विकास बैंकको नाफा ३० प्रतिशत घट्यो, सांग्रिलाको १३७ प्रतिशत बढेपनि मुक्तिनाथ अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरुको समग्रमा ३० प्रतिशत भन्दा बढी नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विकास बैंकहरुको खुद नाफा ३०.३७ प्रतिशत घटेर १ अर्ब ८ करोड ८२ लाख ७० हजार रुपैयाँ मात्रै आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी ११ बैंकले १ अर्ब ५६ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । असोज मसान्तसम्ममा विभिन्न ४ वटा विकास बैंकको नाफा भने बढेको छ । जसमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४२ प्रतिशत बढेर २० करोड ९१ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, प्रतिशतका हिसावले सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १३७ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा बैंकले ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, गरिमा विकास बैंकको नाफा ४.८३ प्रतिशत बढेर १९ करोड ३३ लाख २८ हजार रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको १.१५ प्रतिशत बढेर २ करोड ५६ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । विभिन्न ७ वटा बैंकहरुको नाफा घटेको छ । जसमा २ वटा बैंक नोक्सानीमा छन् । लुम्बिनी विकास बैंकको ६६.६७ प्रतिशत घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकको नाफा पनि घटेको छ । बैंकले गत वर्षको तुलनामा ११ प्रतिशत घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । बैंकको नाफा घटेपनि सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस्तै, ज्योति विकास बैंकको ५४ प्रतिशत घटेर १० करोड ९९ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ४८ प्रतिशत घटेर ११ करोड ९३ लाख ३९ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ७६ प्रतिशत घटेर ४ करोड १५ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन् । यस अवधिमा ग्रीन डेभलपमेन्ट बैंक १ करोड ७८ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा छन । गत वर्षको सोही अवधिमा बैंकले ६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको नोक्सानी बढेको छ । बैंक गत वर्ष ८ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा थियो भने बढेर १ करोड ६७ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।
व्यवस्थित र पर्यटकीय पहिचान बोकेको बनेपा बनाउनुपर्छ भनेर काम गरेका छौं : मेयर शाक्य
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा शान्ति रत्न शाक्य बनेपा नगरपालिकाको प्रमुखमा निर्वाचित भए । निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि निरन्तर सक्रियताका साथ लाग्ने प्रयत्न शाक्यले गरिरहेका छन् । शाक्य शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधार लगायतको क्षेत्रलाई व्यवस्थित गरी बनेपालाई व्यवस्थित सहर बनाउने योजनामा अगाडि बढेका छन् । बनेपामा कसरी काम गर्ने, कुन योजनालाई बढी प्राथमिकता दिने, नागरिकहरूका समस्या के कस्ता छन् लगायत विषयहरू उनलाई राम्रोसँग आँफूले बुझेको बताउँछन् । प्रस्तुत छ, उनै मेयर शाक्यसँग नगरको विकास, प्राथमिकताका विषय, उद्यमशीलता र व्यवसायिक क्षेत्रको विकासमा पालिकाको योजना र कार्यक्रमका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं निर्वाचित भएर आएको ५ महिना जति भयो, यो अवधिमा