विकासन्युज

सोनाम लामाको करोडौं लगानीमा मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै

काठमाडाैं । मुस्ताङमा रहेको प्रसिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न लागिएको छ । त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ । तयार भएको गौतम बुद्धको मूर्ति र रिसोर्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । त्यस्तै, नयाँ बन्ने विष्णु भगवानको मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपति भण्डारीले सोही दिन नै गर्ने कार्यक्रम तय भएको लामाले जानकारी दिए । मुक्तिनाथ भगवान् विष्णुको जन्मस्थान रहेको भनाई छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार करिव ८ सय वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दु र बौद्धमार्गीको साझा तिर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन् । मुक्तिनाथ क्षेत्रको समुचित विकासका लागि तय गरिएको गुरु योजनाको एक अंशका रुपमा ३५ फिट अग्लो पत्थरको मूर्ति बनाइएको हो । पाटन औद्योगिक क्षेत्रमा तयार गरिएको मूर्ति मुक्तिनाथमा स्थापना गरिएको लामाले बताए । मूर्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको लामाले बताए । पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् । ‘पाहुनालाई बुद्धमूर्ति आराधनाका लागि मात्र होइन ध्यान योग दृश्यावलोकनको स्वर्गीय आनन्द अनुभूत गर्ने गरी यो संरचना तयार गरेका हौ,’ लामाले भने । सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा छोरी समेतको करिब ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरको बताए । मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन् । समुद्र सतहबाट करिव ३ हजार सात सय मिटरको उचाँइमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ । भगवान विष्णुको मूर्ति निर्माण हुँदै गुरुयोजना अनुरुप भगवान विष्णुको पनि ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेले पनि ५० लाख रुपैयाँ सहायता गर्ने लामाले जानकारी दिए । ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिव ९ करोड रुपैयाँ लाग्ने आँकलन उनको छ । विष्णु्को मूर्ति पनि पाटन औद्योगिक क्षेत्रमै निर्माण गरी त्यहाँ पु¥याइने लामाले जानकारी दिए । यो परियोजनाका लागि भने गैर आवासीय नेपाली लगायत अन्य दाताको सहायता पनि स्वीकार गरिने उनले बताए । पर्यटकलाई सुविधासम्पन्न बुटिक होटल सामाजिक सेवाको दुई परियोजना बाहेक मुक्तिनाथ क्षेत्रको विकासका लागि सोनामले धार्मिक तथा अन्य पर्यटक समेतलाई लक्षित गरी सुविधा सम्पन्न ‘लो मुस्ताङ हिमालय रिसोर्ट’ पनि निर्माण गरेका छन् । ‘कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो,’ लामाले भने । बुटिक अवधारणामा बनेको होटल करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएकाे छ । चारै दिशामा हिमाल अवलोकन गर्न सकिने रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५ सय बोटको स्याउ फार्म पनि छ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहे जस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना स्पा देखि घोडा चढी सुविधा उपलब्ध हुने लामाले जानकारी दिए । मुक्तिनाथ नजिकैको गाउँ थुराङमा जन्मिएका लामाले आफ्नै मातृभूमिको विकासका लागि पूर्वाधार थप्न लागि परेको बताए । स्थानीय समुदायसँग भाडामा जग्गा लिएर रिसोर्ट निर्माण गरिएको बताउँदै लामाले निश्चित अवधिपछि उक्त रिसोर्ट समुदायलाई नै हस्तान्तरण गरिने जानकारी दिए । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहेका थिए । काठमाडौंको ठमेलमा १ सय बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको लामाले जानकारी दिए । ‘आफ्नै जन्मथलोको पर्यटकीय क्षमताको सदुपयोगमार्फत स्थानीय रोजगारी आयआर्जन हुँदै पर्यटनको राष्ट्रिय परिदृश्यमै सकारात्मक योगदान पुगोस भन्ने हेतुले मुस्ताङलाई अझै उझिल्याउने प्रयासमा म लागेको छु,’ उनले भने ।

