विकासन्युज

यूनिलिभरले प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने, तोक्यो बुक क्लोजको मिति

काठमाडौं । यूनिलिभर नेपालले सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कार्त्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । साथै, कम्पनीले लाभांश प्रयोजनको लागि बुक क्लोजको मिति पनि तय गरिसकेको छ । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो । सम्बन्धित समाचार युनिलिभरमा एक लाख लगानी गर्नेको सम्पत्ति झण्डै १ करोड, यस्तो छ ११ वर्षको लाभांश

इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख २५ हजार १९० कित्ता सेयर शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकले आवेदन दिएका थिए । तर १ हजार ९९६ आवेदन विभिन्न कारणले रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन मात्रै सदर भएको छ । कम्पनीमा १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सेयरका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गर्दा ६२ हजार ५१९ आवेदकले मात्रै सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको छ ।

बैंकले ऋण दिन नसकेपछि साहु–महाजनको प्रवेश

बि.सं १९९४ मा नेपाल बैंक लि.को स्थापना भए पश्चात मात्र नेपालमा औपचारीक बैकिङको शुरुवात भएको देखिन्छ । करिब १३ बर्ष पश्चातमात्र केन्द्रीय बैंकको स्थापनाबाट औपचारिक बैंकिङ क्षेत्रको विकास तथा विस्तार भएको पाईन्छ । फलस्वरुप सम्पूर्ण नेपालीमा बैंकिङ्ग पहुँच अभिवृद्धी गर्ने अभिप्रायले बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु र सामुदायिक स्तरमा सहकारी संस्थाहरु स्थापना भए । यसले गर्दा एकातिर नेपाली जनतामा वित्तीय सेवाको पहुँचमा अभिबृद्धि भएको छ । स्थानीय साहु तथा महाजनबाट ऋण लिँदा तिर्नु पर्ने चर्को व्याजबाट शोषित हुनु पर्ने अवस्थामा सुधार आएको पाईन्छ । वित्तीय संस्थाको स्थापनासंगै आर्थिक रुपमा पिछिडिएका व्यक्ति तथा समुदायले समेत आफ्नो सीपको प्रयोग गर्ने विभिन्न किसिमको व्यवसाय सञ्चालन गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सुलभ ब्याजदरमा ऋण पाउने अवस्थाको सृजना भएको देखिन्छ । हालसम्म पनि नेपालको कुल जन संख्याको १८ प्रतिशत जनसख्या अझै पनि गरिबीको रेखामुनी रहेको र करिब २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेको अवस्था देखिन्छ । औपचारिक बैंकिङ्गको विकास तथा विस्तारको लामो इतिहास नरहेको नेपालमा गत आर्थिक बर्षदेखिको तरलताको अभावका कारण बैंक तथा वित्तीय क्षेत्रको ब्यवसाय विस्तार हुन सकेको छैन । फलस्वरुप ग्राहक तथा सदस्यहरुले नयाँ व्यवसायको थालनी