यी हुन् भिभोको वाई सिरिजअन्तर्गतका उत्कृष्ट स्मार्टफोनहरू
काठमाडौं । विश्व स्मार्टफोन उद्योगको अग्रणी ब्राण्ड, भिभोले वाई सिरिजका स्मार्टफोनमार्फत नेपाली प्रयोगकर्ताहरुका लागि धेरै विकल्पहरू उपलब्ध गराउँदै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा नयाँ क्यामेरा प्रविधि र नयाँ विशेषताहरु समावेश गरेर बजारमा बलियो पकड बनाउन सफल भएको छ । वाई सिरिजका सबै स्मार्टफोनहरू अत्याधुनिक प्रविधिद्वारा डिजाइन गरिएकाले यसले उत्कृष्ट पर्फमेन्श र नयाँपनमार्फत ग्राहकको अनुभवलाई अझ वृद्धि गर्ने कम्पनीकाे दावी छ । कम्पनीकाे अनुसार भिभो वाई सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा फ्ल्यागशिप अनुभवका साथै नयाँ क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित रहेका छन् । १) वाई३५ भिभो वाई३५ स्टाइल र प्रविधिको उत्कृष्ट संयोजन भएको स्मार्टफोन हो । यसमा एक्सटेन्डेड र्याम ३.० (८जीबी + ८जीबी) छ जसले एउटा एपबाट अर्कोमा सहजै स्विच गर्न अनुमति दिन्छ र निर्बोध अनुभव प्रदान गर्दछ । कुनै पनि कार्यहरु स्मुथ रुपले गर्न वाई३५ मा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्दछ । यस उपकरणले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्नुका साथै यसमा ५०एमपी ट्रिपल रियर क्यामेरा रहेको छ जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र व्यावसायिक क्यामेरा जस्तै उच्च–स्तरीय तस्वीरहरु खिच्दछ । यस क्यामेराले सुपर नाइट क्यामेरा जस्ता सुविधाहरू पनि प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ । यसकाे बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र सुन्दर पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ । २) वाई३३एस वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपाली ग्राहकहरूले धेरै मन पराएका छन् । यो फोनमा सार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ । यो शक्तिशाली स्मार्टफोन १८ वाट फास्ट चार्जको साथ ५०००एमएएच ब्याट्रीमा आउँछ । वाई३३एस मा एक्सटेन्डेड र्याम २.० (८जीबी + ४जीबी) रहेको छ । स्लिम र ट्रेंडी स्मार्टफोन वाई३३एस को मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ । ३) वाई२२ वाई२२ प्रयोगकर्ताहरूका लागि राम्रो विकल्प हो । यसमा मिडियाटेक हेलियो जी८५ प्रोसेसर छ जसले शक्तिशाली कार्यसम्पादनको प्रतिज्ञा गर्दै हरेक कार्यलाई सहज बनाउँछ । यो १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीमा आउँछ र विशाल ब्याट्री क्षमताको साथमा शक्तिशाली प्रोसेसरको संयोजनले वाई२२ लाई धेरै आकर्षक बनाएको छ । यसमा ५०एमपी रियर क्यामेरा रहेको छ जसले स्पष्ट, सुन्दर र उज्यालो तस्बिरहरू लिन सम्भव बनाउँछ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट जस्ता विभिन्न क्यामेरा सुविधाहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी लिने वा भिडियो खिच्ने प्रयोगकर्ताहरूको अनुहारको अझ आकर्षक बनाउँछ । साथै अर्कोतर्फ मल्टि स्टाइल पोट्र्रेटले व्यक्तिगत पोट्र्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि धेरै स्टाइलहरू समावेश गर्दछ । ४) वाई२२एस वाई२२एस ले भिभोको वाई सिरिजको गतिशील र युवा–केन्द्रित दृष्टिकोणलाई अगाडि बढाउँछ, र प्रयोगकर्ताहरुका विभिन्न आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीबी र्याम र १२८जीबी रोम रहेको छ, जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाई एकै साथ धेरै ठुला एपहरू चलाउन अनुमति दिन्छ । यसको एक्सटेन्डेड र्याम विशेषतामार्फत निष्क्रिय रोमलाई प्रयोग गर्न सकिन्छ र १टीबी सम्म मेमोरी कार्ड थप्न पनि सकिन्छ । वाई२२एस मा एआई पावर–सेभिङ टेक्नोलोजी पनि छ र ५०००एमएएच ब्याट्रीलाई १८ वाट फास्ट चार्ज ले सर्पोट गरेको छ । यसका साथै, ५०एमपी रियर क्यामेरा र ८एमपी एचडी फ्रन्ट क्यामेरासंग भिडियो फेस ब्यूटी अप्टिमाइज गरिएको छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडको साथ अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम प्रकाशका