विकासन्युज

नेपाल संवतलाई वैज्ञानिक ढंगबाट व्यवहारमा ल्याउन छलफल भइरहेको छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका छन् । शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरुलाई कदरस्वरुप हरेक वर्ष तीन जना व्यक्तित्वहरुलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताए । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्याउने व्यक्तिहरुलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम सरकारले छलफल गरीरहेको बताए । उनले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताए । मन्त्री श्रेष्ठले नेपाल संवतलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए । ‘शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित गर्छ, नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुनुहुन्छ, यो नेपालीहरुको गौरवको विषय, संसारलाई उदाहरण दिने विषय दैनिक रुपमा व्यवहारमा ल्याउन सक्नुपर्छ, यो विषयमा कुराकानी भएको थियो, यसलाई कसरी वैज्ञानिक ढंगबाट व्यवहारमा ल्याउनसक्छौँ त्यसको बारेमा सोच्नुपर्छ, नेपाल संवतलाई कसरी व्यवहारिक बनाउने भन्नेबारेमा छलफल भइरहेको छ’ उनले भने, ‘यसलाई कसरी सरल बनाउने भन्ने बारेमा छलफल भएको छ, शंखधर साख्वाको योगदानलाई चीर बनाउने र राष्ट्रिय पुरस्कारको घोषणा गर्ने प्रक्रिया पनि अघि बढीसकेको छ, शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्याउने व्यक्तिहरुलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम अघि बढेको छ ।’

डकुमेण्टमा नेपाल सम्वत प्रयोग नगरेसम्म राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ छैन् : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छिन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् । उनले सरकारी कार्यालयहरुमा चलाउने डकुमेण्टहरुमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन् । अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको उनको भनाइ छ । उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन् । ‘नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान छ, संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत हो नेपाल सम्वत, जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर शुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल सम्वत विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ, राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ’ उनले भनिन्, ‘हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल सम्वत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ, नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ, जनतालाई ऋण मोचन गरे झैँ आफू भन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छिन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताइन् । अझैपनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने उनले बताइन् । उननी विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताउँछिन् । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारहरुको सुनिश्चित हुनेगरी कानून बनाउने बताइन् । ‘हामी आज तपाईहरुको सामु देशको समृद्धिकै लागि हो, हामीसँग देशको विकास बाहेक अरु एजेण्डा छैनन्, हामीले भनेको जस्तो देश भएको छ्रैन होला, तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सम्पूर्ण कामहरुलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडी बढाउँछौ भनेर आफ्नो एजेण्डा तय गरेका छौँ,’ उनले भनिन्, ‘सांसदको सबभन्दा ठूलो काम कानून बनाउने काम हो, धेरै कानूनहरु निर्माण गर्नुपर्ने बाँकी छन्, मैले कसैको पनि हक नछिनिने गरेर सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफुले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु ।’

आगामी निर्वाचनमा एमाले एक्लैको बहुमत आउँछः उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । सत्तारूढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने उनले बताए । सत्तारूढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले बताएका हुन् । अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाई छ । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ, गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ ।’ ‘मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु, मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरी र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ आजको मितिमा,’ उनले भने । निर्वाचन सहकार्य गरेका कतिपय राजनीतिक दलहरुले पनि सरकार निर्माणमा एमालेलाई साथ दिने स्थिति रहेको उनको भनाइ छ । ‘सहयात्री दलहरुको समर्थन गर्दाखेरी हामी सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्छौं, यसमा कुनैपनि प्रकारको दुविधा राख्नुपर्ने आवश्यक्ता म देख्दिन, गठबन्धन राष्ट्रव्यापी रुपमै धेरै कमजोर देखिएको छ, मुलुकको समस्याको समाधान दिने माध्याम गठबन्धन होइन, गठबन्धन समस्या सृजना गर्ने माध्याम हो भन्ने सिंगो राष्ट्रको ठम्याइ छ,’ उनले भने । उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकीर गरे । उनले छिट्टै पार्टी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने घोषणा समेत गरे । ‘रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले) विजयी हुन्छ, सानदार ढंगले विजयी हुन्छ, विगतमा निर्वाचनका नतिजाहरुलाई ब्रेक गर्नेगरी विजयी हुन्छ भन्ने त्यहाँका जनताको ठम्याइ छ,’ उनले भने ।

भाइटिकामा पनि खुल्छ ‘द क्लिफ’

