५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा, बीमा शुल्कमा ९० प्रतिशतसम्म अनुदान
काठमाडौं । निर्वाचन नजिकिएसँगै विभिन्न दलहरु चुनावी घोषणापत्र सार्वजनिक गर्ने चटारोमा छन् । केहीले सार्वजनिक गरिसकेका छन् भने केही सार्वजनिक गर्ने तयारीमा छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्रमा विभिन्न दलहरुले विभिन्न एजेण्डाहरु समावेश गरेका छन् । हालसम्म सार्वजनिक भएका घोषणापत्रहरुमध्ये ५ वटा दलहरुले आफ्नो चुनावी संकल्प (घोषणा) पत्रमा आर्थिक एजेण्डासँगै बीमाको कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको पाइएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी (नेसपा) ले बीमा कार्यक्रमलाई आफ्ना घोषणापत्रमा समेटेका छन् । जसमा बीमाको दायरा बढाउने, सबै नागरिकको स्वास्थ्य बीमा गराउनदेखि सहकारीलाई समेत बीमामा आवद्ध गराउनेसम्मका कार्यक्रमहरु रहेका छन् । दलहरूकाे घाेषणापत्रमा बीमाबारे साेच राम्राे भए पनि बजेट व्यवस्थापन कसरी हुन्छ भन्ने केही पनि बाेलिएकाे छैन । ५ वर्षभित्र शतप्रतिशतको स्वास्थ्य बीमा काँग्रेसले सार्वजनिक गरेको घोषणापत्र अनुसार दलले बीमालाई विभिन्न ५ वटा बुदामा फोकस गरेको छ । जसमा ५ वर्षभित्र शतप्रतिशतको स्वास्थ्य बीमा गराउने र बीमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कार्यक्रम छ । त्यस्तै, बीमा रकमको दायरा बढाई १० लाख पुर्याउने कांग्रेसको एजेण्डा छ । हाल सरकारले स्वास्थ्य बीमा गराएबापत अधिकतम २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउँदै आएको छ । कांग्रेसले आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्ने समेत उल्लेख गराएको छ । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न लगायतकालाई निःशुल्क स्वास्थ्य बीमा समेत गराउने कांग्रेसको लक्ष्य छ । बीमा प्रिमियममा ९० प्रतिशत अनुदान माओवादीले आफ्नो घोषणपत्रमा बीमा कार्यक्रम अन्तर्गत बीमा प्रिमियममा ९० प्रतिशत अनुदान दिनेदेखि कृषि बीमा व्यवस्थालाई पुनर्संरचना गराउनेसम्म रहेको छ । माओवादीले कृषि बीमालाई गाउँ गाउँमा पुर्याउन, बीमाको दायरा बढाउन, बिमाङ्क रकमलाई व्यवहारिक बनाउन र बीमा दावी भुक्तानी सेवालाई छिटो छरितो तुल्याउन कृषि बीमा व्यवस्थालाई पुनर्संरचना गर्ने भएको छ । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले उद्योग व्यवसाय सञ्चालन गर्दा बिउ पुँजी, ब्याज अनुदान, बीमा प्रिमियममा छुट तथा प्राविधिक सहयोगको प्रबन्ध गरिने माओवादीले आफ्नो संकल्पपत्रमा खुलाएको छ । बीमाको दायरा वृद्धि गरी खासगरी कृषि, पशुपन्छीपालन तथा जडीबुटी व्यवसायका हरेक उपक्षेत्रमा समेत बीमाको प्रभावकारी व्यवस्था गरिने छ । मुलुक बाहिर रकम जाने क्रमलाई बीमा प्रिमियमबाटै नियन्त्रण गर्ने समेत माओवादीले जनाएको छ । त्यस्तै, सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमा गरिने बताएको छ । गरिबीको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पुँजी बिनाधितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने छ । यस अनुसार सञ्चालित व्यवसायको बीमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने समेत उक्त पत्रमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेलाई जीवन बीमाको व्यवस्था राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सार्वजनिक गरेको घोषणापत्रमा भएका बुँदाहरुमध्ये ३ वटा बुँदाले बीमाको कार्यक्रमलाई समेटेको छ । जसमा स्वास्थ्य बीमाको पहुँच वृद्धि गर्नेदेखि बीमितलाई आफुले चाहेको अस्पतालमा उपचार गराउनेसम्मका एजेण्डाहरु रहेका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बीमाको दायरामा ल्याइनेछ र सबै बीमितले आफुले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गरिएको छ । स्वदेशमै पूर्ण रोजगारीको वातावरण नबनेसम्म सातै प्रदेशमा वैदेशिक रोजगारीमा जानेहरुलाई तालिम, सीप विकास, सहुलियत ऋण र जीवन बीमाको व्यवस्था गरिने राप्रपाले जनाएको छ । त्यसैगरी, कृषि