भाइटीका लगाउन बिहान ११:३७ बजे उत्तम साइत
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उनले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाए । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । रासस
मँहगो चाडपर्व !
आज तिहारको सबैभन्दा विशेष दिन भाइटीका हो । बिहानैदेखि आज बजारमा चहलपहल शुरु भएको छ । आफ्नो दाजुभाइलाई टीका लगाउनका निम्ति सामान जुटाउनमा व्यस्त छन्, दिदीबहिनी । फलफुल, मिठाइ, किराना सबैतिर चर्को भीड छ । यसपटक पोहोरभन्दा सामानको भाउमा निकै मूल्यवृद्धि भएको पाइन्छ । उपभोक्ताहरु सामान छुन नसक्ने भएछ भन्दै गुनासो गरिरहेको पाइयो । हरेक सामानको भाउ बढेको छ । आजलाई विशेष चाहिने भाइमसला त झनै आकाशिएको छ । गत वर्ष दुई सयमा पाउने सामान अहिले पाँच सयमा किन्नुपरेको उपभोक्ताहरुको भनाइ छ । व्यापारीहरुले जथाभावी रेट राखेर सामान बेच्दा पनि सम्बन्धित निकाय भने मौन छ । पसलपिच्छे सामानको मूल्यमा फरक पाइन्छ । चाडपर्व भनेर व्यापारीहरु ग्राहक ठग्नमा उत्रिएका छन् । बजार अनुगमन नहुँदा उपभोक्ताहरु थप मर्कामा परेका छन् । साइत हेरेर अनुगमन गर्ने सरकारको प्रवृत्तिका कारण चाडबाड मनाउन नसक्ने अवस्था आएको उपभोक्ताहरुको गुनासो छ । मँहगीले सीमा नाघ्दा गरिबले चाडवाड मनाउन नसक्ने स्थिति सिर्जना भएको छ । सामानमा अत्याधिक मूल्यवृद्धिले जनतालाई बिहानबेलुकाको छाक टार्न पनि महामुश्किल बनाएको छ । बजार अनुगमन हुन नसक्दा चाडपर्व नै संकटमा परेको छ । माछामासु, दुध, दहीमा पनि मनलाग्दी छ । मासु पसलेले आफूखुसी रेट राखेर मासु बेचेको छ । भ्याइनभ्याइ छ भन्दै मासु पसलेले राम्ररी सफा नगरेको मासु बचिरहेका छन् । राँगा भनेर भैसी, खसी भनेर बोकाको मासु बेच्ने चलन त हामी कहाँ पहिलैदेखि छ । कहिले काटेको मासु फ्रिजमा राखेर बेचिरहेका छन्, पसलेहरुले । यता, मासु पसलेले लिइरहेको रेट सरकारले तोकेको पनि होइन्, उनीहरुको महासंघले निर्धारण गरेको हो । अहिले बजारमा एक केजी खसीको मासु १३ देखि १५ सय छ । मरेको कुखुराको मासुसमेत पनि बिक्रीवितरण भइरहेको छ । अनि खोइ त अनुगमन ? मासु खानयोग्य छ कि छैन् सरकारले नियमन गर्दैन् । सरकारले बनाएका मापदण्डहरु मासु पसलेले पूरा गरेका छैनन् । यता, तौलमा समेत पसलेले ठगिरहेको छ । वेटिङ मेशिन र ढक तराजु मिलाएर ठग्न यिनलाई कसले भ्याउने ? दुध, दही पसलेले पनि आफ्नो खुशअनुसार पैसा लिइरहेको छ । आज सबैभन्दा बढी भीड मिठाइ पसलमा देखिन्छ । भाइटीकामा विशेषतः दिदीबहिनीले मिठाइ र भाइमसला दिने गर्दछन् । मिठाइ पसलमा पनि उस्तै लुटको धन्दा मच्चिएको छ । सबैभन्दा बढी कमाउने मौका यही हो भनेर मिठाइ पसलेहरु ठग्नमा तुलिएका छन् । गत वर्षभन्दा मिठाइको भाउ पनि धेरै बढेको पाइन्छ । एकातिर भाउ बढाएका छन् अर्कोतिर सफा सुग्घर पनि न्यून छ । मानिसको स्वास्थ्य हानी गर्ने केमिकलहरु मिसाएर गुणस्तरहीन मिठाइ बनाएका छन् । जसले गम्भीर