विकासन्युज

काठमाडौं महानगरको फुटपाथ व्यवसाय व्यवस्थापनमा क–कसले पहल गरे ? सफल होला त बालेनको मिसन ?

काठमाडौं । राजनीतिक दलहरुसँग स्वतन्त्र ढंगले चुनावी प्रतिस्पर्धा गरेर काठमाडौं महानगरको प्रमुखमा लोकप्रिय मतसहित विजय भएका हुन् बालेन्द्र शाह ‘बालेन’ । काठमाडौं महानगरमा प्राचिनताको संरक्षण गर्दै आधुनिक विकासको सपना बाँडेर विजय भएका बालेनको कार्यशैलीप्रति भने पछिल्लो समयमा विभिन्न कोणबाट आलोचना हुन शुरु भएको छ । विशेषगरी फुटपाथ तथा ठेलागाडामा व्यवसाय गर्ने सिमान्तकृत समुदायका मानिसहरुप्रति निर्ममतापूर्वक प्रस्तुत भएको भनेर महानगरप्रमुख बालेनलाई आलोचना गरिएको छ । तर, बालेनले आलोचनाका बाबजुद फुटपाथमा भइरहेको व्यवसायलाई र अनधिकृत भौतिक पूर्वाधार हटाउने अभियानलाई निरन्तरता दिएका छन् । काठमाडौं महानगरको प्रमुखमा मेयर बालेन गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमार्फत विजयी भएका हुन् तर काठमाडौंको सडकपेटी तथा फुटपाथमा मानिसहरुले व्यवसाय गर्न लागेको धेरै समय भइरसकेको छ । सो सँगै फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भनेर विषय उठ्न थालेको पनि झण्डै ३ दशक भएको छ । तर पनि काठमाडौंको फुटपाथ व्यवसायलाई दिगो व्यवस्थापन गर्ने कुरा चुनौतिकै रुपमा देखिन्छ । महानगर प्रमुख बालेनले फुटपाथ व्यवसायलाई हटाउन निरन्तर पहल गरेपछि सो विषयमा राजनैतिक र वौद्धिक जगतको मत पनि विभाजित भएको देख्न सकिन्छ । केहीले फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्ने बताइरहेका छन भने केहीले फुटपाथमा भइरहेको व्यवसायलाई महानगरले निःसर्त रुपमा हटाइरहेको तरिकाको समर्थन गरेका छन् । सडक व्यवसायलाई व्यवस्थित गर्दै संस्कृतिको विकास गर्ने पहल गरेका थिए स्थापितले काठमाडौंलाई तत्कालीन सरकारले ०५२ सालमा देशकै पहिलो महानगरको रुपमा घोषणा गरेको थियो । आँफू महानगरको मेयरमा ०५४ सालमा निर्वाचित हुँदा फुटपाथमा व्यवसाय गर्ने प्रचलन अहिलेको जस्तो नभएको केशव स्थापित बताउँछन् । जसले गर्दा त्यतिबेला यो विषय समस्याको रुपमा विकास भइनसकेको उनको भनाइ छ । तरपनि फुटपाथ तथा खुल्ला ठाउँमा व्यवसाय गर्नेहरुलाई लक्षित गरेर स्थापितले ‘नाइट मार्केट’को अवधारणा ल्याएका थिए । ‘म मेयर हुँदा बसन्तपुर क्षेत्रमा नाइट मार्केटको अवधारणा शुरु गरेको थिएँ । इच्छुकहरुले व्यवसाय पनि गर्न सकुन र यो एउटा संस्कृतिको रुपमा पनि विकास होस भन्ने मेरो धारणा थियो’, स्थापितले बताए । उनका अनुसार सो रात्रिकालिन बजार निकै राम्रो ढंगले सञ्चालन भएको थियो तर केही व्यक्तिहरुले सो बजारका कारण फोहोरमैला भएको सवाल उठाएका थिए । सो रात्रिकालिन बजार स्थापित मेयर हुनेबेलासम्म राम्रैसँग सञ्चालन भयो, उनको कार्यकाल वितेको केहीसमयपछि भने बन्द हुन पुग्यो । पूर्व मेयर स्थापितका अनुसार ०६० सालको सरकारमा गृहमन्त्री भएको बेलामा बामदेवले काठमाडौंमा भइरहेको फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने विषयमा चासो देखाए । गौतमले मन्त्रालय स्तरकै निर्णयबाट केशव स्थापितको नेतृत्वमा ७ सदस्यीय टास्कफोर्सको निर्माण गरेका थिए । सो टास्कफोर्सले ४० दिनजति समय लगाएर काठमाडौंको फुटपाथ व्यवसायलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा रिपोर्ट बनाएर तत्कालिन गृहमन्त्री गौतमलाई बुझाएको स्थापीत बताउँछन् । ‘हामीले ४० दिनजती समय लगाएर हजारौं व्यवसायी, उद्योग वाणिज्य संघ र विभिन्न संघसंस्थाहरुसँग छलफल गरेर रिपोर्ट तयार गर्यौं’, उनले भने, ‘रिपोर्ट गृहमन्त्री बामदेवलाई बुझायौं, तर लगत्तै उहाँको मन्त्रीपद गएकाले कार्यान्वयन हुन पाएन ।’ आँफूहरुले तयार गरेको प्रतिवेदनमा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नको लागि धेरै विषयहरु समेटिएको स्थापितको भनाइ छ । ‘हामीले प्रतिवेदनमा ७ दिनमा ७ ठाउँमा त्यस्तो व्यापार गर्न सकिने, व्यवसायीहरुलाई १० लाख सम्म ऋण उपलब्ध गराउने र आधुनिक गाडा उपलब्ध गराउने सम्मको विषय समेटेका थियौं’, स्थापितले भने । मानिसहरु काठमाडौंमा आफ्नो जीवनको सम्भावना देखेर आएर सडकमा व्यवसाय गरेको हुँदा उनीहरुलाई निरपेक्ष ढंगले हटाउने भन्दापनि व्यवस्थित गर्नुपर्छ र गर्नसकिन्छ भन्ने सोंचबाट आफूहरुले प्रतिवेदन बनाएको उनको भनाइ छ । स्थापित पछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयरमा मनोनित भएका थिए । उनको कार्यकालमा पशुपति क्षेत्र, माइतिघर, तिनकुने लगायतका क्षेत्रमा भएका अव्यवस्थित संरचनालाई हटाउने काम पनि भएको थियो । ०६२/०६३ सालको आन्दोलन पछि ०७४ सालको निर्वाचनसम्म काठमाडौं महानगर जनप्रतिनिधिविहिन बन्यो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा काठमाडौंका सडकहरुलाई फराकिलो बनाउने काम गरियो । तर, फुटपाथमा व्यवसायीको संख्या बढ्दै गयो, त्यसलाई नियमन गर्ने कुनै ठोस नीति तथा कार्यक्रम कुनै निकायले बनाएन् । फुटपाथ व्यवस्थित गर्न पूर्व मेयर विद्यासुन्दर शाक्यले उल्लेख्य पहल गरेनन् ०७४ भएको पहिलो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखको रुपमा विद्यासुन्दर शाक्य विजयी भएका थिए । शाक्यले ५ वर्ष काठमाडौंको प्रमुख पदमा रहेर काम गर्दा खासगरी फुटपाथमा भइरहेको अनधिकृत व्यवसायलाई हटाउन कुनै निर्णायक पहल गर्न सकेनन् । उनको कार्यकालमा फुटपाथमा अव्यवस्थित व्यवसाय थप भयो तर घट्न सकेन् । महानगरका एक अधिकारीका अनुसार शाक्यको कार्यकालमा कहिलेकाहीँ फुटपाथमा भइरहेको अव्यवस्थित व्यवसायको विषयमा प्रसंग उठेपनि सो विषयमा कुनै ठोस नीति तथा कार्यक्रम ल्याएन । ती अधिकारीले फुटपाथमा व्यवसाय गर्न दिने कुरा गैरकानूनी हुने तर त्यसलाई हाटबजार वा क्षेत्र तोकेर गर्न दिने सम्बन्धमा महानगरले कुनै ठोस कदम नचालेको बताए । कतिपय समयमा बजारलाई व्यवस्थित गर्नको लागि केन्द्रीय सरकार, महानगर र विभिन्न निकायहरुको पहलमा विभिन्न प्रकारका बजारहरु स्थापना गरिएको पनि देखिन्छ । अव्यवस्थित व्यवसायीहरुलाई त्यसरी व्यवस्थापन गरिसकेपछि पनि पुनः नयाँ व्यवसायी काठमाडौंका फुटपाथमा व्यापार गर्न आउने चक्र भने रोकिएन । पछिल्लो समयमा काठमाडौंका कतिपय फुटपाथहरुमा मानिसहरु हिँडडुल नै गर्न नमिल्ने गरी अव्यवस्थित पसलहरु पनि राख्ने गरेको पाइन्छ । पछिल्लो ५ वर्षको सरकारमा सबैभन्दा धेरै मन्त्री फेरिएको सहरी विकास मन्त्रालयले काठमाडौं