विकासन्युज

एनसीसी बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एनसीसी बैंकको सेयर मूल्य समायोजन भएको छ ।समायोजनपश्चात नेप्सेमा बैंकको सेयरमूल्य १७८ रुपैयाँ १ पैसा कायम भएको छ । साधारण सभा तथा लाभांश वितरण गर्न बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समयोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । एनसीसी बैंकको सेयर कारोबार असोज १० गतेदेखि कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण रोक्का रहेको छ । बैंकले मंसिर २ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारण सभा बोलाएको छ । बैंकले हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

जुम्लामा ८७८ कर्मचारी निर्वाचनमा खटिने

जुम्ला । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए । जिल्लाभर एक सय छ मतदान केन्द्र र ८३ मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् । त्यसैगरी चार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लाका आठवटै स्थानीय तह गरी ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष १८ हजार आठ सय ७८, महिला १७ हजार नौ सय पाँच गरी जम्मा ३६ हजार सात सय ८३ मतदाता छन् । क्षेत्र नं २ मा पुरुष १६ हजार आठ सय २२, महिला १५ हजार ३३ गरी जम्मा ३१ हजार आठ सय ५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ । मतदाता शिक्षाका लागि जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा आठ सय म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस

संसारको गहिरो अन्धगल्छी र रुप्से झरना जोड्ने पदमार्ग बन्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्माएर वरपर रेलिङ राखी दृश्यावलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए । रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा २० लाख विनियोजन गरेको थियो । अनुदानबाहेक थप दुई लाख १९ हजार चार सय ७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताए । काभ्रे गाउँको बेनी–जोमसोम सडकबाट रुप्से झरना हुँदै बाजाढुङ्गा जोड्ने उकालो बाटोमा ढुङ्गाको सिँढी चिनेर करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ चार सय मिटर रेलिङ राखिएको छ । पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुङ्गा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुङ्गासम्म जाने बाटो साँघुरो र जोखिमयुक्त थियो । पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुङ्गाका चुचुरा हेर्दा पञ्चेबाजाका आकृति छन् । यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृतिअनुसारकै आवाज निस्कने गर्छ । ढुङ्गाको अलौकिक कला र सङ्गीत आश्चार्यजनक छ । छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङ्खलाई समेत अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँबाट ३० मिनेट पैदल हिँडेपछि बाजाढुङ्गा पुग्न सकिन्छ । यस ढुङ्गाको नजिक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समिपमै रहेकाले यस क्षेत्रको एकीकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताए । धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजिकको दूरीमा छन् । तीनवटै पर्यटकीयस्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्वारमा जानकारीमूलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से सङ्गम युवा क्लबका अध्यक्ष सुनिल पाइजाले बताए । रासस

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकाका राजदूत डिन आर थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गरेका छन् । सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सरहानीय रहेको बताए । उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए । उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे । रासस