गर्न र भैरहेकै ब्यवसाय विस्तार गर्न आवश्यक थप पुँजी सहजै पाउन नसक्ने अवस्थाको सृजना भएको देखिन्छ । यसले गर्दा देशको अर्थतन्त्रको चक्रमानै नकरात्मक प्रभाव परेको देखिन्छ । आर्थिक कारोबारको चक्रमा तरलता अभाव रहनु, विगतमा कम ब्याजदर कायम हुँदा लिएको ऋणको ब्याजदर अनपेक्षित रुपमा वृद्धि हुनु, चालू कर्जाको रुपमा लिएको ऋण नवीकरण नभई किस्ता किस्तामा तिर्ने (आवधिक) ऋणमा रुपान्तरित हुनु, ब्यापार ब्यवसायमा संकुचन आउनु लगाएका पीडा साना तथा मध्यम उद्यमी तथा ब्यवसायीहरुको रहेको छ । अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुले ती साना तथा मध्यम उद्यमी तथा ब्यवसायीहरु माथि ऋणको साँवा तथा ब्याज भुक्क्तानिमा गरेको ताकेता तथा लगाएको हर्जनाका कारण निकै तनावमा रहेको देखिन्छन । यस प्रकारको तनावकाबिच ब्यवसाय संचालन गरेका ब्यवसायीहरु ती बैंक तथा वित्तीय संस्थाको साँवा तथा ब्याज भुक्त्तानको लागी आनौपचारिक क्षेत्रबाट चर्को ब्याजदर तथा कडा शर्तहरु पुन: स्वीकार गरी आफुुलाई आवश्यक ऋण लिनु पर्ने अवस्था विकास भैरहेको देखिन्छ । यसले गर्दा औपचारिक वित्तीय सेवाको पहुँचमा रहका ब्यक्तिहरु समेत बैंक तथा वित्तीय संस्थाको यस प्रकारको ब्यवहार तथा शैलीका कारण अनौपचारिक माध्यमका वित्तीय सेवाहरुको प्रयोगमा विस्तार भै नव साहुमहाजनको पुनः प्रवेश हुन सक्ने देखिन्छ । जनु कुराहरु विगतमा मिटर ब्याज पीडितहरुले गरेको आन्दोलनले समेत इन्कित गर्दछ । यस प्रकारका नव साहु महाजनहरुको प्रवेश भएको खण्डमा बैंकिङ्ग ब्यवसाय तथा ती उद्यमीहरुको भविश्य पक्कै पनि सहज नहुन सक्ने देखिन्छ । यस प्रकारको गम्भीर अवस्था एकातर्फ रहेको छ भने अर्को तर्फ यस प्रकारको असहज परिस्थितिकाबिच बैंक तथा वित्तीय संस्थाहरुको नाफामा भने खासै संकुचन आएको देखिदैन । बैंक तथा वित्तीय संस्थाहरु स्थापनाका बिभिन्न उद्देश्यहरु रहेता पनि एक महत्वपूर्ण उद्देश्य सेवा समेत रहेको हुँदा ती बैंक तथा वित्तीय संस्थाका नाफा लगायत वित्तीय सूचकहरु राम्रा भएमामात्र राम्रो मान्ने नभै ग्राहक सदस्यहरुको सन्तुष्टिलाई मुल्याकङ्क गरी दण्ड तथा सजायको ब्यवस्था गर्नु पर्ने देखिन्छ । हालको तरलताको अभावको स्थीति आउनका पछाडि धेरै कारणहरु हुन सक्लान् तर अभावको स्थिती देखा परेपश्चात् बैंक तथा वित्तीय संस्था र ब्यवसायीहरु सबैंको हितमा तथा भविश्यको अवस्थालाई समेत ध्यान दिँदै अर्थतन्त्रमा नव साहुमहाजनको प्रवेशले भविश्यमा आउने समस्याहरु प्रति सजक हुँदै निराकरणका उपायहरु समेत उपनाउनु पर्ने देखिन्छ । (लेखक आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रबन्धक हुन् । )