महानगरको अव्यवस्थित व्यवसायलाई हटाउन खासै पहल गरेन । छोटो समय मन्त्री बनेकी रामकुमारी झाँक्रीले पनि फोहोर व्यवस्थापनमा थोरै चासो देखाएपनि अव्यवस्थित व्यवसायमा कुनै पहल गरेको देखिएन । बालेनको पहल सफल होला ? काठमाडौंलाई व्यवस्थित बनाउने मिसनमा नै महानगर प्रमुखमा निर्वाचित भएका बालेनले लामो समयदेखि समस्याको रुपमा रहेको अव्यवस्थित फुटपाथ व्यवसायलाई तिव्र गतिमा हटाउने कोशिष गरिरहेका छन् । गाडामा सामान राखेर व्यवसाय गर्नेहरुको सामग्री महानगर प्रहरीले पछिल्लो समयमा आक्रामक रुपमा नियन्त्रणमा लिने काम गरिरहेको छ । दशैंको पूर्वसन्ध्या गत असोज १३ गते महानगर प्रमुख शाहले विज्ञप्ति जारी गरेर चाडबाडको समयमा समेत फुटपाथ व्यवसाय गर्न नपाइने र सो विषयमा महानगर लचिलो नहुने बताएका थिए । आर्थिक वर्ष ०७९/८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्थाअनुसार महानगरले कार्यक्रम सञ्चालन गरेको बालेनले बताए । फुटपाथमा व्यवसाय गर्दै आएकी लमजुङ स्थायी घर भएकी एक महिलाको ठेला महानगर प्रहरीले उठाएपछि उनको विषयलाई लिएर धेरै व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत भावनात्क रुपमा प्रतिक्रिया जनाए भने कतिपयले उनलाई नगद राहत जुटाउने अभियानको नेतृत्व समेत गरे । त्यस्तै महानगरले फुटपाथ खाली गर्नको लागि सञ्चालन गरेको अभियानको विरुद्धमा सोही क्षेत्रका व्यवसायीहरुले संगठित रुपमा विभिन्न समयमा पदर्शन गर्दै आएका छन् । तर उनीहरुको पदर्शनमा अन्य आम मानिसहरुको घनिभूत समर्थन भएको भने देखिँदैन । पूर्वअर्थसचिव रामेश्वर खनालले बालेनले अगाडि सारेको फुटपाथ क्लियर गर्ने अभियान सफल हुनुपर्ने तर सफल हुनेमा आफूलाई शंका लागेको बताउँछन् । खनालले सबै सुविधा लिएको सम्पन्न वर्गले नै घरमा बसेर फुटपाथ व्यवसायीको पक्षमा वकालत गर्दै बालेनको अभियानलाई अवरोध गर्न खोजेको बताएका छन् । ‘फुटपाथमा निर्वाद रुपमा मान्छे हिँड्न पाउनुपर्छ, फुटपाथमा निर्वाद रुपमा मान्छे हिँड्न पायो भने सो सँग जोडिएका पसलहरुको व्यापार पनि बढ्छ’, उनले भने, ‘वृद्ध तथा बालबालिकाहरुलाई स्वस्थ रहनको लागि पनि हिँड्न पर्छ ।’ खनालले मानिसहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरेपछि उसको अन्तिम क्षमताले भ्याएसम्म त्यहाँ नियन्त्रण जमाउन चाहने प्रवृत्ति देखिएको बताए । जसले गर्दा उनीहरुको विकास हुने अन्य विकल्पहरु पनि बन्द भएको आँफूले महशुस गरेको बताए । फुटपाथ खाली गर्ने अभियानमा महानगरलाई खनालले धेरै बल प्रयोग नगर्न सुझाव दिएका छन् । ‘महानगरले धेरै बल प्रयोग गर्नु हुँदैन, बरु महानगरीय प्रहरीको संख्या बढाएर १/१ सय मिटरमा उनीहरुलाई राखेर फुटपाथमा व्यवसाय गर्न नदिने वातावरण बनाउनुपर्छ, जसले गर्दा स्वभाविक रुपमा मानिसले आफ्नो अन्य विकल्प खोज्छ’, उनले भने, ‘बल प्रयोग गर्नुभन्दा पनि निरन्तर निगरानी राखेर गर्नुपर्छ ।’ नगर प्रहरीको विस्तार गर्दा पनि फुटपाथमा व्यवसाय गर्नेहरुलाई रोजगारको सिर्जना हुने र अन्य आकर्षक विकल्पहरु पैदा हुने अवस्था महानगरले सिर्जना गर्नुपर्ने खनालको भनाइ छ । विकल्पहरु सिर्जना गर्दा फुटपाथ खाली गर्नको लागि बल प्रयोग गर्नुनपर्ने उनले बताए ।

