विकासन्युज

रेडमीको पहिलो प्याड नेपालमा, ३५ हजार रुपैयाँमा पाइने

काठमाडौं । साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ । साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा एकदमै उत्साहित भएकाे बताए । ‘१०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ, ८००० एम्एएचकाे शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ, २ के रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश छ, साथै यसको स्टोरेज पनि १ टिबि सम्म बढाउन मिल्छ,’ उनले भने । अद्वित्तिय अडियो भिजुअल अनुभव १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । भिजुअल ल्याटेन्सी कम भएकोले यसमा ब्राउजिङ, स्क्रोलिङ र गेमिङको कामहरु अत्यन्तै छरितो रुपमा हुन्छ । टियुभि रेन्ल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्त भएकोले यस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनि आँखा पोल्ने, दुख्ने समस्या हुँदैन । साथै, यो एसजिएस लो भिजुअल फटिग सर्टिफिकेसन प्राप्त गर्ने विश्वकै पहिलो ट्याब्लेट हो । त्यस्तै डल्बी एट्मसको क्वाड कोर स्पिकरले गर्दा यस डिभाइसको अडियो पनि उच्च स्तरको छ । ग्रुप कल गर्न होस् या जमघटको रमाइलोमा मनोरन्जन लिन होस्, इयर्फोनमा सुन्दा होस् अथवा स्टेरियो स्पिकरमा सुन्दा होस्, यसको अडियो उच्च स्तर गुणस्तरको छ । त्यस्तै, यसको ८ एमपिको अल्ट्रा वाइड फ्रन्ट क्यामरा ग्रुुप भिडियो कलको लागि अत्यन्तै उपयुक्त छ । यस्तै यसमा भएको फोकस फ्रेम टेक्नोलोजीले क्यामरा अगाडि धेरै मान्छेहरु देखिनासाथ आफैँ वाइडर भ्युमा स्विच हुन्छ जसले गर्दा सबै जना भिडियो फ्रेमको बिचमा रहन सजिलो हुन्छ । पावरफुल प्रोसेसर र स्मुथ पर्फर्मेन्स मेडिया टेक हेलियो जि ९९ प्रोसेसरले यो ट्याब्लेटलाई भर्सटाइल बनाउनुको साथै प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स प्रदान गर्छ । ६ एन्एम्को प्रभावकारी प्रोसेसरले एपहरु चलाउन र अन्य कामहरु गर्न अत्यन्तै सरल र छरितो बनाएको छ । उत्कृष्ट पर्फर्मेन्स र उच्च ब्याट्रि ब्याकअपले गर्दा यो ट्याब्लेट चलाउने प्रयोगकर्ताहरुले हाइ एन्ड ट्याब्लेट चलाएको अनुभव लिन सक्नेछन् । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न् अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । दिनभरी टिक्ने शक्तिशाली ब्याट्रि १८ वाटको फास्ट चार्जिङ र २२ .५ वाटको इनबक्स चार्जरले गर्दा लगातार गेम खेल्न मुभी हेर्न र लामो फोटो शूटको लागि पनि सजिलो बनाएको छ । स्लिक र स्टाइलिश तुलनात्मक रुपमा कम मुल्यमा नै उपलब्ध भए पनि उच्च गुणस्तरीय मेटल युनिबडी डिजाइनले यसलाई अझै उत्कृष्ट बनाएको छ । प्रिमियम बिल्ड क्वालिटीले यो ट्याब्लेटको इन ह्यान्ड फिल अत्यन्तै सजिलो हुनुको साथै आधुनिक तरिकाले बनाइएको हाइ एन्ड ट्याब्लेटको जस्तै अनुभव लिन सकिन्छ । यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छ । ६/१२८ जिबिको स्टोरज अप्सनमा उपलब्ध यो ट्याब्लेटको मुल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ । रेडमी ट्याब यही कार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध छन् ।

चौबीस दिनदेखि बेपत्ता बनस्थलीका हेमराज भेट्टाउनेलाई १० लाख पुरस्कार

गलेश्वर । विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन । गत महिना असोज २६ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता हुनुभएका शर्माका आफन्त विवेक शर्माले बताए । सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ । घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौं आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