काठमाडौं । कुस्मा स्थित एड्भेन्चर हब ‘द क्लिफ’ तिहारको भाइटिकामा पनि खुल्ला हुने भएको छ । एड्भेन्चर प्रेमीहरूको सुविधालाई मध्यनजर गर्दै तिहार एवं भाइटिकामा समेत ‘द क्लिफ’ का सबै साहसिक खेलहरू खुल्ला नै रहने कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । बन्जी र स्विङको लागि प्रख्यात बनेको यस ठाउँमा एड्भेन्चर प्रेमीहरूको आकर्षण बढेको छ । भाइटिकाको दिनको लागि बन्जीको प्री बुकिङ समेत भैरहेको कार्कीले बताए । ‘यहाँ विशेष गरि पर्यटकहरू बन्जीकै लागि आउने गरेका छन् तर यहाँ आइसकेपछि स्विङ, स्काइ क्याफे, स्काइ रोप साइकलिङ, जाइन्ट स्विङ, स्काइ ग्लाइडिङ लगायतका साहसिक खेलहरूको पनि अनुभव लिने गरेका छन्,’ उनले भने, ‘चाडवाड र विदाको समयलाई सदुपयोग गर्न आउनेहरूले तिहारमा खुल्छ वा खुल्दैन भनेर धेरै फोन आइरहेको छ, सोही कारण पनि हामीले भाइटिकाको दिन पनि सबै खेलहरू सञ्चालनमा राखेका छौँ ।’

