ओम्नी ग्रुपको ‘ओम्नी प्राइभेट’ को आम्दानी वर्षेनी खस्किँदै, ३ अर्ब ६७ करोड ऋण लिने
काठमाडौं । ओम्नी ग्रुप अन्तर्गतको ओम्नी प्राइभेट लिमिटेडको व्यापार नियमित खस्किँदै गएको छ । कम्पनीको चार वर्षको अवधिमा आम्दानी र व्यापार नियमित खस्किँदै गएको हो । कम्पनीले सन् २०२२ मा ३२ करोड ५० लाख रुपैयाँ (अपरिस्कृत) व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ३३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२० मा ३७ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो । यस कम्पनीको सन् २०२१ को तुलनामा २०२२ मा १.५१ प्रतिशतले घटेको छ भने सन् २०२० को तुलनामा १३.३३ प्रतिशतले व्यापार घटेकाे देखिएको छ । यस्तै, यस कम्पनीले २०१९ मा ४४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सो वर्षको तुलनामा सन् २०२२ मा व्यापार २६.८० प्रतिशतले घटेको हो । ओम्नी प्राइभेट हायर पर्चेज कर्जा उपलब्ध गराउने कम्पनी हो । यो कम्पनी नेपाल राष्ट्र बैंकको नीति नियम भित्र रहेर काम गर्दै आएको छ । कम्पनीले भारतबेञ्ज ब्राण्डका सवारी साधनहरु बिक्री वितरण गर्दै आएको छ । यो सँगै कम्पनीले एपोलो टायर, स्वराज ट्याक्टर पनि बिक्री वितरण गर्दै आएको छ । कम्पनीको मुख्य कार्यालय विरगञ्जमा छ । कम्पनीमा तीन जनाको सेयर स्वामित्व छ जसमाा आत्मराम काब्राको ४५ प्रतिशत, नारायण काब्राको ४५ र सन्दिप कुमार महताको १० प्रतिशत सेयर रहेकाे छ । कम्पनीले ३ अर्ब ६७ करोड १० लाख रुपैयाँ ऋण सुविधाका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । कम्पनीले एल डबल बीको रेटिङ पाएको छ ।
पक्की सडकमा नागरिकको पहुँच बढाइने
काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको पार्टीको सङ्कल्प पत्रमा राष्ट्रिय पूर्वाधार रणनीतिमा आयोजनाको पहिचान, प्राथमिकीकरण, पाइपलाइन, लगानीका वित्तीय उपकरणको यथोचित प्रयोग, संस्थागत संरचना, निगरानी तथा मूल्याङ्कनजस्ता विषयलाई समेटिएको छ । पूर्वाधार विकास बैंकलाई पूर्वाधार आयोजनाको वित्तीय व्यवस्थापनका लागि नोडल एजेन्सीका रुपमा विकास गरिने पार्टीले प्रतिबद्धता जनाएको छ । पूर्वाधार बन्डमार्फत सडक, ऊर्जा र विमानस्थलजस्ता परियोजनाका लागि पुँजी जुटाइने प्रतिबद्धता उल्लेख छ । आम नेपाली, गैरआवासीय नेपाली, संस्थागत लगानीकर्ता तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रोत्साहन एवं सहुलियत दिइने भएको छ । सञ्चालन तथा व्यवस्थापनमा सार्वजनिक निजी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याई ‘भायविलिटी ग्याप’ पूर्ति गर्न ठोस नीतिगत व्यवस्था गरिने सङ्कल्प पत्रमा उल्लेख छ । निर्माण परियोजनामा २४ घण्टालाई तीन चरण आठ–आठ–आठमा विभाजन गरी पूर्वाधारका काम समयमै सक्न पहल गरिने भएको छ । ठूला पूर्वाधारका काममा ढिलाइ भइरहेका बेला यस्तो नीति कर्यान्वयनमा ल्याउन सकिए समयमै काम सकिने विश्वास लिइएको छ । सुरक्षित घरमा बसोबास गर्ने परिवारको सङ्ख्या ५५ प्रतिशत पुर्याइने गतिशील घना बस्तीलाई आधुनिक वा सुविधा सम्पन्न भूकम्प प्रतिरोधी बस्तीका रुपमा विकास गर्ने लक्ष्य पनि कांग्रेसको छ । विपद्बाट सुरक्षित घरमा बसोबास गर्ने परिवारको सङ्ख्या ५५ प्रतिशत पु¥याइने लक्ष्य लिइएको छ । मेची–काली रेलमार्ग निर्माणलाई उच्च प्राथमिकता दिँदै आवश्यक जग्गा अधिग्रहण गर्ने तथा अधिग्रहण गरिएको जग्गाको समयमै उचित मुआब्जा दिएर कामलाई तीव्रता दिइनेछ । काठमाडौँ जोड्ने अन्तरदेशीय रेलमार्गको निर्माणका लागि विस्तृत