उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
ढोरपाटन । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ। राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ-गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन्। बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ। वर्षा भयो भने धान नोक्सान हुने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन्। उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन्। उनीहरु आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन्। बागलुङका अधिकांश किसान यतिबेला धान काट्ने, गहुँ, जौँ छर्ने चटारोमा छन्। कामको मुख्य याममा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरुको धोको छ। प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्र्याउने चटारो। किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो। त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन्। खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरे। किसानले गाउँमा सिँचाइ, उन्नत जातका बिउ र मलको अभाव बर्सेनि हुने गरेको गुनासो गरेका छन्। खेतबारीमै पुग्ने उम्मेदवारलाई आफूहरुले सिँचाइको व्यवस्था गरी दिनुपर्ने माग गरेको गलकोटका कृषक प्रेमबहादुर खत्रीले बताए। उनले तिहार सकिएपछि धान स्याहार्न भ्याइनभ्याइ भएको भन्दै यही समयमा उम्मेदवार भोट माग्न बारीमा आइरहेको बताए। खत्री भन्छन्, ‘हामीलाई कति बेला धान स्याहार गर्ने भन्ने चिन्ता छ, नेतालाई भोटको, आकाश गाडाङगुडुङ गर्दा धान सबै सखाप हुन्छ की भन्ने पिर लाग्छ, नेताहरु बारीमै आएर नाटक गर्छन्, चुनाव जितेर गए भने नाक मुख देखाउँदैनन्, अहिले बारीमै आएर नानाथारी आश्वासन दिन्छन्, यसपालि जसले किसानको समस्या बुझ्छ, मर्म बुझ्छ, काम गर्न सक्छ उसैलाई भोट दिने हो।’ उनले गाउँमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धान, गहुँ सोचेअनुसारको उत्पादन गर्न नसकेको भन्दै सरकारबाट पाउनु अनुदानसमेत आफूहरुले पाउन नसकेको गुनासो गरे। उनले दिनदिनै फरक-फकर उम्मेदवार आएर आफूहरुलाई आश्वासन दिने बाहेक अरु काम नगरेको सुनाए। उनले भने, ‘कामको चटारो निकै छ, एकछिन पनि कुरा गर्ने समय छैन, नेताहरु आएर हैरान बनाउँछन्, सिँचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ राम्रोसँग उत्पादन गर्न सकिएको छैन, अबरु सिँचाइको व्यवस्था गरी दिए कति राम्रो हुँदो हो?’ ढोरपाटनका स्थानीय चूडामणि कार्कीले पछिल्लो केही दिययता उम्मेदवार तथा नेता भोट माग्न घरदेखि बारीसम्म आएको बताए। उनले उम्मेदवारलाई कृषकको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताए। कार्कीले यस क्षेत्रबाट धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताए। ‘हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नु भएन, अहिले पनि भोट माग्न दिनदिनै आउनुभएको छ, उहाँहरुलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईहरुको काम गर्छौं भनेका छन्,’ उनले भने। स्थानीय प्रेमनाथ पौडेलले नेताले बारीमै आएर भोट माग्न किसानलाई फकाइराखेको बताए। उनले जनतालाई नेताहरुले पटक-पटक आश्वासन मात्रै दिएको हुँदा धेरै निराश बनेको बताए। पौडेल समाज र जनताका लागि काम गर्ने नेताको खाँचो भएको बताउँछन्। पौडेलले भने, ‘अब नागरिक सचेत छन्, जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो, अब भाषण सुनेर भोट हालिन्न।’ दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा ३१ उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशतर्फ १८ र प्रतिनिधिसभातर्फ १३ उम्मेदवार छन्। बागलुङ क्षेत्र नम्बर १ मा छ जना र क्षेत्र नम्बर २ मा सात जना छन् भने क्षेत्र नम्बर १ (क) मा पाँच, (ख) मा चार जना, क्षेत्र नम्बर २ (क) मा दुई जना र (ख) मा सात उम्मेदवार छन्। रासस
उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ, ‘भोट हाल्न मन थियो बाध्यताले दिएन’
दोधारा चाँदनी । कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का लक्ष्मण चौधरी बुधवार साँझ गड्डाचौकी नाकामा भेटिए। दशैं तिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका हुन्। चौधरीसँगै बेलौरी र लालझाडीका १७ युवा रोजगारीका लागि भारत लागेका छन्। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भोट माग्न दलका उम्मेदवार मतदाताको घरदैलोमा गएरहेका बेला गड्डाचौकी नाकाबाट थुप्रै युवा रोजगारीका लागि भारत जाने क्रम बढेको छ। गड्डाचौकी नाकामा पछिल्लो केही दिनयता कामको लागि भारत जानेको सङ्ख्या बढेको छ।‘चुनाव आएर हामीलाई के नै हुन्छ र नेताहरु भोट मागेपछि फर्किदैनन्’, रोजगारीको खोजीमा भारत जान लागेका चौधरीले भने, ‘हामीलाई त भारत नगई सुख छैन, नत्र परिवार कसरी पाल्ने।’ उनले चुनावमा मात्रै आश्वासन दिने नेताले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसक्दा भारत जानुपर्ने बाध्यता रहेको बताए। ‘आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपर्थ्यो र’, उनले भने, ‘भारत नगई खानपीनको जोहो गर्न सकिँदैन।’ आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर रोजगारीका लागि भारत जान लागेका चौधरीले त्यहाँ लामो समयदेखि मजदुरी गर्दै आएका छन्। ‘भारतको बद्रीनाथमा हाम्रो गाउँका २५/३० जना मजदुरी गर्छौँ’, उनले भने, ‘चाडपर्व मनाएर फेरि भारत जान लागेका छौँ, भोट हाल्न मन त थियो बाध्यताले दिएन।’ चौधरीसँगै कामको खोजीमा जान लागेका बेलौरी नगरपालिका-५ का धर्मा चौधरी पनि स्वदेशमा रोजगारीको सिर्जना नहुँदा भारतको भर पर्नुपरेको बताउँछन्। ‘त्यहाँ गएर मजदुरी गर्न साह्रै दुःख हुन्छ, तर जानै पर्ने बाध्यता छ’, उनले भने, ‘अहिले पनि नेताहरु रोजगारी दिन्छौँ भनेर गाउँमा भोट माग्दै छन, हेरौँ यसपालि के गर्छन्।’ नेताहरु अहिले गाउँमा भोट माग्न आउँदा आफूहरुका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरेको बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तिहार सकिएपछि रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेको छ। प्रहरीको तथ्याङ्कअनुसार मङ्गलबार ८९ जना रोजगारीका लागि भारत गएका छन्। बुधवार सो सङ्ख्या बढेर एक सय ८० पुगेको छ। रासस
लगानीकर्ताहरुले खाद्य प्रविधिमा लगानी गर्दा खाद्य संकटलाई सामना गर्न सजिलो हुने
