चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ
मेलम्ची । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउँछन् । बिहानभरी चाउमिन पु¥याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो पुँजीमा सुरु गरेको उनको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध छन् । कक्षा १० सम्मको अध्ययन पूरा गरेका २६ वर्षिय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा दुई वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गरे । त्यही उद्योगमा सिकेको सीपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उनको भनाइ छ । ‘धेरै समय बेरोजगार भएपछि बुबाआमासँग सल्लाह गरेँ, उहाँहरु मेरो योजनामा सहमत हुनुभयो’, तामाङले भने, ‘हाल बिबेक नुडल्समा उत्पादन भएको चाउमिनले बजारबाट राम्रो प्रतिक्रिया पाएको छ, यसले असाध्यै खुसी दिएको छ ।’ कम्पनीबाट उत्पादन भएको चाउमिन इन्द्रावती गाउँपालिकाका १२ वटा वडा र मेलम्ची नगरपालिकासम्म पुग्ने उनको भनाइ छ । ‘हातमा सीप र जोखिम लिने क्षमता भयो भने सानो पुँजीमा पनि गाउँमै स्वरोजगार बन्न सकिन्छ’, तामाङले भने, ‘त्यसैले विदेश जानुलाई मात्रै विकल्प सोच्नु हुँदैन ।’
मतदाता शिक्षाका लागि रसुवामा महिला स्वयंसेविकालाई परिचालन गरिँदै
रसुवा । जिल्ला निर्वाचन कार्यालय रसुवाले आसन्न निर्वाचनको मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गर्ने भएको छ । यसका लागि कार्यालयले उनीहरुलाई आजदेखि प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जिल्लाका पाँचवटै गाउँपालिकाका २७ वडाका महिला स्वयंसेविका मार्फत् मतदाता शिक्षा प्रदान गर्न लागिएको जानकारी दिए । पहिलो चरणमा सम्बन्धित गाउँपालिकाको तोकिएको अधिकृतलाई प्रशिक्षण दिई प्रशिक्षक तयार गरिने र उनीहरुमार्फत् महिला स्वयंसेविकालाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ । सत्ताइस वडामा परिचालन हुने ती महिला स्वयमंसेविकाले प्रत्येक गाउँ टोलमा पुगी मतदानको महत्व, मतपत्रको सदुपयोगजस्ता विषयमा मतदातालाई जानकारी दिनेछन् । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य दुई रहेको जिल्लामा ३९ हजार चार सय ५९ मतदाता छन् । मतदानका लागि ५२ केन्द्र तय भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस
चितवनमा यस वर्ष धान उत्पादन बढ्ने
चितवन । चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान गरिएको बताए । ‘सरकारले समयमा रासायनिक मल दिन नसके पनि किसानहरुले भारतसँगको खुला सिमानाका कारण विभिन्न माध्यामबाट मल ल्याए’, उनले भने, ‘हाम्रो स्थलगत निरीक्षणमा पनि उत्पादन राम्रो देखिएको छ’ । चितवनमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्छ । चितवनलाई धान उत्पादनको भण्डार मानिन्छ । यहाँका अधिकांश किसानले यस वर्ष सावित्री, राम धान वार र सावा धान लगाएका छन् । चितवनको इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धानको उत्पादन राम्रो छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुनेमा पर्छन् । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुँदै आएको छ । यस्तै माडी क्षेत्रमा पनि धान उत्पादन राम्रो हुने गरेको छ । चितवनमा यस वर्ष मात्रै एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत् सिँचाइ उपलब्ध गराइएको थियो । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो । आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा सिँचाइका लागि ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान गरिएको छ । यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध भएको उनले बताए । चितवनमा ३० हजार पाँच सय हेक्टरमा धान खेती गरिएको छ । जसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खे धान र सात हजार पाँच सय ७३ हेक्टरमा चैते धान लगाउने गरिएको छ । चैते धान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ । पश्चिम चितवनको चनौलीका किसान सोमप्रसाद चालिसेले यस वर्ष समयमै मल नपाए पनि राम्रो धान फलेको बताए । उनले एक विघा क्षेत्रफलमा फलेको धान दुई दिन लगाएर काटिसक्नु भएको छ भने अब धान उठाउने र थ्रेसर लगाउने तयारीमा छन् । भरतपुर महानगरपालिका ११ का किसान गंगाप्रसाद आचार्यले गत वर्षभन्दा यस वर्ष खेतमा राम्रो धान फलेको बताए । उनले आइतबार मात्रै आफ्नो सात कठ्ठा जमिनको धानमा थ्रेसर लगाए । ‘गत वर्ष १८ बोरा धान भित्राएको थिएँ, यसबर्ष २२ बोरा धान उत्पादन भएको छ’, उनले भने । रासस
