काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका छन् । शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरुलाई कदरस्वरुप हरेक वर्ष तीन जना व्यक्तित्वहरुलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताए ।
बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्याउने व्यक्तिहरुलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम सरकारले छलफल गरीरहेको बताए । उनले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताए । मन्त्री श्रेष्ठले नेपाल संवतलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए ।
‘शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित गर्छ, नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुनुहुन्छ, यो नेपालीहरुको गौरवको विषय, संसारलाई उदाहरण दिने विषय दैनिक रुपमा व्यवहारमा ल्याउन सक्नुपर्छ, यो विषयमा कुराकानी भएको थियो, यसलाई कसरी वैज्ञानिक ढंगबाट व्यवहारमा ल्याउनसक्छौँ त्यसको बारेमा सोच्नुपर्छ, नेपाल संवतलाई कसरी व्यवहारिक बनाउने भन्नेबारेमा छलफल भइरहेको छ’ उनले भने, ‘यसलाई कसरी सरल बनाउने भन्ने बारेमा छलफल भएको छ, शंखधर साख्वाको योगदानलाई चीर बनाउने र राष्ट्रिय पुरस्कारको घोषणा गर्ने प्रक्रिया पनि अघि बढीसकेको छ, शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्याउने व्यक्तिहरुलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम अघि बढेको छ ।’