एजेन्सी । नक्कली मासु र कीराहरू विश्वको कमजोर खाद्य प्रणाली ठिक गर्नका लागि वैकल्पिक आहारा हुन सक्छन् । तर, लगानीकर्ताहरु सो क्षेत्रमा लगानी गर्न उत्साहित देखिइरहेका छैनन् । आवश्यक मात्रामा सो क्षेत्रमा लगानी भइरहेको देखिदैन । चालु वर्षको ६ महिनामा खाद्य प्रविधि स्टार्टअप बिजनेसमा १२ दशमलब ७ बिलियन लगानी भएको पिचबुक डाटामा देखिन्छ । यो गतवर्षको एक तिहाई मात्रै हो। जलवायु परिवर्तन र युद्धका कारण खाद्य उत्पादन तथा वितरणमा आएको समस्याले आवश्यक मात्रामा खाद्य आपूर्तिलाई निकै चुनौति खडा गरिरहेको छ । जसका कारण भोको र मोटोपना बढ्ने क्रम जारी छ । यस्तो अवस्थामा खाद्य प्रविधिको क्षेत्रमा गरिने लगानी निकै महत्वपूर्ण हुने ठानिएको छ । यस हप्ता लन्डनमा भएको वल्र्ड एग्रीटेक इनोभेसन समिट र फ्युचर फूडटेक सम्मेलनमा स्टार्टअपहरूले लगानीकर्ताहरूको ध्यान आकर्षित गर्न सफल भएका थिए । पिभोट बायोले परम्परागत मलको सट्टा बालीलाई पोषण दिन हावामा नाइट्रोजन कब्जा गर्ने सूक्ष्मजीवहरू प्रयोग गर्दछ। कृपिनले किसानहरूलाई राम्रो निर्णय लिन मद्दत गर्न कृषि डेटा सङ्कलन गर्दछ। संसारमा वैकल्पिक प्रोटिनको लागि धेरै स्टार्टअपहरूले मासुको विकल्पलाई स्वाद र अझ राम्रो महशुस गर्ने उद्देश्यले सामग्री र सेवाहरूमा काम गरिरहेका छन् । उपभोक्ताहरुबाट विश्वास प्राप्त गर्नको लागि फुड टेकको विस्तार गर्ने विषय महत्वपूर्ण छ । तर यसको लागि थप लगानीको समेत आवश्यकता पर्दछ । फुडटेक सम्मेलनमा फाइभ सिजन भेन्चर्सका प्रबन्ध साझेदार निकोलो मान्जोनीलाई लगानीकर्ताहरुले प्रश्न गरिरहेका थिए । ‘बजार पूँजी र उत्कृष्ट कम्पनीले भरिभराउ भएकाले लगानीको थप हुन सक्छ ।’ ब्लुमबर्गबाट ।
यी ४ तरिकाबाट हेर्न सकिन्छ इष्टर्न हाइड्रोपावरको आईपीओ
काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख २५ हजार १९० कित्ता सेयर शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकले आवेदन दिएका थिए । तर १ हजार ९९६ आवेदन विभिन्न कारणले रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन मात्रै सदर भएको छ । कम्पनीमा १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सेयरका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गर्दा ६२ हजार ५१९ आवेदकले मात्रै सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको छ । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिन्छ । कम्पनीको आईपीओको नतिजा हेर्न बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडिएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओको रिजल्ट हेर्न संचालनमा ल्याएको गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट हेर्न सकिने छ ।
रकम चलखेलको अखडा बन्दै वैदेशिक रोजगार विभाग, कमिसनकै लागि राति १२ बजेसम्म काम
काठमाडौं । नेपाल सरकारका सबै कर्मचारीको कार्यालयको समय बिहान १० बजेबाट साँझ ५ बजेसम्म हुने गर्छ । सामान्यतयाः कार्यालय समयभन्दा बाहिर काम गर्दा कर्मचारीले भत्ता लिन्छन् । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको वैदेशिक रोजगार विभागका कर्मचारीले भत्ता नलिएर नै राति १२ बजेसम्म पनि काम गर्ने गरेको भेटिएको छ । मेनपावर व्यवसायीहरुका अनुसार विभागका कर्मचारीहरुले कमिसन पाउनकै लागि भएपनि राति १२ बजे पनि काम गरिदिने गरेका छन् । ‘अहिले अनलाइन प्रणालीबाटै पूर्व श्रम स्वीकृति दिने काम हुन्छ, कर्मचारीले अफिसमा अनेक बाहना गरेर काम गर्नै चाहँदैनन्, घर गएपछि कमिसन दिए मात्रै राति पनि काम गरिदिने कुरा गर्छन्, काम हुने भएपछि कमिसन दिनु पर्ने बाध्यता हामीलाई