के–के काम गर्नसक्नुभयो ? सर्वसाधारणले अनुभुति गर्ने खालका काम पनि भए की ? हो, हामी निर्वाचित भएर आएको ५ महिना भयो । यो अवधिमा धेरै विकास निर्माण सम्बन्धी कामको शुरुवात भएका छन् । जनताले अनुभूति गर्ने कामहरू पनि हुँदैछन् । अहिले नगर क्षेत्रको कोर एरिया भित्र अपाङ्ग मैत्री फुटपाथलाई व्यवस्थित गर्ने काम गरिरहेका छौं । राजमार्ग छेउ–छेउमा वृक्षारोपण गर्ने काम गरेका छौं । राजमार्गलाई लक्षित गर्दै अहिले स्मार्ट लाइटको पनि जडान गरिरहेका छौं । सो लाइट प्रत्येक वडामा पनि जडान गर्ने लक्ष्य लिएका छौं । निर्वाचित भएर आइसकेपछि नगरका विभिन्न ठाउँमा लगभग ३ सय लाइटको जडान गरेका छौं । प्रत्येक वडामा स्मार्ट लाइटको जडान गर्ने नगरको उद्देश्य छ । डुबानको समस्यालाई धेरै हदसम्म समाधान गरेका छौं । वर्षौं देखि बनेपाबासीको आशाको रूपमा रहेको काभ्रेको एकीकृत खानेपानी योजना लामो समय देखि अलपत्र अवस्थामा थियो । निर्वाचनको दौरानमा जनता सामु ४ महिना भित्र पानी ल्याउँछौं भनेर प्रतिबद्धता पनि जनाएका थियौं । हामीले ३ महिना नहुँदै सो पानी ल्याएर नागरिकको घर आँगनमा पुर्याएका छौं । यस्ता सयौं योजनाहरुको काम अगाडि बढाएका छौं । सबै विकासका कामहरू एकै चोटि सम्पन्न हुने कुरा पनि भएन । क्रमिक रूपमा विकासका कामहरुलाई अगाडि बढाउँदै छौं । हाम्रो नगरपालिकामा पहिला फुटपाथमा नै ठेला गाडा राखेर व्यापार गर्ने समस्यालाई हटाइरहेका छौं । यसमा व्यवसायीहरुले पनि साथ दिएका छन् । नगर भित्रको हलसम्म हुइल चियर जान सक्ने व्यवस्था गरेका छौं भने अपाङ्ग मैत्री शौचालय पनि नगरपालिको कम्पाउन्ड भित्रै बनाइरहेका छौं । सर्वसाधारण भएर काम भएन भन्नु र पदमा गइसकेपछि काम गर्नुमा कतिको फरक पाउनु भयो ? बाहिर बसेर यो भएन, यस्तो गरेको भए राम्रो हुन्थ्यो भनेर आवाज निकाल्न सजिलो छ । नभएको कामलाई भएन भनेर आवाज निकाल्नु राम्रो पक्ष्। पनि हो । तर, काम गर्ने ठाउँमा बसी सकेपछि ऐन, नियम कानूनलाई नाघेर काम गर्न सकिँदैन । विधि अनुसार निर्णय प्रकृयाबाट काम गर्नुपर्ने हुन्छ । त्यसैले सर्वसाधारण भएर काम भएन भन्नु र जिम्मेवारीमा रहेर काम गर्नु भिन्नता हुन्छ । बनेपा नगरपालिकामा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्ने के–कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ? व्यवस्थित शहरको विकासका लागि आधारभूत सडक सञ्जाल लगायतका पूर्वाधारलाई लिइन्छ । सडक नभई सहरलाई व्यवस्थित गर्छौं भनेर लाग्यो भने त्यो व्यवस्थित सम्भव हुँदैन । अहिले नगरपालिकाले सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएको छ । यो वर्ष २ सय भन्दा बढी योजनाका कामहरू नगर भित्र गर्दै छौं । यसमा साना देखि ठुला सबै किसिमका योजनाहरू समावेश गरिएको छ । यो सँगसँगै प्रदेशका पनि सबै भन्दा बढी योजनाहरू हाम्रो नगर भित्र छ । यसले गर्दा पूर्वाधार निर्माणको काम हुनेवाला छ । बढ्दो सहरीकरणलाई व्यवस्थित गर्नको लागि ढल बिजुली, खानेपानी लगायतका विषयहरु पनि हुन्छन् । प्लटिङ भइरहेको क्षेत्रमा व्यवस्थित बसोबास व्यवस्थापन गर्न खोजिरहेका छौं । चालु आर्थिक वर्षको बजेट खर्च हुने प्रकृयाको शुरुवात भैसकेको छैन् । किनभने बजेट सार्वजनिक गरेपछि चाडपर्व आयो, संघीय र प्रदेश तहको निर्वाचन हुँदैछ । बजेट पास गरे पनि निर्वाचनको आचार संहिताले काम गर्न सक्दैनौं । चुनावको पछि नगरको विकास निर्माणको काम तिव्रतामा अगाडि बढ्छ । साँगादेखि २८ किलो