तारे होटलहरुमा ५० अर्ब बढी लगानी, प्रतिफल अनिश्चत

काठमाडौं । काठमाडौं नक्सालमा शङ्कर ग्रुपले आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको छ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ । यद्यपि अहिले वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याइसकेका छन् । हिल्टन होटलमा कूल एक सय ७४ वटा कोठा रहनेछन् । यदि होटलमा भएका सबै कोठा तीन सय ६५ दिन नै सञ्चालन हुने हो भने कर्जाको ब्याज तिर्नका लागि मात्रै प्रत्येक कोठाले न्यूनतम दैनिक नौ हजार पाँच सय रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्छ । तर पछिल्लो समय घट्दो अवस्थामा रहेको पर्यटकको सङ्ख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ । जुन समस्या हिल्टनले मात्रै होइन अन्य निर्माणधीन तारे होटलहरुले भोग्नुपर्ने देखिएको छ । कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण तारे होटलहरुमा भइरहेको अर्बौ लगानी जोखिममा देखिएको जानकारहरुको बुझाइ छ । निर्माणाधीन होटलहरुमा कोरोना महामारी, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कूचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण होटलमा भइरहेको लगानी जोखिममा पर्ने देखिन्छ । होटल एशोसिएशन नेपाल (हान)का अनुसार अहिले मुलुकभरका होटलको औसत ‘अकुपेन्सी’ २५ प्रतिशत छ । अझ काठमाडौँ बाहिरका होटलमा करिब १५ प्रतिशतको अकुपेन्सी छ । आजका दिनमा होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि पूर्ण दरमा बिक्री गर्ने हो भने पनि अकुपेन्सी ९० प्रतिशतभन्दा माथि हुनुपर्छ । नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहेका भएका तथा हानका पूर्वअध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि होटलमा ओइरिएको लगानीमाथिको प्रतिफल आजका दिनमा सुनिश्चित नभएको स्वीकार गर्छन् । उनका अनुसार हाल तारे होटलहरुले औसतमा प्रतिकोठा न्यूनतम ७० देखि ९० डलरसम्म बिक्री गरिरहेका छन् । यही अवस्था रह्यो भने होटलहरुले ब्याज मात्रै तिर्न पनि हम्मेहम्मे पर्ने उनको भनाइ छ । ‘यदि पूर्ण दरमा कोठा बिक्री गर्न नसक्ने हो भने कर्जा चुक्ताका लागि मात्रै पनि होटलहरुले बराबरको आम्दानी गर्न सक्दैनन् । होटलहरुले गर्ने आम्दानीको ७० प्रतिशत हिस्सा कोठा बिक्रीबाट आउँछ भने बाँकी ३० प्रतिशत आम्दानी खाना र अन्य कार्यक्रममार्फत् हुन्छ’, उनले भने। होटलहरुले लगानीमाथिका प्रतिफल सुनिश्चितका लागि औसतमा कोठाहरु तीन सयदेखि ३५० डलरमा बिक्री गर्न सक्नुपर्छ । तर, सो बराबरको खर्च गर्ने पर्यटकको सङ्ख्या नबढ्दासम्म सम्भव देखिंदैन । ‘सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदा होटलहरुको सङ्ख्याका आधारमा हेर्दा १० लाख पर्यटक आवश्यक थियो, सन् २०२० मा होटलहरुको सङ्ख्या र पूर्वाधारका आधारमा २० लाख पर्यटक चाहिन्थ्यो भने अब त्यो सङ्ख्या बढेर ३० लाख पुगेको छ’, उनले भने, ‘तर कोभिडअघिकै अवस्थामा पुग्न पनि हामीलाई अझै दुई वर्ष लाग्ने देखिन्छ ।’ उनका अनुसार सन् २०११ र २०२० मा पर्यटक ल्याउने लक्ष्य लिनुका पछाडि केही वैज्ञानिक कारणहरु थिए । यसमा बढ्दो होटलहरुको सङ्ख्या र अकुपेन्सीका आधारमा त्यति पर्यटक आवश्यक छ भनिएको थियो । लक्ष्यअनुसार पर्यटक नआउँदाको प्रत्यक्ष असर होटलहरुमा बढिरहेको लगानी र त्यसको प्रतिफलमा देखिने अनिश्चित भएको शाक्यको भनाइ छ । उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने हाल निर्माणाधीन तारे होटलहरुमा भएको लगानी मात्र ५० अर्बभन्दा बढी छ । एकातिर धमाधम तारे होटलहरुमा लगानी बढिरहने र अर्कोतर्फ अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या नबढ्दा लगानीमाथिको प्रतिफलको सुनिश्चित हुन सकेको छैन । करिब ४० वर्षदेखि पर्यटक व्यवसायमा समर्पित वसन्त मिश्र पनि होटलहरुमा भइरहेको लगानीको प्रतिफल सुनिश्चित हुने आधार आजका दिनमा नदेखिएको बताउँछन् । यद्यपि पर्यटन क्षेत्रमा ओइरिएको लगानीलाई भने उनी सकारात्मक