हुन्छ,’ ती व्यवसायीले विकासन्युजसँग भने । यस विषयको पुष्टि एक प्रिन्ट मिडियाका सञ्चालकले पनि गरे । काठमाडौंका एक प्रिन्ट मिडिया सञ्चालकले नाम नलेख्ने सर्तमा कर्मचारी र मेनपावर व्यवसायीबीच ठूलो रकमको लेनदेन हुने गरेको जानकारी दिए । पूर्व श्रम स्वीकृतिको काम अनलाइनबाट हुन थालेपछि विज्ञापनको लागि राति अबेर सम्म पर्खनुपर्ने अवस्था रहेको उनको अनुभव छ । पहिले विज्ञापन के कति छाप्नुपर्ने भन्ने कुरा कार्यालय समयमा नै जानकारी हुने गरेको भएपनि अनलाइन प्रणाली सुरु भएपछि आधा रातमा पनि विज्ञापन आउने गरेको उनको भनाइ छ । ‘अनलाइन प्रणाली नचलेको बेलामा मेनपावरहरुले कार्यालय समयमा नै आफ्नो के विज्ञापन छाप्ने हो भन्ने कुरा फोटो कपी गरेर ल्याउने गर्थे, कार्यालय समयमा नै सबै टुंगो हुने गर्दथ्यो, अहिले राति १२ बजेसम्म पनि विज्ञापन छाप्दिनुपर्यो भनेर फोन आउँछ’, उनले भने, ‘अनलाइन प्रणाली सञ्चालन भएपछि मेनपावर र कर्मचारीबीचको बार्गेनिङ हुँदै गर्दा कतिपय विज्ञापन स्वीकृतिको लागि समय लाग्ने गरेको व्यवसायीहरु बताउँछन् ।’ कोरोना महामारीको समयमा वैदेशिक रोजगारको क्षेत्रमा कामदारको माग घटेकोमा पछिल्लो समयमा पुनः बढ्न थालेको छ । वैदेशिक रोजगार कार्यालयले सोमबार मात्रै ५ सय भन्दा धेरै लट नम्बरको सूचना प्रकाशनको लागि अनुमति प्रदान गरेको थियो । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यका अनुसार वैदेशिक रोजगारको लागि श्रम स्वीकृतिको सम्पूर्ण काम वैदेशिक रोजगारको कार्यालय ताहाचलले गर्दै आएको छ । उनका अनुसार श्रम स्वीकृतिको सम्पूर्ण काम पछिल्लो समयमा पोखरा र बुटवलमा रहेका कार्यालयले पनि गर्दै आएका छन् । तर, वैदेशिक रोजगार कार्यालयकी प्रमुख शुसिला अर्यालले भने पूर्व श्रम स्वीकृतिको काम ताहाचलले मात्रै गरेको बताउँछिन् । केही वर्ष यता श्रम स्वीकृतिको काम सम्पूर्ण रुपमा अनलाइन प्रणालीबाट हुँदै आएको छ । डिजिटल युगको विकाससँगै हरेक कार्यालयलाई डिजिटल बनाउँदै लैजानु पर्दछ । तर, लाखौं नेपालीको रोजीरोटीसँग जोडिएको वैदेशिक रोजगार कर्यालयका सीमित कर्मचारीले डिजिटल प्रणालीको फाइदा उठाएको विषय विकासन्युजलाई प्राप्त भएको छ । स्रोतका अनुसार वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीले वैदेशिक रोजगार व्यवसायीलाई विज्ञापन प्रकाशन, अन्तर्वार्ता र अभिमुखिकरणका लागि लिनुपर्ने स्वीकृतिको लागि अनलाईन प्रणालीको दुरुपयोग गरेर व्यवसायीहरुसँग बार्गेनिङ गर्ने गरेका छन् । कतिपय विज्ञापन छाप्नको लागि व्यवसायीसँग लाखौं रुपैयाँ पैसा समेत लिएको खुलासा भएको छ । अनलाइन प्रणालीबाट आवेदन गरिएका विषयलाई ३ दिन भित्र सल्ट्यानुपर्ने व्यवस्था रहेको छ । तर, पूर्व स्वीकृति र श्रम स्वीकृतिको लागि गरिएको निवेदनको झण्डै ६० देखि ७० प्रतिशत काम मात्रै ३ दिनभित्र सम्पन्न हुने गरेको प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । उनले साना–साना कमजोरीहरुलाई देखाएर कर्मचारीहरुले समयमा काम नगर्ने गरेको बताए । १ दिनमा नै हुन सक्ने कामलाई पनि नीति देखाएर कर्मचारीहरुले ३ दिन लगाउने गरेको उनले बताए । ‘हामीले सबमिट गरेपछि ३ दिनमा अटोमेटिक रुपमा काम हुनु पर्ने हो, त्यो आइरहेको हुँदैन’, भण्डारीले भने, ‘३ दिन दिएको समयमा ६०÷७० प्रतिशत बढी काम त भइरहेको छ, बाँकी काममा समयमा गर्न पर्छ भन्ने हामीले अनुरोध गरिरहेका छौं ।’ पूर्वस्वीकृतिको काम पनि समयमा नहुने समस्या रहेको भण्डारीले बताए । डिजिटल रुपमा काम शुरु हुनुभन्दा अगाडि रोजगार व्यवसायीले कार्यालय समयमा नै आफ्ना आवेदनको स्वीकृति पाउने गरेकोमा अहिले त्यसको लागि जुनसुकै बेला छलफल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । जसले गर्दा रोजगार व्यवसायी र विज्ञापन छाप्ने मिडिया सबै पिडित हुन पुगेका छन् । अध्यक्ष भण्डारीले कर्मचारीहरुले अफिसमा आएर पुरा समय काम गर्नुपर्ने आफुहरुको माग रहेको बताए । अनलाइन प्रणालीको दुरुपयोगको बारेमा वैदेशिक रोजगार विभागका महानिर्देशक आचार्यसँग जिज्ञाशा राख्दा उनले वैदेशिक रोजगारका कार्यसम्पादनको क्षेत्रमा कतिपय समस्या रहेको स्वीकार गरे । उनका अनुसार केही समस्याहरु बारम्बार उठेपछि मन्त्रालयका सचिवको नेतृत्वमा एउटा टोली केही दिन अगाडि ताहाचलको कार्यालय पुगेर खबरदारी गरेको थियो । व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रमस्वीकृतिको सम्बन्धमा विभागमा वैदेशिक रोजगार व्यवसायीको तर्फबाट उजुरी नै परेपछि सो खबरदारी गर्न पुगेको थियो । रोजगार व्यवसायीहरुले विज्ञापन छपाइका लागि लिनुपर्ने पूर्व श्रम स्वीकृतिको सम्बन्धमा काम रोकेर अनलाइन प्रणालीको दुरुपयोग गरेको सम्बन्धमा भने आफूहरुलाई थाहा नभएको महानिर्देशक आचार्यले बताए । पूर्व श्रम स्वीकृति र श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागले सञ्चालन गरेको अनलाइन प्रणाली पूर्ण रुपमा स्वचालित छैन । अनलाइबाट जुनसुकै समयमा निवेदन गर्न पाइन्छ । तर, त्यसको भेरिफाई र स्वीकृति दिने काम भने कर्मचारी तहबाट नै हुने गरेको छ । विभागका महानिर्देशक आचार्यका अनुसार अहिलेसम्म सुब्बा तहको कर्मचारीले आवदेनमाथि अध्ययन गर्ने र अन्तिम स्वीकृति अधिकृत तहको कर्मचारीबाट हुने गरेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलकी प्रमुख शुशिला अर्यालले भने निवेदनको भेरिफाई र स्वीकृति गराउने काम उपसचिव स्तरबाट हुने गरेको बताइन् । महानिर्देशक आचार्यका अनुसार आगामी दिनमा भने सबै काम अधिकृत स्तरबाट गर्नको लागि विभागले निर्देशन गरिसकेको छ । वैदेशिक रोजगार विभागबाट विज्ञापन प्रकाशनको पूर्व स्वीकृति लिने कुरा अनलाइन प्रणालीबाट नै गर्नुपर्ने व्यवस्था रहेको छ । भाषा, परीक्षण, अभिमुखिकरण र अन्तर्वार्ताको लागि रोजगार व्यवसायीले आवश्यक कागजात पुरा गरेर अनुमति प्रकृयामा प्रवेश गर्ने व्यवस्था रहेको विभागका महानिर्देशक आचार्यले बताए । पूर्व श्रम स्वीकृतिको विज्ञापन छाप्नको लागि कार्यालय समय भन्दा बाहिर पनि विभागका कर्मचारीहरुले काम गरिरहेको सन्दर्भमा मन्त्रालयका प्रवक्ताले कर्मचारीहरुलाई व्यक्तिगत रुपमा पनि अनलाइन सिस्टमको पहुँच दिएकाले त्यसरी प्रयोग भएको हुनसक्ने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे बताउँछन् । ‘व्यक्तिगत पहुँच पनि दिएको छ, निश्चित व्यक्ति तोकिएको छ, उनीहरुले आफ्नो व्यक्तिगत आइडी लिएर काम गर्न सक्छन्’, उनले भने । त्यसरी सिस्टममा व्यक्तिगत पहुँच प्रदान गरिएको सन्दर्भमा उनले आकस्मिक रुपमा सेवा उपलब्ध गराउनु रहेको बताए । कार्यालय समय भन्दा बाहिरको समयमा पनि काम गर्ने विषयलाई ईंगित गर्दै महानिर्देशक आचार्यले वैदेशिक रोजगार कार्यालयका कर्मचारीलाई जुनसुकै समयमा आफ्नो काम गर्दिनको लागि दबाब आइरहेको बताए । साथै उनले कर्मचारीहरु सरुवा भएर सोही कार्यालयमा जान चाहिरहेको अवस्था पनि रहेको बताए । ‘कर्मचारीहरुलाई दबाब त आइरहेको छ, दबाब आउँछ र पनि काम गर्न बाध्य हुनुपर्यो’, उनले भने, ‘तरपनि कर्मचारीहरु त्यहीँ सरुवा भएर जान खोजे भन्ने पनि आयो, त्यसैले यस्तै विषय आएर हामीले त्यहाँ गएर सचेत गराएका छौं ।’ पूर्व श्रम स्वीकृतिको विज्ञापन छाप्नको लागि कार्यालय समयभन्दा बाहिर एप्रुभ दिने विषयलाई आफूले नोट गरेको महानिर्देशक आचार्यले विकासन्युजसँग बताए । वैदेशिक रोजगार कार्यालयका कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर पनि पूर्व श्रम स्वीकृतिको काम गर्दा के उनीहरुलाई ओभर टाइमको सुविधा गरिएको छ भन्ने सन्दर्भमा मन्त्रालयका प्रवक्ता घिमिरेले त्यसो नभएको तर उनीहरुको अनलाइनमा व्यक्तिगत पहुँच भएकोले प्रयोग गरेको हुनसक्ने बताए । अनलाइन प्रणालीमा व्यक्तिगत पहुँचको दुरुपयोगबारे उनले त्यस्तो विषय आएको आफूहरुले पनि सुनेको तर अब पहिलेको तुलनामा कति सुधार भएको छ भनेर हेर्नुपर्ने भनाइ राखे । ‘मान्छेहरुले दुरुपयोग गरेका छन् भन्ने आएको छ, हामीले पनि सुनेका छौं, पहिलाको तुलनामा कति सुधार भएको छ भनेर हेर्नुपर्छ’, उनले भने ।
यूनिलिभरले प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । यूनिलिभर नेपालले सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कार्त्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । साथै, कम्पनीले लाभांश प्रयोजनको लागि बुक क्लोजको मिति पनि तय गरिसकेको छ । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो । सम्बन्धित समाचार युनिलिभरमा एक लाख लगानी गर्नेको सम्पत्ति झण्डै १ करोड, यस्तो छ ११ वर्षको लाभांश
इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?
काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख २५ हजार १९० कित्ता सेयर शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकले आवेदन दिएका थिए । तर १ हजार ९९६ आवेदन विभिन्न कारणले रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन मात्रै सदर भएको छ । कम्पनीमा १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सेयरका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गर्दा ६२ हजार ५१९ आवेदकले मात्रै सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको छ ।
बैंकले ऋण दिन नसकेपछि साहु–महाजनको प्रवेश
बि.सं १९९४ मा नेपाल बैंक लि.को स्थापना भए पश्चात मात्र नेपालमा औपचारीक बैकिङको शुरुवात भएको देखिन्छ । करिब १३ बर्ष पश्चातमात्र केन्द्रीय बैंकको स्थापनाबाट औपचारिक बैंकिङ क्षेत्रको विकास तथा विस्तार भएको पाईन्छ । फलस्वरुप सम्पूर्ण नेपालीमा बैंकिङ्ग पहुँच अभिवृद्धी गर्ने अभिप्रायले बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु र सामुदायिक स्तरमा सहकारी संस्थाहरु स्थापना भए । यसले गर्दा एकातिर नेपाली जनतामा वित्तीय सेवाको पहुँचमा अभिबृद्धि भएको छ । स्थानीय साहु तथा महाजनबाट ऋण लिँदा तिर्नु पर्ने चर्को व्याजबाट शोषित हुनु पर्ने अवस्थामा सुधार आएको पाईन्छ । वित्तीय संस्थाको स्थापनासंगै आर्थिक रुपमा पिछिडिएका व्यक्ति तथा समुदायले