भन्ने ठाउँसम्म करिब ६ किलोमिटर केन्द्रीय सरकारको बजेटमा ४ लेनको सडक बन्दै छ । बनेपाको चोकबाट नाला हुँदै भक्तपुर जाने बाटो पनि बन्दै छ । यी सडकहरु पनि विस्तार तथा स्तरोन्नती भयो भने थप सहज हुन्छ । अहिले पालिकाहरुमा फोहोर व्यवस्थापनको विषयलाई ठूलो चुनौतिको रुपमा लिएको पाइन्छ । तपाईंहरुले नगर भित्रको फोहोर व्यवस्थापनलाई कसरी कार्यान्वयन गर्नुएको छ ? हामीले फोहोर मैलाको व्यवस्थापन आफ्नै किसिमले गरिरहेका छौं । हिजोका दिनमा सबै पालिकाहरूको एकै ठाउँमा जम्मा गरे फोहोर विसर्जन गर्न लाने चलन थियो । अहिले हामी वडामा नै फोहोर व्यवस्थापन गर्ने तर्फ लागेका छौं । वडामा उत्पादन भएको फोहोर वडामा नै व्यवस्थापन गर्नको लागि योजनाहरू अगाडि सारेका छौं । निर्वाचित भएर आएको २ महिनापछि देखि नै नगर भित्र फोहोरमैला व्यवस्थापन सम्बन्धी प्रशिक्षण चलाएका थियौं । सबै भन्दा बढी फोहोर भान्साबाट निस्कन्छ । जसले दुर्गन्ध पनि फैल्याउँछ । प्लास्टिक कागज आदिबाट दुर्गन्ध आउँदैन । घरबाट निस्किएको फोहोर घरमा नै व्यवस्थापन गर्नको लागि हामीले घर–घरमा कम्पोस्ट मल बनाउने प्रशिक्षण दियौं । बनेपाको कोर एरिया वडा नं. ७, ८, ९ बढी बसोबास छ । सबै भन्दा बढी फोहोर पनि सोही क्षेत्रमा उत्पादन हुन्छ । त्यसैले त्यो एरियामा सोही योजनाहरू अगाडी सार्यौं । हामीले नगर भित्रको फोहोरलाई नगर भित्र नै व्यवस्थापन गरी यहाँको फोहोरलाई बाहिर नपठाउने तरीकाले काम गरिरहेका छौं । भान्साको फोहोरलाई व्यवस्थापन गर्न सक्यौं भने बाँकीलाई कच्चा पदार्थको रूपमा बेच्न सक्छौं । खानेपानीको बोतलका कारण पनि सहर फोहोर भइ रहेको छ । किनभने पानी खायो, बोतल फाँक्यो । त्यसैले पानी उत्पादन गर्ने कम्पनीहरूले नै सोही बेतलाई पुनः प्रयोगका लागि लैजान भनेका छौं । एक वर्ष भित्रमा नगर भित्र व्यवस्थापन गर्न सक्ने जति फोहोरको व्यवस्थापन नगरमा नै गर्छौं । अहिले हाम्रो नगरको फोहोर पनि बन्चरे डाँडामा नै व्यवस्थापन हुँदै आएको छ । नगर क्षेत्र भित्र अव्यवस्थित रूपमा जग्गा प्लटिङ र खरिदबिक्री पनि भइरहेको देखिन्छ । यसलाई व्यवस्थित बनाउन नगरपालिकाले कसरी काम गरिरहेको छ ? नेपाल सरकारले पनि अहिले जग्गाको कित्ताकाटमा रोक लगाएको छ । अहिले घर जग्गा व्यवसायीहरूले आफूखुसी जग्गाको प्लटिङ गरिरहेका छन् । नगरपालिकालाई जानकारी नगराई धेरै मानिसहरुले जग्गाको खरीद बिक्री गरिरहेका छन् । जग्गाको प्लटिङ गर्ने क्रममा डाँडा खारेर घडेरी बनाउँदा माटो बगेर खोलाको सतह माथि बढी रहेको छ । त्यसलाई नियन्त्रण गर्नको लागि नगरपालिकासँग स्वीकृति नलिइकन जग्गा प्लटिङ गर्न नदिनु भनेर प्रत्येक वडालाई भनेका छौं । प्लटिङ गरे पनि जग्गाको वरपर वाल लगाएर प्लटिङ गर्नु होस् भनेका छौं । नगरपालिकामा जग्गा वर्गीकरणको काम भइरहेको छ । तर पछिल्लो समयमा नगरभित्र प्लटिङको काम नगन्य मात्रामा भइरहेको छ । विभिन्न जगंल छेउछाउमा पनि प्लटिङ हुने कटान हुने काम भइरहेको देखिन्छ नी ! के त्यस्तो संवेदनशील ठाउँमा प्लटिङ रोक्नुपर्दैन ? हामी अब यस्ता ठाउँमा प्लटिङ गर्न दिदैनौं । नगरले प्लटिङ लागि स्वीकृत गरे पछि मात्र उनीहरूले सो काम गर्न पाउँछन् । हामी निर्वाचित भएर आउनु भन्दा अगाडि नै सुरु गरेका प्लटिङको काम रोक्ने कुरा आएन । तर, त्यसलाई आवश्यक पूर्वाधारहरू निर्माण भएपछि मात्र प्लटिङका जग्गा घडेरीको रूपमा बिक्री गर्न स्वीकृत दिने छौं । बनेपाले व्यवसायिक क्षेत्र विकासको पनि प्रवल