तथा बाली बीमाको व्यवस्था समेत गराउने राप्रपाको कार्यक्रम रहेको छ । बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने सबै नागरिकलाई सहजरुपमा अनिवार्य स्वास्थ्य बीमामा आवद्ध गराउने एकीकृत समाजवादीको पहिलो बीमा एजेण्डा हो । त्यस्तै, गरिबीको रेखामुनि रहेका जनताको लागि बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने समाजदावीको विशेष कार्यक्रम रहेको छ । १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने भएको छ । त्यस्तै, सबै किसिमको कृषिबाली र पशुपंक्षी व्यवसायमा बीमा व्यवस्था लागू गर्ने एकीकृत समाजवादीको घोषणापत्रले समेटेको छ । सबै सहकारी बीमामा आवद्ध अन्य दलले जस्तै नेपाल समाजवादको पार्टी (नेसपा) ले पनि पाँच वर्षभित्र सबैलाई स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ । दलले बीमाको पहुँच बढाउँदै पुनः बीमा कम्पनीको वित्तीय क्षमता बढाउने भएको छ । त्यस्तै, सबै सहकारी संस्थाहरुलाई समेत बीमामा आवद्ध गराउने नेसपाको एजेण्डा रहेको छ । जुन अन्य दलहरुले ल्याएका कार्यक्रमहरुमध्ये नयाँ कार्यक्रम हो ।
माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने सडक अलपत्र
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको सो सडकमा चार वर्षअघि काम सुरु भए पनि अहिले अलपत्र परेको छ । डेढ वर्षअघि नै सम्पन्न हुनुपर्ने सो सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ । सडकको काम लामो समयदेखि रोकिएको छ । सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समय भए पनि कालोपत्रको काम सुरु भएको छैन । निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । समयमै सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलो सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता स्थानीयवासीको छ । लाहाचोकका स्थानीयवासीले सोमबार गाउँपालिका जोड्ने सडकको काम तत्कालै सुरु गर्न मागसहित गाउँपालिकामा ज्ञापनपत्रसमेत बुझाए । उनीहरूले पाँच दिनभित्रमा काम सुरु नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने बताएका छन् । स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गर्दा जनताले दुःख पाएको बताए । उनका अनुसार अहिले सो सडकको सबै काम ठप्प छ । ‘हामीले सडक छिटो सम्पन्न गर्न पटक–पटक आवाज उठाएका छौँ, तर सुनुवाइ भएको छैन’, अधिकारीले भने, ‘गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखि अलपत्र पर्दा दुःख पाएका छौँ । गाउँपालिका र प्रदेश सरकारले दबाब दिनु पर्दछ भनेर पहिलो चरणमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हौँ ।’ गण्डकी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय कास्कीबाट १० करोड रुपैयाँ लगानीमा माछापुच्छ्रेकाे प्रवेशद्धार मर्दीपुलबाट भिरकटेरा, बानेटाकुर हुँदै गाउँपालिकासम्मको पाँच किमी कालोपत्र सडक निर्माणका लागि हिमदुङ थोकर जिएसआर जेभीसँग ठेक्का सम्झौता भएको थियो । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सो सडकमा लामो समयदेखि काम रोकिएकाले तत्कालै सुरु गर्न निर्माण कम्पनी तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका जोड्ने सडकभन्दा पछि ठेक्का लगाएर सुरु गरेका दुई पक्की सडक दुई वर्षअघि नै सम्पन्न हुँदासमेत मुख्य सडकको काम ढिलाइ भएको लाहाचोक भिरकटेराका दीपक अधिकारीले बताए । भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी हुँदै डाँडासम्म र भलाबोटबाट टुसेसम्म अर्को पक्की सडक कालोपत्र भइसक्दा गाउँपालिका प्रवेशको मुख्य सडक नै अलपत्र छ । रासस
निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी कर्मचारी खटाइँदै
