जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली, मासिक ५० हजार आम्दानी
रामपुर । जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उनले दुई दशक अघिदेखि यो व्यवसायलाई अङ्गालेका हुन् । अहिले पनि निरन्तरता दिइराखेका छन् । ‘पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्न थाले’, उनले भने, ‘अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन् ।’ रामपुर ५ स्थित बेझाड बजारको एक कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले सटर भाडामा लिएर व्यवस्थित तरिकाले चलाएका छन् । विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन् । काम सानो ठूलो भन्ने हुँदैन, हातमा सीप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उनको अनुभव छ । बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ । व्यवसाय फष्टाउँदै जाँदा हाल दुई जनालाई रोजगार दिएका छन् । यसै व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उनको भनाइ छ । दुई जनालाई मासिक तलब, घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ बढी आम्दानी गर्न सफल भएको उनले बताए । ‘समाजले के भन्छ भनेर बसियो भने जीवनमा प्रगति गर्न सकिँदैन, आफूले जे काम जानियो त्यही काम गर्ने हो, परिवारको साथमा बसेर मैले जुत्ता चप्पल सिलाएरै राम्रो कमाई गरेको छु, यसमै म सन्तुष्टि र खुसीसाथ जीवन व्यतीत गरिरहेको छु’, उनले भने । काममा इमान्दारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन । विवाह, पार्टी, स्कुल, कलेजका जुत्ता आफैले तयार पार्छन् । दैनिकजसो ५० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन् । सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उनी गौरव गर्छन् । ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याइ छ । पुराना काम सँगसँगै आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थालेपछि व्यापार व्यवसाय बढ्दै गएको छ । नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उनको अनुभव छ । मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको तुलनामा दोब्बर बढी कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका उदाहरणीय पात्र बन्नुभएको छ, ४८ वर्षीय जयबहादुर नेपाली । व्यवसायमा यस क्षेत्रमै सफल पात्रका रुपमा कहलिएका छन् । आफूले सक्दासम्म व्यवसायलाई धान्ने उनको अठोट छ । उनको व्यवसायमा रोजगार पाउँदा वसन्त नेपाली पनि उत्साहित छन् । दुबई, मलेसिया देशमा काम गरेर घर फर्किएका वसन्तले दुई वर्ष अघिदेखि यहीँ काम गरी राखेका छन् । उनले दैनिक एक हजार रुपैयाँ भन्दा बढी रकम कमाइ गरिरहेका छन् । रासस
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न
महोत्तरी । मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका बर्तालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए । पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीरमात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ । यसपटक गत शुक्रबार कात्तिक शुक्ल त्रितीया र चौथी एकै दिन परेको थियो । बर्तालुले सोही दिन व्रत सङ्कल्प गर्दै ‘अरबाअरबाइन’ र ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । यसैगरी छठमा बर्तालुले पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने/खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार विवाहित छोरी/चेली छोरी, दिदीबहिनी, फूपू, मित/मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ । मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ छठको कोसेली भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ । केही दशकअघि मिथिला क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ । मुलुकको राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावना अझ मजबुद बन्न/बनाउन यसले मद्दत गरेको मैथिल बुद्धिजीवी बताउँछन् । रासस