समृद्धि फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा गोकर्ण प्रसाद दुवाडी नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको बैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो । वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ वर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यसभन्दा अगाडि नेको इन्सोरेन्समा प्रमुख व्यवस्थापकको रुपमा रही काम गरेका थिए । साथै, हालै यस संस्थाका प्रमुख व्यवस्थापक विनोद राज पौडेल नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् ।

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई दराज ११.११ अभियानमा ३ हजारसम्मको छुट 

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । यो योजना कात्तिक २५ गतेदेखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे । बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सयसम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजारसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्नेछ । सेञ्चुरी कमर्सियल बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैंकको सीइओमा पुन: रोशन न्यौपाने

काठमाडाैं । एनआईसी एशिया बैंककाे प्रमुख कार्यकारी अधिकृतमा पुन:राेशन कुमार न्याैपाने नियुक्त भएका छन् । बैंककाे कात्तिक १६ गते बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हाे । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी सीइओ पदमा थप ४ वर्षको अवधिको लागि पुन: नियुक्त गरेकाे हाे । सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपालमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका थिए ।  

काठमाडौंमै घरजग्गा भएकाहरु पनि फुटपाथ व्यापार गर्छन् : राजु पाण्डेसँगको अन्तर्वार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) निर्वाचित भए पश्चात् नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डे नियुक्त भए । दुई दशक नगर प्रहरी भएर काम गरेका पाण्डेले अहिले महानगरको सुरक्षाको जिम्मेवारी सम्हालिरहेका छन् । अहिले धेरैले पाण्डेलाई मेयर बालेनले रुचाइएको पात्रका रुपमा चिन्छन् । अहिले काठमाडौं महानगरको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि पाण्डे रातदिन खटिरहेका छन् । बालेनसँगै काम गरेपछि उनको चर्चा पनि चुलिएको छ । जन प्रशासनमा स्नातकोत्तर गरेका पाण्डे अहिले काठमाडौंको अनाधिकृत संरचनासँगै फुटपाथ हटाउनका लागिरहेका छन् । उनै पाण्डेसँग समग्र काठमाडौं महानगरको सुरक्षा व्यवस्था, काठमाडौंकको अनधिकृत संरचना हटाउनेदेखि फुटपाथ व्यवस्थापन लगायतका विषयमा विकासन्युजका राजिव न्यौपाने र रिसव चौधरीले कुराकानी गरेका छन् । केही समय अगाडि मेयर बालेन साहसहित नगर प्रहरी पनि अनधिकृत संरचना हटाउन व्यापक रूपमा लाग्नु भएको थियो, अहिले सो विषय किन सेलायो ? त्यो विषय सेलाएको भन्न मिल्दैन । यो बिचमा दशैं तिहार र छठ लगायतका चाडपर्व परे । यो बीचमा धेरै सार्वजनिक विदा पनि पर्यो । सार्वजनिक बिदा भएको कारण पनि अनधिकृत संरचना हटाउन रोकेका हौं । सार्वजनिक आवागमनमा अवरोध र अवैध संरचना विषयमा महानगरले विधिगत तरिकाले काम गरिरहेको छ । अनधिकृत संरचनाको तथ्याङ्क आई निर्णय तहमा पुगेपछि प्राथमिकताको श्रेणी बनाएर हटाउने काम गरिरहेका छौं । यो काम निरन्तर अगाडि बढ्दै जान्छ । महानगरले गरेको निर्णयलाई कार्यान्वयन गर्दै जाने हामी नगर प्रहरी हौं । अब चाडपर्व पनि सकिएको छ । कानुनको पालना नगर्नेलाई कानुनको दायरामा ल्याउँछौं । अब पुनः हामी एक्सनमा जान्छौं । अहिले के कस्ता काम भइरहेका छन् ? सामान्यतः हामीले दशैं तिहारमा सार्वजनिक आवागमन जहाँ मानिसहरूको बढी भिड भाड हुन्छ, त्यस्ता ठाउँलाई पहिलो प्राथमिकता दिएर काम गर्यौं । पहिला पर्व लागेसँगै किनमेल गर्न असन लगायतका ठाउँमा आउँने चाप बढी हुन्थ्यो । फुटपाथमा राखिएको सामानका कारण नागरिकहरूको आवागमनमा समस्या हुन्थ्यो । यस वर्षको पर्वमा साना तिना पसलहरू राख्न दिएनौं । चोक चोकमा नगर प्रहरीहरू पनि परिचालन गर्यौं । अहिले पनि फुटपाथ व्यवस्थापन लगायतका कामहरू भइ रहेका छन् । टुकुचा खोलाको विषय पनि व्यापक रूपमा चर्चामा आएको थियो, अब त्यो विषय ओझेलमा परेको हो ? टुकुचा खोलाको विषय बारे महानगरको शहरी विकास विभागले हेर्छ । हामीले निर्णय कार्यान्वयन गर्ने हो । शहरी विकासको नेतृत्वमा इन्जिनियर कर्मचारीहरू खटिएर नाप जाँच गर्नु भएको थियो । त्यसको सर्पोटिङ भूमिका हामी प्रहरीले गर्ने हो । त्यसैको सिलसिलामा हामी त्यहाँ खटिएका थियौं । सम्बन्धित क्षेत्रका पदाधिकारीहरूलाई यसको जानकारी छ । काठमाडौंमा फुटपाथको समस्या पहिले देखिको नै हो, यसको व्यवस्थापन किन गर्न नसकेको ? पहिलो कुरा फुटपाथ हिँड्ने ठाउँ हो । पसल राख्ने ठाउँ होइन । मसँग यसको उत्तर छ । धेरै मान्छेले यसलाई अनुत्तरित प्रश्न भन्छन् । म सोच्छु एउटा सडकमा कति गाडी गुड्छन् ? दैनिक रूपमा हेरौं । अनि कुनै पनि सडकपेटीमा कति मानिस दैनिक रूपमा आवतजावत गर्छन्, त्यो कुरा पनि नियालौं । आवतजावत गर्ने अधिकारलाई लाई हटाएर लाखौं, हजारौं संख्यामा नागरिक हिँड्ने फुटपाथलाई अवरोध गरेर पसल राख्ने कुरा कहाँसम्म जायज हुन्छ ? हिँड्न पाउन अधिकारलाई हनन् गरेर पसल राख्ने कुरा आफैमा जायज कुरा हैन । यो सबैले बुझ्नु पर्ने कुरा हो । फुटपाथका व्यापारीलाई एक ठाउँमा लगेर व्यवस्थापन गर्ने कुराहरू आइरहेका छन् । तर, काठमाडौंमा अहिले जग्गा पाउन समेत मुस्किल रहेको अवस्थामा उनीहरूलाई कहाँ लगेर व्यवस्थापन गर्ने ? काठमाडौं यो घनाबस्तीमा कतै पनि खाली ठाउँ छैन । घर अगाडि फुटपाथमा पसल बस्यो, हिँड्ने ठाउँमा पसल राखिदिएका कारण आवागमनमा मुस्किल भयो भनेर दिनमा यहाँ सयौंको संख्यामा फोन आइरहेको हुन्छ । हामीले सकेसम्म फोन आएको १० देखि १५ मिनेट पुगेर हटाइरहेका छौं । सीमित जनशक्तिको कारण सतप्रतिशत त नभनौं प्राथमिकताको आधारमा कहाँ बढी भिड हुन्छ । त्यस्ता ठाउँमा गएर सूचना पाएको आधारमा अनुगमन गर्छौं । सडक यातायातको लागि हो, पेटी हिँड्नको लागि हो । हाम्रो मापदण्ड त्यो नै हो । मापदण्ड भित्र रहेर हामीले काम गर्नु हाम्रो कर्तव्य हो । व्यापारीलाई २०५० साल भन्दा अगाडि पनि खुल्ला मञ्चमा थिए । त्यहाँ बाट हटाएर भृकुटीमण्डपमा लगेर राखियो । तर, फेरी त्यस्तै निस्किए । मान्छेको घर तथा जग्गा छ । तर, पनि २० औं वर्षदेखि फुटपाथमा व्यापार गर्न छाडेको छैन । सम्पन्न परिवार छ तर