लामो बिदा : विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्छिन् । उनी दशैं तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसकेकी छिन् । लामो विदामा पहाड उक्लिएकी विक एक महिनापछि विद्यालय जाँदा धेरै कुरा बिर्सिसकेको अवस्था छ । ‘पढाइमा छोरी राम्रै थिइन, फरर उच्चारण गरेर पढ्ने, लेखाइ पनि राम्रो थियो, एक महिना विदामा गाउँ गयौँ’, सम्झनाकी आमा रत्ना विकले भनिन्, ‘अहिले त छोरी धेरै कुरा बिर्सिसकेकी छिन्, उनलाई आफ्नै कोर्ष नयाँ लाग्न थालेको छ ।’ उनले शिक्षकको सल्लाहमा छोरीले बिर्सेका कुरा अध्ययनका लागि अतिरिक्त कक्षा सुरु गरेको बताइन् । लामो समय बालबालिका विदामा बस्दा पहिले पढाइ भएका अधिकांश कुरा बिर्सने गरेको शिक्षक बताउँछन् । दसैँ तिहारको एक महिना बिदापश्चात् यही कात्तिक १४ गतेदेखि विद्यालय पुनःसञ्चालन भएका छन् । विद्यालय आउँदा बालबालिकाले धेरै कुराहरु बिर्सेको सेतिमैया चौधरी माविका प्रधानाध्यापक पतिराम चौधरी बताउँछन् । ‘बालबालिका बिदामा किताबबाट टाढा रहे, घरमा पढ्ने वातावरण भएन, अधिकाँशले पहिला पढेका कुरा बिर्सिएको पाइयो’, उनले भने, ‘अब पहिला पढेका कुरा पुनः सम्झाउने काम भइरहेको छ । साना कक्षाका बालबालिकामा यस्तो समस्या बढी पाइयो ।’ मल्लिका विद्यापीठ टीकापुरका प्रधानाध्यापक टीकाराम आर्यको पनि यही गुनासो छ । हाल उनीसँग आश्रममा चार विद्यार्थी बस्दै आएका छन् । घरमा बस्दै आएका अन्य विद्यार्थी विद्यालय आउँदा पहिले पढाइ भएका धेरै कुरा बिर्सेर आएको र आफूसँगै आश्रममा बस्दै आएका विद्यार्थीको त्यस्तो समस्या नभएको उनी बताउँछन् । ‘बिदामा पनि बालबालिकालाई नियमित पढ्न लगाउनुपर्छ, विदामा बालबालिका कितावबाट टाढा रहेकाले यस्तो समस्या देखिएको हो’, उनी भन्छन्, ‘यसरी महिनौँसम्म नपढेपछि साना बालबालिका बिर्सिन्छन् ।’ जानकी गाउँपालिका–७ स्थित मोति मावि मोतिनगरका प्रधनाध्यापक दीपक दास यसको सबै अपजस शिक्षकमाथि आउने गरेको दुखेसो गर्छन् । ‘विद्यालयमा हुँदा शिक्षक र घरमा रहँदा अभिभावकले ध्यान दिने हो, आफ्नो जिम्मेवारी महसुस गर्ने हो भने विद्यार्थीमा यस्तो कमजारी देखिँदैन’, उनी भन्छन्, ‘तर अभिभावकले खासै बालबालिकालाई समय दिएको देखिँदैन । एक महिनामा बालबालिका अधिकांश पढेका कुरा बिर्सेर आउँछन् ।’ बिदाका समयमा विद्यार्थी नियमित पठनपाठन क्रियाकलपाबाट टाढा हुने हुँदा यस्तो बेला घरमा अभिभावकले निगरानी गरी विभिन्न शैक्षिक क्रियाकलापमा व्यस्त राख्न सके बालबालिका पठनपाठनमै व्यस्त हुन्छन् र नबिर्सने हुन्छन् । अब विद्यालयमा बालबालिकालाई पहिलेका कुरा सम्झने गरी दोहोर्याएर पढाउँदा केही हदसम्म पहिले पढाइ भएका कुराहरु सम्झन सक्ने जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाइ छ । ‘लामो विदापछि विद्यालयले बालबालिकाको पढाइ सुधारका लागि दोहोर्याएर पढाउनु पर्छ’, उनी भन्छन्, ‘बिदामा गृहकार्य दिएको हुन्छ, अभिभावकले दिएको गृहकार्य गर्न सघाउने गरेको भए पनि सहज हुन्थ्यो ।’ हरके वर्ष वर्षे, हिउँदे र दशैं बिदामा लामो समय विद्यालय बन्द हुन्छ । विद्यालय बन्दपश्चात् विद्यालयमा पुनः पठनपाठन हुँदा विद्यार्थी पहिले पढाएका धेरै कुरा बिर्सेर आउने भएकाले लामो विदाबारे पनि सोच्न आवश्यक रहेको अभिभावक बताउँछन् । कतिपय स–साना बालबालिकाहरुलाई त झन् शुन्यबाटै शुरु गर्नुपर्ने शिक्षकको गुनासो रहेकाले विदाका समयमा घरमा अभिभावकले ध्यान दिन सके यो अवस्था नआउने शिक्षकको सुझाव छ । विदाको समय कसैको सामान्य, कसैको सिर्जनशिल लामो विदाको यो समय कैलालीका मावि तहमा अध्ययनरत बालबालिकाले सामान्य तवरले मनाएका छन् भने कसैले सिर्जनात्मक काममा खर्च गरेका छन् । विद्यार्थी सिजर्नशिल हुन्छन् । उनीहरुका लागि रहेक समय सिर्जनात्मक हुनु आवश्यक छ । कैलालीका केही विद्यार्थीले दशैं तिहार विदाको एक महिनाको समय सिर्जनात्मक बनाएका छन् भने केहीले सामान्य रुपमा मनाएका छन् । पढाइको रफ्तार चलिरहेका बेला एक महिन बिदा हुँदा विद्यार्थीलाई विद्यालयले गृहकार्य दिने तथा घरमा पढ्नका लागि समय निकाल्न सुझाएका हुन्छन् । कक्षा १० मा अध्ययनरत महेश साउँदले दशैं तिहार विदामा पढ्नमै समय विताए । ‘पढ्ने विद्यार्थीका लागि एक महिना पर्याप्त हो । मैले पढाईमा मात्र ध्यान दिए’, उनी भन्छन्, ‘घरबाट बाहिर जान अनुमति थिएन, त्यसैले घरमै बसेर पढाइमा ध्यान दिए ।’ वीरेन्द्र विद्या मन्दिरमा अध्ययनरत रीतिका शाहले बिदाको समय पढाइसँगै नयाँ सीप सिक्ने, घरको काममा सघाएर बिताइन् । ‘मैले घरको काम सिके, भान्सामा नयाँ परिकार बनाउन सिके’, उनी भन्छिन्, ‘पढाइमा पनि ध्यान दिए, पेन्टिङ गर्न, चित्र बनाउन सिके । यो समय मेरा लागि सिर्जनशील रह्यो ।’ लामो समयसम्म पढाइ लेखाइबाट टाढा रहँदा, सिर्जनात्मक काम नगर्दा पढाइप्रतिको रुचि घट्न सक्छ । त्यसैले बिदाको समयलाई हरेक विद्यार्थीले सिर्जनात्मक बनाउनुपर्छ । बिदाको समयमा कोही विद्यार्थी पढाइ र नयाँ कुरा सिकाइमा व्यस्त रहन्छन् भने कोही पूरा समय खानपान र घुमफिरमा बिताउँछन् । कक्षा १० मै अध्ययनरत प्रकृति बोगटीले पनि घरको काम, अभिभावकलाई पसलको काममा सघाउने, नयाँ सीप सिक्ने गरी समय सदुपयोग गरिन् । ‘घरको काम सिके, पसलको काममा सघाए, यसपटक रक्षा धागो बनाउन सिके’, उनले भनिन्, ‘तिहारमा पकाइने परिकार बनाउनसमेत सिकेकी छु ।’ अङ्कित तिमिल्सिनाले पनि पसल र घरको काममा सघाउने, आफ्नो पढाइलाई समय दिनुका साथै रमाइलो गरी बिताए । जनजागृति मावि सितापुरमा कक्षा ९ मा अध्ययनरत रविना परियार र रेखा परियारले पनि पढाइमै केन्द्रित भएर बिदाको सदुपयोग गरे । बिदाको समयमा विद्यार्थीले पढाई सुधारका साथै सामाजिक कार्य, सिर्जनात्मक सीप सिक्न सक्ने भएकाले शिक्षकले समेत त्यहीअनुसार गर्न सुझाव दिने र गृहकार्य दिने गरेको त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायत बताउँछन् । ‘हामीले बालबालिकालाई सामाजिक कार्यमा सक्रिय हुन सिकाएका हुन्छौँ, नयाँ सीप सिक्न, जस्तै नृत्य सिक्न, गीत गाउन, रमाइला कार्यक्रममा सहभागी हुन सक्छन्’, उनी भन्छन्, ‘विद्यार्थीलाई पढ्न प्रेरित गर्नुका साथै सामाजिक जिम्मेवारी पनि सिकाउन आवश्यक छ ।’ रासस