पर्ख र हेरको मनस्थितिमा ज्येष्ठ नागरिक मतदाता
टङ्कीसिनवारी । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । निर्वाचनमा भाग्य अजमाएका उम्मेदवारले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टी र स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिएकाहरूले चाडपर्वको बेला पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातालाई आफ्नो पक्षमा पार्न दिनरात एक गरिरहेका छन् । तर मतदातामध्ये कतिपय ज्येष्ठ नागरिक मतदाता भने कसलाई मत खसाल्ने भन्नेबारे अझै खुल्न सकेका छैनन् । मोरङ र झापाका कतिपय ज्येष्ठ नागरिक मतदाता अझै पर्ख र हेरको मनस्थितिमा रहेका छन् । ज्येष्ठ नागरिक हर तरहबाट जाँच, पर्ख र यकिन गरी काम गर्न सक्ने उम्मेदवारको पक्षमा मत खसाल्न इच्छुक देखिएका छन् । मोरङ विराटनगर-३ अरूण मार्ग बस्ने ७९ वर्षका ज्येष्ठ नागरिक मतदाता मातृकाप्रसाद लुइँटेलले यसअघिका निर्वाचनमा भाग लिएका उम्मेदवारले विभिन्न आश्वासन बाँडे पनि जितेर गएकाले वाचा गरेअनुसारको काम नगरेको बताए । उनले यसअघि चुनाव हारेका उम्मेदवारले पनि जनताका बीचमा मुख देखाउन जरूरी नसम्झिएको बताए । विराटनगर-३ मानगढ बस्ने ७० वर्षीया विष्णुकुमारी पोखरेलले उम्मेदवारले गुलियो आश्वासन बाँड्नुभन्दा पनि आफूले गर्न सक्ने काममा मात्र मतदातालाई आश्वस्त पार्नुपर्ने बताए । उनले जितेर जानेले जनताको मन बुझेर आ-आफ्नो क्षेत्रको विकास गर्नु पर्ने बताए । यद्यपि पोखरेलले पनि मत कसलाई दिने भनेर अझै निर्क्यौल गरिनसकेको बताए । विराटनगरस्थित ज्येष्ठ नागरिक हातेमालो समाजका संस्थापक अध्यक्ष बताउने ८२ वर्षीय खेन्द्रबहादुर बस्नेतले नेताले जनताको मन जित्ने गरी कमै काम गरेको भन्दै आक्रोश पोखे । उनले मङ्सिर ४ गतेको निर्वाचनमा उत्साहका साथ भाग लिने भए पनि हालसम्म कसलाई मत खसाल्ने भनेर निक्र्यौल गरिनसकेको बताए । बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका उम्मेदवारको विचार बुझ्ने र जसको ठीक लाग्छ उसैलाई मत दिने बताए । बुढीगङ्गा गाउँपालिका-२ बस्ने ७१ वर्षीय माधवप्रसाद उपाध्याय काफ्लेले मतदानका लागि योग्य नागरिकले आफ्नो मताधिकारको प्रयोग अनिवार्यरूपले गर्नुपर्ने बताए । निर्वाचनलाई पनि दशैं तिहार झैँ पर्वका रूपमा शान्तिपूर्वक मनाउनु पर्ने उनको भनाइ थियो । काफ्लेले प्रायः पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो घरमा मत माग्दै आए पनि कसलाई दिने भनेर अझै ठोस निर्णय गर्न बाँकी रहेको बताए । झापा जिल्लाको दमक-८ बस्ने ६७ वर्षीय व्यवसायी एवं ज्येष्ठ नागरिक कुलप्रसाद बाराकोटीले नेताका लागि सबै कुरा पुगेको तर जनताका लागि सबै कुरा पुग्न अझै बाँकी रहेको बताए । बाराकोटीले प्रतिनिधिसभा र प्रदेशसभामा जनताको आवाज प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारलाई मत हाल्ने बताए । जनताको पक्षमा विकासको मूल फुटाउन सक्ने, सामाजिक सुरक्षा भत्ता वृद्धितर्फ ध्यान दिने, कानून व्यवस्थालाई कसिलो बनाउन पहल गर्ने, महिला सशक्तीकरणको पक्षमा काम गर्न सक्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समस्या बुलन्द रूपमा उठान गर्न सक्ने उम्मेदवारलाई मत हाल्ने इच्छा देखाए पनि कुन उम्मेदवारलाई मत हाल्ने भन्ने बारेमा अहिले नै मुख खोल्न छिटो हुने अधिकांश ज्येष्ठ नागरिकको ठहर छ । रासस
भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते
भक्तपुर । जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका-५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । एकतर्फी रुपमा जगातीबाट काठमाडौं जाँदै गरेको बा६च ८८५८ नंको कार, बा५५प९९२२ नं मोटरसाइकल र बा४ख५७९६नंको बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका-६ खोपाचागु घर भई हाल काठमाडौं बौद्ध बस्ने ६ वर्षीय आर्जन शेर्पाको आज नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक मृतक बालकका पिता ४९ वर्षीय ढावा शेर्पाको भने भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले दुर्घटना भएका तीन वटै सवारीसधान र बस चालक दोलखा भिमेश्वर नगरपालिका-४ जिलु बस्ने २६ वर्षीय भरत चौलागाई र कार चालक भक्तपुर नगरपालिका-२ इताछे बस्ने २६ वर्षीया रिया कायस्थलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरीका अनुसार एक पैदल यात्रुले अचानक बाटो काटेपछि अगाडि रहेको कारले ब्रके लगाउँदा पछाडि रहेको मोटरसाइकल कारमा ठोक्किएर लडेको र पछाडि आइरहेको बसले मोटरसाइकलमा सवार यात्रुलाई ठक्कर दिएको हो । मोटर साइकलमा सवार महिलालाई भने केही नभएको प्रहरीको भनाइ छ । रासस
संसारको सबैभन्दा ठुलो ड्युटी फ्री सपिङ कम्पलेक्स खुल्यो चीनमा
एजेन्सी । चीनको हाइनान प्रान्तमा विश्वकै सबैभन्दा ठुलो ड्युटी फ्री हाइकाउ सपिङ कम्पलेक्स खुलेको छ । उपभोक्ताहरुलाई उपभोगमा बढावा दिनको लागि उक्त विशाल सपिङ कम्पेक्स सञ्चालनमा ल्याएको जनाइएको छ । यो सपिङ कम्पलेक्स चाइना ड्युटी फ्री ग्रुपले निर्माण गरेको हो । २ लाख ८० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको सो सपिङ कम्प्लेक्समा ८ सय भन्दा धेरै ब्राण्डहरु उपलब्ध रहेका छन् । हाइनान क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटक वृद्धि गर्नको लागि हाइकाउ सपिङ कम्प्लेक्सले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै सो कम्प्लेक्स आन्तरिक मागलाई उच्चस्तरबाट सम्बोधन गर्दै पर्यट उद्योगलाई स्थानीय स्तरको विकासबाट सहयोग पुर्याउने तियानजिन युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक्सका डिन कोङ यी ले बताएका छन् । हाइनान यात्राको समयलाई मध्यनजर गरेर स्थानीय उत्पादनलाई बढावा दिने प्रयत्न गरिरहेको छ । स्थानीय प्राधिकरणले ७.३१ डलर बराबरको भौचर वितरण गरेको छ । जसलाई उपभोक्ताहरुले ड्युटी फ्री सपिङको लागि ३१ डिसेम्बरसम्म प्रयोग गर्न सक्छन् ।
कसरी सफल बन्यो बुद्ध एयर ? यस्तो छ बिरेन्द्र बस्नेतको संघर्षको कथा
नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बनेको छ । यसले जनजनको विश्वास जितिसक्यो । हामीले वार्षिक करिब ३० लाख स्वदेशी तथा विदेशी यात्रुलाई सेवा दिइरहेका छौं । एउटा जहाज र ९९ जना कर्मचारीबाट हामीले यो कम्पनी सुरु गरेका थियौं । अहिले १६ वटा जहाज छन् भने १५ सय कर्मचारी छन् । यहाँसम्म आइपुग्दा धेरै उतारचढाब भोग्नु पर्याे । अप्ठेरा दिनमा हामी कहिल्यै आत्तिएनौं, निरन्तरको सक्रियता, यात्रुको सेवा र धैर्यबाट हामी सफलताको सिंढी चढिरहेका छौं । राज्यका सबै नियम तथा कानुन अक्षरशः पालना गरी राष्ट्रको गौरवमय उद्योगका रूपमा बुद्ध एयर स्थापित हुन पुगेको छ । हामी उत्साहित छौं । अझ धेरै वर्ष यही रफ्तार र प्रगतिले यात्रुको सेवा गर्दै जाने