रोग निम्त्याइरहेको छ । पैसा तिरेर किन्नु छ तापनि स्वास्थ्यलाई हानिकारक । मिठाइ पसलहरु पनि एकदमै फोहोर छ । पसले पनि त्यस्तै फोहोरी छन् । मिठाइ पनि छोपेर राखेको पाइँदैन । झिँगा, भुसुना भन्किरहेका छन् । फलफुल, हरिया तरकारीहरुको भाउ पनि आकाशिएको छ । प्रति किलो दुई सय रुपैयाँ घटीको कुनै तरकारी नै छैन । अनि जनताले के खाने ? सरकारले बजार अनुगमन नगरेर जनतालाई मर्न बाध्य बनाइदियो । व्यापारीहरुले रातारात घर बनाउने सपना देखेका छन् । यतिखेर व्यापारीहरुले लुट मच्चाएका छन्, जसमा जनता पिल्सिएका छन् । आजका दिन दाजुभाइलाई नदिई नहुने सामग्री भनेको भाइमसला हो । तर, भाइमसला यति मँहगिएको छ, कुरा गरिसाध्य छैन् । काजु, किसमिस, बदाम, पिस्ता, ओखरलगायत अन्य सामग्री छोइनसक्नु भएको छ । भाइमसला मँहगिँदा चेलीबेटीहरुलाई तनाव भएको छ । दुई तीन हजार रुपैयाँ खर्च गर्दा पनि एउटा ढंगको मसला आँउदैन । प्याकेटको मसलाभित्र सबै कुहिएका सामानहरु मात्र प्याक गरिएका छन् । तिहार भनेको फुलको पर्व हो । तिहारमा सबैतिर फुल सजाइएको हुन्छ । यता, दाजुभाइलाई टीका लगाइदिएर माला लगाइदिने गरिन्छ । यसपटकको तिहारमा फुलको भाउ पनि अत्याधिक मँहगो भएको छ । नेपाली फुल समयमा नफुल्दा र बाहिरबाट आयात गर्नुपरेको बहानाबाजी गर्दै व्यापारीहरुले फुलमा ठगेका छन् । पाँच थुँगा फुलको एक सय रुपैयाँ तिर्नुपरेको छ । यता, माला त हेरीहेरी दुईदेखि चार हजार रुपैयाँसम्मको छ । किराना सामान पनि पनि अत्यन्तै चर्को छ । चामल, दाल, तेल, पिठोलगायत अन्य खाद्यान्न सामानको भाउ आकाशिएको छ । सरकारले हरेक सामानको रेट तोक्ने अधिकार निजी क्षेत्रलाई दिँदा जनताहरु मारमा परेका छन् । व्यापारीले भाउ बढाएको बढाएकै छन्, राज्य निरीह भएर हेरेर बसेको छ । व्यापारीहरुले राज्यको ऐनकानून नमानेर जथाभावी लुट मच्चाउदा पनि सरकार मौन छ । सामान बेचेका छन्, बिल दिँदैनन् । सामान किनेपछि बिल पाउनु उपभोक्ताको अधिकार हो । तर, आफ्नै अधिकारबाट उपभोक्ताहरु वञ्चित भएका छन् । व्यापारीले जथाभावी मूल्य राखेर सामान बेच्दा पनि किन्नुपर्ने बाध्यता छ । सरकारले उजुरी गर्ने ठाँउको समेत व्यवस्था मिलाइदिएको छैन् । यसो हेर्दा सरकार नै व्यापारीको पक्षमा छ जस्तो देखिन्छ । यतिखेर उपभोक्तावादी भनिएका ज्योत बानियाँ, प्रेम महर्जनहरु पनि सुस्ताएका छन् । जताबाट पैसा आँउछ उतै टाँसिने यस्ता नामका उपभोक्तावादीहरुबाट अपेक्षा राख्नु पनि के नै छ र ? पैसा आएसम्म यिनीहरु पनि चुप लाग्छन् । जब पैसा आउन छोड्छ त्यसपछि तातिन्छन् । जसले पैसा दिँदैन् यसको विरोधमा खोइरो खन्छन् । राजनीतिक पार्टीका झोलेहरुले छिनका लागि कराएर बजारमा केही सुधार भएको छ ? पोहोर अलिकति भएपनि कराएझैं गरेका थिए, योपालि त त्यति पनि गरेनन् । उपभोक्तावादी भन्दै व्यापारीसंग पैसा उठाएर यिनीहरुले करोडौंको सम्पत्ति जोडेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धिकरण