भैरहवादेखि तनहुँसम्म साइकल यात्रा
भैरहवा । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भैरहवाबाट सुरु भएको साइकलयात्राको टोली तनहुँ आइपुगेको छ । साइकल सिटी भैरहवाको आयोजनामा शुक्रबारदेखि सुरु भएको साइकलयात्राको टोली आइतबार तनहुँ आइपुगेको हो । उक्त टोलीलाई शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले बिदाइ गरेका थिए । साइकलयात्री तेस्रो दिन तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आइपुगेका छन् । तनहुँको भिमाद, खैरेनीटार, जामुने हुँदै टोली साँझ मानुङकोट पुगेको हो । साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित साइकलयात्रा गरिएको जानकारी दिए । ‘साइकल पर्यटनमार्फत् आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित साइकलमा यात्रा गरेका हौँ’, उनले भने, ‘हाम्रो यो यात्रा निरन्तर जारी रहन्छ ।’ गत वर्ष अर्घाखाँचीमा साइकलयात्रा गरिएको उनले बताए । उनले भने, ‘मानिसको दैनिक जीवनमा साइकल महत्वपूर्ण साधन बनेको छ, महँगिदो पेट्रोलका कारण पनि साइकल प्रयोगमा जोड दिँदै आएका छौँ । स्वास्थ्यका हिसाबले पनि साइकल प्रभावकारी छ ।’ भैरहवादेखि सुरु भएको यात्रा तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुगेर टुङ्गिनेछ । मानुङकोटसम्म पुगेर चितवन हुँदै भैरहवा फर्किने कार्यक्रम तय भएको छ । भैरहवा साइकल सिटीमा ७० जना सदस्य आबद्ध भए पनि साइकल यात्रामा १६ जना सहभागी छन् । ‘सबैजनाको अनुकूल मिलेन, कोही व्यापार व्यवसायमा छन्, कोही सरकारी जागिरमा छन्, समय मिलाएर प्रतिनिधित्वमूलक साइकलयात्रा गरेका छौँ’, उनले भने । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले साइकलयात्रीलाई स्वागत एवं सम्मान गरेका छन् । सो क्रममा व्यास नगरपालिकाका उपप्रमुद दरैले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटको प्रचारप्रसारका लागि साइकल यात्राले सहयोग पुग्ने बताए । कुहिरो र सूर्योदय अवलोकनका लागि पर्यटक मानुङकोट आउने क्रम बढेको र साइकलयात्राले यहाँको पर्यटनमा थप टेवा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए । यस्तै साइकलयात्रीलाई भिमाद नगरपालिकाले स्वागत एवं सम्मान गरेको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पर्यटन प्रवद्र्धनका लागि थालिएको प्रयासले सार्थक रुप लिने बताए । साइकलयात्रीलाई म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ पँधेरा सामुदायिक वन उपभोक्ता समूहले पनि स्वागत गरेको छ । सामुदायिक वनभित्र निर्मित रुखमाथि बनेको घर ट्रि हाउसमा साइकलयात्रीलाई स्वागत गरिएको हो । साइकलयात्री थीरेन्द्र श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि रुखमाथि बनेको घर एकदमै राम्रो रहेको प्रतिक्रिया दिए । म्याग्दे–२ का वडाध्यक्ष शिवबहादुर रानाभाट, ज्यानटाङ पँधेरा सामुदायिक वनका उपाध्यक्ष सरस्वती रानाभाटलगायतले साइकलयात्रीलाई फूलमालाले स्वागत गरेका थिए । यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुङ, आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन हुँदै ताहुँ धोबाधी, दोस्रो दिन धोबाधीबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुरसम्म यात्रा सम्पन्न भएको थियो । तेस्रो दिन भिमाद बजार हुँदै खैरेनीटार, जामुने भञ्ज्याङ, चापाघाट हुँदै मानुङकोटसम्म साइकलयात्रा गरिएको थियो । रासस