सम्भावना बोकेको छ । सो विषयमा कसरी काम गर्नुभएको छ ? बनेपालाई धेरै पहिलादेखि नै यातायातको हब भनेर पनि चिनिन्छ । अर्को विषय बनेपा व्यापारिक हब पनि हो । काठमाडौंबाट यता आइ सकेपछि जति पूर्व तिर ठुला व्यापार हुन्छ, त्यो सबै बनेपासँग जोडिएको हुन्छ । अरनिको र बिपी राजमार्ग बनेपासँग जोडिएको छ । बनेपा व्यावसायिक क्षेत्रका रूपमा पनि अगाडि बढी रहेको छ । काठमाडौं पछि व्यवस्थित गर्न सकिने पालिका नै बनेपा हो । यहाँ प्रशस्त मात्रमा उद्योगहरू पनि खुलीसकेका छन्, धेरै उद्योगहरू विस्तार भइरहेका छन् । पुर्वधार विकासमा पनि नगर नै अगाडि छ । बनेपाको पूर्वाधार, शिक्षा, स्वास्थ्यको सुधार र पर्यटन विकासमा तपाईंको जोड कत्तिको छ ? कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ? हाम्रो नगरपालिकाले यी सबै क्षेत्रहरूलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ । शिक्षित समाजको विकास हुन सकेन भने हरेक क्षेत्रमा पछि परिन्छ । त्यसैले शिक्षाको गुणस्तर वृद्धिमा नगर लागेको छ । करिब १५ वटा सरकारी माध्यमिक विद्यालयहरू नगरपालिका भित्र छन् । ती बाहेक प्राइभेट विद्यालयहरू धेरै छन् । सरकारी विद्यालयको स्तर बढाउनको लागि पाइलट प्रोजेक्टको रूपमा ४ वटा स्कुललाई विशेष किसिमले अगाडि बढाउने हाम्रो सोँच छ । हाम्रो नजिकै काठमाडौं विश्वविद्यालय पनि छ । सो विश्वविद्यालयसँग सहकार्य गरेर अटो मोबाइल विषय पढाउने सन्दर्भमा पटकपटक छलफल भइरहेको छ । सोही योजना पनि केही समयपछि अगाडि बढाउने छौं । बनेपा नगरपालिकाको वडा नं. १४ मा २ सय बेडको अस्पताल बन्दै छ । त्यसको लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक काम गरिसकेको छ । ३ वर्ष भित्रमा सो अस्पतालको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं । प्रदेश सरकारको सहयोगमा ५० बेडको आर्युवेद अस्पताल पनि नगर भित्र बन्ने प्रक्रियामा छ । आफ्नै बजेटमा वडा नं. ४ मा १५ बेडको अस्पताल बनाउने सोँच पनि राखेका छौं । त्यसको लागि संघीय सरकारमा पहल गरिरहेका छौं । हाम्रो कार्यकालमा बनेपालाई व्यापारिक र यातायातको क्षेत्र मात्र नभई पर्यटकीय क्षेत्र रूपमा विकास गर्ने र्छौं । कार्यकाल सकिने बेलासम्म पालिकालाई पर्यटकीय हब बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने काम गर्छौं । बनेपादेखि नगरकोटसम्म जोन सडक नगरपालिकाको बजेटमा नै निर्माण हुँदै छ । सो सडक निर्माण भए पछि बनेपाबाट १० किलोमिटरमा दुरीमा नै नगरकोट पुग्न सकिन्छ । पालिकामा सार्वजनिक सम्पत्ति तथा जग्गाहरुमा मोहीको स्वामित्व रहेको र अतिक्रमण भएको अवस्था कस्तो छ ? सार्वजनिक जग्गा तथा अन्य सम्पत्तिहरूमा मोही देशैभरी भएको देखिन्छ । त्यसैले हाम्रो पनि छैन भन्न सकिन्न । गुठी, सार्वजनिक जमिन, जङ्गलका छेउका जग्गा अतिक्रमण नभएका हैनन् । तर, हामी आइसकेपछि यस्तो समस्या देखिएको छैन । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नगरपालिकाको उत्तरदायित्व हो । सार्वजनिक जग्गा हडपेर संरचना बनाउनेलाई कारबाहीको दायरा भित्र ल्याउँछौं । सार्वजनिक जग्गाको संरक्षण गरी पूर्वाधार बनाउने योजनामा पनि रहेका छौं । तपाईंको कार्यकालपछि अर्थात् अबको ५ वर्ष पछि बनेपा कस्तो बन्ला ? हाम्रो लक्ष्य भनेको नगरपालिकालाई व्यवस्थित सहरको रूपमा विकास गर्नु हो । मुख्य गरी देखिने राजमार्ग र भित्री सडकहरू व्यवस्थित हुने छन् । बस्न योग्य व्यवस्थित सहरको रुपमा बनेपालाई विकास गर्छौं । यस भित्र शिक्षा, स्वास्थ्य, बिजुली लगायत सबै विषयमा सम्पन्न अर्थात आधारभूत पूर्वाधारको विकास गर्छौं । साथै ५ वर्षपछि बनेपा पर्यटकीय नगर भनेर पनि परिचित हुनेछ । हेर्नुहोस मेयर शाक्यसँग गरिएको भिडियो अन्तर्वार्ता :