विभागले यिनीहरुको सम्पत्ति छानबिन गरेको छैन । यिनीहरुकै संरक्षणमा जनता ठग्ने व्यापारीलाई कारबाही हुन सकेको छैन् । आज तिहारको अन्तिम र विशेष दिन भाइटीकामा चोकचोकमा भीड देखिन्छ । गाडी पनि न्यून मात्र चलेको छ । यही मौैका छोपेर ट्याक्सी र पठाओको ठगीधन्दा शुरु भएको छ । बसस्टपमा झोला बोकेर गाडी कुरिरहेकी दिदीबहिनीको चाप एकदमै धेरै छ । यता, ट्याक्सी पनि बिहानैदेखि प्याक छ । टीका लगाउने जाने दिदीबहिनीहरुलाई सवारी साधनले धेरै सास्ती भएको छ । हातहातमा झोला भएकाले सार्वजनिक यातायातमा लैजान सक्ने अवस्था छैन् । आज धेरै जनालाई ट्याक्सीको खाँचो पर्छ । त्यसमाथि पनि अधिकांश महिला छन् । बसले घरघरसम्म नपुर्याइदिने भएकाले ट्याक्सी नै अन्तिम विकल्प हो । उपत्यकामा ट्याक्सीको खोजी बढेको छ । अघिपछि त मिटरमा नहिँड्ने, यात्रुले भनेको ठाँउमा नजाने ट्याक्सीको रजाँइ आज अझ बढी छ । एक किलोमिटरमै हजार रुपैयाँसम्म माग्छन् । भक्तपुरको सुर्यविनायक चोकमा बिहानै ट्याक्सीको खोजी गर्ने महिलाहरुको हुल देखिन्थ्यो । अन्य समय चोकमा ट्याक्सी पार्क गरेर राखेको देखिन्थ्यो । आज एउटा पनि ट्याक्सी थिएन् किन कि बिहानैदेखि चालकलाई भ्याइनभ्याइ छ । कुनै काँडाघारी, कुनै अनामनगर त कुनै बनेपा । कोही सातदोबाटो त कोही कपन जान निस्किएका थिए । बल्लतल्ल आधा घण्टापछि दुई वटा ट्याक्सी आयो । भएजति सबै त्यही दुई वटा ट्याक्सीतिर होमिए । चालकले मिटरमा यात्रु लैजानुको साटो पैसाको बार्गेनिङ गर्न शुरु गरे । सुर्यविनायकबाट कपन भएको तीन हजार मागे, चालकले । यात्रुले दुई हजार दिन्छु भनिन् । अन्तिममा २५ सयमा कुरा मिल्यो । सुर्यविनायकबाट कपन बढीमा १० किलोमिटर होला । सरकारले निर्धारण गरेको भाडाअनुसार ट्याक्सी चल्ने हो भने प्रति किमि ५० र सेवाशुल्क ५० रुपैयाँ छ । यता, पठाओमार्फत ट्याक्सी बुक गर्यो भने शुरुमा १७७ रुपैयाँ तिर्नुपर्छ । पठाओले यसरी ठगिरहेको छ । सुर्यविनायकबाट अनामनगर लगेको पनि चालकले २५ सय मागे । यात्रुले १५ सय भनेपनि अन्तिममा दुई हजारमा कुरा मिलाएर जानुपर्यो । अरु हेरेको हेप्यै भए । ट्याक्सी नपाएपछि निजी प्लेटको गाडीमा जानुपर्ने बाध्यता भयो । निजी प्लेटको गाडीले बनेपा जानका लागि तीन हजार मागे । आज त सबैतिरबाट सर्वसाधारण ठगिए । अरु सामान पनि त्यस्तै मँहगो, ट्याक्सी भाडा पनि उस्तै । अब भाइटीका लगाउन नसक्ने अवस्था बन्यो । दाजुभाइले टीका लगाएर दिएको पैसा ट्याक्सी भाडा तिर्न पनि पुग्दैन् । ट्राफिक प्रहरीले कडाइ गरेको पनि पाँइदैन् । मिटरमा नहिँड्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेका छैनन् । चालकले मोलमोलाई गर्दा ट्राफिक प्रहरी हेरेर बस्छन् । कारबाही नगर्दा चालकको दादागिरी बढ्दै गयो । जनताले तिरेको करबाट तलब खाने ट्राफिक प्रहरीकै कारण चालकमा जनता ठग्ने मनोबल बढेको हो । ट्याक्सी व्यवसायीको अगाडि ट्राफिक प्रहरी महाशाखा निरहि बनेको हो ?