अध्ययनपछि आर्थिक, पर्यावरणीय र प्राविधिक सम्भाव्यताका आधारमा काम अघि बढाइने भएको छ । विराटनगर र नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न पहल गरिने भएको छ । हुलाकी, मध्य पहाडी र उत्तर–दक्षिण करिडोर–विराटनगर–किमाथाङ्का, त्रिवेणी–कोरोला र नेपालगञ्ज–हिल्सालगायत सडक आयोजना सम्पन्न गर्दै पूर्वपश्चिम राजमार्गलाई जोड्ने मुख्य सहरी क्षेत्रमा छ लेनमा सडक स्तरोन्नति पहल गरिने भएको छ । पूर्व–पश्चिम राजमार्गको कोसी, नारायणी, तिनाउ–कर्णालीलगायत ठूला राजमार्गका नदीमा थप पुल निर्माण गर्न र नदी किनाराका तटबन्धलाई सम्भव भएका ठाउँमा वैकल्पिक सडकका रुपमा विकास गर्न जोड दिइने भएको छ । सडक पूर्वाधारलाई अझ बढी प्रभावकारी बनाउन सुरुङ मार्ग र नदी तथा गहिरा खोँचमा बढी लामो र विशिष्ट प्रकारका पुल बनाउन पहल गरिने कांग्रेसको प्रतिबद्धता छ । सम्भाव्यता र उपादेयता भएका ठाउँमा यातायात एवं पयर्टनका लागि केबलकार निर्माण गर्न प्रोत्साहन गर्ने नीति लिइएको सङ्कल्प पत्रमा उल्लेख छ । सहरी क्षेत्रमा ठूलाठूला सार्वजनिक यातायातका साधन तथा प्रविधि मास ट्रान्जिट प्रवद्र्धनका लागि पहल गरिने भएको छ । काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सङ्घीय सरकार र सबै स्थानीय तहको एक संयुक्त संयन्त्र स्थापना गरी यातायात प्राधिकरणमार्फत सुलभ र सुरक्षित यातायात सुविधा उपलब्ध गराउन जोड दिइने छ । ‘प्रत्येक घरमा बिजुली, प्रत्येक घरमा पक्की छाना’ भन्ने नाराका साथ गरिब तथा विपन्न वर्गका परिवारका लागि सुरक्षित आवासको व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ । मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्गका नयाँ सहरलाई आधुनिक सेवा र सुविधासम्पन्न बनाइने भएको छ । पुराना र सरकारी तथा निजी भवनलाई प्रवलीकरण गरी भूकम्प प्रतिरोधी बनानन कदम चालिने भएको छ । स्थानीय सरकारलाई सरकारी र निजी आवास निमाण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड लागू गराउन जोड दिइनेछ । तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत डुबानमा पर्ने दलित तथा पिछडिएको समुदायलाई सुरक्षित आवासको कार्यक्रम सञ्चालन गर्न पहल गरिने सङ्कल्प पत्रमा उल्लेख छ । सडक दुर्घटना न्यूनीकरण गर्न सबै सडकमा योजना, डिजाइन र निर्माण गर्दा नै पैदलयात्री मैत्री मार्ग, आकाशे पुल, अपाङ्गमैत्री बस बिसौनीजस्ता पूर्वाधार निर्माण तथा सम्वद्र्धन गर्ने परिपाटीलाई व्यापक सुधार गरिनेछ । पुँजीगत खर्च बढाउन र प्राविधिक जनशक्ति क्षमता बढाउनका लागि इञ्जिनीयरिङ स्टाफ कलेजको व्यवस्था गर्न जोड दिइने भएको छ । निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याइने जनाइएको छ । निर्माणका काममा आउने बाधा अड्चन हटाउनका लागि आवश्यक नीतिगत तथा कानूनी प्रबन्ध गरिने प्रतिबद्धता कांग्रेसले गरेको छ । रासस
५१ जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ जिल्लामा सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ । यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाई सकिएको छ । यद्यपी ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ । आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ ।
जिल्ला अस्पताल सुनसरीकाे आम्दानी मासिक ५० लाख