चितवनमा भारतीय माछा बिक्रीमा प्रतिबन्ध
चितवन । चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी संघ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिए। मत्स्य व्यवसायी संघ केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतका सरोकारवालाको बसेको बैठकले माछाको आयात नगर्ने निर्णय गरेको हो । ‘हामीले चितवनलाई पुग्ने माछा उत्पादन गरिरहेका छौँ, भारतबाट आयात गर्नुपर्ने अवस्था छैन’, सुवेदीले भने, ‘भारतीय माछा बिक्री वितरणमा रोक लगाउन यहाँका सरोकारवाला पक्ष पनि सकारात्मक हुनुहुन्छ ।’ चितवनमा वार्षिक सात हजार मेट्रिकटन माछा उत्पादन भइरहेको तर माग भने वार्षिक चार हजार मेट्रिकटन मात्रै रहेको उनको भनाइ छ । चितवनमा उत्पादन भएको माछा काठमाडौं, पोखरा, गोरखा, लमजुङ, बागलुङलगायतका सहरसम्म जान्छ । माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले चितवन २ वर्षयता माछामा आत्मनिर्भर भएकाले भारतीय माछा बिक्रीमा रोक लगाइएको बताए । चितवनका माछा किसान गत भदौ १ गतेदेखि भारतबाट भन्सार छली ल्याइएका माछालाई रोक लगाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए । माछा व्यापारीहरुले यसका लागि अर्थमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बु्झाएका थिए । हाल चितवनमा एक हजार पाँच सयभन्दा बढी किसानले सात हजार हेक्टर जलाशयमा माछा पालन गरिरहेका छन् । पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछापालन हुने गरेको छ । चितवनबाट सुरु भएको भारतीय माछा प्रतिबन्धलाई बिस्तारै अन्य जिल्लामा पनि बिस्तार गरिने किसानहरुको भनाइ छ
नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने आइएमएफको प्रक्षेपण
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो । आइएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ । आइएमएफले गत जनवरीमा गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले छ दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको थियो । तर हाल उक्त प्रक्षेपणलाई घटाएर पाँच प्रतिशत सीमित गरिएको छ । सरकारले भने आर्थिक वर्ष २०७९र८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । त्यस्तै आइएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ । मुद्रास्फीति सन् २०२२ मा छ दशमलव तीन प्रतिशत र सन् २०२३ मा सात दशमलव ७ प्रतिशत रहने आइएमएफको सुरुवाती अनुमान थियो । तर अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा आठ दशमलव एक प्रतिशत र २०२३ मा सात दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय मुल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । कोभिड महामारी र रुस-युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ । आइएमएफका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा छ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन दशमलव दुई प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । त्यस्तै, २०२३ मा झन् खस्केर दुई दशमलव सात प्रतिशतमा झर्ने अनुमान गरिएको छ । जुन पछिल्लो दुई दशकयताकै सुस्त हो । विश्व मुद्रास्फीति दर यसवर्ष आठ दशमलव आठ प्रतिशत कायम हुने आइएमएफको अनुमान छ । सन् २०२३ मा भने त्यो घटेर छ दशमलव पाँच प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।