चार वर्षमा पनि बनेन नारायणगढको ३ किलोमिटर सडक
भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए । उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ, एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।’ जेभीले नेपाल सरकारबाट विसं २०७९ चैत २५ गतेसम्मको म्याद पाएको छ । धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ । उनका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । करिब ३.१ किलोमिटर रहेको सडक निर्माणका लागि सम्झौता विसं २०७५ वैशाख २६ गते भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग यसको सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । दश मिटर चौडाइको यस बाटो निमार्णका लागि सडकको दुवैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माणकार्य प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एक योजना हो । जसका लागि ६८ करोड २३ लाख १५ हजार आठ सय २४ मा सम्झौता भएको थियो । सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार पाँच सय ७४ रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए । कार्यालयले अब २१ करोड भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।
पर्साको चार वटै क्षेत्र जसपा-एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी
काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले पर्साको ४ वटै निवर्वाचन क्षेत्रमा जसपा र एमाले गठबन्धन विजयी हुने दाबी गरेका छन् । पर्साको पोखरीयामा बुधबार आयोजित जसपा–एमाले गठबन्धनको संयुक्त क्षेत्रीय बैठकलाई सम्बोधन गदै पूर्वमन्त्री एवम् जसपा नेता समेत रहेका यादवले सत्ताधारी दलहरुको गठबन्धनलाई अपबित्र गठबन्धनको संज्ञा दिदै उक्त गठबन्धन भित्र चरम असन्तु्ष्टि र विद्रोह रहेकाले पर्साका ४ वटै क्षेत्रमा जसपा–एमाले गठबन्धनकै उम्मेदवारहरु जित्ने दाबी गरेका हुन् । जसपा-एमाले गठबन्धन देशको अपरिहार्यता र आवश्यकता भएको भन्दै यादवले काँग्रेस र माओवादी केन्द्रको जसपालाई सिध्याउने चक्रव्युह तोडन जसपा–एमाले सफल भएको बताए । यादवले जसपाको अस्तित्वलाई सिध्याउन खोज्ने काँग्रेस र माओवादीको षडयन्त्र र चक्रब्युह विफल पार्नका लागि नै जसपाले एमालेसँग चुनावी गठबन्धन गर्नु परेको स्पगष्ट पारे । उनले भने, ‘सत्तागठबन्धनमा रहदा काँग्रेस र माओवादीले थोरै सिट दिएर चुनावमा जसपाले थ्रेसहोल्ड पनि नकटाओस्, राष्ट्रिय दल बन्नबाट पनि बन्चित गराएर जसपालाई सिध्याउने षडयन्त्र गरेका थिए, तर जसपा अध्यक्ष उपेन्द्र यादवले समय छदै ती दुइ दलको षडयन्त्र थाहा पाएर एमालेसंग चुनावी गठबन्धन गर्नु भयो ।’ सत्तागठबन्धनले जसपालाई ११ सिट भन्दा बढि दिनै नमानेको स्मरण गराउदै यादवले त्यहि कारण दुरगामी सोच र सुझबुझ भएका अध्यक्ष उपेन्द्र यादवले एमालेसंग गठबन्धन गरेको बताए । उनले विगतका तिता मिठा अनुभवलाई बिर्सिएर जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई इमान्दारिताका साथ दुवै दलका नेता कार्यकर्तालाई अपिल पनि गरे । यादवले भने ,‘ यदि थोरै पनि चुक भयो भने पार्टीलाई त्यो सह्य हुदैन । जसपा र एमालेका क्षेत्रीय अध्यक्षद्वयको संयुक्त अध्यक्षतामा सम्पन्न बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, पर्सा(३ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार राज कुमार गुप्ता, प्रदेशसभा सदस्य उम्मेदवारद्वय डाक्टर मधु गुप्ता र अब्दुल रहिम अन्सारी, जसपाका राजनीतिक समिति सदस्य हरिनारायण रौनीयार लगायतको सहभागीता थियो ।