सुनसरी । कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ । लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरुको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभुति गर्न पाएका छन् । स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणा समेत बदलिएको छ । अस्पतालको सेवाप्रति विश्वास जगाएको छ । जसको पछाडी एक जिद्दी डाक्टरको भुमिका अहम रहेको स्थानीयहरु बताउँछन् । नाम बदनाम अनि गुमनाम बन्न पुगेको अवस्थाबीच कार्यक्षेत्र रोजेर आएका डाक्टर देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पताल कायापलट भएको हो । डाक्टर घिमिरेको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउँछन्, सञ्चारकर्मी राजेन्द्र पोखरेल । उनले डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरावस्था यतिबेला पनि रहीरहने बताए । उनले स्थानीयहरु अहिले व्यापक भ्रष्टाचारको ठाउँमा उपचार पाएसँगै खुशी भएको बताए । त्यस्तै सामाजिक अभियन्ता विनिता दाहालको अनुभव पनि सञ्चारकर्मी पोखरेलको भन्दा फरक छैन । उहाँ मानिसले गर्न चाहेको खण्डमा असम्भव नहुने बताउँछन् । अस्पतालमा बिरामीको चाप बढ्दै जानुमा अस्पताल सुविधा सम्पन्न हुँदै जानु र चिकित्सकको पर्याप्तता, सरल र सहज सेवा प्रवाह प्रमुख कारकका रुपमा हेरिएको छ । कुनै सयम औषधि खरिद लगायता प्रशासनिक खर्च अपार्दर्शीता जस्ता आर्थिक अनियमिततामा रुमल्लिएको अस्पतालले यतिबेला मासिक ५० लाख बढी आम्दानी गरिरहेको छ । प्राथमिक उपचार गराउनसमेत बिरामीहरु जान नचाहने अस्पतालले यतिबेला इको, इसीजी, इन्डोस्कोपी, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक रोग तथा दाँतको विशेषज्ञ सेवा लिनको लागि इनरुवा अस्पताल पुग्ने गरेका छन् । जसले अस्पताल प्रतिको विश्वसनियता दर्शाएको सहजै अनुभुति गर्न सकिन्छ । जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरे जिद्दी डाक्टरको रुपमा आफू चिनिए पनि आफूले स्वास्थ्य सेवा नागरिकले पाउनका लागि २४ सै घण्टा अस्पताल खुल्नुपर्ने माग गर्दै आएको बताए । उनले सबै उपचार अस्पतालमा नै हुनुपर्छ र नागरिकले सहज उपचार पाउनुपर्छ भन्नेकुरामा जिद्दी रहेको बताए । सदरमुकाममा रहेको जिल्ला अस्पतालमा इनरुवावासी र जिल्लाका कोशी, हरिनगर, गढी, देवानगञ्ज, रामधुनी लगायतका क्षेत्रबाट बिरामीहरु उपचार गराउन आउने गरेका छन् । अस्पतालले ब्लड बैंकसमेत सञ्चालनमा ल्याउन लागेको डाक्टर घिमिरेले जानकारी दिए ।
छठका लागि जनकपुरमा मात्रै ३ करोडको भारतीय केरा भित्रियो
धनुषा । छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले माग धान्न सक्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै अघ्र्य रूपमा भगवानलाई चढाउने परम्परा छ । त्यसैले यस पर्वमा केराको माग उच्च हुन्छ । स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले बताए । छठका लागि मधेस प्रदेशका राजधानी जनकपुरधाममा मात्र तीन करोड बराबरको केरा आयात भएको छ । अध्यक्ष यादवले अघिल्लो वर्ष झण्डै पौने दुई करोड बढीको केरा जनकपुर भित्र्याइएको बताए । ‘यसवर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्,’ उनले भने । जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भन्टावारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्ला वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महङ्गिएको पूर्वेले बताए । पुर्वेले भने, ‘छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएको हुँदा केराको माग बढेको छ । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रक जति केरा मगाइएको छ ।’ फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा १२ सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारभन्दा बढी मूल्यमा बिक्री गरिन्छ । नेपालको हरेक क्षेत्रमा परम्परागत रूपमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनको लागि तराई मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । चाडपर्वको समयमा भारतकै भर पर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन हुँदै आएका छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याले गर्दा कृषकले उत्पादन बढाउन नसकेको व्यवसायीको भनाइ छ । उता भारतबाट आउने केराको मूल्य सस्तो पर्छ । भारतले किसानको लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ । रासस
अमेरिकामा कोरोनाको उपचारमा रंगभेदः कालाहरूलाई गोराको तुलनामा कम औषधि
एजेन्सी । अमेरिकामा कोरोनासँग सम्बन्धित सरकारी तथ्याङ्कले नयाँ कथा सुनाइरहेका छन् । अमेरिकामा काला, शिया र अल्पसंख्यकहरू कोरोना संक्रमणको उपचार र मृत्युको उच्च जोखिममा परेका छन्। वास्तवमा, युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) द्वारा हालै प्रकाशित रिपोर्टले काला र हिस्पैनिक मानिसहरूलाई फाइजरको प्याक्सलोविड र अन्य कोविड औषधिहरू उपचारको लागि कम उपलब्ध गराएको खुलासा गरेको छ। कालो, हिस्पैनिक, एशियाई बिरामीहरू विरुद्ध भेदभाव गोराहरूको तुलनामा कालाहरूलाई ३६ प्रतिशत कम औषधि उपलब्ध गराइएको देखिन्छ । एकै समयमा, हिस्पैनिक बिरामीहरूलाई गैर(हिस्पानिक बिरामीहरूको तुलनामा ३० प्रतिशत कम एन्टिभाइरल चक्की दिइयो। एसियालीहरूलाई गोराहरूको तुलनामा करिब १९ प्रतिशत कम औषधि दिइएको थियो। तीनमध्ये एक जना सेतो बिरामीलाई प्याक्सलोभिड दिइयो। तुलनात्मक रूपमा, कालो र हिस्पानिक बिरामीहरूमा पाँचमध्ये एक र एसियाली र अमेरिकी भारतीय बिरामीहरूमा एक जनालाई प्याक्सलोभिड सिफारिस गरिएको थियो। कालाहरुको गोराको तुलनामा दोब्बर संख्यामा मृत्यु अमेरिकामा अन्य उपचार विधिहरूमा पनि असमानताहरू देखिएका छन् । यसमा मोलानुपिराभिर, रेमडेसिभिर र बेबेटालोविमाब समावेश छन्, जुन थोरै संख्यामा कालाहरूका लागि उपलब्ध भएका छन्। यद्यपि यस अध्ययनमा असमानताका कारणहरू प्रत्यक्ष रूपमा मूल्याङ्कन गरिएको थिएन । अनुसन्धानकर्ताहरूले उपचार सुविधाहरूमा असमानता भएका दाबी गरेका छन् । यति मात्र होइन अस्पताल भर्ना वा उपचार सुरु गर्दा अधिकांश अवस्थामा अश्वेतहरूलाई भेदभाव गर्ने गरिन्छ । जसका कारण अमेरिकामा कालाहरूको मृत्यु गोराको तुलनामा दोब्बर हुने गरेको छ । कोभिड खोपको सन्दर्भमा जातीय असमानतामा सुधार कोभिड खोपको दरमा भने जातीय असमानता सुधार भएको देखिएको छ । तर अश्वेत जनसंख्याको आधा भन्दा कम ४४ प्रतिशतले खोपको सबै खुराकहरू पूरा गरेका छन्, यो राष्ट्रिय औसतमा ६८ प्रतिशत र जातीय समूहको राष्ट्रिय औसतभन्दा पनि कम हो । भास्कर दैनिकबाट ।
तिहारपछि प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
नवलपरासीपूर्वको मथार बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो
पाल्पा । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकी फूलमाया माझी छन् । त्यसैगरी दुर्घटनामा घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर–४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा – १ का अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन् । त्यसैगरी स्याङजा बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा –१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ । रासस