म्याग्दीमा दाइँ लगाउने चलन हराउँदै
म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्नेक्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको छ । यसले धान स्याहार्ने बेलामा प्रयोग हुने परम्परागत प्रविधि र परम्परागत प्रचलन लोप हुने अवस्थामा पुगेको स्थानीय किसानले बताएका छन् । केही दशकअघिसम्म जिल्लाको अधिकांश स्थानमा धान पराल स्याहार्न मानिस र गोरुको प्रयोग हुँदै आएको थियो । धान झाटेर बाँकी रहेका धान झार्न र पराल माड्न गोरुबाट दाइँ लगाउने प्रचलन थियो । अहिले दाइँ लगाउने प्रचलन हराउँदै गएको बेनी नगरपालिका–२ का बेदप्रसाद उपाध्यायले बताए । ‘दश वर्षअघिसम्म गोरुको सहायताले दाइँ लगाउने चलन थियो’ उपाध्यायले भने, ‘पराल र धान स्याहार्न मान्छे हुन्थे, अहिले धान झार्न र पराल माड्न थ्रेसरको प्रयोग बढेको छ ।’ पराल माड्न मेह मियो बनाउने र त्यसैमा आठ/दश वटा गोरु घुमाउने चलन थियो । पहिले धान पाक्नासाथ धान काटेर मुठा बनाई झाँट्ने, गोरु धपाउँदै, पराल माड्दै, परालको भारी बनाउन मान्छेको भीड हुन्थ्यो । अहिले मानिसले गोरुसमेत पाल्न छाडेकाले दाइँ हाल्ने परम्परामा कमी आएको किसानको भनाइ छ । पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताए । ‘केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ’, उनले भने । गाउँ छिटो र सजिलोका लागि जोत्नका लागि ट्र्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्र्याक्टरको प्रयोग बढेको छ । धान झाँट्न र दाइँ गर्न एकैचोटी हुने भएकाले थ्रेसरकै प्रयोग गर्ने किसानको सङ्ख्या बढेको छ । जिल्लाको ज्यामरुककोट, रत्नेचौर, अर्मन, पुलाचौरलगायतका ठाउँका किसानले ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । श्रम, पैसा र समयको बचत हुने भएका किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै आएका छन्, कृषि यन्त्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारलेसमेत अनुदान दिँदै आएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै जाने हो भने केही वर्षभित्रै जिल्लामा गोरुको सहायताले दाइँ गर्ने प्रचलन हराउँदै जानसक्ने बताइएको छ । रासस
नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । योजनाका लाभांश वितरणको लागि कम्पनीले कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुनेछ । योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाइहरुको यहि कात्तिक २३ गते देखि बिक्रि खुला गरेको छ ।
लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु
काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ। बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुष्मान दाहाल बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए। प्रहरीका अनुसार घटना स्कुल बाहिर भएको थियो। गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा बसेका थिए। उनी ५ कक्षामा अध्ययरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार बालकको आज बिहान सवा २ बजे मृत्यु भएको हो। पोष्टमार्टमको लागि दाहालको शव टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएको छ।
सिबिआईएल क्यापिटलको सीइओमा सबिर बादे श्रेष्ठ नियुक्त
काठमाडाैं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतम सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । एसिसिए रहेका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । यस अगाडि उनी एनआईबिएल क्यापिटल मार्केट्स (२०१३ —२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनीसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।
प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा बिहिबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ र चाँदी १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
निर्वाचन खर्चको अनुगमन सुरु
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् । आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता, २०७९ को पालनसहित तोकेको हद सीमाभित्र रही खर्च गरे\नगरेको निगरानी गरी आचारसंहिताको दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिएको छ । आचारसंहिताा नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी साधनको प्रयोग भए/नभएको विषयमा आवश्यक निगरानीको व्यवस्था गरिएको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या र भूगोलका आधारमा प्रतिनिधिसभाको प्रत्यक्षका लागि २५ लाख देखि ३३ लाख रुपैयाँसम्म र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ लाखदेखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी हद निर्वाधरण गरेको छ । यस्तै समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभाका लागि सम्बन्धित दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदारको सङ्ख्या अनुसारप्रति उम्मेदवार दुई लाख रुपैयाँ र प्रदेशसभातर्फ एक लाख पचास हजार रुपैयाँ निर्धारण गरिएको छ । दल र उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम तथा निर्वाचन आचारसंहिता, २०७९ र सम्बन्धित निर्देशिका बमोजिम तोकिएको हदअन्तर्गत मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, गोष्ठी अन्तक्र्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम सामाजिक सञ्जालसमेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका क्षेत्रमा खर्च गर्न पाउनेछन् । आयोगले गत असोज १६ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचन खर्चको हद तोकेको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार नौ सय ५८ र तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार छ सय ६६ समेत गरी कूल एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई आयोगबाट जरिवानासहित कारबाही गरिएपछि निर्वाचन खर्चको विवरण दुरुस्त राख्न दल र उम्मेदवार बाध्य भएका छन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउनेलाई आयोगले जरिवाना तोक्नेछ । प्रत्यक्षतर्फ खर्चको सीमा निर्धारण गर्दा आयोगले निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत,मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भारलाई आधार मानेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । निर्वाचन खर्चको हिसाबकिताब आयोगले तोकेको ढाँचा र लेखाप्रणाली अनुसार राख्नुपर्ने र राजनीतिक दलको तर्फबाट हुने निर्वाचनसम्बन्धी स्वेच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्नुपर्नेछ । राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण दस दिनभित्र आयोगमा पठाउनुपर्नेछ । रासस
प्रभु बैंकका ग्राहकले मुस्ताङ ताजको सेवामा १० प्रतिशत छुट पाउने
काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले मुस्ताङको होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा छुट पाउने भएका छन्। प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनको ‘फुड’, ‘वेभरेज’ र ‘लजिङ’ सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ। सम्झौता अन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउने छन्।
उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
ढोरपाटन । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ। राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ-गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन्। बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ। वर्षा भयो भने धान नोक्सान हुने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन्। उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन्। उनीहरु आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन्। बागलुङका अधिकांश किसान यतिबेला धान काट्ने, गहुँ, जौँ छर्ने चटारोमा छन्। कामको मुख्य याममा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरुको धोको छ। प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्र्याउने चटारो। किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो। त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन्। खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरे। किसानले गाउँमा सिँचाइ, उन्नत जातका बिउ र मलको अभाव बर्सेनि हुने गरेको गुनासो गरेका छन्। खेतबारीमै पुग्ने उम्मेदवारलाई आफूहरुले सिँचाइको व्यवस्था गरी दिनुपर्ने माग गरेको गलकोटका कृषक प्रेमबहादुर खत्रीले बताए। उनले तिहार सकिएपछि धान स्याहार्न भ्याइनभ्याइ भएको भन्दै यही समयमा उम्मेदवार भोट माग्न बारीमा आइरहेको बताए। खत्री भन्छन्, ‘हामीलाई कति बेला धान स्याहार गर्ने भन्ने चिन्ता छ, नेतालाई भोटको, आकाश गाडाङगुडुङ गर्दा धान सबै सखाप हुन्छ की भन्ने पिर लाग्छ, नेताहरु बारीमै आएर नाटक गर्छन्, चुनाव जितेर गए भने नाक मुख देखाउँदैनन्, अहिले बारीमै आएर नानाथारी आश्वासन दिन्छन्, यसपालि जसले किसानको समस्या बुझ्छ, मर्म बुझ्छ, काम गर्न सक्छ उसैलाई भोट दिने हो।’ उनले गाउँमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धान, गहुँ सोचेअनुसारको उत्पादन गर्न नसकेको भन्दै सरकारबाट पाउनु अनुदानसमेत आफूहरुले पाउन नसकेको गुनासो गरे। उनले दिनदिनै फरक-फकर उम्मेदवार आएर आफूहरुलाई आश्वासन दिने बाहेक अरु काम नगरेको सुनाए। उनले भने, ‘कामको चटारो निकै छ, एकछिन पनि कुरा गर्ने समय छैन, नेताहरु आएर हैरान बनाउँछन्, सिँचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ राम्रोसँग उत्पादन गर्न सकिएको छैन, अबरु सिँचाइको व्यवस्था गरी दिए कति राम्रो हुँदो हो?’ ढोरपाटनका स्थानीय चूडामणि कार्कीले पछिल्लो केही दिययता उम्मेदवार तथा नेता भोट माग्न घरदेखि बारीसम्म आएको बताए। उनले उम्मेदवारलाई कृषकको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताए। कार्कीले यस क्षेत्रबाट धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताए। ‘हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नु भएन, अहिले पनि भोट माग्न दिनदिनै आउनुभएको छ, उहाँहरुलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईहरुको काम गर्छौं भनेका छन्,’ उनले भने। स्थानीय प्रेमनाथ पौडेलले नेताले बारीमै आएर भोट माग्न किसानलाई फकाइराखेको बताए। उनले जनतालाई नेताहरुले पटक-पटक आश्वासन मात्रै दिएको हुँदा धेरै निराश बनेको बताए। पौडेल समाज र जनताका लागि काम गर्ने नेताको खाँचो भएको बताउँछन्। पौडेलले भने, ‘अब नागरिक सचेत छन्, जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो, अब भाषण सुनेर भोट हालिन्न।’ दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा ३१ उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशतर्फ १८ र प्रतिनिधिसभातर्फ १३ उम्मेदवार छन्। बागलुङ क्षेत्र नम्बर १ मा छ जना र क्षेत्र नम्बर २ मा सात जना छन् भने क्षेत्र नम्बर १ (क) मा पाँच, (ख) मा चार जना, क्षेत्र नम्बर २ (क) मा दुई जना र (ख) मा सात उम्मेदवार छन्। रासस