बस दुर्घटनामा पाँच जनाको मृत्यु, २५ घाइते
मध्यविन्दु । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।
कतारमा विश्वकप नजिकिएसँगै आप्रवासी कामदारलाई विदा दिँदै घर पठाइँदै
एजेन्सी । कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई विदामा बस्न दबाव दिइएपछि विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानइि बासिन्दा र कामदारहरुले शनिबार बताएका छन् । नोभेम्बर २० देखि सुरु हुने प्रतियोगितासुरु हुनुभन्दा चार हप्ता अघि स्थानीय बासिन्दाका अनुसार बुधबार अबेर राति नगरपालिका कर्मचारी र सुरक्षा गार्डहरू करिब १२ वटा भवनमा पसेका थिए । सरकारले ती भवनहरु ‘बस्न अयोग्य’ भएको, उचित सूचना दिइएको र सबै विस्थापितका लागि ‘सुरक्षित र उपयुक्त आवास’ को विकल्प खोजिएको जनाएको छ । प्रभावित क्षेत्र, मुख्यतया अल–मन्सौरा को आसपास, हालका वर्षहरूमा व्यापक रूपमा पुनः विकास गरिएको छ र केहि विश्व कप प्रशंसकहरू त्यस जिल्लाको अपार्टमेन्टमा बस्नेछन् । उक्त अपार्टमेन्टमा बस्दै कतारका भौतिक संरचना निर्माणका लागि काम गर्दै आएका दर्जनौं श्रमिकहरू सडकमा निकालिएका छन् । बङ्गलादेशी सवारी चालक युनुस शनिबार बिहानै अल मन्सुराको एउटा सडकमा ‘फ्ल्याट बेड’को ट्रकको पछाडि सुतेको उनले बताए । उनले भने, ‘पहिलो रात अस्तव्यस्त थियो र सबैलाई अन्य ठाउँमा जान पर्याप्त ठाउँ थिएन । जे होस्, यो ट्रक मेरो जीवन हो र म यसलाई छोड्ने छैन जबसम्म मसँग सुरक्षित विकल्प आउने छैन । यहाँ म मेरो सवारी साधनलाई रोकेर राख्न सक्छु पार्क गर्न सक्छु ।’ अल मन्सौरामा रहेको २४ घण्टा सेवा चल्ने एक स्टोरका दक्षिण एसियाली म्यानेजरले एएफपीसँग कुरा गर्दै आफूले कामदारहरूलाई दुईवटा भवनबाट निकालिएको देखेको बताएका छन् । कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, फिलिपिन्स साथै अफ्रिकी मुलुक केन्या र युगान्डालगायत देशबाट आई कामको शिलशिलामा स्थायी तथा अस्थायी बसोबास गर्ने गरेका छन् । कतारले विश्वकपका लागि अधिकांश चम्किला नयाँ रङ्गशाला र यातायात पूर्वाधार निर्माण गर्ने विदेशी कामदारहरूको व्यवहारको बारेमा गहन जाँचको सामना गर्नुपरेको छ । यहाँ जबजस्ती विदामा बस्न लगाइएका कादारहरूले तलब नपाएको भन्दै ऊर्जाको धनी राज्यको आलोचना हुँदै आएको छ । अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूले हालैका वर्षहरूमा स्थितिमा व्यापक सुधार भएको र कतारले आफ्नो सुधारलाई जोड दिएको बताएका छन्, तर अधिकार समूहहरूले अझै धेरै गर्न आवश्यक रहेको बताएका छन् ।
वनभोज खान गएका दुई किशोर भेरीमा बेपत्ता
सुर्खेत । सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको समूह भेरीगङ्गा नगरपालिकाको सत्तरी नजिकै वनभोज खान गएको थियो । बेपत्ता खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा गएको छ ।
संविधानको जग उखेल्न दिँदैनौँ : प्रवक्ता डा. महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको बताएका छन् । ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनले संविधानमा भएका कमी–कमजोरी सच्याउन परिमार्जनको आवश्यकता रहेको र आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे। ‘राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्छौँ, तर संविधानको जग उखेल्न दिँदैनौँ’, प्रवक्ता महतले भने । उनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए। ‘ठूलो मेहेनतले बनाएको संविधानलाई ध्वस्त गर्ने चक्करमा नेकपा (एमाले) लागेको थियो, हामीले त्यसलाई रोक्यौँ, अहिले संविधानका विरुद्ध अनेकौँ प्रवृत्ति देखापरेका छन्’, उनले भने, ‘संविधानको उपलब्धिलाई खत्तम पार्न केही पक्ष लागिपरेका छन् । संविधानको रक्षा गर्न जरुरी छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न गठबन्धन बनाइएको उल्लेख गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारलाई विजयी गराउन सबैको भूमिका आवश्यक रहेको बताए । ललितपुर क्षेत्र नं ३ प्रदेशसभाका उम्मेदवार द्वय राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रुपान्तरणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा
काठमाडौं । इम्याजिन मार्केटिङ लिमिटेड, भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले(फ्ल्यागशिप ब्रान्ड ‘बुट’ अन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले) आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाँडै नेपाली बजारमा ल्याएको छ । कम्पनीले ल्याएको स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्चकलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम बुट एसप चार्ज टेक्नोलोजीको सातदिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १०० प्रतिशत सम्मचार्ज गर्दछ । वेभ प्रो ४७ मा भएको आइपी६७ ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ । जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । नेपालमा उपलब्ध वेभ प्रो ४७ को मूल्य ६,४९९ रुपैयाँ रहेको छ । यस कम्पनीले बुटको सबैभन्दा नयाँ संस्करणको बुटएक्सटेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७०० प्लस सक्रिय मोडहरू रहेका छन् । जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९ इन्च एचडी डिस्प्लेको साथमा उपलब्ध रहेको छ । जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ । यसमा १०० प्लस फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्स्टेण्ड स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६,४९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड रकर ३३० र रकर २५५ प्रो प्लस पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बुट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध रहेको क्रम्पनीले जनाएको छ । बजारमा यसको मूल्य ३,३९९ देखि ३,४९९ रुपैयाँ रहेको छ ।
झापामा हात्ती धपाउन साइरनसहितका ट्रयाक्टर परिचालन
झापा । हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ । भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्रयाक्टर परिचालन गरिएको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्रयाक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए । विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुरक्षाका लागि साइरन जडित ट्रयाक्टर परिचालन गरिएको अध्यक्ष कार्कीको भनाइ छ । विद्युतीय तारबार मर्मतसम्भारको अभावमा काम नलाग्ने अवस्थामा पुगेको बताउँदै कार्की भन्छन्, ‘हुल बाँधेर आएका हात्ती साइरन बज्न थालेपछि तितरवितर भएर भारततर्फ फर्किन्छन् । दिगो समाधान होइन, तत्कालको लागि बाली जोगाउने वैकल्पिक उपाय भएको छ ।’ साइरन बजेपछि हात्ती आएको थाहा पाएर गाउँले पनि सचेत रहने गरेको उनको भनाइ छ । निर्वाचनमा क्षेत्र नम्बर १ का सबै राजनीतिक दलको एजेण्डा हात्ती समस्या समाधान गर्ने भनिएपनि जितेर गएपछि बेवास्ता गरेको स्थानीयवासीको भनाइ छ । जिल्लाको भद्रपुर, कचनकवल, विर्तामोड, बुद्धशान्ति, दमकलगायतका क्षेत्रमा हात्तीको उत्तिकै त्रास रहेको छ । वडा किसानलाई निःशुल्क बीउ वितरण किसानलाई सागसब्जीमा आत्मनिर्भर बनाउने उद्देश्यले मेचीनगर नगरपालिका–४ ले टोलटोलमै पुगेर वडावासीलाई आजदेखि निःशुल्क बीउ वितरण गर्न सुरु गरेको छ । वडाका २३ वटा टोल संस्थामार्फत वडाध्यक्षसहितका जनप्रतिनिधि आफैँ पुगेर किसानलाई उन्नत जातको बीउ वितरण गरेका हुन् । ‘किसानको हात वडाको साथ’ भन्ने नारा नै तय गरेर वडाले धनियाँ, रायो, चम्सुर, काक्रा, फर्सी, लौकालगायतका बीउ वितरण गरेको वडाध्यक्ष अर्जुन कार्कीले बताए । ‘वडावासी सागसब्जीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ’, उनले भने, ‘बीउ नै घरघरमा पु¥याएपछि किसानलाई प्रोत्साहन पनि हुन्छ, सब्जीखेती गर्न पनि बाध्य हुन्छन् ।’ उनले वडाको एक लाख खर्चेर अगुवा किसान सन्तोष अधिकारीमार्फत उन्नत जातको सागसब्जीको बीउ खरिद गरेको बताए । निःशुल्क बीउ वितरणका लागि आलूमा एक लाख ५० हजार, तोरी खेतीका लागि एक लाख ५० हजार, बेमौसमी तरकारी खेतीका लागि एक लाख ५० हजार गरी पाँच लाख ५० हजार बजेट विनियोजन गरेको अध्यक्ष कार्कीको भनाइ छ । धान पाकेसँगै किसानले खेतमा अब सागसब्जी खेतीका लागि माटो धमाधम तयार गरिरहेका छन् । बाहुनडाँगी–१ भोर्लेनीका किसान रमेश दर्जीले वडाले दिएको बीउबाटै पाँच कट्ठामा रायो साग, मुला, धनियाँ लगाउने तयारी गरिरहेको बताए। वडाध्यक्ष आफैँले बीउ घरमै पु¥याउन आएपछि खुसी हुँदै दर्जीले सब्जीखेतीको तयारी गरेको बताए । ‘वडाले बीउ त दियो, अब आवश्यक मल पनि उपलब्ध गराइदिन्छ भन्ने आशा छ’, उनले भने । अध्यक्ष कार्कीले वडाका एक हजार तीन सय घरधुरीलाई नै आफैँलाई आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्न बीउ दिँदै आग्रह गरेका छन् ।