प्रण गर्दछौं । नाम र लोगो कम्पनी स्थापना गर्ने तयारीमा नाम र लोगो के राख्ने भन्नेमा अलमल थियो । सुरुमा हनुमान एयर राख्ने कि भनेर सल्लाह गर्यौं । घरपरिवार र साथीसँगीको सल्लाहमा ‘बद्ध एयर’ राखियो र लोगोमा बुद्धको मूर्ति । लोगो निकै आकर्षक देखिएको थियो । एक दिन श्रीलङ्काली मित्रले ‘यो जहाजमा कोही चढ्दैनन्’ भन्दा झसङ्ग भयौं । किन चढ्दैनन् ? ‘टिकट र बोर्डिङ पासमा बुद्धको मूर्ति राखिएकाले, तिनले भने, ‘बुद्ध अंकित टिकट च्यातिन्छ, कुल्चिन्छ, धार्मिक भावनामा ठेस पुग्छ ।’ त्यस लगत्तै न्यूरोडमा रहेका कलाकारलाई भेटेर हामीले लोगो परिवर्तन गर्याैं । लोगो परिवर्तन गर्दा हिज्जे गल्ती भएछ, ‘बुद्ध’ हुनुपर्नेमा ‘बुध्द’ भएछ । जुन अहिले पनि निरन्तर छ । जहाज छनौट कुन जहाज कसरी ल्याउने भनेर हामीले धेरै छलफल गर्याैं । तिनताका एउटा बेलायती जहाज थियो, एडभान्स टब्रो प्रोप (एटिपी) । एम्रो (एचएस ७४) भन्ने पुरानो जहाज नेपालमै चलिरहेको थियो । त्यो जहाजले एक घण्टा लगाएर काठमाडौंबाट विराटनगर पुर्याउँथ्यो । त्यसको सेकेन्ड जेनेरेसन पनि आइसकेको थियो । टब्रो प्रोपको थोरै परिष्कृत ‘इटिटिपी’ आयो, तर त्यो सफल हुन सकेन । त्यस्तैमा हाम्रा आफन्त फिजोनाथ नेपालीले निकै उत्साहित भएर भन्नुभयो, ‘वीच ९०’ नयाँ जहाज आएको छ । माउन्टेन फ्लाइटका लागि निकै राम्रो छ, १८ सिट हो । हामी ल्याएर चलाउन सक्छौं । फाइनान्स पनि गर्न सकिन्छ । वीच ‘हकर्स’ कम्पनीको जहाज हो । वीचभन्ने अमेरिकी कम्पनीले हर्कस भन्ने बेलायती कम्पनी किनेर बनाएको थियो । रेथियुन नामका डिफेन्स म्यानुफ्याक्चरिश कम्पनीले त्यसको उत्पादन गरेको थियो । पाँच मिलियन डरसम्ममा जहाज खरिद गर्न सकिन्थ्यो । हामीलाई जुन भए पनि जहाज ल्याउनु परेको थियो । गर्ने भनेपछि गर्ने-गर्ने । पुँजीको जोहो बीचक्राफ्ट जहाजको मूल्य त्यतिखेर झण्डै ३२ करोड रुपैयाँ थियो । यत्रो ठूलो रकम जोहो गर्न बडो कष्ट भयो । हामी कहाँ वित्तीय योजना हेर्ने मदनबहादुर श्रेष्ठ र मैले एसेम्बल्ड कम्प्युटरमा विजनेस प्लान तयार गर्याैं । त्यही कम्प्युटर चलाउँदा चलाउँदै वर्ड र एक्सेल मज्जाले सिकेँ । बिजनेस प्लान लिई हामी चारैतिर भौतारियौं । सञ्चय कोष लगायत विभिन्न बैंकमा पनि पुग्यांै । भनसुनका लागि मन्त्रालय, विभाग, सिंहदरबार,वालुवाटार पनि कुद्यौं । अन्त्यमा नेपाल बैंक अफ सिलोन र कर्मचारी सञ्चय कोषको सहवित्तयकरणबाट ऋण स्वीकृत भयो । जावलाखेल अफिस जावलाखेल आज व्यस्त चोकमा गनिन्छ । त्यतिखेर खासै ट्राफिक थिएन । अहिलेको केन्द्रीय कार्यालय जावलाखेलमा ८०० वर्गफिटको हाम्रो घर थियो । हाम्रो कार्यालयको सुरुवात त्यहीबाट भयो । साँघुरो अफिसमा हामी सबै जना कच्याककुचुक परेर बस्थ्यौ । बुद्ध एयर स्थापनासँगै झण्डै ९९ जना कर्मचारी थियो । अहिले २५ वर्ष पछि पनि ४९ जना साथीहरु त सँगै नै छन् । एउटा सपनाको अवतरण साँझ पर्न खोजेको थियो । म मारुती–८०० चढेर एयरपोर्टतिर हानिँदै थिएँ, भीनभवनको ओरालोमा पुग्दा जहाज ठ्याक्कै कोटेश्वर पार गरेर धावनमार्गतिर सोझिएको देखियो । ब्रान्ड न्यू जहाज । पुच्छारमाथि बत्ती पिलिक्क–पिलिक्क बाल्दै, हाम्रो लोगो टल्काउँदै गौचरणमा ओर्लियो । म निकै भावुक र आह्लादित भएँ । साँच्चै जहाज ल्याउने सपना पूरा भएको हो त्यो क्षण । परीक्षण उडान दशैं टीकाको दिन परीक्षण उडान भर्ने तय गर्यौं । जीवनमै पहिलो पटक पोखरा गइयो, त्यो पनि आफ्नै जहाजमा । दिउँसो गएर बेलुकी फर्कियौं । पोखरामै लन्च पनि खायौं । पहिलो व्यावसायिक उडान ११ अक्टोबर १९९७ का दिन हामीले पहिलो व्यावसायिक