विकासन्युज

बिहीबार बीमामा छायो हरियाली, चार कम्पनीको सेयर मूल्य बढ्यो, कसको कति ?

काठमाडौं । बिहीबारको सेयर बजारमा बीमा समूह हरियाली छाएको छ । राताम्मे देखिएको सो दिनको बजारमा निर्जीवन र जीवन बीमा समूह मात्रै हरिया देखिएका हुन् । जसमध्ये जीवन बीमा समूह १.४० अंकले बढेर ८ हजार ९३९ बिन्दुमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ०.६२ अंकले बढेर ७ हजार ७०१ बिन्दुमा पुगेको छ । बिहीबार दुई जीवन र दुई निर्जीवन गरी कूल चार वटा बीमा कम्पनीको सेयर मूल्य बढेको छ । जसमा जीवनको तर्फबाट नेशनल लाइफ र एशियन लाइफ रहेका छन् भने निर्जीवनको तर्फबाट राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्स रहेका छन् । जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य २.२९ प्रतिशतले बढेर प्रतिकित्ता ५८१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँले बढी हो । नेशनल लाइफले १५.७८९ प्रतिशत लाभांश प्रस्तावसहित मंसिर १८ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रयोजनको लागि मंसिर ८ गते एक दिन बुक क्लोज हुँदै छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा सामान्य अर्थात ०.०४ प्रतिशतले बढी हो । निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको पनि सेयर मूल्य बढेर प्रतिकित्ता १३ हजार १३२ रुपैयाँमा कारोबार भएको छ । जुन बुधबारको तुलनामा १.८० प्रतिशत अर्थात २३२ रुपैयाँले बढी हो । शिखर इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ७५४.९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ८.९० रुपैयाँ अर्थात १.१९ प्रतिशतले बढी हो ।

१०० बढी स्टार्टअपको सहभागितामा ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट’ हुँदै

काठमाडाैं । सातै प्रदेशको कार्यक्रम पश्चात लिभिङ विथ आइसिटीको आयोजनामा काठमाडौंस्थित बानेश्वर बैकुटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम हुने भएकाे छ । उक्त कार्यक्रममा सातै प्रदेशबाट छनौट भएकासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ फाइनलिस्टहरुको सहभागिता हुनेछन् । यसका अतिरिक्त फेस्टमा विभिन्न कलेजका विद्यार्थीले विकास गरेका इन्नोभेसन र रकेट साइन्स क्याम्प पनि आयोजना हुँदैछ । २ दिनसम्म चल्ने फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राख्ने छन् । स्टार्टअप एण्ड आईडिया फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्न सातै प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट सफलतापूर्वक सम्पन्न गरेपछि काठमाडौंमा पनि आयोजना गर्न लागेको कार्यक्रमका संयोजक राजन लम्सालले बताए । फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई÷भीआर लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । २ दिनसम्म सञ्चालन हुने फेस्ट १० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सन् २०१६ बाट सुरू भएको आइसिटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिँदै छ । यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो ।१३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोटको काम गरिरहेको छ । बुधबार मात्रै आइसिटी अवार्डका स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न गरिएको थियो । त्यस्तै सातै प्रदेशमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्टबाट छनोट भएका ४० बढी उत्कृष्ट स्टार्टअप तथा आईडियाहरूका लागि समेत मंगलबारदेखि बिहीबारसम्म ३ दिने बुटक्याम्प सञ्चालन भइरहेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।  

बैंकको बढ्दो ब्याजविरुद्ध काठमाडौंमा विरोध कार्यक्रम गर्दै व्यवसायीहरु

काठमाडौं । धान्ने नसक्ने गरी बैंकले ब्याज बढाएको भन्दै उद्योग व्यवसायीहरुले विरोध कार्यक्रम गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंकले बढाएको ब्याजविरुद्ध शुक्रबार माइतीघर मण्डलामा शान्तिपूर्ण मौन विरोध कार्यक्रम गर्ने भएको हो । संघले बैंक तथा वित्तिय संघ संस्थाहरूले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि गरको आरोप लगाएको छ । ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुकोविरुद्ध राज्यलाई सचेत गराउन तथा नियामक निकायबाट उपयुक्त कदमहरु चाँडो सम्बोधन होस् भनी ध्यानाकर्षण गराउन विरोध कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्ण्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजा आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ । यस सङ्क्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । रासस