हिमालयन एयरलाइन्सले कमर्सियल ग्राउन्ड ह्यान्डलिङ पायो भने गौतमबुद्धमा जान तयार छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सातामा कम्तिमा ३ वटा अन्तर्राष्ट्रिय फ्लाईट गर्ने वायुसेवा सञ्चालकहरुलाई एउटा फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न भनेको छ । प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नु पर्ने भएको छ । हिमालयन एयरलाइन्सले आफुले कमर्सियल ह्यान्डलिङ गर्न पाएमा तत्काल गौतमबुद्ध विमानस्थलबाट उडान गर्न सक्ने जनाएको छ । एयरलाइन्स प्रशासन तर्फका उपाध्यक्ष बिजय श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्राधिकरणले पछिल्लो समयमा चालेको कदमलाई  ‘कफी खान चाहेकालाई जर्बजस्ती चिया खुवाउन’ खोजेको बताए । ‘विमानस्थल भनेको सेवा बिक्री गर्ने उद्योग हो र एयरलाइन्स भनेको सेवाको क्रेता हो’, उनले भने, ‘हामी कहिँ गएर कफी खान गयौं भने कफी खाने मान्छेलाई कफी नभएको अवस्थामा चिया खाने हो भनेर सोध्न मिल्यो तर कफी भएको अवस्थामा कफी नै खान पाउन पर्यो नी’, उनले भने । यात्री र एयरलाइन्सको रोजाई अन्य विमानस्थल भन्दा त्रिभुवन बिमानस्थल भएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । कतिपय मुलुकका एउटै सहरमा पनि धेरै विमानस्थल हुने गरेको र त्यस्तो ठाउँमा यात्रुहरुको रोजाइका आधारमा एयरलाइन्सहरुले उडान भर्ने गरेको उनी बताउँछन् । पहिलो विमानस्थल पछि यात्रुको दोस्रो विमानस्थल रोजाई नेपालको सन्दर्भमा बनिनसकेको उनको भनाइ छ । गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारणले त्यसलाई सञ्चालन गर्नको लागि सबै क्षेत्रको दायित्व भएको उनी बताउँछन् । हिमालयनको तर्फबाट सो विषयमा अध्ययन भइरहको उनले बताए । ‘हाम्रो आशय त्यहाँबाट फ्लाइट गर्नुपर्छ भन्ने हो, हाम्रो तयारी पुगेको छैन’, उनले भने, ‘प्राविधिक, यात्रु, व्यवसायिक, सञ्चालन सम्बन्धी, लगायत कुनै पनि ठाउँमा विमान सञ्चालको लागि आवश्यक सम्पूर्ण पक्षको तयारी हामीले गर्नैपर्छ ।’ तर, यात्रु भएन भने त्यहाँबाट नियमित फ्लाइट हुन नसक्ने उनी बताउँछन् । ‘यात्रु भएन भने ग्राहक नभएको ठाउँमा पसल खोल्ने कुरा त भएन नी’, श्रेष्ठले भने । हिमालयन एयरलाइन्स सरकारबाट अन्यायमा परेको एयरलाइन्स भएको भन्दै उनले कानूनअनुसार त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्डिङको अधिकार पाएर पनि कार्यान्वयन गर्न नपाएको बताए । ‘हामीले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल सरकारको ऐन्, नियमावली र कार्यविधि अनुसार सम्पूर्ण पालना गर्नुपर्ने शर्तहरु पालना गरेर लाइसेन्स पाइसकेपछि पनि काम गर्न नपाएको स्थिति छ’, उनले भने, ‘नयाँ विमानस्थलमा जाने कुरामा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ पनि हामीले गर्न पाउनुपर्छ भन्ने हाम्रो विषय छ ।’ सो कुरा हिमालयनले क्यानलाई स्पष्ट रुपमा राखिसकेको उपाध्यक्ष श्रेष्ठले बताए । ग्राउन्ड ह्यान्डलिङ तर्फ संकेत गर्दै उपाध्यक्ष श्रेष्ठले आफूहरुले सरकारसँग कुनै सहुलियत मागेको नभएर नेपालको कानूनले दिएको अधिकार अनुसार माग गरेको बताए । ‘कानूनले दिएको अधिकार, नेपालको ऐन, वैदेशिक लगानी, वैदेशिक लगानी नियमावली लगायत सबैले नेपालमा काम गर्नेलाई कुनैपनि भेदभाव गरिने छैन भनेर लेखेको छ, सोही अनुसार लगानी भएको छ’, उनले भने, ‘हामीले ग्राउन्ड ह्यान्डलिङ पाउनुपर्यो, त्यसपछि गौतमुद्ध विमानस्थलमा कर्मसियल ग्राउन्ड ह्यान्डलिङ हामीले पाउनपर्यो ।’ गौतमबुद्ध विमानस्थलबाट फ्लाइट गर्ने सन्दर्भमा हिमालयन सकारात्मक भएको बताउँदै उपाध्यक्ष श्रेष्ठले क्यानले भनेको कुरा स्वभाविक भएको तर आफ्नो विषय पनि आफूहरुले राख्न पाउनुपर्ने बताए । ‘पसल राख्न गयो तर ग्राहक आएन भने त पसल नै उठाएर हिँड्नुपर्छ नी, पसल त चल्दैन’, उनले भने । विमानस्थल भनेको सेवा उद्योग र दीर्घकालीन भएकाले यस्तो क्षेत्र सञ्चालन हुनको लागि लामो समय लाग्ने उनको भनाइ छ ।  