उडान सुरू गर्याैं । माउन्टेन फ्लाइट, पोखरा र विराटनगरको उडान राखेका थियौं । माउन्टेन फ्लाइटका क्याप्टेन रञ्जन शर्मा हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा त्यो उडान भएको थियो । उहाँ अहिले पनि बुद्ध एयरको अपरेसन डिपार्टमेन्टको डाइरेक्टर र इन्स्ट्रक्टर पाइलट हुनुहुन्छ । नेपालको हवाई इतिहासमा पहिलो पटक काठमाडौं–विराटनगर १ घण्टा लाग्ने उडान त्यसको आधा समयमा पूरा गरी नयाँ इतिहास रचेका थियौं हामीले । त्यहीबेलादेखि नेपालमा नयाँ पुस्ताका विमानहरुले आन्तरिक उडान सुरु गरेका हुन् । तलब दिन पनि अप्ठ्यारो ऋणमा ल्याइएको जहाज, त्यसको अपरेसन खर्च, बैंकको किस्ता र अस्वस्थ प्रतिस्पर्धाले गर्दा पैसा जोहो गर्न पनि धौधौ परेको सन् २००२ ताका । त्यसबेला बुद्ध एयरकर्मीसँग भलाकुसारी गर्याै । ‘तलबभन्दा पनि कम्पनी चल्नु पर्छ । पहिला कम्पनी हेरौं, त्यसपछि तलब हेरौंला’ भन्ने कुरा आयो । त्यो दिन म साथीहरुको ऋणी भएको थिएँ । आज हामी करिब १५०० जनाको परिवार भएका छौं । तलबसँगै कतिपय बेलामा बोनस पनि बाँडेका छौं । कोभिड कालबाहेक उडान गरेको पाँच वर्षपछि लगभग हरेक वर्ष कर्मचारीलाई बोनस बाड्न सफल भएका छौं । विश्वकै उड्डयन इतिहासमा सायद धेरथोरै कम्पनीले मात्र यस्तो सफलता प्राप्त गरेको हुनाले हामी धेरै उत्साहित छौं । सरकारलाई पहिलो कर पैसा कमाउन कसलाई मन नलाग्ला ? तर यो रहर पूरा गर्दा पनि इमान्दारी र पारदर्शिता छाड्नु भएन । हिसाबकिताब पारदर्शी राख्न, रिट्ठो नबिराई राज्यलाई कर तिर्न हामी सुरूदेखि नै भित्रैदेखि प्रतिबद्ध छौं । त्यसैले सार्वजनिक रूपले भन्दै आएको पनि छु–हामी कर छली गर्दैनौं । खासमा हामीलाई सरकारले दिएको ‘ट्याक्स होलि–डे फापेन’ । पाँच वर्षसम्म सरकारलाई कर तिर्नु नपर्दा २० करोड घाटा भएको थियो । छैठौं वर्षदेखि कर तिर्नुपर्ने भयो, अनि फेरि खातामा नाफा देखिन थाल्यो । पाँच वर्ष घाटा भएको रकम हामीले छैठौं वर्षको हिसाबमा सार्न सक्दैनथ्यो । ‘होलि–डे’ नभएको भए सकिन्थ्यो । अहिलेसम्म राज्यलाई अरबौ रुपैयाँ कर तिरिसकेका छौं । हामी हर महिना १० करोड रुपैयाँभन्दा बढी तलबै बाँड्छौं । साँढे दुई करोड रुपैयाँ त्यसबाटै राज्यकोषमा कर जाने भयो । कम्प्युटरकृत कार्य सञ्चालन दुई दशक अगाडि कम्प्युटर आजको जस्तो सजिलो थिएन । महँगोका साथै चलाउने जनशक्ति पनि थिएनन् । हाम्रा कामकाज बहिखातामा लेखिन्थ्यो । टिकट, सिट पनि बहिखातामै हुन्थ्यो । भुलचुकले कतिपय बेला जहाजको भन्दा बढी सिट पनि बेचिन जान्थ्यो । एक यात्रुले अदालतमै मुद्दा हाल्छु भनेका पनि थिए । नेपाली जनशक्तिकै सहयोगले विस्तारै हामीले सबै सिस्टम बनायौँ । आज हाम्रो सम्पूर्ण कार्य कम्प्युटरकृत भएको छ । व्यवसाय सञ्चालन गरेको ६ महिनामै हाम्रा काम कम्प्युटरकृत गरेका थियौं । नेपालमा पहिलो पटक यस्तो व्यवस्था भएको थियो । ठूलो जहाजको आवश्यकता सानो जहाजको सञ्चालन खर्च स्वभावतः बढी नै हुने हो । प्रतिस्पर्धा गर्न पनि गाह्रो । सबै बुद्ध एयरकर्मीको एकै स्वर बन्यो, ‘अब हामी ठूलो जहाजमा जानुपर्छ । त्यसै अनुरूप हामीले सन् २००८ मा अर्काे जहाज एटीआर–४२ भित्र्यायौं । आईएफसीसँगको सहकार्य ठूलो जहाज त ल्याउने, फेरि लगानी पनि ठूलो यत्रो रकम फेरि कसरी जोहो गर्ने ? बैंकहरुको चर्काे ब्याजदर र सर्तहरु । यस्तैमा अन्तर्राष्ट्रिय संस्था आईएफसीसँग सम्पर्क भयो । उहाँहरुको सर्त पनि राम्रै र कडा थियो तर ब्याजदर निकै सस्तो । हामीले उहाँहरुसँग सहकार्य गर्यौ । १० वर्षमा तिर्नुपर्ने ऋण हामीले ७ वर्षमै चुक्ता गर्याै । आईएफसीको निक्कै कडा विश्लेषणमा उत्रिन हामी सफल भयौं र यो नै नेपाली हवाई क्षेत्रमा आईएफसीले प्रवाह गरेको पहिलो ऋण, हवाई सेवा कम्पनी बन्यो । ह्यांगर निर्माण सन् २००८ मा आईएफसीसँग हामीले दुईओटा एटीआर ४२ र ह्यांगर निर्माणका लागि रकम प्राप्त गर्याै । यस अघि अर्का एवरलाइन्स नेकोन एयरले पनि एटीआर जहाजबाटै अपरेसन गरेको थियो । कारणवश ती बन्द भए । कारण खोज्दा मर्मत सम्भार निकै महँगो र पायक नहुँदा कर्मचारीलाई पनि गाह्रोसारो । अहिलेको टेक्निकल टिम त्यतिखेर इन्जिनियरिङ डिपार्टमेन्ट थियो । इन्जिनियरिङसँग सल्लाह गर्दा आफ्नै ह्यांगर भएमा मर्मतसम्भार पनि सजिलो र कम खर्च हुने सुझाए । त्यसैअनुरूप २० करोड रुपैयाँमा ह्यांगर निर्माण गर्याै । हाम्रो ह्यांगरले वेस्ट आइपिएमए अवार्ड पनि प्राप्त गरिसकेको छ। प्रकृति प्रकोप सन् २००८ पछि कोसीको धार परिवर्तन हुँदा पूर्वको राजमार्ग निकै दिन अवरूद्ध भएको थियो । सर्वसाधारण राजधानीदेखि टाडिने अवस्था आएको थियो । यस्तो बेला हामी सबै कर्मचारी मिलेर पूर्वको उडान तालिकालाई सहज बनायौं । एकाबिहानैदेखि बेलुकासम्म निरन्तर उड़ान भरेका थियौं । त्यस उडानले हामीलाई आर्थिक रूपले सहज पनि बनाएको थियो । बैंकको ऋण पनि समयमै तिर्न सफल भएका थियौं । लगत्तै थप जहाज पनि भित्र्यायौं । दुर्घटनापछिको सिकाइ सन् २०११ सेप्टेम्बर २५ को दिन हाम्रो स्मृतिमा ताजै छ । माउन्टेन फ्लाइट गरी फर्केको जहाज ललितपुरको कोटडाँडामा दुर्घटनामा पर्याे । १६ जना यात्रु तथा ३ जना चालकदल गरी १९ जना गुमाउनुको पीडा अझै छंदैछ । यसपछिका हाम्रा उडान र जनशक्तिलाई थप सशक्त बनायौं । तालिका व्यापक बनायौं । नयाँनयाँ सुरक्षाका प्रविधि भित्र्यायौ । एफडीएमको मद्दतले अहिले हामी हरेक उडानलाई सूक्ष्म निगरानी गरिरहेका हुन्छौं । हाम्रो उडान तथा मर्मतसम्भारलाई अन्तर्राष्ट्रिय संस्थाको सहयोग अडिट पनि गरायांै, जुन निरन्तर जारी छ ।आज पनि हरेक सेप्टेम्बर २५ का दिन ‘इमरजेन्सी डे’ का रुपमा सुरक्षा सम्बन्धी कार्यक्रम गरी यो घटनालाई हाम्रा कर्मचारीकाबीच ताजा राखेका छौं । अन्तर्राष्ट्रिय उडान देशैभरि पखेटा फिजाइसकेपछि, अन्तर्राष्ट्रिय उडानको सपना साकारः पार्नतिर लाग्यौ । सन् २०१० को अगस्टदेखि भुटानको पारो विमानस्थलमा उडान भर्याैं । यो नै हाम्रो पहिलो अन्तर्राष्ट्रिय उडान थियो । अर्को वर्ष सन् २०११ को जनवरीबाट भारतको उत्तरप्रदेशको राजधानी लखनउलाई पनि काठमाडौसँग जोड्यौ । यसैगरी सन् २०१२ को मार्चबाट भारतकै उत्तरप्रदेशको धार्मिक नगरी वाराणसीको उडान भर्याै । जुन अहिले पनि जारी छ । साताको दुई दिन सोमबार र शुक्रबार वाराणसीको उडान भरिरहेका छौं । सन् २०१९ को मे देखि भारतको वेष्ट बङ्गालको राजधानी कोलकोत्ताको पनि उडान सुरु भर्याै । पछि विभिन्न कारण र परिस्थितिवश वाराणसी बाहेक अन्य गन्तव्यका उडान बन्द गर्न बाध्य भयौं । सबैका लागि हवाई यात्रा ठूला जहाज र आफ्नै ह्यांगर निर्माणपछि सञ्चालन खर्च स्वतः घट्यो । यसको फाईदा अहिले प्रत्यक्ष रूपमा सबै यात्रुवर्गले पाएका छन् । आजभन्दा दुई दशक अगाडिको भाडादर र अहिलेको भाडादर तुलना गर्ने हो भने भाडामा खासै अन्तर देखिंदैन । चार जात छत्तिस वर्णको साझा फूलबारी हाम्रो विमानस्थल भएको छ। साधारण चप्पल लगाउनेदेखि सुटेड बुटेड यात्रुहरु एउटै जहाजबाट यात्रा गरिरहेका हुन्छन् । ठूला जहाजसँगै विभिन्न वर्गीकृत भाडा दर ल्याई इतिहासकै सस्तो भाडादर कायम गरी सबै नेपालीलाई हवाईजहाज चढ्ने अवसर सिर्जना गर्याै । हाल वर्षको ३० लाख यात्रुलाई सेवा दिइरहेका छौं । इमरजेन्सीमा पनि सहज उडान विसं २०६१ माघ १९ मा देशैभर इमरजेन्सी लागू हुँदा उडान सेवा सञ्चालनमा निकै असहज भएको थियो । टेलिफोन लाइन काटिँदा हामीले वाकीटाकीका माध्यमबाट उडान सञ्चालन गरेका थियौं । लगत्तै वाकीटाकी पनि काटिँदा निकै असहज भएको थियो, तर पनि यात्रुलाई सहज उडानका लागि निकै चुस्तताका साथ सेवा प्रदान गरेका थियौं । एटीआर–७२ को छलाङ सानो १८ सिटे जहाजपछि ४२ सिटे एटीआर–४२ जहाजको सफल व्यवसायिक उडान । त्यसपछि, अझ ठूलो जहाज किन नल्याउने ? यसले उडान खर्चलाई अझ धेरै घटाउँछ र सबै तप्काका लागि हवाई उडान सहज हुन्छ भनेपछि हामीले सन् २०१० को जुलाईदेखि एटीआर ७२ जहाजबाट सेवा विस्तार गर्यौं । यो जहाजले एकैपटक ७० जना यात्रुलाई सेवा दिन्छ । हामीसँग ११ ओटा एटीआर ७२ जहाज छन् । भुँइचालो वि.सं. २०७२ वैशाख १२ को महाभूकम्पका कारण विशेषतः गोरखादेखि काठमाडौको जनजीवन निकै प्रभावित बन्यो । काठमाडौबाट आउजाउ गर्नेको संख्या हवात्तै बढेको थियो । यस्तो विषम् परिस्थितिमा पनि हाम्रा सम्पूर्ण कर्मचारीहरु उडान सहज बनाउन खटिएका थिए । मोफसलबाट राजधानीमा उडान आन्तरिक उडान केन्द्रीय राजधानी काठमाडौबाटै हुने गरेको छ ।यसबाट मोफसलका यात्रुलाई एकाबिहानै राजधानी आउन गाह्रो र ढिलो हुने भएकाले हामीले मोफसलबाट पनि उडान गुरु गर्याै । यसको सुरुवात हामीले विराटनगरबाट गरेका थियौं । अहिले त्रिभुवन विमानस्थल, काठमाडौंको आन्तरिकतर्फ जहाज राख्ने पर्याप्त ट्याक्सी वे नभएको हुँदा जहाजको रात्रि विसौनी धनगढी, जनकपुर, भद्रपुर र भैरहवामा हुने गरेको छ । भोलिपल्ट एकाबिहानै यी गन्तव्यबाट काठमाडौं उड्छन् । पोखरा हब पोखरालाई हामी सबैजसो गन्तव्यबाट जोड्ने क्रममा छ । पोखराबाट भैरहवा, भरतपुर, नेपालगञ्जको सिधा उडान भरिरहेका छौं। अब पहिलाजस्तो काठमाडौं आउनै पर्ने बाध्यता हटेको छ । समय पनि धेरै लाग्ने र उडान खर्च पनि महँगिने हुँदा धेरैजसो पर्यटकलाई पोखरा अपायक भएको थियो । अब यो समस्या सबैका लागि समाधान उन्मुख भएको छ। पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि एटीआर जहाजबाट भारतको नयाँ दिल्ली जोड्नेछौ । कोभिड–१९ को चुनौती कोभिडको चुनौति अहिले पनि उत्तिकै छ । संसारका धेरैजसो देशले लकडाउन नै गरे । हामी कहाँ सन् २०२० मार्च २४ देखि पहिलो लकडाउनसुरु भयो । यो ६ महिनासम्म चल्यो । अर्का लकडाउन सन् २०२१ अप्रिल २९ देखि २ महिना भयो । अर्थात् ८ महिनासम्म विमान सेवा पूर्ण बन्द रह्यो । हामी शून्य आम्दानीमा झर्यााै । आम्दानी नभए पनि जहाजको नियमित मर्मतसम्भार, तलब खर्च यथावत नै रह्यो । हामीले यस अवधिमा सबै कर्मचारीलाई केही कटौती गरे पनि तलब वितरण जारी नै राख्यौं । कोभिडपछिका सुषप्त पर्यटन बजारलाई बुद्ध एयरले विभिन्न किसिमका स्कीम, विस्काउन्टबाट माथि ल्याउने कार्य गर्याे । यसोगर्दा कोभिडविरुद्धका सुरक्षा प्रोटोकोललाई त्यत्तिकै ध्यान दिइयो । सामाजिक उत्तरदायित्व कार्यक्रम हाम्रो सामाजिक उत्तरदायित्व कार्यक्रम सन् २००४÷२००५ देखि नै निरन्तर चल्दै आइरहेको छ । पूर्वी नेपालको मोरङ, सुनसरी र झापाका किसानलाई खेतीकिसानी सजिलो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौं । परम्परागत खेतीपातीबाट उल्लेख्य मात्रामा अन्न उत्पादन नहुने र खर्च पनि धेरै हुने हुँदा बुद्ध एयरले यान्त्रिकरण प्रविधि भित्र्र्याई खेतीकिसानीलाई सजिलो बनाएको छ। कार्यक्रमको उद्देश्य निर्वाहमुखी खेतीकिसानीलाई व्यवसायमुखी रूपान्तरण गर्नु हो । पर्वतीय उडानमा छलाङ सगरमाथा पर्वतीय उडानको स्थापना हामीले पहिलो उडानबाट गर्याै र हालसम्म ५ लाख ५० हजार भन्दा बढि पर्यटकलाई सेवा दिई युएसडी ५ करोड २० लाख भन्दा बढि विदेशी मुदा राष्ट्रको लागि कमाएका छौं । आज सगरमाथा मात्र होइन अन्नपूर्ण÷धवलागिरि हवाई हिमश्रृंखला दर्शन पर्यटकहरुको लागि स्थानीय गन्तव्य बनाई राष्ट्रको लागि निरन्तर विदेशी मुदा कमाउने आधार बनाएका छौं । (लेखक बुद्ध एयरका प्रबन्ध निर्देशक हुन् । बुद्ध एयरको २५औं वार्षिकोत्सवको अवसरमा प्रकाशित जर्नलमा उनले राखेको विचार)
तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर छ । सो अवधिमा देशको कूल व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ । आर्थिक वर्ष २०७८र७८ को तुलनामा चालू आवको तीन महिनामा कूल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आवमा कूल पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्रै व्यापार भएको छ । यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो । गत आवमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकामा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई चार खर्ब ९९ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो । यस्तै, गत आवको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । रासस
बेलायती विदेशमन्त्रीले भने : भारतसँगको व्यापार वार्तामा धेरै प्रगति भएको छ
नयाँ दिल्ली । बेलायतको यूरोपेली सङ्घबाट भएको बहिर्गमन (ब्रेक्जिट) पछि भारतसँग भएको स्वतन्त्र व्यापार सम्झौता वार्ता ‘निकै सकारात्मक’ रहेको बेलायतले आइतबार जनाएको छ । भारत भ्रमणका क्रममा बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार प्रकाशित टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भने, ‘हामीले वार्तामा धेरै प्रगति गरेका छौं र हामी दुवै देशका लागि हित गर्ने सम्झौताका लागि काम गरिरहेका छौं ।’ ‘भारतसँगको हाम्रो साझेदारी हाम्रा लागि महत्वपूर्ण छ र यसलाई हामी बढाउन र विकास गर्न चाहन्छौं भन्ने कुरामा हामी स्पष्ट छौं,’ दुई दिने भ्रमणका क्रममा उनले भने । भारत र उसका पूर्व औपनिवेशिक शासकबीच करिब १८ महिनादेखि व्यापार सम्झौताका लागि वार्ता भइरहेको छ, जुन बेलायतका लागि महत्वपूर्ण कोसेढुङ्गा हुनेछ । कडा पेय पदार्थ ह्विस्कीजस्ता बेलायती आयातमा कर घटाउने बदलामा भारतले आफ्ना नागरिकका लागि थप काम र अध्ययन भिसाको माग गरेको छ । तर अक्टोबर २४ देखि सुरु भएको भारतीय धार्मिक चाड दीपावलीको अवसरमा सम्झौताको लागि लक्षित मिति बेलायतको सत्तारुढ कन्जरभेटिभहरूबीच थप आप्रवासनको भारको भयका कारण वार्ता असफल भएको समाचारहरू केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । हालै पुनर्बहाली गरिएकी दक्षिणपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले बेलायती भिसा अवधि नाघेकाहरूको सबैभन्दा ठूलो समूह भारतीय भएको टिप्पणी गरेपछि भारतीय पक्ष चिढिएको भन्ने समाचारहरू पनि आएका छन् । यद्यपि, क्लेभरलीले टाइम्ससँगको अन्तवार्तामा भने, ‘आफुले यसलाई ‘धेरै सकारात्मक’ कुराको रूपमा हेरेको र बेलायतमा अध्ययन र व्यापारमा संलग्न धेरै भारतीयहरूले बेलायतमा जान चाहने विद्यार्थी र व्यापारीको लागि सम्झौतालाई अवसरका रूपमा हेरेका छन् ।’ उनले थपे, ‘निस्सन्देह, यसको अर्थ हामीले हाम्रा प्रक्रियाहरू सही छन् भनेर सुनिश्चित गर्नुपर्छ ।’ भारतीयहरूका प्रिय पात्र ऋषि सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतमा बेलायती प्रधानमन्त्री प्रतिको उत्साह र उमङ्ग देख्दा खुसी लागेको क्लेभरलीले बताए ।