रसुवागढी जलविद्युत् आयोजनाको विजुली उत्पादन चालू आवभित्रै हुने
रसुवा । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ । भूमिगत संरचनाबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ । जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, चालू आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्नका लागि प्राविधिकहरु जुटेका हुन् । भूमिगतरूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमूनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको थियो । चिलिमेको निर्मातामध्येका एक सदस्य एवं रसुवागढी जलविद्युत् कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक माधव कोइरालाको एकल डिजाइन रहेको एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भौगोलिक असहजताकै कारण निर्माणमा ढिलाइ भएको थियो । रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानमा छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका कारण २०७९ सालभित्रै परीक्षण उत्पादन गराउने लक्ष्य लिइ प्राविधिक समूहले काम गरिरहेको हो । उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन् । उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकलका वरिष्ठ महाशाखा प्रमुख ई महेन्द्रप्रसाद यादवले बताए। भोटेकोसी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरूङ सर्चटैक, पेनस्टक, टेलरेस सुरूङ, भोटेकोसीबाट पानीसँगै सुरूङमा पस्ने बालुवालाई थिग्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको रसुवागढी जलविद्युत् कम्पनीका सचिव नरनाथ न्यौपानेले बताए। आयोजनाका कार्यकारी निर्देशक छवि गैरेले भने, ‘सबै प्रकारका अवरोध पार गरी पछिल्लो समय एकाग्ररूपमा द्रुतगतिले भएको उपकरण जडानकार्यबाट उल्लेखनीय प्रगति हासिल भइरहेका कारण आगामी चैतदेखि परीक्षणतर्फ केन्द्रित हुने लक्ष्य लिइएका छौं ।’ सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको थियो । आयोजना निर्माणको समयावधि लम्बिएका कारण निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन् । विसं २०७९ भित्रैमा परीक्षण उत्पादन गर्ने अठोट गरिए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेरजानेमा प्राविधिकमाझ चिन्ता व्यक्त गरेका छन् । उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउनका लागि टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको विद्युत् हवमा लैजानका लागि १० किमी लामो अन्तरिक प्रसारणलाइनको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको वातावरण विज्ञ तेज साउथले बताताएका छन् । रसुवागढी तथा साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राजधानी पु¥याउनका लागि राष्ट्रिय प्रसारण लाइन निर्माणको काम हाल जारी छ । नयाँ निर्माण भइरहेको राष्ट्रिय प्रसारण लाइनमा रसुवागढी, साङ्जेन, लाङ्टाङ खोला, लाङ्टाङ भोटेकोसी, अपर त्रिशूली(वानसमेतका आयोजनाबाट उत्पादन हुने विद्युत् जडान हुनेछ ।
दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु
काठमाडौं । शनिबारबाट काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भएपनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दुतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन राजदुतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका अध्यक्ष अनुपबहादुर मल्लले बताए । उनले मेलामा कुल ४० वटा स्टल रहेको र जसमा ३५ वटा स्टलहरु नेपाली उत्पादित सामग्री र ५ वटा खानेकुराका स्टलहरु राखिएको बताए । उनले लामो समय यता कोरोना भाइरसका कारण सुस्ताएको व्यापार सम्बन्धलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको बताए । उनले भने, ‘कोरोनापपिछ ४ वर्षसम्म बिजनेस प्रवद्र्धन गर्न नसकिरहेको अवस्थामा जर्मन एमबेसी र हामी मिलेर सानो वेमा उत्पादित वस्तुहरु प्रदर्शनीमा राखेका छाँै । चिया, कफी, गाभर्मेण्ट, कस्मिना लगायतका सामग्रीहरु राखेका छौँ । यसले थोरै भएपनि नेपाली निर्यातलाई बढाउँछ । सानो प्रयास भएपनि कोशेढुंगा सावित हुनेछ । ३५ वटा प्रोडक्ट र ४ वटा फूड स्टल छन् । जम्मा ४० वटा स्टल छन् ।’ त्यस्तै, नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाल जर्मन चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालमा उत्पादन हुने सामग्रीहरु साथै जर्मनबाट आयात हुने सामग्रीहरु प्रदर्शनमा राखिएको बताए ।