हल्का वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । दिउँस प्रदेश १ र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौंको न्यूनतम ११ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।

सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । साेमबार लक्ष्मीपुजाकाे दिन दुई कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुई कम्पनीबीच एकिकृत काराेबार शुभारम्भ गरेका हुन् । दुई कम्पनीकाे मर्जर पश्चात् सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट कारोबार हुनेछ । कम्पनी बराबरी हैसियतमा गाभिएका हुन् । मर्जर पश्चात कम्पनीकाे अध्यक्षमा जनरलका कुनाल कयाल र प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहनेछन् । गत असोज ११ गते सम्पन्न विशेष साधारणसभाबाट दुवै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए। नियामक बीमा समितिले मर्जरका लागि असोज १४ गते अन्तिम स्वीकृति दिएको थियो। मर्जरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीकाे जगेडा कोषमा ३६ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित छ ।

राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा ३ अर्ब बढी, नाफा १९ प्रतिशत बढ्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १९ प्रतिशत बढेको छ । बैंकले तीन महिनाको अवधिमा १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १८ करोड ३८ लाख रुपैयाँ, खुद फि कमिसन आम्दानी १४ करोड ७३ लाख रुपैयाँ, कुल संचालन आम्दानी ३ अर्ब ४५ करोड ६ लाख रुपैयाँ, संचालन मुनाफा १ अर्ब ७७ करोड ८३ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ३ अर्ब १७ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १४ अर्ब ९४ करोड रुपैयाँ, जगेडा कोष १६ अर्ब ६२ करोड रुपैयाँ, निक्षेप २ अर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ र कर्जा २ खर्ब १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

काठमाडौंको विभिन्न स्थानबाट जुवा खेल्ने ६२ जना पक्राउ, ९ विरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले जुवा खेल्नेबाट रु छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग रु दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो । प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

काठमाडौं । यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमले राससलाई जानकारी दिनुभयो । आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएका थिए । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी गराए । यस वर्ष कार्तिक कृष्ण औँसी नै तिथि भेटको दिन कात्तिक ८ गते मङ्गलबार ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । रासस