पनि फुटपाथमा व्यापार गर्न छाड्दैनन् । त्यस्ताको तथ्यांक हामीसँग प्रशस्त मात्रामा उपलब्ध छन् । सायद ठाउँ भएको व्यवस्थित हुन्थ्यो होला । ठाउँ नै छैन । अहिले धेरै ठाउँका फुटपाथका पसलहरू हटाइसकेका छौं । अहिले नगर प्रहरीहरू चोक–चोकमा खटिएका छन् । नगर प्रहरी जाने बित्तिकै सो ठाउँमा आएर पसल राख्ने प्रवृति अझै छ । हामी त्यही सामानहरूलाई जफत गरिराखेका छौं । नियम अनुसार हामीले सोही सामानलाई जफत गर्छौं । हामी कुनै पनि हालतमा सार्वजनिक अवरोध हुने गरी सडक र पेटी अतिक्रमण हुन दिदैनौं । फुटपाथमा व्यापार गरिरहेका सामान खोसेर यसको दिगो व्यवस्थापन हुन्छ ? यसलाई खोस्ने भन्दा पनि हटाइएको भन्छन् । त्यसलाई हामी हटाएर जफत नै गर्छौं । जफत गरेर कार्यालयको नियम अनुसार स्टोर दाखिला गर्छौं । दाखिला गरी सकेपछि नियम अनुसार लिलाम प्रक्रियामा जान्छ । लिलामबाट आएर राखेको रकम राजश्वमा राखिएको हुन्छ । कसैले पनि फुटपाथमा पसल नराखे हटाउनु पर्दैन थियो । दिगो समाधान पनि हुन्थ्यो । तत्काल कुहीने तरकारी तथा फलफूल जरिवाना लिएर छोड्छौं । आज हामीले सामान खोसी दिन्छौं, भोलि त्यही व्यापारी पुनः सामान लिएर बस्छ । अब फुटपाथमा हैन, पसल सटरमा सार्नु पर्याे । महानगर बजार अनुगमनमा पनि सक्रिय देखिन्छ, अनुगमनको क्रममा के कस्ता सामानहरू भेटिन्छन्, म्याद नाघेका सामान कतिको भेटिन्छन् ? बजारमा सामान अनगिन्ती छन् । कर तिर सटरमा राखेका सामान र त्यही सामान फुटपाथमा पनि राखेका छन् । बजार अनुगमन अनेकौं देखिन्छ । कसैले गुणस्तरहीन सामान पनि राखेका पाइन्छ । त्यस्तो सामानको नष्ट गर्नुका साथै जरिवाना समेत गरिरहेका हुन्छौं । उपभोक्ताले पनि नहेरीकन सामान किन्छन् र आफै ठगिन्छन् । ठल्ठूला मासु पसलमा सरसफाइको पनि कमि देखियो । अनुगमनको काम पनि निरन्तर चल्छ । हामीले गर्नु पर्ने काम हामी गरिरहन्छौं । काठमाडौंमा अण्डरग्राउण्ड पार्किङको समस्या समाधान भएको होकि महानगर थाकेको हो ? महानगर थाकेको छैन । समस्या पनि समधान भएको छैन । अण्डरग्राउण्ड पार्किङ नभएको ठाउँमा कतिपयले र्याम बनाइ रहनु भएको छ । नियमित रुपमा हामी जे काम गर्छौं । त्यसको प्रगति के भइरहेको छ त्यो पनि हामी हेर्दै जान्छौं । हाम्रोमा सीमित जनशक्ति छ । यो जनशक्तिले चाहे जति काम पनि गर्न सकिँदैन । हामीले गरेको कामबाट कहिले पछि पर्दैनौं । हामीले गरेको हर काम कारवाही अनुगमन गर्दै हेर्दै पुनरावलोकन गर्दै अगाडि बढ्छौं । बानेश्वरका धेरै ठाउँमा अण्डरग्राउण्ड पार्किङ सञ्चालनमा आइसकेका छन् । पहिला बाटोमा सवारी पार्किङका कारण हिड्न अफ्ट्यारो भयो भनेर सयौं गुनासोहरु आउँथे । अहिले क्रमिक रुपमा यस्ता गुनासाहरु कम हुँदै गएका छन् । अशन इन्द्रचोकबाट दुइ पाङ्गे धेरै सवारी साधन उठाएका छौं । महानगरको गाडी जताततै घुमिरहेको हुन्छ । नागरिकको गुनासोको आधारमा पनि हामीले अनुगमन गर्दै आएका छौं । पार्किङ प्रयोजनको लागि भनेर लिएको ठाउँ अन्य कामको लागि प्रयोजन भएको रहेछ भने कुनै पनि हालतमा छाड्दैनौं । तपाईंको बिचारमा काठमाडौं महानगरलाई व्यवस्थित शहर बनाउन के गर्नुपर्छ ? यसको लागि नागरिक नै सचेत हुन पर्याे । काठमाडौं सम्पदाले भरिएको शहर हो । यसलाई पर्यटकीय रूपमा विकास गर्ने हो भने पनि राम्रो