा व्यवसाय गर्नेहरुलाई रोजगारको सिर्जना हुने र अन्य आकर्षक विकल्पहरु पैदा हुने अवस्था महानगरले सिर्जना गर्नुपर्ने खनालको भनाइ छ । विकल्पहरु सिर्जना गर्दा फुटपाथ खाली गर्नको लागि बल प्रयोग गर्नुनपर्ने उनले बताए ।

हल्का वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । दिउँस प्रदेश १ र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौंको न्यूनतम ११ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।