विकासन्युज

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्किन्छिन्’, उनले भने, ‘राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ ।’ राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताए । राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज तथा यस क्षेत्रको भ्रमण गरेकी थिइन् । रासस

नेशनल लाइफ इन्स्योरेन्सले मंसिर १८ गतेको लागि बोलायो साधारणसभा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३१ औं साधारणसभाको लागि मंसिर १८ गते बैठक बोलाएको छ । इन्स्योरेन्सको बुधबार बसेको बैठकले ३१ औं साधारणसभाको लागि बैठक बोलाएको हो । कम्पनीले साधारणसभाबाट हाल कायम रहेको चुक्ता पुँजीमा चार अर्ब ३ करोड ५१ लाख रुपैयाँको १५ प्रतिशतले दरले बोनस सेयर र सोको कर प्रयोजनाका लागि तीन करोड १८ लाख ५६ हजार रुपैयाँ नगद लाभांश दिने विषेश प्रस्ताव पारित गर्ने जनाएको छ । कम्पनीले साधारणसभाको लागि मंसिर ८ गते एक दिनको लागि बुक क्लोज गर्ने छ । ७ गतेभित्र नेप्सेमा कारोबार भइ कायम हुन आउने सेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पुर्याइँदै

जुम्ला । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्याएको हो । नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले आज दुई पटक सेनाको एनए–५५ इसियु इक्विेरल हेलिकप्टरले जुम्लामा मतपत्र ओसारेको जानकारी दिए । उनका अनुसार विपद्का कारण कर्णाली राजमार्गबाट सहजै ढुवानी गर्ने अवस्था नभएपछि हेलिकप्टरमार्फत मतपत्र ल्याउनुपरेको हो । ‘मतपत्र काठमाडौंबाट सुर्खेतसम्म गाडीमा ल्याइए पनि त्यहाँबाट हेलिकप्टरमा जुम्ला ओसार्ने काम भइरहेको छ’, गणपति थापाले भने, ‘स्थानीय तहको निर्वाचनमा ठूलो क्षमतको ट्रकमा ल्याएका थियौँ तर यसपटकको विपद्ले सडक साँघुरो भएकाले हेलिकप्टरबाट मतपत्र ओसार्नुपरेको हो ।’ जिल्ला अदालत जुम्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आज हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र सुरक्षित तवरबाट जुम्ला आइपुगेको छ । अब समानुपातिकतर्फको चार हजार मत आउन बाँकी रहेको बताउँदै मुख्य निर्वाचन अधिकृत गौतमले भने, ‘जुम्लामा प्रतिनिधिसभका लागि प्रत्यक्षतर्फ ७६ हजार मतपत्र र प्रदेशसभा क का लागि ४१ हजार तथा प्रदेशसभा ख का लागि ३६ हजार मतपत्र माग गरिएको छ ।’ आज सुर्खेतबाट हेलिकप्टरमार्फत प्रत्यक्षतर्फको मतपत्र जुम्ला ल्याइने उनले बताए । जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६८ हजार छ सय ३८ मतदाता सङ्ख्या रहेको बताए । उनका अनुसार प्रदेश क मा ३६ हजार सात सय ८३ र प्रदेश ख मा ३१ हजार आठ सय ५५ रहेको मतदाता रहेका छन् । रासस

प्राधिकरणले जेनेरेटरमार्फत मुगु र हुम्लामा व्यवस्था गर्यो वैकल्पिक बिजुली

काठमाडाैं । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाले साना विद्युतगृहहरुमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ । पहिरो क्षति पुर्याएका विद्युतगृहहरुरु पुननिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्ने जनाएकाे छ । यसका लागि प्राधिकरणले जेनेरेटरको व्यवस्था ती जिल्लाहरुमा पुर्याइसकेको छ । गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले मुगुस्थित ४०० किलोवाटको गमगाढ र हुम्लास्थित ५०० किलोवाटको हेल्दुङ साना जलविद्युतगृहको नहरमा ठूलो क्षति पुर्याएको छ । नहरमा क्षति पुगी विद्युत उत्पादन बन्द भएपछि मुगु र हुल्ला जिल्ला विद्युतबिहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छैन । क्षति पुगेका विद्युतगृहरुका संरचनाको पुनर्निर्माण भइरहेको छ । प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि कालिकोटमा रहेको ३०० केभीए क्षमताको जेनेरेटर मुगुमा लगेको छ । हुम्लाकाे सिमिकोट र आसपासका क्षेत्रमा विद्युत आपूर्तिका लागि १२५ र १०० केभिएका जेनेरेटरहरुको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुल्लामा दुई हजार तीन सय ग्राहकहरु छन् । जेनेरेटहरु कुलेखानी विद्युत गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएका हुन् । प्राधिकरणले ती जेनेरेटहरु सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकोप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्याइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवसम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको थियो । प्राधिकरण र हुल्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले पहिरोले क्षति पुर्याएको हेल्दुङ विद्युतगृहको संरचनाहरु र त्यहाँ भइरहेको पुनर्निर्माणको स्थलगत निरीक्षण गरेको थियो । टोलीले एक महिनाभित्रमा पुनर्निमाणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलगायतलाई निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले साना विद्युतगृहको पुनर्निर्माण भइरहेको र यसका लागि अझै कम्तिमा एक महिना लाग्ने देखिएकोले यस अवधिमा त्यस क्षेत्रको विद्युतविहीनताको अवस्थाप्रति संवेदनशील भई तत्कालका लागि हेलिकोप्टरमार्फत जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको बताए । ‘जेनेरेटरमार्फत विद्युत उत्पादन गर्दा लागत प्रति युनिट ८० रुपैयाँभन्दा बढी पर्छ, तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम ३० रुपैयाँ मात्र उठ्छ, यहाँ खपत हुने विद्युतको आम्दानीभन्दा लागत दोब्बरभन्दा महँगो छ, तर सबैको घरमा उज्यालो पुर्याउने राज्यको दायित्व भएकोले नाफा नोक्सान नहेरी विद्युतलाई आधारभूत आवश्यकताको वस्तुको रुपमा लिएर हेलिकोप्टरमार्फत सामान ढुवानी गरेरै भएपनि आपूर्तिको व्यवस्था गरेका छौं’, घिसिङले भने । ‘क्षति पुगेका विद्युतगृहहरुको जतिसक्दो छिट्टो पुनर्निर्माण तथा मर्मत गर्ने छौं, तर त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन, तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्याउने गरी काम गरिरहेका छौं,’ उनले भने । हुम्लाकी प्रमुख जिल्ला अधिकारी परियारले स्थानीय सरकारी कार्यालय तथा प्राधिकरणबाट रकम जोहो गरिएको र जनश्रमदानमार्फतसमेत पहिरोले क्षति पुर्याएको विद्युतगृहको नहरको पुनर्निर्माण भइरहेको बताए । ‘पुनर्निर्माणमार्फत विद्युतगृह तत्कालका लागि सञ्चालनमा ल्याएपनि त्यो क्षेत्र विपद् जोखिमयुक्त भएकोले दीर्घकालीन हुँदैन, त्यसैले विद्युत आपूर्तिको स्थायी विकल्प खोजी गरी तत्काल काम सुरु गर्नु पर्छ’, उनले भने । मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले गमगाढ विद्युतगृहको पुनर्निर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्तिको व्यवस्था गर्न आग्रह गरे । उनले पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आफू तयार रहेको प्रतिबद्धता जनाए ।  