तेह्रथुममा स्वास्थ्यचौकी नहुँदा सिटामोल पनि नपाइएको गुनासो

म्याङलुङ । कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गदै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आसामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकीको व्यवस्था नहुँदा जीवन कष्टकर रुपमा बिताउनु परेको उनीहरुको गुनासो छ । अहिले देशमा चुनाव लागेकाले नेता, तथा कार्यकर्ता भ्याइनभ्याइ गरी भोट माग्दै हिँड्न थालेका छन् । विसं २०१५देखि भोट दिँदै आएको छु, नेताले काम नगरेका हुन् की राम्रो उमेरदवार छान्न नजानेर हो हाम्रो गाउँको विकास जहाँको त्यही रहेको छ, ७५ वर्षीय कविन्द्र श्रेष्ठले पीडा पोखे । उहाँ मात्रै होइन त्यस ठाउँका अधिकांश बासिन्दाले उम्मेदवारसँग गाउँमा स्वास्थ्यचौकी भइदिए सिटामोलसम्म त खान पाइन्थोकी भनेर हरेक चुनावमा गुनासो गर्दै आएका छन् । राम्रो स्वास्थ्य सुविधा त के सिटामोल मात्रै खानकै लागि पनि एक दिनको बाटो हिँडेर जिल्ला अस्पताल धाउनु परेको अर्का स्थानीयवासी ज्ञानबहादुर श्रीपालीले बताए । चुनाव आउन केही दिन मात्र बाँकी भए पनि कुन उम्मेदवारलाई भोट दिने भन्ने निर्णय गर्न नसकिएको अर्का स्थानीयवासी अम्बिका कार्कीले जोड दिइन् । स्वास्थ्यचौकी जसले स्थापना गर्छ उसलाई नै मत दिने पक्षमा रहेको उनको भनाइ थियो । विगतका निर्वाचनमा थुप्रै नेतालाई जिताए पनि अहिलेसम्म कसैले पनि मन छुनेगरी काम गर्न नसकेको गुनासो गर्दै अम्बिकाले भनिन्, ‘हामीले विगतका चुनावमा धेरैलाई भोट दियौँ, खै उनीहरुले अहिलेसम्म हाम्रा लागि केही गरेको देखेनौं । जसलाई जितायौँ, उहाँहरु अहिले हामीसँग राम्रोसँग बोल्न पनि हुन्न । अरु के कुरा गर्नु र ? त्यसैले यस पटक राम्रो काम गर्ने जनप्रतिनिधिको खोजीमा छौँ । हामीलाई ठूला कुरा होइन्, काम चाहिएको छ ।’ उनले भनिन्, ‘अहिले देशमा रोजगार नपाएर हाम्रा छोराछोरीले विदेशिनु परेको छ । अब हामी जनता पहिलेको जस्तो कुरामा भुल्ने छैनौँ । हामी बुझ्ने भइसकेका छौँ ।’ भेलामा करिब एक सय जनाको हाराहारीमा गाउँले सहभागी थिए । खासमा उनीहरु नेताको खोक्रो भाषण सुन्नुभन्दा आफ्ना गुनासा पोख्नका लागि सहभागी भएका थिए । त्यस ठाउँका मतदातासँग मत माग्न प्रतिनिधिसभाको उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ र प्रदेशसभा १ का कांग्रेसकै उम्मेदवार सन्तोष सुुब्बालगायत गठबन्धन दलका नेता त्यहाँ पुगेका थिए । चुनाब आएसँगै सबै नेता गाउँ पस्छन्, जितेर गएपछि कोही फर्किंदैनन् । हामी गाउँलेको समस्या जहाको त्यही रहेको लालीगुराँस नगरपालिका–३ मुसाङ्खेलकी कमला कार्कीले गुनासो गरे । मङ्सिरको चटारो धमाधम काम गर्न छोडेर नेताका भाषण सुन्ने फुर्सद पनि छैन । खेतमा धान र बारीमा कोदो पाकिसकेको छ । कुन पार्टीका एजेन्डाले अहिलेसम्म हाम्रो गाउँको समस्या सम्बोधन गरेको छ र भन्दै उनले उम्मेदवारसँग गुनासो गरे । कार्की मात्र होइन वडा नं ६ का कृष्ण लिम्बूले भने, ‘गाउँ गाउँमा सडकको ट्र्याक खोल्ने त काम भयो तर स्तरोन्नति नभएर आफूले उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पुर्याउन नसकेको र बिरामी हुँदा अस्पतालसमेत लान गरो छ ।’ मतदाताले घरदैलो तथा भेटघाटमा आउने सबै नेताहरुलाई आ–आफ्ना गुनासा पोख्न थालेका छन् । चुनाव आउँदा मात्र नेता गाउँमा आउने र चुनाव जितेर गएपछि फेरि नफर्किने गरेकाले गाउँको विकास पछि परेको गीता बाँनियाले बताए । अघिल्लो जनप्रतिनिधिभन्दा असल विचार, जनताको हितमा काम गर्ने र आधुनिक कुरामा राम्रो ज्ञान भएको जुझारु उम्मेदवारलाई जिताउने पक्षमा रहेको अधिकांश मतदाताको भनाइ थियो । चुनावको समयमा मात्र देश विकासका कुरा गर्ने तर जितेपछि ती सबै कुरा भुलेर आफ्नो व्यक्तिगत सुख सयलमा रमाउनेले अब भोटको आश नगरे पनि हुन्छ । हामी त्यस्तालाई प्राथमिकता दिँदैनौ स्थानीयवासी देवीमाया कार्कीले जोड दिइन्। जसले आफ्नो होइन देशको चिन्ता गरोस्, देशभित्रै रोजगारी बढाउने कार्य गरोस् । देशमा बेरोजगारी मौलाएको छ । हजारौँ युवा विदेश पलायन भएका छन् । महँगी बढेर उस्तै छ । यत्ति हो अब चाँही अलि राम्रोलाई अवसर दिनुपर्ने उनको भनाइ थियो ।