हुन्छ । हरेक नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्याे । गलतलाई गलत सहिलाई सही हो भन्न सक्ने हुनु पर्याे । आफ्नो स्वार्थको लागि आँखा चिम्लिएर के भएको छ र भन्ने विगतको प्रवृतिलाई हटाउन जरुरी छ । सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गर्ने हो । शहर आफै राम्रो बन्छ । हाम्रो एकल प्रयासबाट मात्रै व्यवस्थित शहरको विकास गर्न सकिँदैन । सबै नागरिकहरूको सहयोग भने काठमाडौंलाई सुन्दर शहरको रूपमा विकास गर्न सकिन्छ । महानगरले मापदण्ड विपरितका होडिङ बोर्ड हटाउन एक सय जनालाई हायर गर्दैछ भन्ने सुनिएको छ, यो काम के कसरी हुन्छ ? काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थल बाहिर राख्दै आएको परिचय पाटी हटाउने योजना बनाएको छ । महानगरपालिकाले ३० वर्ग फुटभन्दा माथिका सबै परिचय पाटी हटाउने छौं । परिचय पाटी राख्दै आएका संघ संस्थाहरूले सो पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको छ । शुल्क तिरेका र महानगरका मापदण्ड भित्र रहेर तयार पारिएका पाटीहरूलाई हटाइने छैन । परिचय पाटीको राखेको बापत शुल्क तिर्न संघ संस्थाहरू महानगरमा आइरहेका छन् । उनीहरूले शुल्क तिरे पनि महानगरले तोकिदिएको ठूलो वर्ग फिटमा पाटी राखेको छन् । सोही पाटी पनि हामी हटाउँछौं । त्यस्ता पाटी हटाउनको लागि काठमाडौं महानगरपालिकाले एक सय जना कर्मचारीहरू केही समयको लागि हायर गर्ने योजना बनाएको छ । उहाँहरूले कानुनलाई मिचेर ठूलो हुन्छौं भन्ने ठान्नु भएको छ । त्यस्तालाई हामी कानुनको दायरा भित्र ल्याउँछौं । सोही पाटीहरू हटाउनको लागि हामीले आन्तरिक ग्रहकार्य गरिरहेका छौं । घरको भित्ता परिचय पाटी राखेका छ । त्यसलाई हटाउनको लागि सीपयुक्त मानिस चाहियो । काठमाडौंको सुन्दरतालाई घर माथि बोर्डले थिचेर राखेको छ । त्यसलाई हटाउनु पर्छ । हटाएर र भत्काएर मात्र समस्याको समाधान हुने हो र ? हामीले जति पनि भत्काएका हटाएका छौं । त्यही सबै अनधिकृत संरचना हुन् । घर बनाउँदा थोरै ठाउँ छोड्नु पर्ने हुन्छ । तर सोही ठाउँमा पनि संरचनाहरूको स्थापना गरेका छन् । ओपनस्पेस देखाउनु पर्ने ठाउँमा संरचना बनाए । हटाउनु पर्ने ठाउँमा हटायौं । त्यहाँ के बनाउनु पर्ने हो र । महानगरको योजना भित्र परेका विषयहरु बनाउन सुरु भइ हाल्छ । जति पनि हामीले भत्काएका र्छौं, त्यी पुनः बनाउनु पर्ने संरचना हैन । खालि देखाउनु पर्ने ठाउँमा पनि संरचना बनाई भाडा लगाउने जस्ता कार्य गरेकाले महानगरले खाली गरिदिएको हो । तपाईंहरुको आगामी योजनाको बारेमा बताइदिनु होस् ? पहिलाको कामलाई निरन्तरता दिने काम भइ हाल्यो । नगर प्रहरीको जनशक्ति बिहान ७ बजे देखि बेलुका ८ बजेसम्म काम गरिरहेको छ । अहिले महानगर भित्र एक सय ७१ जना नगर प्रहरीहरू हुनुहुन्छ । अहिले रातको समयमा सडकमा ल्याएर फोहोर फ्याल्ने प्रवृति बढ्दो छ । यस्तो प्रवृद्धिलाई रोक्न २४ घण्टा गस्तीको परिचालन गर्ने योजना बनाएका छौं । सडकमा फोहोर फाल्नेलाई जरिवानाका साथै कारबाही पनि गर्छौं । फोहोरको व्यवस्थापन गर्न भए पनि हाम्रो जनशक्तिको परिचालन गर्छौं । तोकिएको समयमा भन्दा बाहिर फोहोर निकाल्न दिदैनौं । केही समय पछि महानगरको चोक तथा फुटपाथमा पसल राख्नेहरू पाउनु हुन्न ।