किबी खेतीबाट मनग्य आम्दानी
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ । भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आएको छ । घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रुपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गरेका छन्। पहिलो वर्ष ३७५ बोट किबीको बिरुवा ल्याएर व्यवसायिक खेती शुरु गरेका उनका फार्ममा यस वर्ष करिब २५ लाख मूल्य बराबरको किबी उत्पादन भएका छन् । दुईजना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई बस्न र खानसँगै मासिक आठ÷आठ हजारका दरले रोजगारीसमेत गरेका उनले लगाएको किबीले रोपेको तीन वर्षदेखि नै उत्पादन दिन थालेको थियो । उहाँले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, काठमाडौं लगायतका ठाउँहरुमा बिक्री हुने गरेको छ । उनले भने, ‘यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि नै ग्राहकको माग धान्न गाह्रो भएको छ ।’ किबी खेती सम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरुबाट तालिमसमेत लिनुभएका उनले टेलिभिजनमा हेरेर किबीको व्यवसायिक खेती शुरु गरेको जानकारी दिए । ‘किबी खेतीलाई अन्य बाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन रहेछ, बगानभित्र आलु, सागसब्जी लगायतका नगदेबालीको खेतीसमेत हुन्छ’, उनले भने, ‘कम मेहनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप विस्तार गर्ने तयारीमा छु ।’ केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले यस वर्ष करिब चार हजार ५०० केजी किबीको फल तथा ६० हजारभन्दा बढी बिरुवा उत्पादन गरेका छन् । पहिलो वर्ष ४३३ केजी किबीको फल उत्पादन गर्नुभएका राई जिल्लामै पहिलो किबीको व्यवसायिक खेती शुरु गर्ने कृषक हुन् । रोपेको करिब चार÷पाँच वर्षमा फल दिने किबीले राईको बगानमा तीन वर्षमै उत्पादन दिन थालेको थियो । राईले उत्पादन गर्नुभएको किबी अहिले प्रति केजी २०० देखि २५० सम्ममा घरैबाट बिक्री भइरहेको छ । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको बिरुवासमेत राई आफैले उत्पादन गरेर बिक्री गर्दै आएका छन् । किबीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक १५ लाख बढी आम्दानी हुने गरेको राईले बताए। राईले उत्पादन गरेको बिरुवा प्रतिगोटा ३०० मा घरबाटै बिक्री हुने गरेको जनाइएको छ । जिल्लामा किबीको व्यवसायिक खेती शुरु गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले माग अनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको राईको भनाइ छ । वि.सं. २०६८ माघमा मयुङ कृषि फार्म दर्ता गरेर दश रोपनी जग्गामा १२५ बोट बिरुवाबाट व्यवसायिक खेती शुरु गर्नुभएको राईले त्यसलाई बढाएर ४० रोपनी क्षेत्रफलमा ४५० बोट बनाएका छन् । जागिर छाडेर व्यवसायिक किबी खेती शुरु गरेका उनले यस वर्ष मात्रै २१ लाख ६० हजार आम्दानी गरेका छन् । रहरै रहरमा किबी खेती शुरु गरेका राईका लागि अहिले किबीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ । सामाज शास्त्रमा स्नातक गरेका उनको फार्ममा अहिले ६० हजारभन्दा बढी बिरुवा मौज्दात रहेको पाइएको छ । एउटा वयष्क किबीको बोटमा १०० देखि १५० केजीसम्म फल उत्पादन हुने गरेको युवा राईले बताए। ‘बजार मूल्यमा अन्य फलफूलभन्दा किबी धेरै महङ्गो छ ।’ उनले भने, ‘आफूले उत्पादन गरेको किबी बजार पु¥याएपछि चाख्नकै लागि भएपनि उपभोक्ताले खरिद गर्ने गरेका छन् ।’ किबीको फल दिक्तेल, धरान, बिराटनगर, काठमाडौँ लगायत जिल्ला तथा बिरुवा खोटाङको विभिन्न स्थानीय र छिमेकी जिल्लाहरु सोलुखुम्बू, ओखलढुङ्गा, भोजपुर, इलाम, सङ्खुवासभा लगायतमा नियात हुने गरेको राईले बताए। धनकुमारसँगै फेदीका आधा दर्जन घरका स्थानीय बासिन्दाले व्यवसायिक रुपमा किबी खेती गरेको छन् । उता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका शुभचन्द्र राईले किबीको फल तथा बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन्। बिगत आठ वर्षदेखि किबीको निरन्तर नर्सरी उत्पादन गर्दै आउनुभएका राईको फार्ममा यस वर्ष करिब साढे छ क्विन्टल फल उत्पादन भएको अनुमान गरिएको छ । वि.सं. २०७१ सालमा शुभ कृषि फार्म दर्ता गरेर व्यवसायिक खेती शुरु गर्नुभएको राईले ३० रोपनी क्षेत्रफल जमिनमा किबी खेती गरेका छन् । कानूनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राई पूर्वगाविस अध्यक्षसमेत छन्। वि.सं. २०५४ सालमा साविकको दोर्पाचिउरीडाँडा गाविसको अध्यक्ष भएका राईले अहिले किबी खेतीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्थानीय चारजना युवालाई रोजगारीसमेत दिनुभएका राईले पछिल्लो समय जुस उद्योगसमेत सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित गोगनेका राजेश थापामगरले ४२ रोपनी जग्गामा किबी खेती गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्केका थापामगरले वि.सं. २०७५ सालमा नमूना अर्गानिक किबी फार्म दर्ता गरेर व्यवसायिक खेती शुरु गरेका हुन् । आफूले उत्पादन गरेको किबी बोलेरो गाडीमार्फत काठमाडौं, धरान, बिराटनगर लगायतका विभिन्न शहर पु¥याएर बिक्री गर्ने गरेको थापामगरले बताएका छन्। ‘किबी महङ्गो खेती भएकाले सानो पुँजी हुनेले यसको खेती गर्न सक्ने अवस्छा छैन । तर, गरेको मेहनत खेर जाँदैन’ उनले भने, ‘बजारको समस्या छैन । बिक्री नभए प्रशोधन गरेर खाद्यवस्तु बनाउन सकिन्छ । वाइन, जुस र रक्सी उत्पादन गरेर राम्रो आम्दानी लिन सकिन्छ । यसका लागि राज्यले कानूनी व्यवस्था गर्नुपर्यो ।’ वि.सं. २०६८ सालबाट किबीको व्यवसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यवसायिक फार्म दर्ता गरेर किबी खेती शुरु गरेका छन् । लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा व्यवसायिक किबी खेती गर्नेको लहर नै चलेको छ । छदेखि आठ मीटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गर्दा पनि प्रयाप्त उत्पादन दिने र किबी खेती गरिएको क्षेत्रभित्र अन्य विभिन्न बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत सकिने कृषकहरुले बताएका छन् । समुद्री सतहबाट दुई हजार ५०० मीटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्रभन्दा माथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती गर्न उपयुक्त भूगोल मानिन्छ । ब्रुनो र मन्टी प्रजातिको किबीसमेत उत्पादन हुँदै आएको जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातिको किबीको राम्रो उत्पादन रहेको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा प्रशस्त पानीको श्रोत र चिस्यान भएको खेतीयोग्य जमिन रहेकाले व्यवसायिक किबी खेती गर्न उपयुक्त भूगोल भएको कृषि विज्ञहरुले बताएका छन् । व्यवसायिक रुपमा किबी खेती गर्ने कृषकलाई पछिल्लो समय सङ्घ, प्रदेश र स्थानीय सरकारले समेत अनुदान दिँदै आएको छ । सरकारले दिने अनुदानमा पहुँचवालाको मात्र हालीमुहाली रहेको जिल्लाका वास्तविक कृषकहरुले गुनासो गर्दै आएका छन् ।