काभ्रेपलाञ्चोक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा तीन हजार एक सय १२ कर्मचारी खटाइने भएको छ । यसका लागि कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीलाई सूचीकृत गर्दै जिम्मेवारी बाँडफाँटको गृहकार्य भइरहेको जनाइएको छ । यस्तै निर्वाचनमा एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिनेछ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंवेवक परिचालन हुने जिल्ला निवार्चन अधिकारी उमेश राईले जानकारी दिए । यसपटक एकैचरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदा धेरै कर्मचारी खटाउनुपर्ने भएकाले निजामती कर्मचारीको अलावा माध्यमिक तहमा कार्यरत शिक्षक कर्मचारीलाईसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइने गरी तयारी भइरहेको प्रजिअ हुमकला पाण्डेले बताए । मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एक रहने जनाइएको छ । यसपटक कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले समेत समानुपातिकतर्फ प्रदेशअन्तर्गत र प्रतिनिधिसभातर्फ मतदातामा सूचीकृत भएकाले मतदान गर्न पाउने भएपछि जिल्लामा चार अस्थायी मतदान केन्द्र ब्यवस्थापन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका छन् । तीमध्ये एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला तथा अन्य दुई मतदाता हुन् । जिल्लामा तीन सय ८९ मतदान केन्द्र ब्यवस्थापन हुने जनाइएको छ । काभ्रेमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल जिल्लामा ३१ दल क्रियाशील छन् । रासस
पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत
पोखरा । पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारीले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाइ स्वागत तथा बधाई दिए । कार्यक्रममा उपकुलपति प्राडा अर्यालले शिक्षक तथा कर्मचारीको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उँचो राख्न सेवा आयोग सक्षम हुने विश्वास व्यक्त गरे । रजिष्ट्रार भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको बताउँदै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनोटमा आयोगको योगदान महत्वपूर्ण रहने बताए । सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्यालले प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा लिँदै विश्वविद्यालयको नियम, कार्यविधिअनुसार आयोगका काम कारबाही अगाडि बढाउने उल्लेख गरे । सदस्य प्रा डा उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताए । कार्यक्रममा सहप्रशासक तारादेवी सापकोटालगायतले बोलेका थिए । विश्वविद्यायको सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम उनीहरू उक्त पदमा चार वर्षका लागि नियुक्ति भएका हुन् । प्रा अर्याल अङ्ग्रेजी र प्रा डा बराल राजनीतिक शास्त्रका प्राध्यापक छन् । रासस
एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो
सिन्धुपाल्चोक । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । ‘विद्यार्थी झुम्म भएर एकोहोरो हुने गर्दथे’, कार्यक्रमअन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भनिन्, ‘उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीले मदिरा सेवन गर्ने गरेको भेटियो ।’ समस्या समाधानका लागि विद्यालय नर्स गिरीले विद्यार्थीको मनोभावना बुझे । अनि आफूलाई के–के हुन्छ भनेर पनि सोधे । विद्यार्थीको जवाफअनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको उनको भनाइ छ । ‘यहाँको संस्कृति नै यस्तै रहेछ, बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो’, उनले भने, ‘समस्या सुल्झाउनका लागि कक्षा–कक्षाका मदिरा सेवन गर्दा हुने बेफाइदाबारे चेतना प्रवाह गर्दै स्वास्थ्य शिक्षा प्रदान गरेपछि अहिले यो समस्या रोकिएको छ ।’ स्वास्थ्य शिक्षापछि विद्यार्थी अहिले ढाँट्दैनन् । उनले अहिले विद्यार्थीमा यस्तो नदेखिएको दाबी गरिन् । विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ । ‘आठ–नौ कक्षा पढ्दै गर्दा यहाँका बालबालिका विवाहबन्धनमा बाँधिने गरेका थिए’, प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भने, ‘विद्यालय नर्सले सानै उमेरमा विवाह र बच्चा पाएपछिको समस्याबारे परामर्श दिएपछि अहिले रोकिएको छ ।’ पछिल्लो वर्ष दिनमा यहाँका कुनै पनि बालबालिकाले विवाह नगरेको उनले बताइन् । यहाँका बालबालिका विशेषगरी अनुत्तीर्ण भएपछि सिधै विवाह गर्ने गरेका थिए । उनुत्तीर्ण भएपछि साथीले हेप्ने, आफूलाई लाज हुने हुँदा विवाह गरेर जाने गरेका हुन् । विद्यालयमा नर्स कार्यक्रमपछि प्रजनन स्वास्थ्य, सरसफाइबारे चेतना जगाएपछि बालबालिकाले सानै उमेरमा विवाह गर्ने सोच बिर्सँदै गएको उनको भनाइ थियो । गाउँमा वर्ष दिनमा आठ–दश बालिकाले उमेर नपुगी विवाह गर्ने गर्दथे । पछिल्लो वर्ष सानै उमेरमा विवाह गरेको भन्ने नसुनिएको र सबै बालिका विद्यालयमा नियमित भएको उनले जानकारी दिइन् । भीमेश्वरीमा मासिक हरेक कक्षामा स्वास्थ्य शिक्षा दिइन्छ । विद्यालयमा नर्सको व्यवस्थाभएपछि स्वास्थ्यबारे बालबालिका सचेतसमेत भएका छन् । ‘अहिले विद्यालयको चौरलगायत कक्षाकोठा हामी नियमित सरसफाइ गर्छौँ’, कक्षा १० मा अध्ययनरत अञ्जना दनुवारले भनिन्, ‘पहिला स्वास्थ्यलाई हामीले हेलचेक्रयाइँ गरेका रहेछौँ, बल्ल स्वास्थ्यप्रति सचेत भएका छौँ ।’ उनले विद्यालयमा नर्स आएपछि आफूले उपचार पाएको बताइन् । ‘कक्षामा पढ्दापढ्दै खुट्टा दुख्ने, पेट दुख्ने हुन थाल्यो’, उनले भनिन्, ‘स्वास्थ्य कक्षमा गएर उपचार गराएपछि फेरि कक्षामा फर्कन सकेँ ।’ नर्स गिरीका अनुसार अञ्जनालाई सामान्य उपचारका साथै हटवाटर ब्यागले पेटमा सेकाएपछि केही समय आराम गरेर कक्षाकोठामा फर्कन सक्ने बनाइएको हो । यसअघि यस्ता समस्या हुदा बीचमै पढाइ छाडेर घर जाने गरेको अञ्जना बताउँछिन् । यो साता कक्षा ५ मा अध्ययनरत अनिशा दनुवारलाई कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीले रडले हानेर टाउकामा दुई ठाउँ घाउसमेत बनाइदिए । कक्षाकोठामा रगत बग्यो । तत्काल नर्स पुगेर रगत थमाइएपछि स्वास्थ्य कक्षमा ल्याइ उपचार गरिएको थियो । ‘रगत धेरै बगेको थियो, रोक्न निकै गाह्रो भयो’, नर्स गिरीले भनिन् ‘पछि सफा गरेर ड्रेसिङ गराएँ, अनि केही समय आराम गराएर पुनः कक्षाकोठामा फर्काइयो ।’ विद्यालयमा नर्स कार्यक्रम नभएको भए उनलाई अस्पताल , स्वास्थ्यचौकी लैजानुपर्ने शोभा बताउँछिन् । भीमेश्वरीको स्वास्थ्य कक्षमा बिरामीका लागि दुईवटा शय्या छ । प्रदेश सरकारले उपलब्ध गराएको औषधि केही सकिएपछि नजिक रहेको स्वास्थ्यचौकीबाट पनि ल्याइने जनाइएको छ । औषधिको भण्डारण सुरक्षित दराजमा गरिएकाले बिग्रन सक्ने अवस्था छैन । गर्मी ठाउँ भएकाले दैनिक २० सम्म बालबालिकालाई उपचार गराइएको नर्सको भनाइ छ । कार्यक्रम लागू भएयता हालसम्म नौ सय ४७ ले उपचार गराइसकेका छन् । ‘गर्मीमा अलि बढी समस्या हुन्छ’, विद्यालय नर्स गिरीले भनिन् ‘पखाला लाग्ने, टाउको दुख्ने, उच्च रक्तचापका समस्या आउने गर्दछ ।’ उनका अनुसार छात्राहरू महिनावारी हुने बेलाको समस्या प्रमुख छ । पहिले छात्रा महिनावारी भएको बेला विद्यालय आउने गर्दैनथे, अरुले गिज्याउने र आफैँलाई पनि लाज हुने हुँदा छात्रा हप्ता दिनसम्म विद्यालय अनुपस्थित हुन्थे । अहिले महिनावारी भएको खण्डमा सेनिटरी प्याडको विद्यालयमै व्यवस्था भएपछि यो समस्या हटेको प्रधानाध्यापक कृष्णप्रसाद बताउँछन् । ‘चेञ्ज गर्नका लागि शौचालयमा आवश्यक सामग्रीसहितको व्यवस्था गरिएको छ’, उनले भनिन्, ‘पहिला यस्तो व्यवस्था नभएकै कारण छात्रामा विद्यालय छाड्ने क्रमसमेत रहेको थियो ।’ अहिले छात्रामा शतप्रतिशत ड्रपआउट समस्या रोकिएको उनले दाबी गरिन् । विद्यालयमा नर्स कार्यक्रमपछि जङ्कफुड रोकिएको छ । व्यक्तिगत र विद्यालयमा भएको सरसफाइले फड्को मारेको छ । पाँच सय ५० विद्यार्थी रहेका यो विद्यालयमा पहिला सामान्य पेट दुख्दासमेत विद्यार्थी घर जानुपर्ने अवस्था थियो । गत मङ्सिरबाट कार्यक्रम लागू भएपछि विद्यालयमै उपचार उपलब्ध भएपछि यो समस्या हल भएको छ । छात्रामा खुलेर भन्न सक्ने बानीको समेत विकास भएको प्रधानाध्यापक श्रेष्ठले बताए । ‘नर्स भएपछि बालबालिकाले अभिभावक पाएको अनुभूति गरेका छन्’, उनले भने । रासस
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस
गिरिजाप्रसादले ३ पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?