म्याग्दीमा दाइँ लगाउने चलन हराउँदै

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्नेक्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो १० वर्षयता धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको छ । यसले धान स्याहार्ने बेलामा प्रयोग हुने परम्परागत प्रविधि र परम्परागत प्रचलन लोप हुने अवस्थामा पुगेको स्थानीय किसानले बताएका छन् । केही दशकअघिसम्म जिल्लाको अधिकांश स्थानमा धान पराल स्याहार्न मानिस र गोरुको प्रयोग हुँदै आएको थियो । धान झाटेर बाँकी रहेका धान झार्न र पराल माड्न गोरुबाट दाइँ लगाउने प्रचलन थियो । अहिले दाइँ लगाउने प्रचलन हराउँदै गएको बेनी नगरपालिका–२ का बेदप्रसाद उपाध्यायले बताए । ‘दश वर्षअघिसम्म गोरुको सहायताले दाइँ लगाउने चलन थियो’ उपाध्यायले भने, ‘पराल र धान स्याहार्न मान्छे हुन्थे, अहिले धान झार्न र पराल माड्न थ्रेसरको प्रयोग बढेको छ ।’ पराल माड्न मेह मियो बनाउने र त्यसैमा आठ/दश वटा गोरु घुमाउने चलन थियो । पहिले धान पाक्नासाथ धान काटेर मुठा बनाई झाँट्ने, गोरु धपाउँदै, पराल माड्दै, परालको भारी बनाउन मान्छेको भीड हुन्थ्यो । अहिले मानिसले गोरुसमेत पाल्न छाडेकाले दाइँ हाल्ने परम्परामा कमी आएको किसानको भनाइ छ । पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताए । ‘केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ’, उनले भने । गाउँ छिटो र सजिलोका लागि जोत्नका लागि ट्र्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्र्याक्टरको प्रयोग बढेको छ । धान झाँट्न र दाइँ गर्न एकैचोटी हुने भएकाले थ्रेसरकै प्रयोग गर्ने किसानको सङ्ख्या बढेको छ । जिल्लाको ज्यामरुककोट, रत्नेचौर, अर्मन, पुलाचौरलगायतका ठाउँका किसानले ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । श्रम, पैसा र समयको बचत हुने भएका किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै आएका छन्, कृषि यन्त्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारलेसमेत अनुदान दिँदै आएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै जाने हो भने केही वर्षभित्रै जिल्लामा गोरुको सहायताले दाइँ गर्ने प्रचलन हराउँदै जानसक्ने बताइएको छ । रासस

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । योजनाका लाभांश वितरणको लागि कम्पनीले कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुनेछ । योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाइहरुको यहि कात्तिक २३ गते देखि बिक्रि खुला गरेको छ ।

लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ। बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय आयुष्मान दाहाल  बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए। प्रहरीका अनुसार घटना स्कुल बाहिर भएको थियो। गाडी विद्यालयबाट निस्किने बेलामा दुर्घटना भएको थियो। दाहाल बसको पछाडिको सिटमा बसेका थिए। उनी ५ कक्षामा अध्ययरत थिए। घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार बालकको आज बिहान सवा २ बजे मृत्यु भएको हो। पोष्टमार्टमको लागि दाहालको शव टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिएको छ।

सिबिआईएल क्यापिटलको सीइओमा सबिर बादे श्रेष्ठ नियुक्त

काठमाडाैं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतम सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । एसिसिए रहेका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । यस अगाडि उनी एनआईबिएल क्यापिटल मार्केट्स (२०१३ —२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनीसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।