रुपमा लिन्छन् । ‘कोरोनाअघिदेखि नै होटलहरुमा लगानी बढिरहेको हो, यो पर्यटन क्षेत्रका लागि निकै राम्रो पक्ष हो, तर लगानीमाथिको प्रतिफलका लागि हामीले आजकै अवस्थामा पूरा गर्न भने नसक्ने अवस्था छ’, मिश्रले भने । सरकारको नीति, पूर्वाधारमा तीव्र विकास, नयाँ गन्तव्यको खोजी,विश्व बजारमा गरिने प्रचारप्रसारमा सुधार नगर्दासम्म अहिले होटलहरुमा भइरहेको लगानीले निर्धारित समयमा प्रतिफल दिन गाहे हुने उनको भनाइ छ । हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार हाल नेपालमा सञ्चालित होटलहरुमा करिब ५० हजार कोठा छन् । त्यसबाहेक निर्माण भइरहेका होटलका कारण दुई हजार कोठा थप हुनेछन् । एकातिर होटलहरुमा लगानी बढिरहेको छ भने अर्कोतर्फ आम्दानी सङ्कुचन हुँदै गएको छ । कोरोना महामारीका कारण घटेको पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा जत्तिकै पुर्याउन सन् २०२५ सम्म कुर्नपर्ने अवस्था छ । उद्योग विभागका अनुसार हाल पाँचतारे मान्यता प्राप्त होटलको सङ्ख्या १७ वटा छ । यसमा कोरोना महामारीपछि दरबारमार्गको होटल डेला अन्नपूर्ण र लाजिम्पाटको होटल सांग्रिला बन्द छन् । त्यसबाहेक सञ्चालित होटलहरुको कोरोना महामारीपछि आम्दानीमा सुधारका सङ्केतहरु देखिन थालेका छन् । हाल निर्माणाधीन केही पाँचतारे होटलहरुमा हिल्टन, सेराटन, बुढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकुलिटी रोयल, इस्टर्न होटल, सूर्य नेपाल, होटल सेफ्रोन, गोपिकृष्ण कम्प्लेक्स, आयुष्मानलगायतका होटल छन् । कोरोना महामारी र ब्याजदरले अतिरिक्त लगानीले बढ्यो काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले निर्माण गरिरहेको पाँच तारे होटल ‘हिल्टन’को लागत कोरोनाअघिको तुलनामा एक अर्ब ८० करोड रुपैयाँले बढेको छ । कम्पनीका अनुसार शुरुमा प्रतिकोठा लगानी दुई करोड ८० लाख रुपैयाँ हुने अनुमान गरिएकामा एक करोडले बढेर तीन करोड ८० लाख रुपैयाँ पुगेको छ । अब होटलको कुल लगानी आठ अर्ब रुपैयाँ पुग्नेछ । हिल्टन मात्रैको होइन, ठमेल चोकमा निर्माण भइरहेको होटल बाराहीको लागत पनि करिब ३५ प्रतिशतले बढेको सञ्चालक विप्लव पौडेलको भनाइ छ । चार वर्षअघि ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि विभिन्न कारणले होटल निर्माणमा ढिलाइ हुँदा लागत बढेको छ । त्यसैगरी काठमाडौँको बूढानीलकण्ठमा निर्माण भइरहेको बूढानीलकण्ठ हेरिटेज होटलको लागत पनि करिब ४६ प्रतिशतले बढेको छ । ‘कोरोना महामारीमात्रै कारण होइन, यसबीच बढेको ब्याजदरका कारण पनि लागत बढेको हो’, अध्यक्ष राजेन्द्र केसीले भने, ‘यसबीच हामीहरुले एक रोपनी जग्गा थप खरिद, चार तारेलाई पाँच तारे बनाउँदा, बैंक्वेट हल तथा हेल्थक्लब थप गर्दा समेत लगानी बढेको हो ।’ उपत्यकामा निर्माण भइरहेको लैनचौरस्थित सेराटन होटलको पनि लगानी र समय दुबै बढेको छ । ब्याज तिर्नै नसक्ने अवस्थामा होटल होटल सङ्घ नेपाल (हान)ले केही दिनअघि एक विज्ञप्ति जारी गरी आम्दानीमा भइरहेको सङ्कुचन तथा ब्याजदर वृद्धिका कारण तत्काल बैंक तथा वित्तीय संस्थालाई कर्जाको साँवा र ब्याज तिर्नै नसक्ने अवस्था भएको स्पष्ट पारिसकेको छ । हानले यस्तो गम्भीर अवस्थामा कम्तीमा दुई वर्षका लागि कर्जाको पुर्नतालिकीकरण वा पुर्नकर्जाको सुविधा उपलब्ध गराउनुपर्ने माग सरकार समक्ष गरेको छ । पछिल्लो समय विदेशी पर्यटकको आगमनको सङ्ख्यामा उल्लेख्य गिरावट तथा बढ्दो ब्याजदरका कारण लागत बढिरहेको तर आम्दानी सो अनुसार बढ्न नसकेको भन्दै हानले सरकारसँग कर्जाको पुर्नतालिकीकरण र पुर्नकर्जाको व्यवस्थाको माग गरेको हो । कसरी बढाउन सकिन्छ पर्यटक ? वसन्त मिश्र भन्छन्, ‘होटलहरुमा लगानी त बढिरहेको छ, तर लगानीकर्ता व्यक्ति, भेञ्चर क्यापिटलिस्ट, बैंक तथा वित्तीय संस्था पनि नै प्रतिफललाई लिएर चिन्तामा छन् किनभने हाम्रो आवश्यकता र लक्ष्यअनुसार पर्यटकहरु आएका छैनन् र यसको असर दीर्घकालसम्म पर्ने निश्चित छ ।’ ‘सरकारले १५औं आवधिक योजनामार्फत् ३५ लाख पर्यटक ल्याउने योजना त अघि सार्यो तर त्यसका लागि आवश्यक पूर्वाधार (विमानस्थल, पर्यटकीय गन्तव्य) लगायतमा लगानी बढाउन सकेन, कनेक्टिभिटीमा सुधार गर्न सकेन भने नयाँ प्रडक्टहरु ल्याउन सकेन, खाली होटलहरु मात्रै खोलेर पर्यटक आउन वातावरण बन्दैन’, मिश्रले भने ।पर्यटक आगमनमा कमी आएसँगै यसको सिधा असर होटलहरुको आम्दानी र प्रतिफलमा पर्ने उनको भनाइ छ । ‘पर्यटक बढाउनका लागि हामीले अनुसन्धानमा आधारित बजारीकरण गर्न सकेका छैनौं, यद्यपि पर्वतारोहणको हकमा भने नेपालको बजार निकै बलियो छ । त्यो सङ्ख्या हामीले अपेक्षा गरेभन्दा निकै सानो हो, ठूलो सङ्ख्यामा गुणस्तरीय पर्यटक ल्याउन सकेका छैनौं’ उनले भने। मिश्र पर्यटक बढाउनका लागि सबैभन्दा पहिले पूर्वाधार र पर्यटकीय उत्पादनमै ध्यान दिनुपर्ने बताउँछन् । बजारीकरणमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । दुई छिमेकी मुलुक भारत र चीनमा मात्रै प्रभावकारी बजारीकरण गर्न सकियो भने पनि राम्रो सङ्ख्यामा पर्यटक ल्याउन सकिने उनको भनाइ छ । मिश्रका अनुसार होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि नेपालले युरोपसँगको हवाई सेवा शुरु गर्न सक्नुपर्छ । अमेरिकालगायतका धेरै पर्यटकहरु आउने सम्भावना भएका मुलुकसँग सिधा हवाई सेवा सञ्चालन गर्न सक्नुपर्छ । सरकारले विमान सञ्चालन खाडीलगायतका विभिन्न मुलुकमा श्रमिक लैजाने र ल्याउनेमा मात्रै केन्द्रित हुने हो भने पर्यटक बढाउन सकिन्न । होटलमा प्रवाह हुने कर्जामा ३०० प्रतिशतले वृद्धि पछिल्लो छ वर्षमा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो । बैंक तथा वित्तीय संस्थाको लगानी यस अवधिमा मात्रै बढेर एक खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो । त्यसैगरी सन् २०२१ मा होटलहरुमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । यो सन् २०२० को तुलनामा २८ प्रतिशतले बढी हो । सन् २०२० मा बैंक तथा वित्तीय संस्थाले होटलहरुमा कुल एक खर्ब १३ अर्ब ८९ करोड लगानी गरेका थिए । जुन सन् २०१९ को तुलनामा २४.७ प्रतिशतले बढी थियो । सन् २०१९ मा ९१ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । सन् २०१८ को तुलनामा यो ३५.१ प्रतिशतले बढी थियो । सन् २०१८ मा ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी थियो भने सन् २०१७ मा कर्जा लगाानी ५० अर्ब ९२ करोड र सन् २०१६ मा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३९ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो । बढ्दै तारे होटल सन् १९५० मा फ्रान्सका मउसाइस हेजजोग र लोइस लाचेनले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहणपछि विश्वभर नेपालको चर्चा शुरु भयो । विभिन्न देशबाट पर्यटकहरु आउने क्रम बढेसँगै तारे होटलको आवश्यकता महसुस भएको मानिन्छ । फलस्वरुप सन् १९६५ मा राजपरिवारका सदस्यहरुको अग्रसरतामा पहिलोपटक नेपालमा पाँचतारे होटल सोल्टी सञ्चालनमा आयो । पञ्चायतकालमा कुनै पनि व्यवसाय गर्दा राजपरिवारको संलग्नता हुनु अस्वभाविक थिएन । आजका दिनमा पनि पूर्वराजा ज्ञानेन्द्र शाह सोल्टी होटलमा सबैभन्दा ठूला सेयरधनी हुन् । पञ्चायतकालमा राजपरिवारकै संलग्नतामा दरबारमार्गमा होटल डेल अन्नपूर्ण सञ्चालनमा आयो भने त्यसको सात वर्षपछि नयाँबानेश्वरमा द होटल एभरेष्ट इन्टरनेशनल सञ्चालनमा आयो । त्यसपछि २०६३ सालसम्म पाँच वटा पाँचतारे होटलहरु थपिए । मुलुकमा गणतन्त्र स्थापना भएपछि पाँचतारे होटलको सङ्ख्या मात्रै शतप्रतिशतले बढेको छ । अर्थात् हाल पाँचतारे होटलको सङ्ख्या १७ पुगेको छ र हाल निर्माणाधीन पाँचतारे होटलको सङ्ख्या डेढ दर्जनको हाराहारीमा छ । पाँच वर्षभित्रमा नेपालमा पाँच तारे होटलको सङ्ख्या कम्तीमा ३४ वटा हुनेछ । वर्षौंदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरुको प्रतिफल सामान्य भइरहेको अवस्थामा अर्बौ रकम लगानी भइरहेका नयाँ तारे होटलको लगानीको प्रतिफलको सुनिश्चित कसरी हुन्छ भन्नेमा भने अन्योल कायमै छ । रासस ।

