विकासन्युज

हप्तामा १० मिनेट फुर्तिलो व्यायाम गर्दा ५ सालसम्म उमेर बढ्न सक्ने

एजेन्सी । अहिले धेरैजसो मानिसको जीवन निकै व्यस्त अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा या त हामीलाई व्यायाम गर्ने समय मिल्दैन वा हामी त्यसबाट भाग्छौं। यदि तपाईको पनि यस्तै अवस्था छ भने अमेरिकाको सिड्नी विश्वविद्यालयले तपाईको लागि खुसीको खबर ल्याएको छ । नयाँ अध्ययनका अनुसार हरेक हप्ता मात्र १० मिनेटको कडा व्यायाम गर्दा आयु लामो हुन सक्छ । व्यायाममाथि अनुसन्धान अनुसन्धानकर्ताहरूको टोलीले युके बायोबैंकका ७० हजारभन्दा बढी मानिसको डाटा विश्लेषण गरेको थियो। उनीहरुको उमेर ४० देखि ६९ वर्षको बीचमा थियो र उनीहरुलाई क्यान्सर वा हृदय रोग थिएन। अध्ययनका सबै सहभागीहरूलाई एक्टिभिटी ट्र्याकर लगाउन भनिएको थियो। यससँगै एक सातासम्म उनीहरुको शारीरिक गतिविधिको जानकारी संकलन गरिएको थियो । त्यसपछि वैज्ञानिकहरूले औसत ७ वर्षसम्म सबै सहभागीहरूको स्वास्थ्य रेकर्डलाई फलो गर्ने काम गरे। यस अवधिमा उनीहरुको कडा व्यायाम, क्यान्सर र मुटुरोगजस्ता गम्भीर रोग र मृत्युको सम्भावनाबीचको सम्बन्धलाई निगरानी गरिएको थियो । फुर्तिलो कसरत के हो ? बेलायतको नेशनल हेल्थ सर्भेका अनुसार कडा व्यायाम भनेको कुनै पनि शारीरिक गतिविधि हो, जसमा व्यक्तिको श्वासप्रश्वास छिटो हुन्छ। यस्तो क्रियाकलाप गर्ने व्यक्तिले एकैपटक धेरै शब्दहरू उच्चारण गर्न नसक्ने गरी फेरि बोल्नको लागि बीचमा सास फेर्छ। यसका उदाहरणहरूमा पौडी खेल्ने, पहाडमा साइकल चलाउने, सीढी चढ्ने आदि समावेश छन्। अनुसन्धानको नतिजाले के भन्छ ? बैज्ञानिकहरुका अनुसार आरामका साथ व्यायाम गर्नुको सट्टा जोसका साथ व्यायाम गर्दा मानिसको स्वास्थ्यमा सुधार आउने गरेको पाइएको छ । यदी तपाईं छोटो समयमा छिटो व्यायाम गर्नुहुन्छ भने तपाईंको स्वास्थ्यलाई निकै फाइदा हुन्छ । अध्ययनमा सहभागी व्यक्तिहरू जसले व्यायाम गरेनन् उनीहरुमा ५ वर्ष छिटो मर्ने जोखिम ५ प्रतिशत देखियो भने सोही समयमा हप्तामा एकपटक १० मिनेट फुर्तिलो व्यायाम गर्नेहरुलाई २ प्रतिशत र ६० मिनेट व्यायाम गर्नेहरुलाई १ प्रतिशत मात्रै जोखिम देखियो । भास्कर दैनिकबाट ।

सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराएकी हुन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिइन् । महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनु भएकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताइन् । ‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौं, न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो, कुनै पनि द्वन्द्वको निरुपण गर्ने विधि भनेको मेलमिलाप नै हो, मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ, महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरपण गरिन्छ, अब वडा वडामा एकहप्ता भित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु,’ उनले भनिन् । काठमाडौं महानगरपालिकाले यस अघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन् ।

बन्द हुने अवस्थामा प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग

पथरी । पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेकाे प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटामा चल्दै आएको छ । तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् । जैविक मल उद्योग काठमाडौंले उपत्यका बाहिर प्रदेश नं १ शाखा सञ्चालनमा ल्याए पनि प्रदेशमा नै बजार नपाउँदा उद्योग घाटामा चलिरहेको हो । प्रतिघण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्र्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ । मलको अभाव र माटोको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको हो । तर यता सरकारले छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठ सकिए लगत्तै युरिया र डिएपी मल भित्र्याउने कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । पथरी शनिश्चरेका पूर्वनगर प्रमुख दिलीपकुमार राईले वार्षिक १० लाखको मल खरिद गरी किसानलाई वितरण गर्दै आएको थिए । तर उक्त सहयोग पनि नयाँ जनप्रतिनिधि आएलगत्तै रोकिएपछि उद्योग सङ्कटमा परेको छ । सरकारले बाहिरबाट खरिद गर्ने रासायनिक मलको सट्टा जैविक मलको प्रयोग गरे बाहिरिने अर्बौ रुपैयाँ रोकिने उद्योगका सञ्चालक कृष्णचन्द्र महर्जन बताउँछन् । जैविक मलमा सरकारले चासो देखाए, किसानलाई अभिप्रेरित गरे माटोको सुरक्षा र अन्न उत्पादनमा वृद्धि हुने उनले बताए । जैविक मल प्रयोगमा ल्याए किसानको र राज्यको समस्या दुवै हल हुनुका साथै धेरैले रोजगारी पाउने छन् । तर नेपाल सरकारले रासायनिक मल युरिया प्रतिमेट्रिकटन छ सय ९३ डलरले खरिद गर्दैछ । सरकारले बाहिरबाट खरिद गरेर ल्याएको युरिया मल किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको छ । उ द्योगले मल बनाउन धानको ढुटो (ब्रन), प्रेसमड, चिउरीको पिना, तोरीको पिना, हड्डीको धुलो र कृषि चुनको प्रयोग गर्ने गरेको छ । आठ केजी मलले एक कठ्ठा जमिनलाई पर्याप्त हुने बताइएको छ । रासस