आकर्षक सहकारीले शुरु गर्यो ‘एकोलमार्ट डटकम’, अर्डर गर्नासाथ सामान घरमै आउने
काठमाडौं । आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान बिक्री गर्न ई–कमर्स साइट ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । लक्ष्मीपुजाको अवसर पारेर सहकारीले सोमबार एक कार्यक्रम गर्दै ‘एकोलमार्ट डटकम’ को उद्घाटन गरेको हो । दश बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफना उत्पादनहरु बजारमा बिक्री गर्दै आएको थियो । बजारमा आफना उत्पादनहरुको माग तिव्र बढ्न थालेकोले आँफैले आधुनिक अनलाइन सपिङ पेल्टफर्म ‘एकोलमार्ट डटकम’ साइट शुरु गरेको संस्थाका अध्यक्ष दीपकप्रसाद घिमिरेले बताए । निकट भविष्यमै आफनो सेवा देशैभर पुर्याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा शुरु गरेको घिमिरेले बताए । आम उपभोक्तालाई सहकारी आफैले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरु घर–घरमै उपलब्ध गराउने अभिप्रायले ई–कमर्स साइड ‘एकोलमार्ट डटकम’ शुरु गरिएको बताए । एकोल मार्टले अर्गानिक खाद्यजन्य, जडिबुटीजन्य, तरकारी, फलफुल, माछा, विभिन्न प्रजातीका फुलहरु तथा औषधीजन्य उत्पादनहरु गरी करिव ५ सय प्रोडक्टहरु बिक्रीका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमशः विस्तार गर्दै लैजाने सहकारीको योजना भएको उनले बताए । एकोलमार्ट डटकमका आइटी प्रमुख इ.प्रदीप भटराईले उपभोक्ताहरुले एकोलमार्ट डटकम लगइन गरेर सजिलै रजिष्टेशन गर्न सक्ने र आफुलाई आवश्यक वस्तुहरुको अर्डर गर्न सक्ने बताए । उनले कुनैपनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए । एकटकमा १० ओटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरु किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम शुरु गरिएको उनले बताए । साइडको फिचरलाई क्रमशः ग्राहकमैत्री बनाउँदै लैजाने पनि उनले बताए । आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले जडिबुटीबाट निर्मित ग्रीन टी, स्लीम टी, हर्बल सावुन, मसाज तेल, टुथपेष्ट, सेम्फु जस्ता प्रोडक्टहरु आफैले उत्पादन गर्दै आएको छ । त्यसैगरी सहकारीले लतिलतुरमा फुलखेती, तरकारी खेती, कुरोलो तथा अकबरे खुर्सानीका विरुवा उत्पादन, ट्राउट माछापालन जस्ता व्यवसायिक कृषि गर्दै आइरहेको छ । साथै सहकारीले आफनो हेड अफिस सातदोबाटोमा आकर्षक आर्युबेद क्लिनिक पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै सेवाहरुका साथै देशैभरबाट संकलन गरिएका अर्गानिक चामल, पिठो, दाल, गेडागुडी, तेल, सिजनेबल तरकारी, आयुर्वेदिक औषधी जस्ता खाद्य तथा जडिबुटीजन्य करिव ५ सय आइटमका प्रोडक्टहरु बजारमा ल्याएको अध्यक्ष घिमिरेले बताए । जिल्लामै नमुना सहकारीको रुपमा ख्याती कमाएको आर्कषक सहकारीले डिजिटल पेल्टफर्म ‘एकोलमार्ट डटकम’ मार्फत आफनो बजार विस्तार गर्ने लक्ष्य लिएको छ । आधुनिक स्मार्ट फोन बोक्ने र इन्टरनेट मार्फत आफना आवश्यकताका वस्तुहरु सपिङ गर्ने जमात बढेको भन्दै सहकारीका प्रोडक्टहरुले राम्रो बजार पाउने विश्वास घिमिरेले व्यक्त गरे ।
दिपावलीमा झिलिमिली बत्ती बाल्दा ध्यान दिनु पर्ने कुराहरु