सेयर धितो कर्जामा अझैं आक्रामक बने नबिल, कृषि विकास र माछापुच्छ्रे बैंक, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि एक वर्षमा मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटेको छ । राष्ट्र बैंकले ४/१२ को नीति ल्याएपछि सेयर बजारमा जाने सेयर धितो कर्जा एक वर्षको अवधिमा ३० प्रतिशतले घटेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा सीमित भएको हो । गत वर्षको भदौ महिनामा बैंकहरुले ८६ अर्ब ४२ करोड १० लाखरुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमाअधिकांश बैंकहरुले सेयर धितो कर्जा घटाएका छन् । तर, तीन वटा बैंकले भने सेयर धितो कर्जा बढाएका छन् । जसमा नबिल बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकले भने सेयर धितो कर्जा बढाएका हुन् । नबिल बैंकले ४.४९ प्रतिशत अर्थात् २९ करोड ६० लाख रुपैयाँ बढाएर ६ अर्ब ८८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । गत वर्षको भदौमा बैंकले ६ अर्ब ५९ करोड रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको थियो । यस्तै, माछापुच्छ्रे बैंकको ९.८० प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको थियो । बैंकले एक वर्षको अवधिमा ९ करोड ८० लाख रुपैयाँ सेयर धितो कर्जा बढाएको हो । यस्तै, कृषि विकास बैंकको सेयर धितो कर्जा १७९ प्रतिशत बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४१ करोड २० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको थियो । बैंकले एक वर्षको अवधिमा ७४ करोड रुपैयाँ सेयर धितो कर्जा बढाएको हो । यस्तै, गतवर्ष सेयर धितो कर्जा नदिएको नेपाल एसबिआई बैंकले गत भदौसम्ममा भने ३ करोड २० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । भदौ मसान्तसम्ममा एभरेष्ट बैंकले सेयर धितो कर्जा सबैभन्दा धेरै घटेको छ । बैंकको ६८ प्रतिशत घटेर ७७ करोड ६० लाख रुपैयाँ, एनएबि बैंकको ५९.३१ प्रतिशत घटेर १अर्ब ४४ करोड ७० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ५८.५० प्रतिशत घटेर १ अर्ब ७७ करोड रुपैयाँ, कुमारी बैंकको ४९ प्रतिशत घटेर २ अर्ब ४७ करोड रुपैयाँ र सिभिल बैंकको ४३.८४ प्रतिशत घटेर २ अर्ब १४ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । त्यस्तै, नेपाल बैंकको ३१.३२ प्रतिशत घटेर ३ अर्ब ६२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २६.८९ प्रतिशत घटेर ४ अर्ब ४७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ४०.७३ प्रतिशत घटेर १ अर्ब ७७ करोड रुपैयाँ, हिमालयन बैंकको १८.७४ प्रतिशत घटेर १ अर्ब २४ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूको २० प्रतिशत घटेर १ अर्ब ७० करोड रुपैयाँ र एनसीसी बैंकको ३०.७८ प्रतिशत घटेर १ अर्ब ४७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । यस्तै, लक्ष्मी बैंकको २६.१३ प्रतिशत घटेर २ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको ३०.९५ प्रतिशत घटेर ३ अर्ब ७९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३६.५० प्रतिशत घटेर ४ अर्ब ६९ करोड रुपैयाँ, सिटिजन्स बैंकको ३२.७६ प्रतिशत घटेर ३ अर्ब ८५ करोड रुपैयाँ, प्राइम बैंकको १६.८८ प्रतिशत घटेर ३ अर्ब २९ करोड रुपैयाँ, सनराइज बैंकको १५.५३ प्रतिशत घटेर १ अर्ब ९६ करोड रुपैयाँ, प्रभु बैंकको १६.७४ प्रतिशत घटेर २ अर्ब ३ करोड रुपैयाँ, मेगा बैंकको ३२.४२ प्रतिशत घटेर २ अर्ब ७७ करोड रुपैयाँ, सेञ्चुरी बैंकको २३.१४ प्रतिशत घटेर २ अर्ब २४ करोड रुपैयाँ र सानिमा बैंकको २३.९६ प्रतिशत घटेर १ अर्ब ६४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

‘राहतको पखाईमा बित्यो वर्ष दिन’