दुईपांग्रे सवारीमा बाल-बालिकालाई नचढाउन प्रहरीको अनुरोध

काठमाडौं  । दुईपांग्रे सवारी साधनमा साना बाल–बालिकालाई असुरक्षित तवरले नचढाउन सम्बन्धित चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । तीव्र गतिमा गुडेका दुईपांग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु उल्लेखित रुपमा दुर्घटनाको शिकार हुने क्रम बढ्दो रुपमा रहेकाले दुर्घटना न्युनीकरणका लागि अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ताले बताए । सुरक्षित तवरले सवारी साधन संचालन गर्दै दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा ट्राफिक प्रहरीको रहेको छ ।

हिमालयन बैंकद्वारा त्रिवि शिक्षण अस्पताललाई साढे ४ लाखको सामाग्री सहयोग

काठमाडौं । हिमालयन बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई ४ लाख ५३ हजार रुपैयाँ बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोग गरेको हो । उक्त सहयोगका सामाग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्राडा। दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए । बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएकाले छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समाग्रीहरु अस्पताललाई प्रदान गरेको जनाएको छ ।

विश्व बैंकले भन्यो : नेपालको महँगी ५.५ प्रतिशतले बढ्छ, आयातमा लगाएको प्रतिबन्ध हटाउनु

काठमाडाैं । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता ‘वल्र्ड इकनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । सन् २०२२ को मुद्रास्फीतिदर छ दशमलव तीन प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा पाँच दशमलव पाँच र सन् २०२४ मा पाँच दशमलव तीन प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालु आव २०७९/८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव तीन प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० दशमलव दुई प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः दुई, आठ दशमलव नौ र पाँच दशमलव छ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २० दशमलव २३ र १८ दशमलव ०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी दुई वर्षको आयात वृद्धिदर भने तीन दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ । यस्तै, विश्व बैंकले नेपाललाई विभिन्न वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । गत बैशाखमा विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै १० प्रकारका वस्तुको आयातमा असार मसान्तसम्म पूर्ण प्रतिबन्ध लगाएको सरकारले कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेदेखि खुला गरेकाे थियाे ।    

विश्वकप २०२२ : लागत २२० अर्ब डलर, फिफाले साढे ६ अर्ब डलर कमाउने, दर्शकका लागि महँगो