काठमाडौं । निर्वाचनको मिति मङ्सिर ४ गते नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् । मोरङको छ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक मतदाताले रोचक ढङ्गले नियालिरहेका छन् । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी छिन् । यो क्षेत्रमा स्वतन्त्र तीनसहित १३ जना चुनावी मैदानमा रहेका छन् । तीमध्ये कोइराला र नेकपा (एमाले) का ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नं १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेका थिए । विसं २०५६ मा मोरङ र सुनसरी ५ बाट विजयी हुनुभएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामिएकाे थियाे । दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलले उपाध्यायलाई तीन सय ५८ मतले पराजित गर्दै विजयी बनेका थिए । विसं २०७४ को निर्वाचनमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका पोखरेललाई पराजित गर्दै कांग्रेसको साख फर्काएका थिए । एक लाख २४ हजार सात सय २९ मतदाता रहेको यस क्षेत्रमा रतुवामाई, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा नं १, २ र ३ सहित २९ वटा वडा छन् । यो निर्वाचन क्षेत्रको प्रदेश १ मा ६१ हजार ५८ कूल मतदाता सङ्ख्या रहेकोमा महिला मतदाताको सङ्ख्या २९ हजार दुई सय ४३ रहेको छ । त्यस्तै प्रदेश २ तर्फ ६३ हजार छ सय ७१ कूल मतदाता सङ्ख्या रहेकोमा ३० हजार पाँच सय ६५ महिला मतदाता सङ्ख्या रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत नगेन्द्र केसरी पोखरेलले जानकारी दिए । क्षेत्रभरि जम्मा ६८ मतदान केन्द्र रहने निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ ले जनाएको छ । झापासँग सिमाना रहेको रतुवा, बीचमा बक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रका बासिन्दा हरेक वर्षायाममा नदी कटान र डुबानको मार खेप्न बाध्य छन् । खोलाको कटान र डुबान नियन्त्रण दुवै उम्मेदवारको साझा एजेन्डा बनेको छ । क्षेत्र नम्बर २ को प्रदेश १ मा प्रदेशसभा सदस्यमा तीन स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा उम्मेदवारी परेको छ । तीमध्ये नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र एमालेका दानबहादुर कार्कीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । उप्रेती अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हुँदा कांग्रेसका शिवकुमार गनगाईसँग पराजित भएका थिए । त्यसैगरी प्रदेश क्षेत्र २ मा दुई स्वतन्त्रसहित १० जना उम्मेदवार रहनुभएको छ । तीमध्ये एमालेका लीलाबल्लभ अधिकारी र कांग्रेसका विनोद कार्कीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । गत स्थानीय निर्वाचनको मतगणनाअनुसार यो क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धन चार हजार पाँच सय मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार तीन सय ३० मत ल्याउँदा कांग्रेसले २८ हजार छ सय १७ र माओवादी केन्द्रले सात हजार दुई सय ७१ मत पाएका थिए । रासस
सांग्रिला डेभलपमेन्ट बैंक १८ औं वर्षमा प्रवेश
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको छ । कात्तिक १३ आइतबार बैंक स्थापनाको १८ औं वर्षमा प्रवेश गरेको हो । बैंकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएमको साथै बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।