क्षणहरूलाई जादुई रूपमा उत्कृष्ट बनाउन अनुमति दिन्छ । यसबाहेक, प्रयोगकर्ताहरुलाई व्यक्तिगत पोट्र्रेट खिच्न वाई२२एस मा मल्टी–स्टाइल पोट्र्रेट– फेस ब्यूटी, बोकेह, र अन्य स्टाइलहरू समावेश छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरू खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ । ५) वाई५५ वाई५५ शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजको नयाँ स्मार्टफोन हो । यस फोनमा ५० एमपी एचडी ट्रिपल क्यामेरा छ जसले डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो प्रदान गर्दछ । वाई५५ मा स्न्यापड्रेगन ६८० प्रोसेसर छ जसले यस स्मार्टफोनलाई गेमिङ तथा स्ट्रिमिङका लागि सक्षम बनाउँछ । यो उपकरण ५०००एमएएच ब्याट्रीको साथ आउँछ जुन ४४ वाट फ्ल्यासचार्जद्वारा समर्थित छ । यो स्मार्टफोन ३३ हजार ९९९ रुपैयाँमा देशभर उपलब्ध छ ।
पुस्तक बिक्रीको रकम मानवीय सेवामा
काठमाडौं । नेपाल क्यान्सर अस्पताल एवम् रिसर्च सेन्टर ललितपुरका प्रमुख कार्यकारी अधिकृत प्रा डा बच्चुकैलाश कैनीले हालै प्रकाशित आफ्ना पाँच कृतिको बिक्रीबाट आउने सबै रकम मानवीय सेवामा लगाउने घोषणा गरेका छन् । पुस्तक बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धार गरी संरक्षण गर्दै आएको संस्था मानवसेवा आश्रमलाई दिने डा कैनीले बताए । उनले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको २१ हजार आठ सय ६० रुपैयाँ आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरे । सो क्रममा उनले पुस्तकबाट जति पनि रकम आउँछ, सबै आश्रमलाई दिने लामाले जानकारी दिए । केन्द्रीय सदस्य लामाले परोपकारी व्यक्तिको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुहरुको पालनपोषण भइरहेको बताए । उनले डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताए । डा कैनीले हालै अदृश्य मनका सादृश्यहरू, सिमाहीन सिमा र रङको पहिचान, भिसागर्ल, र प्रतिबिम्ब गरी एकैसाथ पाँच कृति सार्वजनिक भएको थियो । ‘मेरा यी पाँच कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु, यसले आश्रमको सेवालाई थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ’, डा कैनीले भने । मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिकस्थलमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिसको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ । परामर्शका क्रममा परिवार भेटिएकाको पारिवारिक पुनर्मिलन पनि गराउँदै आएको छ । रासस
भैरहवाबाट उडान नगर्ने दुई एयरलाइन्सको काठमाडौंबाट हुने उडान कटौती
काठमाडौं । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै नागरिक उड्डयन प्राधिकरण(क्यान)ले उनीहरुको नियमित उडानहरू कटौती गरेको हो । यसक्रममा क्यानले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको छ । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो । काठमाडौं विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको हो । प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ । प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती भएको सम्बन्धित अधिकारीले बताएका छन् । प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक व्यवस्थापनसहित तयारी गर्न करिब दुई महिना लाग्ने भएकाले तत्कालै उडान गर्न नसकिने निगमले उल्लेख गरेको छ । वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई ‘विन्टर सेड्युल’ मा उडान गर्न प्राधिकरणले पत्राचार गरेको छ । अक्टोबर ३० देखि आगामी सन् २०२३ मार्चसम्मको उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा समेत दुवै एयरलाइन्सले उडान सञ्चालन गर्नुपर्नेछ । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुस १ गतेदेखि भैरहवामा अनिवार्य उडान तयारी गर्न सूचित गरिसकेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले काठमाडौं विमानस्थलमा तीनभन्दा बढी उडान गर्ने एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा उडान गर्नुपर्ने निर्देशनसहित पत्राचार गरिएको बताए । उनले भने, ‘हाम्रो आन्तरिक वायुसेवाले भैहरवाबाट उडान नगर्दा विदेशी एयरलाइन्सलाई दबाब दिन गाह्रो हुने भयो त्यसैले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई भैरहवाबाट पनि उडान गर्नुपर्छ भनेर निर्देशन दिइएको हो ।’ काठमाडौं विमानस्थलमा हाल तीन नेपालीसहित २६ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् । यात्रु अभावका कारण नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भैरहवाबाट उडान सुरु गरेको बताएका छन् । केही समय अघि मात्र यात्रु नभएको बताउँदै जजिरा एयरवेजले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने निर्णय गरेको थियो ।
‘सेयर बजार धेरै घटिसक्यो, एक/डेढ महिनामै छलाङ मार्छ’
काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्ना पुराना रेकर्डलाई तोड्दै एकपछि अर्को नयाँ–नयाँ रेकर्ड बनायो । गत वर्ष सेयर बजारमा साढे २१ अर्ब रुपैयाँ बढीको कारोबार भएर आफ्ना सबै रेकर्ड ब्रेक गर्याे । सोही वर्ष नेप्से परिसूचक ३२ सय अंक बढी पुगेर अर्काे रेकर्ड पनि कायम गर्न सफल भयो । साथै गत वर्षको २० भदौमा नेप्से परिसूचक ११० अंकले घटेको थियो । जुन एकैदिन यति फराकिलो अंकको गिरावट आएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यस वर्ष भने सेयर बजार घटेको घट्यै छ । सेयर बजारमा धेरै ठूलो गिरावटकै कारण लगानीकर्ताहरुले ठूलो मात्रामा घाटा ब्यहोर्नु परेको छ । ३२ सय अंकबाट १८ सय अंकमा झर्दा सेयर बजार झण्डै ८० प्रतिशतले घटेको छ । कारोबार रकममा पनि संकुचन आएको छ । एक वर्षको अवधिमा यति धेरै अंकले सेयर बजार घटेको इतिहासमा नै पहिलो पटक भएको लगानीकर्ताहरु बताउँछन् । दशैं तिहार पनि सकिएको छ । धेरैले चाडपर्वको समयमा पैसा बैंकिङ प्रणालीमा पनि आउने बताउँनछन् । यही समयमा फेरि सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकेको छ । चाडपर्वपछि र निर्वाचनको समयमा बजारमा ठूलो रकम आउने र सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् । यही समयमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च छ । जसको प्रभाव सेयर बजारमा परेको भएपनि लगानीकर्ताहरुले ब्याजदरलाई पचाइसकेकाले सेयर बजार अब धेरै नघट्ने उनीहरुको तर्क छ । लगानीकर्ता कमला गिरी आगामी दिनमा सेयर बजार बढ्ने वा नबढ्ने भनेर लगानीकर्ताको मनोबलमा भर पर्ने बताउँछिन् । उनका अनुसार बजारमा भएका ठूला कम्पनीहरुको वित्तीय विवरण राम्रो आएको छ भने बजार केही समयको लागि बढ्छ । जसले गर्दा ठूला लगानीकर्ता बिक्री गर्छन् भने साना लगानीकर्ताले खरिद गर्छन् । तर ठ्याक्क उल्टो भयो भने ठूला लगानीकर्ताले बजारमा खरिद गर्छन र साना लागनीकर्ताले बिक्री गर्छन् । लगानीकर्ता विष्णु बस्याल सेयर बजारमा सुधार आउने अपेक्षा गर्छन् । अब बैंक तथा वित्तीय संस्थाको ब्याजदर धेरै नबढ्ने आशा गरेका उनी बरु ब्याजदर घट्ने अपेक्षा गरिरहेका छन् । महँगो ब्याजदर हुँदा बैंकको ब्यापार पनि घट्ने हुँदा घटाउनु पर्ने बाध्यता रहेको उनले बताए । पहिलो त्रैमासको वित्तीय विवरणले सर्टटर्ममा प्रभाव पारेपनि दीर्घकालमा भने यसले खासै असर नगर्ने उनको बुझाइ छ । ‘निक्षेप तर्फको ब्याजदर घट्नेक्रम सुरु हुन्छ, कर्जातर्फको ब्याज एक त्रैमास थप बढ्न सक्छ तर कर्जाको ब्याज पनि धेरै बढ्ने ठाउँ छैन, अहिले कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी छ, कहाँबाट कर्जाको महँगो ब्याज तिर्ने र लगानी गर्ने कुरा हुँदैन, अब कर्जाको माग कम हुँदै जाने, बैंकहरुलाई ब्यापार गर्न निक्षेपको कस्ट घटाउने र ब्याजदर तल झार्नु पर्ने बाध्यता आउँछ, यो भन्दा धेरै भयावह स्थिति आउँदैन,’ उनले भने, ‘एक डेढ महिना बजार यतिकै रहन सक्छ, बजार माथि जाने संकेत गरिरहेको छ, पहिलो त्रैमासमा ब्यापार गर्न नपाएपछि बैंक तथा वित्तीय संस्थाको नाफा वृद्धिदर घटेको हो, अघिल्लो वर्षको तुलनामा यो वर्ष कम नाफा कमाएका मात्रै हुन् ।’ लगानीकर्ता बस्यालका अनुसार बैंकहरुको नाफा बढ्दैन भनेर सेयर मूल्य हेरेर नै थाहा हुने उनको भनाइ छ । नाफा घट्छ भनेर नै बैंकहरुको सेयर मूल्य पनि कम भएको उनको बुझाइ छ । ‘बैंकहरुको नाफा वृद्धि हुँदैन भनेर पहिल्यै बजारले थाहा पाइसकेको थियो, बैंकहरुले मज्जाले नाफा कमाउँछन् भनेको भए बैंकहरुको सेयर मूल्य पनि माथि हुन्थ्यो होला, यो कुरा बजारले पहिला नै आँकलन गरिसकेको थियो, अब असर नै नपर्ला भन्न सकिन्न, यसको असर सर्टटर्ममा हुन्छ, सोमबार बजार खुलेपछि केही तलमाथि हुन सक्छ तर लामो समयसम्म यसको असर परिरहने भन्ने हुँदैन,’उनले भने । अबको एक डेढ महिनापछि बजारको उकालो यात्रा सुरु हुने लगानीकर्ता बस्यालको भनाइ छ । यस अवधिमा बजार घटेपनि १ हजार ७ सय अंकसम्म मात्रै झर्ने उनको दाबी छ । एक दुइ हप्ता बजार घटबढ मात्रै भइरहने उनले बताए । ‘एक/डेढ महिनापछि बजारले लय लिन्छ, बैंकहरुको वित्तीय विवरण राम्रो आएको छैन भनेर सर्टटम रियाक्सन गर्ने आफ्नो ठाउँमा छ, आउने हप्ता नेप्से तल आउने मोटामोटी अनुमान छ, तल नै आयो भनेपनि धेरै अंकले तल आउने ठाउँ देख्दिन, कहिले तल कहिले माथि गर्दै एक डेढ महिनामा एक/डेढ सय अंक तल भयो भनेपनि यसलाई धेरै ठूलो सरप्राइज मान्नु पर्दैन, त्यति नै अंकमा बजार सम्हालिने मेरो अपेक्षा छ, तल आयो भने १७००/१७५० अंकभन्दा तल आउँदैन,’ उनले भने, ‘उच्च ब्याजदर बजारले पचाइसक्यो, बेस रेट बढ्यो भन्दैमा कर्जाको ब्याजदर बढाउने क्षमता बैंकहरुको छैन किनभने बजारमा कर्जाको माग नै छैन, पुराना ऋणीहरुलाई महँगो ब्याज तिर्नुपर्ने बाध्यता भएपनि नयाँ कर्जा लिएर नयाँ बिजनेश गर्छु भन्नेले यो महँगो कर्जा तिर्न सक्दैन, कर्जाको माग नभएपछि बैंकहरुले निक्षेपमा मात्रै बढी ब्याज दिन सक्दैनन्, निक्षेपको रेट घटेपछि बजार बढेको इतिहास नै छ ।’ यसअघि १८ सय अंकबाट सेयर बजार घटेर ११ सय अंकमा झर्दा र अहिले ३२ सय अंकबाट घटेर १८ सय अंकमा झर्दाको अवस्था एउटै छ । ११ सय अंकमा झर्ने बेलामा केही लगानीकर्ताहरुले बजार घटेर ९ सय अंकमा पुग्ने बताएका थिए । तर, बजार घट्न मानेको थिएन । ११ सय अंकबाट नै बजार बढेर ३२ सय अंकमा पुगेको लगानीकर्ता छोटेलाल रौनियारको बुझाइ छ । अहिले पनि सेयर बजार ३२२७ अंकबाट घटेर १८ सयसम्म झरेकाले लगानीकर्ताहरु सेयर बिक्री गर्न नमानेर बजार घट्न नमानेको उनले बताए । अहिलेको अवस्था भनेको पनि १८ सय अंकबाट घटेर ११ सयमा झरेको जस्तै रहेको उनको भनाइ छ । ‘५ वर्ष अघि १८६० अंकमा पुगेको सेयर बजार घटेर ११ सय अंकमा झरेको थियो, त्यो बेलामा पनि ब्याजदर बढेर १६/१७ प्रतिशत पुगेको थियो, १८ सय अंकमा पुग्दा मास साइकोलोजी बलियो थियो, त्यसपछि बैंकहरुको ब्याजदर बढेपछि बजार घटेको हो, बजार घटेर ११ सय अंकमा झरेको थियो तर त्यो बेलामा लगानीकर्ताले सेयर बिक्री मानेका थिएनन्,’ लगानीकर्ता रौनियारले स्मरण गर्दै भने, ‘त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुन्थ्यो, सेयर बजार ९ सय अंकमा झर्छ भनेर केही लगानीकर्ताले भन्थे,उनीहरुले महँगोमा सेयर बिक्री गरेर बजार घटाएर आम लगानीकर्ताको पैसा लुट्न खोजेका थिए तर बजार घट्न मानेन, धेरै लगानीकर्ता सेयर बिक्री गरेनन्, ११ सय अंकमा आएर ३२ सय अंकमा पुगेको हो ।’
देशभर छठ पर्वको रौनक (फोटोफिचर)
काठमाडौं । हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाउने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिई मनाइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो । छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाइ तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको छ । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेका छन् । तराईका जिल्लामा हिन्दू धर्ममा वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रुपले पूजा गरिन्छ । छठ पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने कुरा सबैभन्दा विशेष र महत्वपूर्ण हुने गरेको छ । आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाले व्रत लिने गरेका छन् ।
दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले दियो पीडितलाई १६ लाख क्षतिपूर्ति