तारकेश्वर नगरपालिकामा २२ करोड खर्च

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख रुपैयाँ खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो । प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार रुपैयाँ र पुँजीगत खर्च आठ करोड ४९ लाख रुपैयाँ रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताए । ‘काठमाडौं भित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ’, उनले भने । तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षको बजेट दुई अर्ब छ करोड रुपैयाँ रहेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन् । रासस

पाक्ने समय हुँदा पनि धानमा लागेन दाना, किसान चिन्तित

वालिङ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिका-१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो। स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए। विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो। ‘विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ’, उनले भने, ‘यसपटक त के भयो-भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन।’ डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नै नलागेको हो। मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उनी चिन्तामा छन्। ‘धान ठटाउनै पर्दैन, पराल हरियै छ, बल्ने भए आगो लगाइदिन्थे’, उनले भने, ‘विगत वर्षहरुमा यही क्षेत्रफलमा १४-१५ मुरी धान उत्पादन हुन्थ्यो, यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो।’ यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए। कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए। ‘यो ठाउँमा अन्य कृषकले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ तर चार कृषकको खेतमा लगाइएको धानमा दाना नै छैन’, उनले भने, ‘यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारण क्षति भएको हो।’ ‘युएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँका लागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दाबी छ। केही दिनअघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा चार/पाँच दिनको अविरल वर्षा मुख्य कारण भएको उनी बताउँछन्।