जरिवाना नतिर्ने र कालाेसूचिमा परेका ५५० उम्मेदवार बन्दसूचिबाट आउट (नाम सूचिसहित)

काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरुले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका व्यक्तिको नाम सार्वजनिक गरेको छ । यही कात्तिक ८ गतेको आयोग र उक्त प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट ती नाम बन्दसूचीबाट हटाइएको हो । उक्त प्रणालीतर्फ छ हजार चारसय ५७ जना उम्मेदवार रहेकामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९, उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी पाँच सय ४८ र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक गरी कूल पाँच सय ५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएकोे छ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यका लागि दलहरूले पेस गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेस नगरेको पाइएको र २०७९ कात्तिक पाँच गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने तीन सय ६९ जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो । यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ र प्रदेशसभा सदस्यतर्फ २९ गरी ५२, दोहोरो उम्मेदवारी परेका ६६, महिला पुरूषको विवरण फरक परेका ३७, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ र आवश्यक कागज प्रमाण पेस नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइको छ । [pdf id=360357]

सरकारी स्वामित्वमा रहेका ३ बैंकमध्ये कुन ठूलो ?

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ६ प्रतिशत मात्रै वृद्धि भएको छ । बैंकहरुले गत आर्थिक वर्षको यस अवधिको तुलनामा ५.९३ प्रतिशत नाफा वृद्धि गरेर १८ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेका छन् । जसमा एक दर्जन बैंकहरुको नाफा घटेको छ भने १४ वटा बैंकको बढेको छ । जसमध्ये सरकारको स्वामित्व रहेका विभिन्न ३ बैंकहरुले पनि ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा सरकारको स्वामित्व छ । यी बैंकहरमा सरकारको पनि स्वामित्व रहेकाले वित्तीय विवरणलाई चासोको रुपमा हेरिएको हुन्छ । त्यसैले चालु आर्थिक वर्षको तीन महिनामा यी ३ बैंकहरुको वित्तीय विवरण कस्तो रहेको छ भनि यहाँ उल्लेख गर्न खोजिएको छ । चूक्ता पुँजी चुक्ता पूँजीको आधारमा कृषि विकास बैंक अगाडि छ । कृषि विकास बैंकको १८ अर्ब ६२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पूँजी १४ अर्ब ९४ करोड रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोष जगेडा कोषका आधारमा नेपाल बैंक अग्रस्थानमा छ । नेपाल बैंकको १८ अर्ब ७८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १६ अर्ब ६२ करोड रुपैयाँ र कृषि विकास बैंकको १२ अर्ब २१ करोड रुपैयाँ रहेको छ । निक्षेप संकलन असोेज मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकले धेरै निक्षेप रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको १ खर्ब ६१ अर्ब रुपैयाँ, नेपाल बैंकको १ खर्ब ९६ अर्ब रुपैयाँ र कृषि विकास बैंकको १ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ । कर्जा प्रवाह कर्जा प्रवाहमा पनि राष्ट्रिय वाणिज्य बैंक अगाडि नै छ । राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब १० अर्ब रुपैयाँ, कृषि विकास बैंकले १ खर्ब ७५ करोड रुपैयाँ र नेपाल बैंकले १ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । खुद नाफा यस अवधिमा सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ६० करोड ४० लाख रुपैयाँ र कृषि विकास बैंकले २२ करोड ९ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद ब्याज आम्दानी राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब १८ करोड रुपैयाँ, नेपाल बैंकले १ अर्ब ९० करोड रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेका छन् । खुद ब्याज आम्दानीमा पनि राष्ट्रिय वाणिज्य बैंक अगाडि छ । सञ्चालन मुनाफा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड रुपैयाँ, नेपाल बैंकले ७९ करोड ४० लाख रुपैयाँ र कृषि विकास बैंकले २४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेका छन् । वितरणमयोग्य मुनाफा राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब १७ करोड रुपैयाँ, कृषि विकास बैंकको ३ अर्ब २७ करोड रुपैयाँ वितरणमयोग्य मुनाफा रहेको छ । यसअवधिमा नेपाल बैंकको वितरणयोग्य नाफा भने घाटामा छ । नेट फि तथा कमिशन आम्दानी कृषि विकास बैंकको २७ करोड २१ लाख रुपैयाँ, नेपाल बैंकको २२ करोड १ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १४ करोड ७३ लाख रुपैयाँ नेट फि तथा कमिशन आम्दानी छ । कुल सञ्चालन आय राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ४५ करोड रुपैयाँ, कृषि विकास बैंकको २ अर्ब २० करोड रुपैयाँ र नेपाल बैंकको २ अर्ब १५ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी छ ।