गुजरातमा १ सय ४३ वर्ष पुरानो पुल चुँडिदा १ सय ४० बढीकाे मृत्यु
एजेन्सी । भारत,गुजरातको मोरबीमा आइतबार साँझ १४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिदा १ सय ४० भन्दा धेरैको मृत्यु भएको जनाइएकाे छ। पुल चुँडिदा करिब ४ सय मानिसहरु नदीमा डुब्न पुगेका थिए । मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका र महिला रहेका छन् । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ। आइतबार साँझ ६ः३० बजे ७ सय ६५ फिट लम्बाई र ४ दशमलव ५ फिट चौडाई रहेको झोलुङ्गे पुल चुँडिदा दुर्घटना हुन पुगेको हो । २५ अक्टोबरमा सर्वसाधारणका लागि खुला गरिएको पुलमा आइतबार अत्याधिक भिड हुन पुगेको थियो । सोही अधिक भिडका कारण दुर्घटना भएको बताइएको छ । जीर्णोद्धारका लागि ६ महिना बन्द रहेको पुल गत असोज २५ गते मात्र खोलिएको थियो । यसको उद्घाटन २० फेब्रुअरी १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टेम्पलले गरेका थिए।
घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए । घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
कैलाली बाढीको असर : स्थानीय तरकारी पाउनै मुस्किल
कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो । उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन । किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दशैं तिहारमा यहाँका उपभोक्ताले अहिलेसम्मकै महँगो तरकारी किन्नुपर्यो । कैलालीका बजारमा यो समयमा स्थानीय बारीमा उत्पादन भएको साग, काउली, मूला, धनिया, टमाटर, बोडी, फर्सी, लौकालगायतका तरकारी सहजै पाइन्थे तर यस वर्ष यी सबै जातका तरकारी यहाँका ब्यापारीले भारत तथा अन्य जिल्लाबाट आयात गर्ने गरेका छन् । यसले बजार निकै महँगो भएको उपभोक्ता हरि विकले बताए । ‘यस वर्ष चाडपर्वमा मासुभन्दा तरकारी महँगो भयो, चाडपर्वमा बढी तरकारी खपत हुने गर्छ । प्रतिकिलो १०० रुपैयाँ मुनि कुनै तरकारी पाइएन, गत वर्ष यो बेला साग २०/३० रुपैयाँ मा पाइन्थ्यो । यस वर्ष खान सकिएन ।’ टीकापुर बजारमा अहिले तरकारीको बजार मूल्य यस वर्षकै महँगो अवस्थामा पुगेको छ । चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक बढेको उपभोक्ताको गुनासो छ । बजारमा अहिले काउली, साग, खुर्सानी, टमाटर, मूला, च्याउलगायतका तरकारीको मूल्य उच्च छ । प्रतिकिलो १०० रुपैयाँ माथि नै छ । तरकारीको सिजन लाग्दै गर्दा र स्थानीय उत्पादन हुने बेलामा पनि बजारमा तरकारीको मूल्य अधिक नै छ । ‘तिहारका समयमा खोजेको सबै तरकारी पाउन सकिएन, काउली प्रतिकिलो १५० रुपैयाँमा किनियो, प्याज पनि प्रतिकिलो १४० रुपैयाँमा किन्यौँ, अन्य तरकारी पनि यस्तै महँगो खानुपर्यो’, उपभोक्ता कमला न्यौपानेले भने, ‘बजारमा महँगो भएपछि हामी निकै मर्कामा परेका छौँ । सिजनल तरकारी पनि निकै महँगोमा खानुपरेको छ ।’ चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक रहेको स्थानीय उपभोक्ता अमित चौधरीले बताए । ‘तरकारी छोइसक्नु छैन, यति महँगो तरकारी अहिलेसम्म खाएको थिएन’, उनी भन्छन्, ‘हामीजस्ता सधैँ किनेर खानेलाई यो महँगीले हैरान बनायो ।’ बजारमा अहिले सिजनल सबैजसो तरकारी पाइन्छ तर यहाँको उत्पादन भने न्यून रहेको छ । प्रायः सबै तरकारी पहाडी क्षेत्रसँगै भारतीय उत्पादन रहेका छन् । स्थानीयस्तरमा उत्पादन नहुदा अहिले यस क्षेत्रका उपभोक्ता महँगीको मारमा परेका अर्का उपभोक्ता उमा टमट्टाको भनाइ छ । ‘यहाँ बाढी नआएको भए यतिखेर स्थानीय तरकारी खान पाइन्थ्यो, स्थानीय तरकारी आएको भए सस्तो पाइन्थ्यो’, उनले भने, ‘स्थानीय साग बजारमा आउन थालिसकेको थियो, बाढीले सबै नष्ट गर्यो, बाढी आएपछि साग खान पाइएको छैन ।’ तरकारी रोप्ने सिजनमा अनाधिकृत वर्षाले रोपेको तरकारी बाली नष्ट तथा रोप्नमा ढिलाइ भएकाले अहिले बजारमा तरकारीको मूल्य अधिक बढेको तरकारी व्यवसायीको भनाइ छ । स्थानीय बजारमा पाइने तरकारीको मूल्य हेर्दा अहिलेसम्मकै उच्च छ । अहिले बजारमा सिजलन तरकारीको समेत मूल्य उच्च भएको तरकारी व्यापारी शिला चौधरीले बताए । ‘बजारमा पाइने प्रायः तरकारी अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता छ । बाहिरबाट ल्याउँदा हामीलाई नै महँगो पर्छ’, उनी भन्छन्, ‘यही उत्पादन भएको तरकारी बजारमा आएमात्रै सस्तोमा खान पाइन्छ ।’ असोज १ गते र २३ गते आएको बाढीले तरकारी खेती गर्ने किसानको धेरै क्षति भएको छ । तरकारीका बेर्ना र खेती गरेका किसानको बाली नोक्सान भएको छ । बाली नोक्सानपछि तरकारी किसानले यतिबेला फेरि तरकारी रोप्न थालेका छन् । बजारमा स्थानीय उत्पादित तरकारी आउन अझै एक महिना लाग्ने किसान बताउँछन् । रासस
प्रसूति सेवा हुनु त यस्तो पो
चितवन । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् । बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ । प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ । प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ । अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन् । तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन् । सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमितरुपमा दुई तीन जना हुने गर्दछन् । उनको भनाइमा प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ । उनले भने, ‘२०–२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो ।’ विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन् । निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए । निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास गरिन्छ । उनले भने, ‘यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन ।’ निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा एक हजार रुपैयाँ समेत दिईन्छ । अस्पतालको यो विभागमा एक सय ४७ शय्या छन् । यसका अतिरिक्त क्याबिन रहेका छन् । प्रसूतिका लागि आएकालाई चार शय्याको भर्ना, १५ शय्याको वेटिङ पर्खाइ, नौ शय्याको एक्टिभ सक्रिय र तीन शय्याको लेवर रुम रहेका छन् । यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोष्टनल र २३ शय्याको पोष्टअप रहेका छन् । अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ । अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ । शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो । २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उनी बताउँछन् । भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उनले जानकारी दिए । डा सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकारे । उनले भने, ‘हामीले यो विभागलाई थप सदृढ बनाउनुपर्छ ।’ कोभिड हुन वा अन्य रोगका गर्भवतीको प्रसूति यहाँ गर्ने गरिन्छ । अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो । अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटरलगायत अन्य जीवनोपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ । बाल सघन उपचार कक्ष लेबल तीनमा एनआइसियुमा १२ शय्या र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उनले जानकारी दिए । मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिनलगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधासहितका उपचार कक्ष एस एन सि यु लेवल टु समेत सुरु गरिँदै छ । सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ । यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरु उपचारपश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पु¥याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति कङ्गारु मदर केयर पाँच शय्याको सञ्चालनमा छ । बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दो व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ चाहने गरेको बताए । सरकारले सङ्घीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ । रासस