खलङ्गा । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ‘सडक निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको छ’, उनले भने, ‘नगद रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ ।’ छठ पर्वका कारण आज बैंक बन्द भएकाले सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने प्रजिअ उपाध्यायले बताए । ‘हाललाई नगद रकम मृतक बालकको बुबा हिक्मत महराको जिम्मा लगाइएको छ’, उनले भने । दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरुका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको हो । ‘हामी महाकाली किनार हुँदै घर फर्किदै थियौँ, एक्कासी ढुङ्गाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो’, मृतक बालकका बुबा हिक्मतले भने, ‘घटनामा छोरी सरिना पनि घाइते भएकी छिन ।’ उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक बालकका बुबा हिक्मतका अनुसार गए राति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो । भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो । छलफलमा ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी, वडा नम्बर २ का वडाध्यक्ष धीरन बुढाथोकीलगाययत जनप्रतिनिधि सहभागी रहेको हिक्मतले जानकारी दिए । ‘उपलब्ध रकम अरु सन्तानलाई पढाउन खर्च गर्छु,’ उनले भने । घटनापछि भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो । महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गाले लागेर बालक महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो । मृतक बालक महरा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । महरा परिवार दसैँ तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरु गाउँ फर्किँदै थिए । भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । त्यसका लागि बेला बेलामा उनीहरुले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । ‘यस्तो अवस्थामा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ’, प्रजिअ उपाध्यायले भने । तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उपाध्यायले बताए । रासस
शनिबार पर्वत पुगे दुई हजारबढी पर्यटक
तनहुँ । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । ‘एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन’, समूहका एक सदस्य दीपेश पौडेलले भने, ‘त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौँ ।’ उनले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताए । त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै थिए । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उनले बताए । पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् । तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताए । ‘कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम छन्,’ उनले भने, ‘धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कने यसरी बजार प्रवद्र्धन हुँदैन ।’ शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति पाँच सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताए । ‘म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो’, उनले भने, ‘रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।’ रासस
दक्षिण कोरिया : भागदौडमा मृत्यु हुनेमध्ये ५० जनाको हृदयघात भएको आशङ्का
सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । स्थानीय प्रसारक वाईटीएनका अनुसार सियोलको रात्रिकालिन पर्यटकीय गन्तब्य इटेवोनमा रहेको एक बारमा एक अज्ञात सेलेब्रिटीको कार्यक्रम हेर्न ठूलो सङ्ख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो । योनहाप समाचार संस्थाका अनुसार स्थानीय समयअनुसार राति ११ः३० बजे हेलोवीन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो । श्वास प्रश्वासमा समस्या भएका ८१ जनालाई उद्धार गरिएको अग्निनियन्त्रक अधिकारीले सरकारलाई दिएको एक रिपोर्टमा उल्लेख गरिएको छ । उद्धारकर्मीलाई ‘कार्डियोपल्मोनरी’ उपचारका लागि तत्काल घटनास्थलमा पठाइएको सञ्चारमाध्यमहरूले बताएका छन् ।