नारायणगढ-मुग्लिन सडकखण्ड : छेउका घरटहराको क्षतिपूर्ति छैन, पुल निर्माणमा ढिलाइ

भरतपुर । घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मूल्याङ्कनको काम गरेर सिफारिस गरिसकेको कार्कीले बताए । ‘सडकखण्डमा पर्ने पुल आसपासका घरको ५० हजार रुपैयाँ देखि सात लाख रुपैयाँ सम्म क्षतिपूर्ति दिनुपर्ने छ’, उनले भने, ‘एक करोड २५ लाख रुपैयाँ माग गरेका छौँ ।’ उनले गतवर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको बताए । ‘यस वर्ष जसरी पनि क्षतिपूर्तिको रकम व्यवस्थापन गर्नुपर्ने छ, त्यसका लागि विभाग र मन्त्रालय धाइरहेका छौँ’, कार्कीले भने । तिहारअघि भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले समेत स्थलगत निरीक्षण गरेको भन्दै यस वर्ष क्षतिपूर्तिको रकम विनियोजन हुनेमा आशावादी रहेको उनले बताए । ‘कतिपय स्थानको छेउछाउमा घरटहरा भए पनि बिचमा काम गरिरहेका छौँ’, कार्कीले भने, ‘स्थानीयसँग आपसी सहमति गरेर भए पनि काम गरेका छौँ ।’ स्थानीयले क्षतिपूर्तिका लागि दैनिक अनुरोध गर्ने गरेको उनले बताए । मुग्लिनबाट नारायणगढतर्फ जाने पहिलो पुलमा जग खन्ने बित्तिकै घरटहरा भत्किने भएका कारण क्षतिपूर्ति नदिँदासम्म काम सुरु गर्न नसकिएको कार्कीले बताए । नाम्सी, रिद्धीखोला, खहरे, खोर, लामोबालुवा, भोर्ले र सिमलताल पुलका छेउमा रहेका घरटहरालाई क्षतिपूर्ति दिनुपर्ने प्रमुख कार्कीको भनाइ छ । विश्व बैंकको ऋण सहयोगमा निर्माणाधिन १५ पुलमध्ये चालु आर्थिक वर्षभित्र १२ वटाको निर्माण सकिने आयोजनाले जनाएको छ । निर्माण पूरा भएका पुल नजिकै सडकमा जोडिएका घरटहरालाई दिने क्षतिपूर्ति भने ऋण सहयोगमा परेको छैन । उक्त क्षतिपूर्ति सरकारले दिनुपर्ने छ । सरकारले त्यसका लागि बजेट निकासा गरेको छैन । आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तिहारपछि पुल निर्माण धमाधम भइरहेका छन् । आयोजना प्रमुख कार्कीले १५ मध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताए । १९ पुलमध्ये चारवटा यसअघि नै निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो । उनले पाँच पुल निर्माणको काम अन्तिम चरणमा रहेको र घरटहराको क्षतिपूर्ति दिलाउन सके तीन महिनाभित्र सात पुल निर्माण सम्पन्न हुने बताए । तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ । सडकखण्डअन्तर्गतका पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रिग्दीखोलासम्मका पुल छन् । जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा भरतपुर महानगरपालिकाअन्तर्गत सिमलतालबाट जुगेडीसम्मका पुल पर्छन् । जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् । यो प्याकेजअन्तर्गत जुगेडीबाहेक अन्य पुलको ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । कार्कीका अनुसार प्याकेज–१ का सातवटा पुल चार सय ४२ मिटर लामा छन् भने प्याकेज–२ का आठ पुल ३ सय ८१ मिटर लामा छन् । पुलको गाडी गुड्ने ठाउँ ७।५ मिटर फराकिलो हुनेछ । दुवैपट्टि १।५ मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कनसहित ठेक्का दिइएकाले कूल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ । दुवै ठेक्का एउटै कम्पनीको रहेको छ । पन्ध्र पुलका लागि २०७६ चैत १० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी ‘अनक कन्स्ट्रक्सन’ले ठेक्का लिएको थियो तर सम्झौताको म्याद सकिन दुई महिनामात्रै बाँकी छ । एक वर्ष म्याद थप गर्ने आयोजनाको तयारी छ । रासस

पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् । नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोेपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार दिने ‘टुर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ’ तालिम आयोजना गरेर सो घोषणा गरेका हुन् । नाट्टाका केन्द्रीय सचिव युविका भण्डारीले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न तालिम फलदायी हुने उल्लेख गर्दै कोभिड–१९ पछि पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव बढेको बताए । उनले त्यही अभाव न्यूनीकरणका लागि नेपाल पर्यटन बोर्डको योजनामा मुलुकका विभिन्न ठाउँमा यस्ता तालिम चलाउन थालिएको जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पर्यटननै मुलुकको अर्थतन्त्रका लागि बलियो र स्थायी आधार बन्न सक्ने धारणा व्यक्त गरे । उनले देशको अर्थतन्त्र सवलीकरणमा निजी क्षेत्रको भूमिका रहेको उल्लेख गर्दै तीन प्रदेशका पर्यटन व्यवसायीले तालिमपछि बनाउने टुर प्याकेजमा एकरुपता आउने बताए । नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालमै पहिलोपटक आयोजना गरिएको तालिमले व्यवसायीलाई भ्रमण प्याकेज बनाउन गन्तव्य पहिचानदेखि विश्वभरका गन्तव्यमा जाने पर्यटकका लागि आवश्यक टिकट व्यवस्थापन गर्नसक्ने उल्लेख गरे । सो कार्यक्रममा होटल व्यवसायी महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका उपाध्यक्ष डिल्लीराम रेग्मी, सुदूरपश्चिम अध्यक्ष पवनविक्रम सिंह, नेपाल पत्रकार महासङ्घ बाँकेका सचिव कमल डाँगी, पूर्वअध्यक्ष झलक गैरेलगायतले पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए । तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० टुर अपरेटर सहभागी छन् । नाट्टाका केन्द्रीय सचिव युविका भण्डारी र सुनिल दाहालले तालिमको सहजीकरण गरिरहेका छन् ।