भायानेटले छिट्टै आइपीओ जारी गर्ने

काठमाडाैं । इन्टरनेट र टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले छिट्टै आइपिओ जारी गर्ने भएको छ । कम्पनीले यसकाे लागि आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखिसकेकाे छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेटले सन् २०११ मा नेपालमै पहिलो पटक फाइबर–टू–द–होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेकाे थियाे । त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आइपिटिभी सेवाहरूमध्ये एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनाएको छ । उपत्यका र सहर क्षेत्रमा बलियो रूपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ । हाल देशका ३० सहरमा विस्तारित भइसकेको कम्पनीले आगामी दिनहरूमा अझ धेरै शहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ ।        

ग्लोबल आइएमई बैंककाे पोखरा महानगरमा २ वटा नयाँ शाखा सञ्चालन

काठमाडाैं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ । बैंकले पोखरा महानगरपालिकाको वडा नं. १७, बिरौटा र वडा नं. २४, पामेमा एकैसाथ दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

रेडमीको पहिलो प्याड नेपालमा, ३५ हजार रुपैयाँमा पाइने

काठमाडौं । साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ । साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा एकदमै उत्साहित भएकाे बताए । ‘१०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ, ८००० एम्एएचकाे शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ, २ के रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश छ, साथै यसको स्टोरेज पनि १ टिबि सम्म बढाउन मिल्छ,’ उनले भने । अद्वित्तिय अडियो भिजुअल अनुभव १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । भिजुअल ल्याटेन्सी कम भएकोले यसमा ब्राउजिङ, स्क्रोलिङ र गेमिङको कामहरु अत्यन्तै छरितो रुपमा हुन्छ । टियुभि रेन्ल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्त भएकोले यस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनि आँखा पोल्ने, दुख्ने समस्या हुँदैन । साथै, यो एसजिएस लो भिजुअल फटिग सर्टिफिकेसन प्राप्त गर्ने विश्वकै पहिलो ट्याब्लेट हो । त्यस्तै डल्बी एट्मसको क्वाड कोर स्पिकरले गर्दा यस डिभाइसको अडियो पनि उच्च स्तरको छ । ग्रुप कल गर्न होस् या जमघटको रमाइलोमा मनोरन्जन लिन होस्, इयर्फोनमा सुन्दा होस् अथवा स्टेरियो स्पिकरमा सुन्दा होस्, यसको अडियो उच्च स्तर गुणस्तरको छ । त्यस्तै, यसको ८ एमपिको अल्ट्रा वाइड फ्रन्ट क्यामरा ग्रुुप भिडियो कलको लागि अत्यन्तै उपयुक्त छ । यस्तै यसमा भएको फोकस फ्रेम टेक्नोलोजीले क्यामरा अगाडि धेरै मान्छेहरु देखिनासाथ आफैँ वाइडर भ्युमा स्विच हुन्छ जसले गर्दा सबै जना भिडियो फ्रेमको बिचमा रहन सजिलो हुन्छ । पावरफुल प्रोसेसर र स्मुथ पर्फर्मेन्स मेडिया टेक हेलियो जि ९९ प्रोसेसरले यो ट्याब्लेटलाई भर्सटाइल बनाउनुको साथै प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स प्रदान गर्छ । ६ एन्एम्को प्रभावकारी प्रोसेसरले एपहरु चलाउन र अन्य कामहरु गर्न अत्यन्तै सरल र छरितो बनाएको छ । उत्कृष्ट पर्फर्मेन्स र उच्च ब्याट्रि ब्याकअपले गर्दा यो ट्याब्लेट चलाउने प्रयोगकर्ताहरुले हाइ एन्ड ट्याब्लेट चलाएको अनुभव लिन सक्नेछन् । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न् अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । दिनभरी टिक्ने शक्तिशाली ब्याट्रि १८ वाटको फास्ट चार्जिङ र २२ .५ वाटको इनबक्स चार्जरले गर्दा लगातार गेम खेल्न मुभी हेर्न र लामो फोटो शूटको लागि पनि सजिलो बनाएको छ । स्लिक र स्टाइलिश तुलनात्मक रुपमा कम मुल्यमा नै उपलब्ध भए पनि उच्च गुणस्तरीय मेटल युनिबडी डिजाइनले यसलाई अझै उत्कृष्ट बनाएको छ । प्रिमियम बिल्ड क्वालिटीले यो ट्याब्लेटको इन ह्यान्ड फिल अत्यन्तै सजिलो हुनुको साथै आधुनिक तरिकाले बनाइएको हाइ एन्ड ट्याब्लेटको जस्तै अनुभव लिन सकिन्छ । यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छ । ६/१२८ जिबिको स्टोरज अप्सनमा उपलब्ध यो ट्याब्लेटको मुल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ । रेडमी ट्याब यही कार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध छन् ।

चौबीस दिनदेखि बेपत्ता बनस्थलीका हेमराज भेट्टाउनेलाई १० लाख पुरस्कार

गलेश्वर । विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन । गत महिना असोज २६ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता हुनुभएका शर्माका आफन्त विवेक शर्माले बताए । सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ । घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौं आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

समृद्धि फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा गोकर्ण प्रसाद दुवाडी नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको बैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो । वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यसभन्दा अगाडि नेको इन्सोरेन्समा प्रमुख व्यवस्थापकको रुपमा रही काम गरेका थिए । साथै, हालै यस संस्थाका प्रमुख व्यवस्थापक विनोद राज पौडेल नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् ।