काठमाडौं । फिफा विश्वकप २०२२ नोभेम्बर २० बाट सुरु हुँदैछ । हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो जुन एशियामा दोस्रो पटक आयोजना हुन लागेको हो । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो भने एसियामा विश्वकप दोस्रो पटक हुन लागेको हो । २९ दिनसम्म चल्ने यस प्रतियोगितामा ३२ राष्ट्रको सहभागितामा कुल ६४ खेल हुनेछन् । जसमध्ये ४८ लिग खेल हुनेछन् । यहाँ राम्रो प्रदर्शन गर्ने १६ टोलीले अर्को चरणमा प्रवेश गर्नेछन्, जुन डिसेम्बर ३ देखि ७ सम्म प्रतिस्पर्धा चल्नेछ । सबै टोलीलाई आठ समूहमा विभाजन गरिएको छ र लिग खेलपछि प्रत्येक समूहमा पहिलो दुई स्थानको शीर्ष १६ राउण्ड र त्यसपछि आठ टोलीबीच क्वाटरफाइनल खेल हुनेछ। सेमिफाइनल खेलहरू डिसेम्बर १४ र १५ मा हुनेछ। सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि डिसेम्बर १७ मा भिड्नेछन् भने प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । यस प्रतियोगितामा हुने ६४ खेल सातवटा रंगशालामा खेलाइनेछ । अहिलेसम्मकै महँगोविश्वकप आगामी नोभेम्बरबाट कतारमा हुन लागेको विश्वकप अहिले सम्मकै सर्वाधिक महँगो विश्व कपका रुपमा लिइएको छ । विश्वकपका लागि भैतिक संरचना निर्माणको काम सकिएको आयोजक राष्ट्रले जनाएको छ । यसभन्दा अगाडि रुसमा सम्पन्न विश्वकपको तुलनामा कतारमा हुन लागेको विश्वकपमा २० गुणा बढी खर्च भएको छ । रसियामा भएको विश्वकपमा १४.२ अर्ब डलर खर्च भएको थियो भने कतारमा हुन लागेको विश्वकपमा २२० बिलियन डलर खर्च हुने भएको छ । कतारले नयाँ स्टेडियम निर्माणका लागि मात्रै १० बिलियन डलर खर्च गरेको छ । यस्तै, सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ११.६ अर्ब डलर, सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा ३.६ अर्ब डलर, सन् २००६ मा जमर्नमा भएको खेलमा ४.६ अर्ब डलर र सन् २००२ मा दक्षिण कोरियामा भएको खेलमा कुल ७ अर्ब डलर खर्च भएको थियो । यस्तै, सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा २.३३ अर्ब डलर, सन् १९९४ मा अमेरिकामा भएको खेलमा ५० करोड डलर र सन् १९९० इटालीमा भएको विश्वकपमा ४ अर्ब डलर खर्च भएको थियो । सबै देशको भएको विश्वकपको तुलनामा २०२२ मा कतारमा हुने विश्वकप सबैभन्दा महँगो हुने देखिएको हो । एअर कन्डिसन युक्त रंगशाला विगतमा फिफाले प्रायःजसो जुन वा जुलाई महिनामा विश्वकपको आयोजना गर्ने गर्दथ्यो । कतारमा हुन लागेको विश्वकप भने नोभेम्बर २० बाट सुरु हुने भएको हो । विश्वकपका लागि ८ वटा रंगशाला निर्माण भएका छन् । मौसमलाई ख्याल गरेर विश्वकप खेलाउनका लागि निर्माण गरिएका रंगशालाहरुलाई एअर कन्डिसनयुक्त बनाइएको छ । यसरी पुरै रंगशालामा एअर कन्डिसन जडान गरिएको यो पहिलोपटक हो । फुटबलका फ्यानहरुलाई पनि महँगो कतारमा विश्कप हेर्न जान चाहने फ्यानहरुले टिकट, बसाई र जहाज भाडाको लागि झण्डै २० हजार डलर खर्च गर्नुपर्ने भएको छ । जसले गर्दा थोरै खर्च गरेर विश्वकप हेर्न जान चाहेका फ्यानहरुलाई निराश बनाएको छ । स्थानीय मानिसको लागि टिकटमा छुटको व्यवस्था गरिएको छ । तर, बाहिरी दशर्कहरुको लागि भने स्टेज टिकट कम्तिमा ७० देखि २२० डलर र नकआउट म्याचेच टिकट ६०० देखि १६०० डलर लाग्ने बताइएको छ । ८० प्रतिशत कोठा बुुक विश्वकपका दर्शकहरुका लागि कोठा उपलब्ध गराउनुु जुनसुकै विश्वककप आयोजक देशका लागि चुनौतीपूर्ण विषय हो । कतारमा रहेको कुल होटलमध्ये हालसम्म ८० प्रतिशत होटल बुक भइसकेको बुझिएको छ । कतारको अर्थतन्त्रमा सघाउ आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक देशको राष्ट्रिय अर्थतन्त्र चलायमान हुने गरेको छ । कतारले विश्वकप आयोजनाबाट २० अर्ब बढी डलरको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्वकप आयोजनाका लागि देशहरूले फिफा समक्ष आवेदन दिनुपर्छ जसमा फिफाले कर छुटको सुविधा पनि अपेक्षा राख्छ । फिफाले साढे ६ अर्ब डलर कमाउने फिफाले २०२२ को विश्वकपबाट ६.५ अर्ब डलर कमाउने अनुमान गरेको छ । २०१८ को विश्वकपबाट फिफाले करिब ५.२ अर्ब डलर आम्दानी गरेको थियो भने सन् २०१४ मा ४.८ अर्ब डलर आम्दानी गरेको थियो । यस्तै, फिफाले २०१० मा ४.२ अर्ब डलर, सन् २००६ मा २.६ अर्ब डलर र सन् २००२ मा १.६ अर्ब डलर आम्दानी गरेको थियो ।