धितोपत्र बजारसम्बन्धी बनाइएकाे ३ नियमावली खारेजीको माग गर्दै सर्वाेच्चमा रिट

काठमाडाैं । धितोपत्र बजारसम्बन्धी बनाइएकाे ३ नियमावली खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेकाे छ । नयाँ धितोपत्र बजार, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र र लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी तीन नियमावली खारेज गर्न माग गर्दैै संवैधानिक इजालासमा रिट परेकाे हाे । रिटमा नयाँ स्टक एक्सचेन्ज, ब्रोकर, वस्तु विनिमय बजारको अनुमति दिन थालिएका सम्पूर्ण प्रक्रिया स्थगनको माग गरिएको छ ।  

नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आवद्ध गर्दै जर्मनी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय राज्यमन्त्री वारवेल कोफलरको नेतृत्वमा रहेको टोलीबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध क्षेत्रबारे गहन छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच जर्मनी र नेपालका प्राथमिकताका क्षेत्र तथा सहयोगलाई निरन्तरताका विषयमा केन्द्रित रही विचार विमर्श भयो । जर्मनी नेपालको सामाजिक रुपान्तरण र आर्थिक विकासको प्रमुख साझेदार मुलुक हो । जर्मनीले नेपाललाई पुनःद्विपक्षीय सहायता प्रदान गर्ने मुलुकको सूचीमा आबद्ध गर्ने घोषणा गरेको छ । सो अवसरमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक विकास र लोकतान्त्रिक प्रक्रियामा मित्र राष्ट्र जर्मनीबाट निरन्तर साथ र सहयोग प्राप्त भइरहेकामा धन्यवाद ज्ञापन गर्दै कोभिड–१९ सङ्क्रमण रोकथाममा पनि भएको सहयोगप्रति आभार व्यक्त गरे । जर्मनीले नेपाललाई लामो समयदेखि दिगो आर्थिक विकास, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा प्रभावकारी सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालले जर्मनीसँग पूर्वाधार निर्माण, कृषि र उद्योगका क्षेत्रमा पनि सहयोगको अपेक्षा गर्दै आएको छ । भेटपछि मन्त्रालयका वैदेशिक सहायता महाशाखाका प्रमुख एवं सहसचिव ईश्वरी अर्यालले दुई देशका प्राथमिकताका क्षेत्रका अतिरिक्त नवीकरणीय ऊर्जा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताए । जर्मनीले विभिन्न गैरसरकारी संस्थामार्फत पनि नेपाललाई सहयोग पु¥याउँदै आएको छ । भेटका अवसरमा नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जलगायत सहभागी थिए ।