समेत आफ्नो सीपको प्रयोग गर्ने विभिन्न किसिमको व्यवसाय सञ्चालन गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सुलभ ब्याजदरमा ऋण पाउने अवस्थाको सृजना भएको देखिन्छ । हालसम्म पनि नेपालको कुल जन संख्याको १८ प्रतिशत जनसख्या अझै पनि गरिबीको रेखामुनी रहेको र करिब २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेको अवस्था देखिन्छ । औपचारिक बैंकिङ्गको विकास तथा विस्तारको लामो इतिहास नरहेको नेपालमा गत आर्थिक बर्षदेखिको तरलताको अभावका कारण बैंक तथा वित्तीय क्षेत्रको ब्यवसाय विस्तार हुन सकेको छैन । फलस्वरुप ग्राहक तथा सदस्यहरुले नयाँ व्यवसायको थालनी गर्न र भैरहेकै ब्यवसाय विस्तार गर्न आवश्यक थप पुँजी सहजै पाउन नसक्ने अवस्थाको सृजना भएको देखिन्छ । यसले गर्दा देशको अर्थतन्त्रको चक्रमानै नकरात्मक प्रभाव परेको देखिन्छ । आर्थिक कारोबारको चक्रमा तरलता अभाव रहनु, विगतमा कम ब्याजदर कायम हुँदा लिएको ऋणको ब्याजदर अनपेक्षित रुपमा वृद्धि हुनु, चालू कर्जाको रुपमा लिएको ऋण नवीकरण नभई किस्ता किस्तामा तिर्ने (आवधिक) ऋणमा रुपान्तरित हुनु, ब्यापार ब्यवसायमा संकुचन आउनु लगाएका पीडा साना तथा मध्यम उद्यमी तथा ब्यवसायीहरुको रहेको छ । अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुले ती साना तथा मध्यम उद्यमी तथा ब्यवसायीहरु माथि ऋणको साँवा तथा ब्याज भुक्क्तानिमा गरेको ताकेता तथा लगाएको हर्जनाका कारण निकै तनावमा रहेको देखिन्छन । यस प्रकारको तनावकाबिच ब्यवसाय संचालन गरेका ब्यवसायीहरु ती बैंक तथा वित्तीय संस्थाको साँवा तथा ब्याज भुक्त्तानको लागी आनौपचारिक क्षेत्रबाट चर्को ब्याजदर तथा कडा शर्तहरु पुन: स्वीकार गरी आफुुलाई आवश्यक ऋण लिनु पर्ने अवस्था विकास भैरहेको देखिन्छ । यसले गर्दा औपचारिक वित्तीय सेवाको पहुँचमा रहका ब्यक्तिहरु समेत बैंक तथा वित्तीय संस्थाको यस प्रकारको ब्यवहार तथा शैलीका कारण अनौपचारिक माध्यमका वित्तीय सेवाहरुको प्रयोगमा विस्तार भै नव साहुमहाजनको पुनः प्रवेश हुन सक्ने देखिन्छ । जनु कुराहरु विगतमा मिटर ब्याज पीडितहरुले गरेको आन्दोलनले समेत इन्कित गर्दछ । यस प्रकारका नव साहु महाजनहरुको प्रवेश भएको खण्डमा बैंकिङ्ग ब्यवसाय तथा ती उद्यमीहरुको भविश्य पक्कै पनि सहज नहुन सक्ने देखिन्छ । यस प्रकारको गम्भीर अवस्था एकातर्फ रहेको छ भने अर्को तर्फ यस प्रकारको असहज परिस्थितिकाबिच बैंक तथा वित्तीय संस्थाहरुको नाफामा भने खासै संकुचन आएको देखिदैन । बैंक तथा वित्तीय संस्थाहरु स्थापनाका बिभिन्न उद्देश्यहरु रहेता पनि एक महत्वपूर्ण उद्देश्य सेवा समेत रहेको हुँदा ती बैंक तथा वित्तीय संस्थाका नाफा लगायत वित्तीय सूचकहरु राम्रा भएमामात्र राम्रो मान्ने नभै ग्राहक सदस्यहरुको सन्तुष्टिलाई मुल्याकङ्क गरी दण्ड तथा सजायको ब्यवस्था गर्नु पर्ने देखिन्छ । हालको तरलताको अभावको स्थीति आउनका पछाडि धेरै कारणहरु हुन सक्लान् तर अभावको स्थिती देखा परेपश्चात् बैंक तथा वित्तीय संस्था र ब्यवसायीहरु सबैंको हितमा तथा भविश्यको अवस्थालाई समेत ध्यान दिँदै अर्थतन्त्रमा नव साहुमहाजनको प्रवेशले भविश्यमा आउने समस्याहरु प्रति सजक हुँदै निराकरणका उपायहरु समेत उपनाउनु पर्ने देखिन्छ । (लेखक आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रबन्धक हुन् । )