अन्धकार माथि विजयको आनन्द दिन उज्यालोको पर्व दिपावली हाम्रो घरदैलोमा आइपुगेको छ । आफनो घरलाई सफा, सुन्दर, आकर्षक र चिट्टिक्क पारेर उज्याला बत्तीहरु बाल्दै हुनुहन्छ होला । हिन्दु धर्ममा उज्यालो बेग्लै महत्व रहेको छ यसले शुद्धता, भलाई, शक्ति र सौभाग्यलाई जनाउने गर्दछ । तिहारमा घरै झिलिमिली हुने गरी दियो बाल्नुको पनि अर्थ छ । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ । दीपावली तेत्रायुगमा सुरु भएको विभिन्न पुस्तकमा उल्लेख गरिएको छ । दीप र आवली शब्द मिलेर बनेको दिपावलीमा दिप भनेको बत्ती हो । त्यस्तै आवली भनेको पंक्तिवद्ध हो र, जब दीप र आवली एक आपमिल्छन्, तब दीपावली बन्छ ।चारैतिर अन्धकार छाएको बेला,अन्धकारबाट छुटकारा पाउनका लागि दिपावली मनाइन्छ । उज्यालो नहुँदा दुष्ट आत्मा र शक्ति सक्रिय हुने जनविश्वास छ । त्यसैले यी दुष्ट शक्तिहरूलाई कमजोर बनाउन घरको हरेक कुनामा दीप प्रज्वलन गरिन्छ । अन्धकारबाट छुटकारा पाउनका लागि मानिसहरु दियो, मौनबत्ती, आकर्षक विद्युतीय बत्ती प्रयोग गर्ने गर्दछन । तिहारमा बत्ती बाल्दा निम्न कुरामा ध्यान दिनु पर्दछ तिहारमा दियो बत्ती,मौनबत्ती बाल्दा हावा नलाग्ने, सफा, खुला र घरका कुनामा बाल्नुपर्छ । दियो बत्तीको वरिपरि छिटो आगो समात्ने प्रज्वलनशील पदार्थ जस्तै मट्टितेल, पेट्रोलियम पदार्थ आदि राख्नु । झिलिमिली बत्ती प्रयोग गर्दा राम्रो गुणस्तरीय खालको बत्ती मात्र प्रयोग गर्ने अन्यथा सर्ट सर्किट भएर घरमा आगो लाग्न सक्छ । बत्ती जडान गर्दा सधै मेन स्वीच बन्द गरेर मात्र गर्ने, यसो नगरेको खण्डमा करेन्ट लाग्ने सम्भावना प्रबल हुन्छ । झिलिमिली बत्ती जडान गर्दा दक्ष व्यक्तिबाट जडान गराउने । अग्ला भवन,अपार्टमेन्ट, टावरमा बत्ती जडान गर्दा सिडी, सु्रक्षा बेल्ट र हेल्मेट आदि प्रयोग गरेर मात्र गर्ने । बच्चाहरु उज्यालोका सौखिन हुन्छन अझ झन झिलिमिली बत्ती हुदा त उनीहरु दिउसै पनि बत्ती बाल्ने हेर्ने, आफना उमेरका साथीहरुलाई मेरो घरमा यस्तो लाइट छ भने् देखाउने गर्दछन । यस कारण कहि कतै पनि नाङ्गो तार नछोडने र स्वीच बक्स बच्चाहरुले नभेट्ने ठाउमा राख्ने । निरन्तर रुपमा लामो समयसम्म बत्ती बाली राख्नाले सर्ट सर्किटको समस्या हुन सक्छ त्यसैले बत्ती आवश्यकता बमोजिम प्रयोग गर्ने । राम्रोसँग चेकजाँच गरेर मात्र झिलिमिली बत्ती प्रयोग गर्ने,सम्भव भए वाटरप्रुफ झिलिमिली बत्ती को प्रयोग गर्ने । तिहारमा दियोको महत्व दियोलाई स्कन्द पुराणमा सूर्यको हिस्साको प्रतिनिधित्व गर्ने मानिएको जसलाई जीवनका लागि प्रकाश र उर्जाका लौकिक दाता हो । अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक पनि मानिन्छ । सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि जनाउँछ । विद्युतीय दियोले प्राकृतिक दियोको रौनक ल्याउँदैन । माटोको दियोमा तेल वा वनस्पति घिउ राखेर जलाइने दियोले तिहारको रौनक ल्याउँछ । र यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हामी धन–ऐश्वर्य प्राप्त गर्ने इच्छा राख्छौं, त्यसका लागि घर उज्यालो र आकर्षक हुनुपर्छ जसबाट लक्ष्मी आकर्षित हुन्छिन भन्ने मान्यता छ । धार्मिक कथन अनुसार त्रेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आफ्नो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको औसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक पाइलामा पंक्तिवद्ध रुपमा दियो बालेका थिए । त्यही समयदेखि पंक्तिवद्ध रुपमा दियो बालेर दिपावली मनाउन थालिएको विश्वास छ ।
अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित हुने
