दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसार गर्छन् कञ्चनपुरका भरतबहादुर
कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उनी दिउँसो भने व्यापार सम्हाल्छन् । रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहेका छन् । आगामी मङ्सिर ४ मा हुन लागेको प्रदेशसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीकातर्फबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ ९१० बाट उम्मेदवार हुन् । रावलको जीवन जति सामान्य छ त्यति नै सामान्य उनको चुनावी प्रचारप्रसार शैली पनि छ । उनी एक्लै मोटरसाइकलमा चुनाव चिह्न अङ्कित झण्डा फहराउँदै बस्ती–बस्तीमा पुग्छन् । प्रत्येक घरमा चुनावी मुद्दा सुनाउँदै मत माग्छन् । ‘चुनाव आयो भन्दैमा व्यापार नगर्ने हो भने घर चलाउनै गाह्रो हुन्छ’, रावलले भने, ‘यही व्यापार चलेकै कारण परिवारको खर्च धान्न पुगेको छ ।’ ‘मसँग चुनावमा खर्च गर्ने धेरै पुँजी छैन र पार्टीको नीति पनि त्यस्तो होइन’, रावलले भने, ‘मोटरसाइकलको इन्धनको पैसा आफै जोहो गरेको छु भने पर्चा छपाइमा पार्टीले खर्च गरेको छ ।’ वर्षौदेखि सामान्य व्यापारमा संलग्न उनी राजनीतिमार्फत् गरिबी न्यूनीकरण गर्न सकिनेमा विश्वस्त छन् । ‘म आफै पनि निकै सङ्घर्ष गरेकाले गरिबी बुझेको छु, जीवनमा आइपर्ने पीडा पनि भोगेको छु’, उनले भने, ‘मैले पाएको दुःख अरुले नपाउन् भन्ने इच्छा भएकाले राजनीतिमा होमिएको हुँ ।’ रावलका प्रतिस्पर्धीमा नेपकपा ९माओवादी केन्द्र०का ओमबिक्रम भाट, नेकपा ९एमाले०का बचनबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारी, लोसपा (नेपाल)का जगन्नाथ केसी, नागरिक उन्मुक्ति पार्टीका गीता चौधरी र स्वतन्त्र उम्मेदवार टेकबहादुर हमाल हुन् ।
प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीले मनाएनन् भाइटिका
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका मनाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । यस्तै, राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।
तनहुँमा पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालन
तनहुँ । जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको हो । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप साइक्लिङ कात्तिक महिनाभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । उनले भने, ‘मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका हौँ । जुन परेवाडाँडाबाट चिन्तुटारसम्म पुग्ने व्यवस्था गरिएको छ ।’ उनका अनुसार ९० फिट हाइटमा एक सय मिटरको स्काइ रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ । जिपलाइनका लागि रु एक हजार पाँच सय र स्काइ रोप साइक्लिङ (दुईतर्फी)का लागि रु एक हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काइ रोप साइक्लिङका लागि मात्र एक करोड २५ लाख बजेट छुट्याएको सापकोटाले बताए । रिसोर्ट दमौलीबाट पाँच किलोमिटर उत्तर परेवाडाँडामा अवस्थित छ । दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल चार रोपनीमा संरचना बनेका छन् । यस्तै आगामी दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायतका संरचनासमेत थप्ने योजना रहेको सापकोटाले बताए । यसबाहेक रिसोर्टमा जाइन्ट स्विङसमेत सञ्चालनमा रहेको छ । उक्त स्विङ दुई वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको छ । उनका अनुसार ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् । नयाँ साहसिक पूर्वाधार थप भएपछि यहाँ पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ । दमौली बजारबाट बागभञ्ज्याङ, बैरेनी, दुम्सी हुँदै परेवाडाँडा पुग्न सकिन्छ । लमजुङको मध्यनेपाल, भोर्लेटार, भोटेओडारलगायतका ठाउँ जाने मार्ग पनि यही हो । यसले गर्दा पनि यो ठाउँमा पर्यटकको चहलपहल हुने विश्वास गरिएको सापकोटाले बताए । यही ठाउँमा परेवाको मूर्ति निर्माण गरिएको छ । उक्त ठाउँमा बिदा र शनिबारको दिन आन्तरिक पर्यटक टिकटक बनाउन, फोटो खिच्न आउने गरेका छन् । रासस
कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल
फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी छन् । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गरेका हुन् । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताए । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो । कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेसा परिवर्तन गर्ने सोचमा रहेका होटल सञ्चालक पेमा शेर्पा पर्यटक आगमनसँगै होटल व्यवसाय नछाड्ने सोचमा पुगेका छन् । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य होटल ८० लाखदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटल अहिले भरिभराउ छन् । विस्तारै मौसम खुल्दै गएसँगै कञ्चनजङ्घा हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जैविक विविधताको अवलोकन तथा चाँदीजस्तै टल्किने कञ्चनजङ्घा हिमालको नजिकैबाट दृश्यावलोकनले छुट्टै आनन्द मिल्ने गरेको पाँचथरबाट घुम्न आउनुभएका सन्दीप नेम्वाङले बताए । कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदर्माग प्रयोग हुँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग (साउथ रुट)मा पर्दछ । गत सातामात्र साउथ रुट हुँदै फ्रान्सका सात, बेलायतका दुई र भारतका एक पर्यटक कञ्चनजङ्घा हिमाल क्षेत्र प्रवेश गरेको व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए । उनले भनिन्, ‘आज पनि १६ जनाको समुह आउँदै छ । चेक पोष्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ ।’ साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताए । प्रदेश नं १ को राजधानी विराटनगर, धरान, दमक तथा सङ्घीय राजधनी काठमाडौँदेखि आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएका छन् । काठमाडौँदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट)मा पर्दछ । नर्थ रुट हुँदै गत सातामात्र ६० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा प्रवेश गरेको व्यवस्थापन परिषद्को तापेथोक कार्यालयका पर्यटन सहायक कल्पना ताम्मादेनले बताए । कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ । यातायातका साधन प्रयोग गर्ने पर्यटकको विवरण घुन्सा चेकपोष्टले राख्दै आएको छ । घुन्सा चेकपोष्टका पर्यटन साहयक टासी तेन्जिङका अनुसार गत साता विभिन्न देशका एक सय २० बाह्य पर्यटक घुन्सा प्रवेश गरेका छन् । स्पेन, फ्रान्स, अष्टे«लिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, भारतलगायत बाह्य पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर प्रवेश गरेको घुन्सा चेकपोष्टले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा तीन सय ५९ पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ विदेशी, ६३ सार्क देशका र ७४ स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए । गएको आव २०७७/७८ मा भने कोरोनाका कारण ६३ जनामात्र पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रमा आउने पर्यटक ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने गरेका छन् । गत असोज १५ गतेदेखि कात्तिक र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बू)ले बताए । रासस
मतदातालाई खेतबारीमै भेट्दै उम्मेदवार
कुश्मा । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम्मेदवारले मतदातालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । उम्मेदवारको घरदैलोका क्रममा मतदाता घरमा भन्दा ज्यादा खेतबारीमा भेटिन्छन् । कोदो काट्ने र धान थन्क्याउने चटारोले किसानलाई भ्याइनभ्याइ भएको छ । त्यसैले उम्मेदवारचाहिँ खेतमै पुगेर मत मागिरहेका हुन्छन् । ‘नेता आउँछन् भनेर घरमा उनीहरूलाई कुरेर बस्न सकिन्न’, धाइरिङकी नवीना आचार्यले भने, ‘हाम्रो काममा नेताले सघाउने होइनन् क्यारे, हामीलाई खेतीकिसानीमा भ्याइनभ्याइ छ ।’ धान, कोदोलगायतका फसल स्याहार्ने बेला छ । ‘अहिले गाउँमा पुग्दा धेरै मतदाता खेतबारीमा व्यस्त भएको पायौँ’, नेपाली कांगे्रसका युवानेता याम परियारले भने, ‘अहिले केही गाउँमा घरदैलो सकिएको छ, कात्तिक १७ गतेपछि फेरि गाउँमा आमसभा, भेटघाट र प्रचार–प्रसारको कार्यक्रमलाई तीव्र पार्छाैँ ।’ कालीगण्डकी छेउमा रहेको मालढुङ्गास्थित सुकुम्बासी बस्तीमा माझीलगायत अन्य जातजातिको बसोबास छ । दलका उम्मेदवार प्रत्येक निर्वाचनमा आवश्वासनको भारी बोकेर एक सय ५० घरधुरी रहेको यस बस्तीमा भोट माग्न पुग्छन् । यहाँका स्थानीयमा दलका उम्मेदवारप्रति खासै धेरै आशा र अपेक्षाचाहिँ केही छैन । कालीगण्डकी किनारमा तीन दशकदेखि बस्दै आएका उनीहरूको सामान्य माग भनेको नदीबाट बिना अवरोध बालुवा झिकेर बेच्न पाइयोस् भन्ने छ । उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ । ‘हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ’, स्थानीय प्रमिला जिसीले भने, ‘म्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरुले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन् । हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ ।’ महिना दिनअघि दशैं मनाउन विदेशबाट नेपाल फर्किएका कार्कीनेटाका दिपेश परियार भने चुनावलाई लिएर उत्साहित देखिन्छन् । उनी देशको बिग्रँदो अवस्था र राजनीतिक दलको मनोमानी देखेर आक्रोशित छन् । ‘पाँच वर्षअघिको चुनावमा भोट खसालेको केही महिनामै परिवार पाल्न विदेशिएको थिएँ, अहिले पनि चुनावकै समयमा घर फर्किएको छु’, उनले भने, ‘गाउँमा विकास चाहिएको छ, आश गरौँ अब विकास होला, विकासप्रेमी नेता छान्नुपर्ने छ ।’ कुल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेको पर्वतमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । प्रदेशसभामा क र ख गरी दुई निर्वाचन क्षेत्र छन् । यी सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा (एमाले)बीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनका साझा उम्मेदावारका रूपमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी तथा एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्यका लागि फेरि एकपटक भिड्न लागेका छन् । गिरीले तीन पटकसम्म लगातार निर्वाचन जितेका छन् । उनले जोशीलाई पराजित गरेका थिए । प्रदेशसभा–१ (क)मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुदीप कुँवर र एमालेबाट भक्त कुँवर उम्मेदवार बनेका छन् । त्यस्तै प्रदेशसभा–१ (ख) मा गठबन्धनबाट कांग्रेसका ऋषिकेश तिवारी र एमालेका मित्रलाल बस्याल उम्मेदवार हुन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता पालनाका विषयमा निगरानी गरिरहेको निर्वाचन अधिकारी लक्षु शर्माले बताए । ‘हामीले दलहरूको गतिविधिलाई नजिकबाट हेरिरहेका छौँ’, उनले भने, ‘अनावश्यक तडकभडक, आमसभा, बाजागाजा, ¥यालीलगायतका कार्यक्रम गर्न रोकेका छौँ ।” कात्तिक १७ गतेपछि दलहरूले आमसभालगायत कार्यक्रम गर्न पाउने छन् । रासस
स्याङ्जाको गह्रौँसुर मन्दिरमा दशैंमा ८ लाख भेटी सङ्कलन
वालिङ । स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित गह्रौँसुर कालिका मन्दिरमा बडादशैंको अवधिभरमा आठ लाख बढी भेटी सङ्कलन भएको छ । स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा बडादशैंको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा आठ लाख १६ हजार चार सय ६० सङ्कलन भएको गह्रौँसुर धार्मिक एवं पयर्टकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिए । कोषाध्यक्ष गुरुङका अनुसार मन्दिरमा चढाइएको भेटी, पाठाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दान पेटिका, होटल, पसल, सहयोग रसिद शीर्षकमा उक्त भेटी सङ्कलन भएको हो । बडादशैंको अवधिभर पूजा व्यवस्थापनका लागि दुई लाख ७० हजार ८५ खर्च भएको उहाँले बताए । खर्च कटाएर बचत भएको पाँच लाख ४६ हजार तीन सय ७५ रकमले मन्दिरमा पुजारीको पारिश्रमिक, लिफ्टिङ खानेपानी मर्मत, रङ्गरोगनका लागि खर्च गरिने छ । तत्कालीन बाइसे/चौबीसे राज्यअन्तर्गतको गह्रौँसुर राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर पाँच सय ५० वर्ष पुरानो मानिन्छ । विशेषगरी बडादशैं र चैतेदशैंमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस, परेवाको बलि दिने गरिन्छ । एकादशी, औँसीबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखरालगायतका स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् ।
हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौं उपत्यकाका आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । शुक्रबार पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज काठमाडौंको अधिकतम तापक्रम २५ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ ।
भाइटीका लगाउन बिहान ११:३७ बजे उत्तम साइत
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उनले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाए । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । रासस