हिमालयन एयरलाइन्सले कमर्सियल ग्राउन्ड ह्यान्डलिङ पायो भने गौतमबुद्धमा जान तयार छ : उपाध्यक्ष श्रेष्ठ

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सातामा कम्तिमा ३ वटा अन्तर्राष्ट्रिय फ्लाईट गर्ने वायुसेवा सञ्चालकहरुलाई एउटा फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न भनेको छ । प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नु पर्ने भएको छ । हिमालयन एयरलाइन्सले [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सातामा कम्तिमा ३ वटा अन्तर्राष्ट्रिय फ्लाईट गर्ने वायुसेवा सञ्चालकहरुलाई एउटा फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न भनेको छ । प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नु पर्ने भएको छ ।

हिमालयन एयरलाइन्सले आफुले कमर्सियल ह्यान्डलिङ गर्न पाएमा तत्काल गौतमबुद्ध विमानस्थलबाट उडान गर्न सक्ने जनाएको छ । एयरलाइन्स प्रशासन तर्फका उपाध्यक्ष बिजय श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्राधिकरणले पछिल्लो समयमा चालेको कदमलाई  ‘कफी खान चाहेकालाई जर्बजस्ती चिया खुवाउन’ खोजेको बताए ।

‘विमानस्थल भनेको सेवा बिक्री गर्ने उद्योग हो र एयरलाइन्स भनेको सेवाको क्रेता हो’, उनले भने, ‘हामी कहिँ गएर कफी खान गयौं भने कफी खाने मान्छेलाई कफी नभएको अवस्थामा चिया खाने हो भनेर सोध्न मिल्यो तर कफी भएको अवस्थामा कफी नै खान पाउन पर्यो नी’, उनले भने । यात्री र एयरलाइन्सको रोजाई अन्य विमानस्थल भन्दा त्रिभुवन बिमानस्थल भएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

कतिपय मुलुकका एउटै सहरमा पनि धेरै विमानस्थल हुने गरेको र त्यस्तो ठाउँमा यात्रुहरुको रोजाइका आधारमा एयरलाइन्सहरुले उडान भर्ने गरेको उनी बताउँछन् । पहिलो विमानस्थल पछि यात्रुको दोस्रो विमानस्थल रोजाई नेपालको सन्दर्भमा बनिनसकेको उनको भनाइ छ ।

गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारणले त्यसलाई सञ्चालन गर्नको लागि सबै क्षेत्रको दायित्व भएको उनी बताउँछन् । हिमालयनको तर्फबाट सो विषयमा अध्ययन भइरहको उनले बताए । ‘हाम्रो आशय त्यहाँबाट फ्लाइट गर्नुपर्छ भन्ने हो, हाम्रो तयारी पुगेको छैन’, उनले भने, ‘प्राविधिक, यात्रु, व्यवसायिक, सञ्चालन सम्बन्धी, लगायत कुनै पनि ठाउँमा विमान सञ्चालको लागि आवश्यक सम्पूर्ण पक्षको तयारी हामीले गर्नैपर्छ ।’ तर, यात्रु भएन भने त्यहाँबाट नियमित फ्लाइट हुन नसक्ने उनी बताउँछन् । ‘यात्रु भएन भने ग्राहक नभएको ठाउँमा पसल खोल्ने कुरा त भएन नी’, श्रेष्ठले भने ।

हिमालयन एयरलाइन्स सरकारबाट अन्यायमा परेको एयरलाइन्स भएको भन्दै उनले कानूनअनुसार त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्डिङको अधिकार पाएर पनि कार्यान्वयन गर्न नपाएको बताए । ‘हामीले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल सरकारको ऐन्, नियमावली र कार्यविधि अनुसार सम्पूर्ण पालना गर्नुपर्ने शर्तहरु पालना गरेर लाइसेन्स पाइसकेपछि पनि काम गर्न नपाएको स्थिति छ’, उनले भने, ‘नयाँ विमानस्थलमा जाने कुरामा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ पनि हामीले गर्न पाउनुपर्छ भन्ने हाम्रो विषय छ ।’ सो कुरा हिमालयनले क्यानलाई स्पष्ट रुपमा राखिसकेको उपाध्यक्ष श्रेष्ठले बताए ।

ग्राउन्ड ह्यान्डलिङ तर्फ संकेत गर्दै उपाध्यक्ष श्रेष्ठले आफूहरुले सरकारसँग कुनै सहुलियत मागेको नभएर नेपालको कानूनले दिएको अधिकार अनुसार माग गरेको बताए । ‘कानूनले दिएको अधिकार, नेपालको ऐन, वैदेशिक लगानी, वैदेशिक लगानी नियमावली लगायत सबैले नेपालमा काम गर्नेलाई कुनैपनि भेदभाव गरिने छैन भनेर लेखेको छ, सोही अनुसार लगानी भएको छ’, उनले भने, ‘हामीले ग्राउन्ड ह्यान्डलिङ पाउनुपर्यो, त्यसपछि गौतमुद्ध विमानस्थलमा कर्मसियल ग्राउन्ड ह्यान्डलिङ हामीले पाउनपर्यो ।’

गौतमबुद्ध विमानस्थलबाट फ्लाइट गर्ने सन्दर्भमा हिमालयन सकारात्मक भएको बताउँदै उपाध्यक्ष श्रेष्ठले क्यानले भनेको कुरा स्वभाविक भएको तर आफ्नो विषय पनि आफूहरुले राख्न पाउनुपर्ने बताए । ‘पसल राख्न गयो तर ग्राहक आएन भने त पसल नै उठाएर हिँड्नुपर्छ नी, पसल त चल्दैन’, उनले भने । विमानस्थल भनेको सेवा उद्योग र दीर्घकालीन भएकाले यस्तो क्षेत्र सञ्चालन हुनको लागि लामो समय लाग्ने उनको भनाइ छ ।

 

Share News