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन् । उनी बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन् । गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उनलाई एक दुई जना दानी मानिस दाताको आशा नलाग्ने कुरै भएन । उनी दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउदैनन् । हुन पनि एक वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा तीन दर्जन बढी मानिसले सुनाइसके । कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने । तर महिना बित्यो, वर्ष बित्यो राहत आएन । ‘बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो । हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ’, उनले भने, ‘आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।’ गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वश्व गुमाए । दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए । अर्काका छानोमा बसेका दुई परिवारलाई तीन–चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे । ‘सहयोगप्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो’, बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उनले बताए । गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले पाँच हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गरेका थिए । ज्ञानदेवी खातीले भनिन्, ‘बाढी आएको साढे १३ महिना हुन लागिसक्यो । सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौँ । तिहार–सिहार त हाम्रो लागि परको कुरा ।’ उनले भोको पेटले आश्वासन थेग्न नसक्ने बताइन् । उनले भनिन्, ‘भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गर्छौँ भनेर आश्वासन बाँडे । तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ । जाने कतै ठाउँ छैन न त खाने गास नै ।’ ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उनले बताइन् । ‘गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन । सहर पस्नलाई सहरबारे जानकारी नै छैन’, उनले भनिन् । अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको चामलको आधा बोरा जति छ । प्रेमबहादुरले भने, ‘एक जनाले चामल दिएका थिए । जोगाएर खाँदा पनि सकिनै लाग्यो । त्यसपछि कसलाई माग्ने ? के गर्ने ? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ ।’ खोलाले बगाउन बचेको जमिनमा दुई केजी जति कोदो फलेको देखाउँदै उनले भने, ‘घरमा छ जना छौँ । आफू बूढो भइसकेँ, छोराको त्यस्तो हालत छ प्यारालाइसिसको बिरामी । नाति–नातिना सानै छन् । भएको सम्पत्ति सबै बाढी निल्यो’, उनी टोलाउँछन् । खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन् । अन्य परिवारको पनि घरबाहेक केही छैन । ‘अहिलेसम्म घरको सास त जोगिएकै छ’, धन्धुरी खातीले भने, ‘अहिले बस्नलाई घर त छ । तर खानलाई केही छैन । गत वर्ष बचेको खायौँ, यसपटक सबै घर अन्नविहीन छन् ।’ बाढी आएको साढे १३ महिनासम्म खातीगाउँवासीले स्थानीय सरकार भएको महसुससमेत गरेका छैनन् । ‘राहतका लागि गाउँपालिका गयौँ । पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो’, धन्धरीले भने, ‘राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठाए ।’ केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उनले बताए । ‘अहिलेका अध्यक्षले आश्वासन दिएको पनि सात महिना भइसक्यो । सहयोगको नाममा शून्य छ । चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो । खै कता बिर्से ?’ उनले भने । अहिले खातिगाउँबासी राहतभन्दा पनि झरी पर्ने बित्तिकै आत्तिन्छन् । धन्दरीले भने, ‘झरी परे निकै डर लाग्छ । फेरि कात्तिकको महिना । गत वर्ष कात्तिकमै आएको बाढीले नमिटिने छाप बसाएको छ । दिउँसो भए त दौडधुप गर्न सकिन्छ । राति पानी परे त जाग्राम बस्नु नियमितजस्तै भइसक्यो ।’ बाढीले पुर्याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ । गडरायदेखि तमैल बजारको भू–भागसम्म बाढीले करोडौँ मूल्य बराबरको क्षति पुर्याएको छ । खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन् । गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो । स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन् । वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन् । बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन् । वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताए । ‘बाढीपीडितलाई निकै समस्या छ । तर हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन । यस वर्षका लागि बजेट त छुट्याएका छौँ । तर पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ’, उनले भने । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाउनुहुन्छ । ‘खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन् । उनीहरूका लागि हामीले सोचेका छौँ । बजेटको अभावले समस्या भएको हो । यसपटक समस्या समाधान हुन्छ’, उनले भने । रोकायाले अघिल्लो सरकारले बजेटबिना नै रकम छुट्याएको बताए । उनले भने, ‘अघिल्लो सरकारले बजेटबिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन । अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौँ, कार्यान्वयनमा गइसकेको छ ।’ आफूसँग पर्याप्त बजेट नभएको भन्दै उनले भने, ‘हामीसँग ठूलो बजेट पनि छैन, संघीय सरकारसँग पटक–पटक आग्रह गर्दा पनि चासो देखाएन । गृहमन्त्री नै अवलोकनका लागि आएको बेला सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि माग गर्यौँ, तर कतैबाट सुनुवाइ भएन ।’

५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा, बीमा शुल्कमा ९० प्रतिशतसम्म अनुदान

काठमाडौं । निर्वाचन नजिकिएसँगै विभिन्न दलहरु चुनावी घोषणापत्र सार्वजनिक गर्ने चटारोमा छन् । केहीले सार्वजनिक गरिसकेका छन् भने केही सार्वजनिक गर्ने तयारीमा छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्रमा विभिन्न दलहरुले विभिन्न एजेण्डाहरु समावेश गरेका छन् । हालसम्म सार्वजनिक भएका घोषणापत्रहरुमध्ये ५ वटा दलहरुले आफ्नो चुनावी संकल्प (घोषणा) पत्रमा आर्थिक एजेण्डासँगै बीमाको कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको पाइएको छ । नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी (नेसपा) ले बीमा कार्यक्रमलाई आफ्ना घोषणापत्रमा समेटेका छन् । जसमा बीमाको दायरा बढाउने, सबै नागरिकको स्वास्थ्य बीमा गराउनदेखि सहकारीलाई समेत बीमामा आवद्ध गराउनेसम्मका कार्यक्रमहरु रहेका छन् । दलहरूकाे घाेषणापत्रमा बीमाबारे साेच राम्राे भए पनि बजेट व्यवस्थापन कसरी हुन्छ भन्ने केही पनि बाेलिएकाे छैन । ५ वर्षभित्र शतप्रतिशतको स्वास्थ्य बीमा काँग्रेसले सार्वजनिक गरेको घोषणापत्र अनुसार दलले बीमालाई विभिन्न ५ वटा बुदामा फोकस गरेको छ । जसमा ५ वर्षभित्र शतप्रतिशतको स्वास्थ्य बीमा गराउने र बीमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कार्यक्रम छ । त्यस्तै, बीमा रकमको दायरा बढाई १० लाख पुर्याउने कांग्रेसको एजेण्डा छ । हाल सरकारले स्वास्थ्य बीमा गराएबापत अधिकतम २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउँदै आएको छ । कांग्रेसले आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्ने समेत उल्लेख गराएको छ । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न लगायतकालाई निःशुल्क स्वास्थ्य बीमा समेत गराउने कांग्रेसको लक्ष्य छ । बीमा प्रिमियममा ९० प्रतिशत अनुदान माओवादीले आफ्नो घोषणपत्रमा बीमा कार्यक्रम अन्तर्गत बीमा प्रिमियममा ९० प्रतिशत अनुदान दिनेदेखि कृषि बीमा व्यवस्थालाई पुनर्संरचना गराउनेसम्म रहेको छ । माओवादीले कृषि बीमालाई गाउँ गाउँमा पुर्याउन, बीमाको दायरा बढाउन, बिमाङ्क रकमलाई व्यवहारिक बनाउन र बीमा दावी भुक्तानी सेवालाई छिटो छरितो तुल्याउन कृषि बीमा व्यवस्थालाई पुनर्संरचना गर्ने भएको छ । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले उद्योग व्यवसाय सञ्चालन गर्दा बिउ पुँजी, ब्याज अनुदान, बीमा प्रिमियममा छुट तथा प्राविधिक सहयोगको प्रबन्ध गरिने माओवादीले आफ्नो संकल्पपत्रमा खुलाएको छ । बीमाको दायरा वृद्धि गरी खासगरी कृषि, पशुपन्छीपालन तथा जडीबुटी व्यवसायका हरेक उपक्षेत्रमा समेत बीमाको प्रभावकारी व्यवस्था गरिने छ । मुलुक बाहिर रकम जाने क्रमलाई बीमा प्रिमियमबाटै नियन्त्रण गर्ने समेत माओवादीले जनाएको छ । त्यस्तै, सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमा गरिने बताएको छ । गरिबीको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पुँजी बिनाधितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने छ । यस अनुसार सञ्चालित व्यवसायको बीमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने समेत उक्त पत्रमा उल्लेख छ । वैदेशिक रोजगारीमा जानेलाई जीवन बीमाको व्यवस्था   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सार्वजनिक गरेको घोषणापत्रमा भएका बुँदाहरुमध्ये ३ वटा बुँदाले बीमाको कार्यक्रमलाई समेटेको छ । जसमा स्वास्थ्य बीमाको पहुँच वृद्धि गर्नेदेखि बीमितलाई आफुले चाहेको अस्पतालमा उपचार गराउनेसम्मका एजेण्डाहरु रहेका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बीमाको दायरामा ल्याइनेछ र सबै बीमितले आफुले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गरिएको छ । स्वदेशमै पूर्ण रोजगारीको वातावरण नबनेसम्म सातै प्रदेशमा वैदेशिक रोजगारीमा जानेहरुलाई तालिम, सीप विकास, सहुलियत ऋण र जीवन बीमाको व्यवस्था गरिने राप्रपाले जनाएको छ । त्यसैगरी, कृषि तथा बाली बीमाको व्यवस्था समेत गराउने राप्रपाको कार्यक्रम रहेको छ । बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने  सबै नागरिकलाई सहजरुपमा अनिवार्य स्वास्थ्य बीमामा आवद्ध गराउने एकीकृत समाजवादीको पहिलो बीमा एजेण्डा हो । त्यस्तै, गरिबीको रेखामुनि रहेका जनताको लागि बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने समाजदावीको विशेष कार्यक्रम रहेको छ । १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने भएको छ । त्यस्तै, सबै किसिमको कृषिबाली र पशुपंक्षी व्यवसायमा बीमा व्यवस्था लागू गर्ने एकीकृत समाजवादीको घोषणापत्रले समेटेको छ । सबै सहकारी बीमामा आवद्ध अन्य दलले जस्तै नेपाल समाजवादको पार्टी (नेसपा) ले पनि पाँच वर्षभित्र सबैलाई स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ । दलले बीमाको पहुँच बढाउँदै पुनः बीमा कम्पनीको वित्तीय क्षमता बढाउने भएको छ । त्यस्तै, सबै सहकारी संस्थाहरुलाई समेत बीमामा आवद्ध गराउने नेसपाको एजेण्डा रहेको छ । जुन अन्य दलहरुले ल्याएका कार्यक्रमहरुमध्ये नयाँ कार्यक्रम हो ।

माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने सडक अलपत्र

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको सो सडकमा चार वर्षअघि काम सुरु भए पनि अहिले अलपत्र परेको छ । डेढ वर्षअघि नै सम्पन्न हुनुपर्ने सो सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ । सडकको काम लामो समयदेखि रोकिएको छ । सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समय भए पनि कालोपत्रको काम सुरु भएको छैन । निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । समयमै सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलो सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता स्थानीयवासीको छ । लाहाचोकका स्थानीयवासीले सोमबार गाउँपालिका जोड्ने सडकको काम तत्कालै सुरु गर्न मागसहित गाउँपालिकामा ज्ञापनपत्रसमेत बुझाए । उनीहरूले पाँच दिनभित्रमा काम सुरु नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने बताएका छन् । स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गर्दा जनताले दुःख पाएको बताए । उनका अनुसार अहिले सो सडकको सबै काम ठप्प छ । ‘हामीले सडक छिटो सम्पन्न गर्न पटक–पटक आवाज उठाएका छौँ, तर सुनुवाइ भएको छैन’, अधिकारीले भने, ‘गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखि अलपत्र पर्दा दुःख पाएका छौँ । गाउँपालिका र प्रदेश सरकारले दबाब दिनु पर्दछ भनेर पहिलो चरणमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हौँ ।’ गण्डकी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय कास्कीबाट १० करोड रुपैयाँ लगानीमा माछापुच्छ्रेकाे प्रवेशद्धार मर्दीपुलबाट भिरकटेरा, बानेटाकुर हुँदै गाउँपालिकासम्मको पाँच किमी कालोपत्र सडक निर्माणका लागि हिमदुङ थोकर जिएसआर जेभीसँग ठेक्का सम्झौता भएको थियो । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सो सडकमा लामो समयदेखि काम रोकिएकाले तत्कालै सुरु गर्न निर्माण कम्पनी तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका जोड्ने सडकभन्दा पछि ठेक्का लगाएर सुरु गरेका दुई पक्की सडक दुई वर्षअघि नै सम्पन्न हुँदासमेत मुख्य सडकको काम ढिलाइ भएको लाहाचोक भिरकटेराका दीपक अधिकारीले बताए । भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी हुँदै डाँडासम्म र भलाबोटबाट टुसेसम्म अर्को पक्की सडक कालोपत्र भइसक्दा गाउँपालिका प्रवेशको मुख्य सडक नै अलपत्र छ । रासस