तीन महिनामै वाणिज्य बैंकको खुद ब्याज आम्दानी साढे ४९ अर्ब
काठमाडौं । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गत वर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) को पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ दशमलव ५७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो । तर ब्याजदर वृद्धिले वाणिज्य बैंकको खुद नाफामा भने सकारात्मक प्रभाव देखिएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद ब्याज नाफा २८ दशमलव ४४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुले चालु आवको त्रैमासमा ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार ब्याज नाफा आर्जन गरेका छन् भने गत आवको सोही अवधिमा यस्तो नाफा ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार थियो । चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ब्याजबाट नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । बैंकले यस अवधिमा रु तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार ब्याजबाट नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नबिल बैंकको ब्याज नाफा दुई अर्ब २४ करोड १५ लाख २७ हजार थियो । ब्याजबाट बढी नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक दोस्रो र ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा छन् । यी दुई बैंकले असोज मसान्तसम्ममा क्रमशः तीन अर्ब ४१ करोड ४ लाख ९६ हजार र तीन अर्ब २० करोड २७ लाख चार हजार खुद ब्याजबाट नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज नाफा रु तीन अर्ब १८ करोड ३८ लाख ९९ हजार छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले क्रमशः दुई अर्ब १२ करोड ९५ लाख, दुई अर्ब १२ करोड ८५ लाख र दुई अर्ब पाँच करोड ४२ लाख ब्याजबाट नाफा आर्जन गरेका छन् । प्रभु र कुमारी बैंकले एक अर्ब ९७ करोड कमाएका छन् भने नेपाल बैंक लिमिटेडले एक अर्ब ९० करोड खुद ब्याजबाट नाफा गरेको छ । एभरेस्ट बैंक र प्राइम कमर्सियल बैंकले एक अर्ब ८८ करोड ब्याज नाफा आर्जन गरेका छन् । साथै, कृषि विकास बैंकले एक अर्ब ८३ करोड, हिमालयन बैंकले एक अर्ब ८० करोड र मेगा बैंकले एक अर्ब ७९ करोड खुद ब्याज नाफा आर्जन गर्न सफल भएका छन् । समीक्षा अवधिमा सानिमा बैंकको ब्याज नाफा आर्जन एक अर्ब ६० करोड छ भने लक्ष्मी बैंकको एक अर्ब ५१ करोड छ । माछापुच्छ्रे, सिटिजन्स र सनराइज बैंको ब्याज नाफा क्रमशः एक अर्ब ४७ करोड, एक अर्ब ४५ करोड र एक अर्ब ४३ करोड छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले रु एक अर्ब ४१ करोड, नेपाल एसबीआई बैंकले एक अर्ब २९ करोड, बैंक अफ काठमाण्डूले एक अर्ब २२ करोड, सिभिल बैंकले एक अर्ब १५ करोड र एनसीसी बैंकले एक अर्ब १२ करोड खुद ब्याज नाफा गरेका छन् । त्यसैगरी सेञ्चुरी कमर्सियल बैंकले सबैभन्दा कम एक अर्ब ७ करोड ६२ लाख ४१ हजार खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी ब्याज नाफा बढाउनेमा एभरेष्ट बैंक छ । एभरेष्ट बैंकले गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा ४२ दशमलव नौ प्रतिशतले ब्याज नाफा बढाएको छ । त्यस्तै, लक्ष्मी बैंकले ४१ दशमलव तीन प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ३९ दशमलव ९४ प्रतिशत र नबिल बैंकले ३९ दशमलव चार प्रतिशतले ब्याज नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ भदौमा छ दशमलव ८९ प्रतिशत रहेकामा २०७९ भदौमा १० दशमलव एक प्रतिशत छ । २०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव छ प्रतिशत छ ।