एजेन्सी । अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्वबैंकले जानकारी दिएको छ । सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको सो बैंकले जनाएको छ । सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो । तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द गर्न बाध्य भएका सो प्रतिवेदनमा जनाइएको छ । सन् २०२१ मा अर्थव्यवस्था लगभग २० प्रतिशतले संकुचित भएको र कुल घरेलु उत्पादन (जीडीपी) मा प्रारम्भिक तथ्याङ्क देखाउएको बताइएको छ । विगत एक वर्षमा,मानवीय आवश्यकताहरु र आधारभूत सेवाहरुको लागि अन्तर्राष्ट्रिय सहयोग पुनः सुरु हुँदा केही मात्रा नकारात्मक प्रभाव कम गर्न मद्दत गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ मा वास्तविक जीडीपी थप संकुचित हुने र सन् २०२१ र २०२२ बीचमा ३०–३५ प्रतिशतको संकुचित संकुचन हुने अनुमान गरेको प्रतिवेदनले जनाइएको छ । प्रतिव्यक्ति आयमा कुनै सुधार छैन, विश्व बैंकले थप जानकारी दिएको छ ।
सबैभन्दा पवित्र गठबन्धन हाम्रै हो : डा. बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन् । सोमवार गठबन्धनले आयोजना गरेको वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले यस्तो बताएका हुन् । उनले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए । उनले गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने प्रतिवद्धतासमेत जनाए । अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा नेपालले आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए । उनले वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि दाबी गरे । उनले अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको दाबी गरे । उनले भने, ‘हाम्रो प्रतिवद्धता भनेको संस्थाहरुलाई बलियो बनाएर देशमा सुशासन प्रदान गर्ने हो । भ्रष्टाचार अन्त्य गर्ने हो । सबैभन्दा ठूलो कुरा अहिलेका युवाहरुमा बेरोजगारी छ, विदेश पलायनका जुन समस्या छन्, छिटो विकास र समृद्धिको जुन हाम्रो चाहना छ । त्यसको निम्ति पनि गठबन्धन दलको बीचमा विकासको नीति सम्बन्धी मोटामोटी समझदारी भएन भने काम गर्न सकिँदैन ।’ गठबन्धले मौलिक विकासको मोडेल विकास गर्नुपर्ने भट्टराईको धारणा छ । ‘यो गठबन्धनले नेपालको सन्दर्भमा हामीले आफ्नै मौलिक विकासको मोडेल विकास गर्नुपर्छ । न त उदारवादी लोकतन्त्रको ढंगले अघि जानसक्छौँ, न हिजोको जस्तो एउटा प्रणालीले अपनाए जस्तो सबै राज्यले मात्रै नियन्त्रण गर्ने अर्थतन्त्रको पक्षमा जानसक्छौँ । बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल हाम्रो देशको आवश्यक्ता हो ।’ आफूहरुको गठबन्धन पवित्र पवित्र भएको दाबी गर्दै भट्टराईले भने, ‘वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएका छौँ । कतिपयले भन्ने गर्छन्, यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो । विचाविहीन ढंगले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चर उग्रवादको नारा दिएर राष्ट्रिय समाजवादको थासीवादीको प्रवद्र्धन गर्ने शक्तिहरु त्यो गबठन्धन अपवित्र गठबन्धन हो ।’ अध्यक्ष भट्टराईले विगतका तीतामीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । उनले देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको जिकिर गरे । उनले लोकतन्त्र भनेको भद्रगोल हुँदै, अस्तव्यस्त हुँदै अघि बढ्ने प्रक्रिया रहेको पनि बताए ।