काठमाडौं उपत्यकाका उम्मेदवारका लागि भुगोल पार्क मेला हुने

काठमाडाैं । नेपालमा पहिलो पटक काठमाडौं उपत्यकाका उम्मेदवारहरूका लागि भुगोल पार्क उम्मेदवार मेला हुने भएकाे छ । यही कात्तिक १६ गते बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला हुने भएकाे हाे । भुगोल पार्क उम्मेद्वार मेलामा ४ मंसिर २०७९ मा हुने संघीय निर्वाचनमा उम्मेदवार हुने सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। उम्मेदवार मेलामा मंसिर ४ गते हुने संघीय निर्वाचनमा उम्मेदवार रहने दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहने अपेक्षा गरिएको भूगोल पार्कले जनाएको छ । आयाेजककाे अनुसार सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहकाे छ । मेलामा निष्पक्षरूपमा उम्मेदवारहरूको अभियान, प्रत्यक्ष अन्तरक्रिया, प्रेस सम्मेलन, तत्काल बहस र नेटवर्किङको लागि विशेष टेन्ट क्यानोपीहरू हुने र उम्मेदवारहरूका लागि ‘पहिले आउने पहिलो सेवा’का आधारमा करिब २५ वटा क्यानोपी राखिएको आयोजक संस्थाले जनाएको छ ।

तिहारपछिको पहिलो कारोबार : दोहोरो अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । तिहार र छठपछि सोमबार खुलेको सेयर बजार १६.३९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार १६.३९ अंकले सेयर बजार बढ्दा नेप्से  १८७४.७४ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेको सयपत्री हाइड्रोपावरको सेयर मूल्य २८.५० रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार २५ लाख ७४ हजार ९७५ कित्ता खरिद बिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६१३ रुपैयाँको कारोबार भएको छ जसमा सबैभन्दा बढी वाणिज्य बैंकहरुको कारोबार भएको छ । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी कारोबार हुनेमा एनआइसी एसिया बैंक, एभरेष्ट बैंक, नबिल बैंम र प्रभु बैंक रहेको छ ।