सरकारले पाँच वर्षमा गर्न नसकेका काम संखरापुर नगरपालिकाले ६ महिनामा गर्याे : कुन्ती पोखरेल
काठमाडौं । सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम संखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको काठमाडौं क्षेत्र २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले बताइन् । उनले संखरापुरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा मतदातासँग अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । ‘राप्रपाले संखरापुर नगरपालिका जित्दा त अघिल्ला प्रतिनिधिले पाँच वर्षमा गर्न नसकेका धेरै काम ६ महिनामा गरिसकेको छ भने अब प्रतिनिधि सभा र प्रदेश सभामा हामी पनि जितेर आयौं भने बल्ल यो ठाउँ बन्ने भयो,’ पोख्रेलले भनिन्, ‘कोटेश्वरबाट भक्तपुरतिरको बाटो चाहीं डाँडासम्म चिल्लो भएको छ तर हाम्रो क्षेत्र भने एम्बुलेन्स छिर्ने बाटो नभए स्थानीय सास्ती खोप्नुपरेको छ ।’ कार्यक्रमा स्थानीयलाई उद्रित गर्दै हिजो तपाईंहरुले कस्ता प्रतिनिधिलाई भोट दिनुभयो आज यो ठाउँको अभिभावक खोइ ? भन्दै पोख्रेलले प्रश्न गरिन् । ‘हिजो तपाईंहरुले भोट हालेका व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री भए यो क्षेत्रमा एकचोटी फर्केर आउनुभयो ? भन्ने प्रश्न गर्दै दुःखसुखमा कसले साथ दिन्छन् त्यसप्रति सोच्न आग्रह गरिन् । त्यसैले आगामी निर्वाचनमा पटक–पटक पदमा पुगेर पनि काम नगर्नेहरुलाई बिदाइ गरेर स्थानीय नयाँ नेतृत्व छान्न सुझाइन् । त्यसैले आगामी आमनिर्वाचनमा त्यसको लागि प्रतिनिधि सभामा आफ्नो उम्मेदवार रहेको बताइन् । उनले यो क्षेत्रमा राप्रपाले जिते मात्रै धर्म, संस्कार, संस्कृतिको रक्षा र आवश्यक विकास हुनेमा जोड दिइन् । कार्याक्रममा संखरापुरका नगरप्रमुख रमेश नापित, वडा अध्यक्षहरु, राप्रपाका क्षेत्रीय अधयक्ष, उपाध्यक्ष, अग्रज नेता, कार्यकर्तालगायत सर्वसाधरणको उल्लेख्य उपस्थिति रहेको थियो ।
निष्पक्ष र भयरहीत निर्वाचन गर्न सबै प्रवन्ध सकियोः प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिवद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए । नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले व्यक्ति भन्दा सामाजिक भुमिका र राष्ट्रिय हीतलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्ने बताए । ‘हाम्रो धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएको नेपाल सम्वतको जगेर्ना गर्दै आगामी दिनमा प्रयोगलाई बढाउँदै संस्कृति र महत्वलाई जगेर्ना गर्न सबै मिलेर काम गर्न आवश्यक छ, नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या छ, गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ, सबै प्रतिवद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी, आर्थिक असमानता, विपन्नतालाई हटाउने काम शंखधर साख्वाजस्ता महान व्यक्तित्वबाट सबैले सिक्न जरुरी छ, व्यक्ति भन्दा सामाजिक भुमिका र राष्ट्रिय हीतलाई आत्मसाथ गरी अघि बढ्नसके हामी सफल हुन्छौँ ।’ प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रवन्ध मिलाइसकेको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका थिए ।