स्ट्याण्डर्ड चार्टर्डको निक्षेप १ खर्ब पुग्यो, नाफा र ब्याज आम्दानी उल्लेख्य बढ्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६८.३९ प्रतिशत बढेर ८१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२.८३ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ७.१० प्रतिशत घटेर २० करोड ९४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४१.१८ प्रतिशत बढेर १ अर्ब ७८ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६९.२० प्रतिशत बढेर १ अर्ब १६ करोड रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ९.७४ प्रतिशत बढेर ९ अर्ब ५५ करोड रुपैयाँ, निक्षेप ६.७१ प्रतिशत बढेर १ खर्ब रुपैयाँ र कर्जा ०.०३ प्रतिशत बढेर ७९ अर्ब २१ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा बढेर ३४ रुपैयाँ ४२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०१.३२ रुपैयाँ रहेको छ ।

रुपन्देहीका पाँच स्टिल उद्योग अनिश्चितकालका लागि बन्द, २ हजार मजदुर बेरोजगार हुने

भैरहवा । रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ । पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् । सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगीरूरु लामो समयदेखि असन्तुष्ट रहेका थिए । उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि रुपन्देहीका पाँच स्टिल उद्योग बन्द भएका हुन् । भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्णरूपमा बन्द भएका छन् । एसआर स्टिल गत साउनदेखि बन्द भएको हो भने एभरेष्ट रोलिङ इन्डस्ट्रिज यही असोज पहिलो सातादेखि बन्द भएको हो । पञ्कन्याले पनि आफ्नो उत्पादन एक महिना अगाडिदेखि बन्द गरेको छ । एसआर गु्रपले सञ्चालन गर्दै आएको एसआर स्टिल इन्डस्ट्रिज साउनदेखि बन्द भएको छ । दैनिक दुई सय टन टिएमटी स्टिल उत्पादन गर्दै आएको यो उद्योग २०६८ सालमा स्थापना भएको हो । एसआर स्टिलका प्रबन्ध निर्देशक इन्जिनियर सुरज उप्रेतीले रहरले नभई बाध्यताले उद्योग बन्द गर्नुपरेको बताए । एकै प्रकृतिका कच्चा वस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार विन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आउँदा साउन महिनादेखि नै बन्द गरेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए । ‘सरकारको नीतिपछि स्पञ्ज तथा फलामका कबाड (पत्रु) गलाएर ब्लेड बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ भने प्रत्यक्षरूपमा हामी ब्लेड आयात गरी उद्योग चलाउनेहरु नोक्सानीमा प¥यौँ, जसकारण उद्योग बन्द गर्नुको विकल्प रहेन’, उप्रेतीले भने, ‘त्यस्तै आर्थिक मन्दी, ऋणमा कडाइ, पूर्वाधार विकासका काममा कमी, माग नभएको लगायतले पनि उद्योगहरू चल्न सकेनन् । सरकारले बजेटमा स्पञ्ज आइरन आयात गर्दा शून्य प्रतिशत तथा ब्लेडमा पाँच प्रतिशत भन्सार शुल्क लिने नीति ल्याएको थियो भने एमएस ब्लेड आयातमा भन्सार विन्दुमै प्रतिकेजी तीन रुपैयाँ ५० पैसा अन्तःशुल्क कायम गरेको थियो । स्पञ्ज आइरनमा भने अन्तःशुल्क पूर्ण मिनाहा भएको उद्योगीहरू बताउँछन् । सरकारको यही विभेदकारी नीतिका कारण उद्योग बन्द हुने अवस्था आएको बताउँछन् रुपन्देहीको एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयन्का । ‘एकै प्रकृतिका सामानमा सरकारले फरक फरक दर कायम ग¥यो, स्पञ्ज आइरनमा आधारित उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिएन’, गोयन्काले भने, ‘त्यसैले घाटामा उद्योग सञ्चालन गर्नुको साटो बन्द गर्ने निर्णय लिनु प¥यो ।’ गोन्यकाले स्पञ्ज ल्याएर ब्लेड बनाउने उद्योगले भारतबाट आयात हुने ब्लेडभन्दा सस्तोमा दिन्छौँ भनेर दाबी गरेको तर दाबीअनुसारको सामान नदिएको बताए । एभरेष्ट रोलिङ उद्योगले दैनिक एक सय ५० टन टिएमटी स्टिल उत्पादन गर्दै आएको थियो भने सेक्सन आइटम पनि उत्पादन गरिरहेको थियो । नेपालको पहिलो स्टिल उद्योग हिमाल हो भने दोस्रो स्टिल उद्योग एभरेष्ट रोलिङ हो । उद्योगीको व्यापक विरोधपछि केही समयअघि सरकारले स्पञ्ज आइरनमा एक प्रतिशत भन्सार महसुल कायम गरेको थियो भने एमएस ब्लेडको अन्तःशुल्क एक रुपैयाँ घटाई दुई रुपैयाँ ५० पैसा कायम गरेको थियो । सरकारको नीतिका कारण लागत बढ्न गएको, स्पञ्ज आइरनसँग सम्बन्धित उद्योगसँग बिक्री मूल्यमा प्रतिस्पर्धा गर्न नसकिएको र बजारमा स्टिलको माग पनि कम हुँदै गएपछि एक महिनादेखि स्टिल उत्पादन नै बन्द गर्नुपरेको पञ्चकन्या समूहअन्तर्गतका उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले बताए । ‘हाम्रो माग हो, भन्सार शुल्क बराबर गर्नु प¥यो र तयारी वस्तुमा लिइने अन्तःशुल्क भन्सार विन्दुमै कच्चा सामग्री ल्याउँदा लिने नीति खारेज गर्नु प¥यो’, महाप्रबन्धक साहुले भने । कोभिडका कारण सतहमा आएका उद्योगहरू बिस्तारै गति लिने क्रममा रहेकै अवस्थामा स्टिल उद्योगमा फरक नीतिका कारण उद्योगीहरूलाई व्यवसाय गर्न वञ्चित गरेको उद्योगीहरूको आरोप छ । दैनिक प्रयोजनमा प्रयोग हुने ह्यान्ड पम्प, ढकलगायत फलामे सामान र मेसिनरी पार्ट्सहरू रुपन्देहीमै बनाउँदै आएको रत्न आइरन इन्डष्ट्रिज पनि बन्द भएको छ । विसं २०४० मा भैरहवा पडसरीमा सञ्चालित काष्ट आइरनमा आधारित यो उद्योगबाट वार्षिक पाँच सय टन बराबरका सामान उत्पादन हुँदै आएको थियो । स्टिल उद्योगहरू धमाधम बन्द हुनुमा सरकारको नीति नै गलत रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपाने बताउँछन् । ‘जबसम्म उद्योग तथा औद्योगिक क्षेत्र मैत्री नीति आउँदैन अन्य उद्योगहरू पनि बन्द हुन्छन्’, उनले भने, ‘कोरोनाले धरासायी भएका उद्योगहरूलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै च्याप्दै जाँदा समस्या बढिरहेको छ ।’ भैरहवा क्षेत्रमा पञ्चकन्या, एभरेष्ट, एसआर, गोयन्का, रत्न, फेरो, काठमाडाँै स्टिललगायतका उद्योगले अन्तःशुल्क तथा भन्सार शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएका थिए । यस क्षेत्रमा श्री स्टिल सबैभन्दा ठूलो र बढी क्षमताको उद्योग रहेको छ । त्यसैगरी स्पञ्ज आइरनबाट सञ्चालित अम्बे स्टिल र लक्ष्मी स्टिलसमेत छन् । उद्योगहरू धमाधम बन्द हुन थालेपछि यहाँ काम गरिरहेका कामदारहरू चिन्तित भएका छन् । यी पाँचवटै उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब दुई हजार कामदार प्रभावित हुने एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक गोयन्का बताउँछन् । उनले उद्योग बन्द भएपछि केही कामदारलाई बिदा दिएर न्यूनतम कर्मचारीलाई मात्र उद्योगमा राखिएको बताए । यस्तै पञ्चकन्या समूहका महाप्रबन्धक साहुले पनि तिहारपछि उद्योगले ठूलो परिमाणमा कामदार कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । रासस