बिहीबार १६.१४ अंकले घट्यो सेयर बजार, एभरेष्ट बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं । लगातार तीन दिन उकालो लागेको सेयर बजार बिहीबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसर बिहीबार नेप्से १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार १३ वटा उप-सूचांकहरूमा बीमा बाहेक सबै राताम्मे भएको छ । बिहीबारको सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा युनिलिभर नेपाल लिमिटेड र सबैभन्दा बढी घट्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था रहेको छ । यस्तै, सबैभन्दा बढी कारोबार गर्नेमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । आज २७ लाख ६७ हजार ५३९ लाख कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।  

यस्ता छन् जलजलाका नयाँ गन्तव्यहरु

कुश्मा । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहन्छन् त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेका छन् । ‘जैविक विविधताले भरिपूर्ण र अनेकौँ प्रजातिका चराचुरुङ्गी, जनावर, रुखबिरुवा र क्षेत्र पर्या–पर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्य हो ।’ पर्यावरणीय पर्यटनका लागि गाउँपालिकाले गन्तब्य पहिचानको काम पूरा गरिसकेको छ । कास्कीको विरेठाँटीदेखि म्याग्दीको घोरेपानी, मोहरेडाँडा र पुनहिलसम्म जाने अन्नपूर्ण सर्किटको एक पदमार्ग यही जलजला क्षेत्रमा पर्दछ । त्यस्तै माछामासु नखाने गाउँ, सुन्तलाको बगैँचाले ढाकेको गाउँ, मगर जातिको कला, संस्कृति र उनीहरुले सञ्चालन गर्ने पाहुना घर यस पालिकाका विशेषता हुन् । यहाँको कालञ्जर पहाड, ऐतिहासिक मल्लाज दरबार र दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिने फलामेडाँडासहितका गन्तब्य पर्यटकको पर्खाइमा छन् । ‘कुश्माको अर्मादीदेखि सजिलै गाडीमा बनौँसम्म पुग्न सकिन्छ र त्यहाँबाट तीन वटा जिल्ला पर्वत, बागलुङ र म्याग्दीको सदरमुकामलाई टाउको नहल्लाई एकसाथ देख्न सकिन्छ’, बनौँका वडाध्यक्ष गौबहादुर पुनले भने, ‘यही बाटो हुँदै कालञ्जर पहाड पुगेर एकसाथ १० जिल्लालाई नियाल्न पनि सकिन्छ ।’ कालञ्जर पर्वत हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको क्षेत्र हो, ‘कालञ्जर पर्वत’ । अहिले हम्पालको नामले पनि चिन्ने गरिएको छ । समुन्द्री सतहदेखि कालञ्जर पर्वत तीन हजारदेखि ३५ सय मिटरको उचाइमा छ । हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको हम्पाल क्षेत्रको धेरै भूभाग जलजला गाउँपालिकाको लेकफाँट र शालिजामा फैलिएको छ । पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको यस ठाउँबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, पुथा, माछापुछ्रे, मनास्लुलगायत १६ भन्दा बढी हिमाल देख्न सकिन्छ । त्यति मात्र नभएर पर्वत बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङसहित १० जिल्लाको अवलोकन गर्न सकिन्छ । ‘यस ठाउँमा फराकिलो र ठूलो दह छ, यहाँको पानीलाई एकीकृत गरेर ताल निर्माण गर्न सकियो भने पर्यटनको क्षेत्रमा समग्र जिल्लाले नै फड्को मार्ने देखिन्छ’, जलजला गाउँपालिकाका प्रवक्ता हरिविकास जिसीले भने, ‘जाडो मौसममा यस ठाउँ पूरै हिउँले ढाकिने हुँदा विदेशमा जस्तो हिउँमा खेलिने स्केटिङलगायतका खेल यहाँ खेल्न सकिन्छ । अन्य मौसममा चाहिँ डुङ्गा सयर गर्दै प्रकृतिको आन्नद उठाउन सकिन्छ ।’ फलामे डाँडा पर्यटकको पर्खाइमा बसिरहेको गन्तब्य हो फलामेडाँडा । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको सो ठाउँमा झण्डै १२ हेक्टर समथर जमिन छ । पहाडको टुप्पोमा समथर फाँट रहेको फलामे डाँडाबाट आँखै अगाडि हातैले छोइएला जस्तोे सेता हिमालका लोभलाग्दो दृश्य देख्न सकिन्छ । यहाँबाटसमेत धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरिलगायतका हिमालहरु र पहाडी भूगोलको मनोरम दृश्यले मनलाई आनन्दित बनाउँछ । गर्मी महिनामा पनि चिसो वातावरण हुने भएको हुँदा छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँदेखि पर्यटकहरु यहाँसम्म पुग्ने गर्छन् । कच्ची सडकका कारण यात्रा केही असहज हुने गरेको पर्यटकहरु सुनाउँछन् । ‘मिलनचोकदेखि गाडीमा आउँदा जम्मा आधा घण्टाको बाटो हो ।’, स्थानीय सोम पुर्जाले भने, ‘कच्ची सडकले गर्दा डेढ घण्टा जस्तो लाग्ने गर्छ । बर्खामा चाहिँ गाडी गुड्न धेरै नै समस्या हुन्छ । अप्ठ्यारो बाटो हँदा समेत एक रात बस्ने र बिहान हिमाल हेर्ने गरेर पर्यटक आउने गर्छन् ।’ अहिले यहाँ सामुदायिक पाहुनाघर सञ्चालनमा पनि ल्याइएको छ । करबाकेली पदमार्ग समेत रहेको हुँदा पुनहिल, घोडेपानी पुग्ने पाहुनालाई खान र बस्न सहजताका लागि स्थानीय बासिन्दाले सामुदायिक पाहुनाघर बनाएका हुन् । मल्लाज दरबार लामो समयदेखि खण्डहर जस्तै रहेको दरबार मर्मतसम्भार पछि रिसोर्टका रुपमा विकास भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आइपुग्ने गरेका छन् । नेपाली सेनाका तत्कालीन कर्णेल तेजबम मल्लले १९१८ सालमा मल्लाज दरबारको निर्माण गरेका थिए । अहिले उनका पनाति मुकुन्द मल्लले दरबारको पुर्ननिर्माण गरेका हुन् । ‘मल्लाज गाउँ र मल्लाज दरबारका बारेमा देशभरि थाहा पाउन मद्दत पुग्ने भएकाले दरबारलाई रिसोर्टका रुपमा पनि विकास गरेको हुँ’, उनले भने । उनका अनुसार दरबारको ऐतिहासिक महत्व बचाइराख्न पनि रिसोर्ट सञ्चालनले थप सहयोग पुर्याएको छ । राणाकालमा राजा सुरेन्द्रविक्रम शाहले कर्णेल तेजबमलाई उल्लेखनीय कार्य गरेको भन्दै ‘त्यस क्षेत्रको राज्य गर्नु’ भनी करिब ५० रोपनी क्षेत्रफलको जग्गा विर्ताका रुपमा दिएका थिए । कर्णेल तेजबमले सोही समय करिब २२ रोपनी क्षेत्रफलमा यस दरबारको निर्माण गराएका हुन्। उनको मृत्युपछि पछिल्लो पुस्ता यहाँ बसेनन् । जनयुद्धको समय दरबारमा तोडफोडसमेत गरिएको थियो । त्यतिबेला नै दरबारभित्र रहेका खुँडा, तरबार, बन्दुक, ढाल गोलीगठ्ठालगायतका ऐतिहासिक एवम् पुरातात्विक महत्वका सामग्री चोरी भएको थियो । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक यहाँ आइरहेको भेटिन्छन् । बेनी पुग्ने मुख्य सडकबाट ३० मिनेटको कच्ची सडकको यात्रापछि मल्लाज दरबार पुग्न सकिने भएकाले पनि मुस्ताङ हिँडेका पर्यटक एक रात दरबारमै बसेर बिहानीपख बाटो लाग्ने गरेका छन् । बराहताल जलजला–२ पूर्णगाउँको एकान्त ठाउँमा रहेको बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल रहेको छ । जनैपूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । यहाँ पूजाआजा र भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करीब डेढ घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ । यस ताल अंगे्रजी अक्षरको सी आकारमा फैलिएको छ । यस तालको पानी कहिल्यै नसुक्ने भएकाले गाउँलेले खानेपानी तथा सिँचाइका लागि प्रयोग गर्दै आएका छन् । ‘यो ताल मानव निर्मित नभई प्राकृतिक हो । पछि तालको संरक्षण गर्न तारबार लगाउने काम भएको छ’, स्थानीय युवा नवीन जिसीले भने, ‘तालको बीचमा रहेको रुख र जल बराह देउताको मूर्तिमा पूजाआज हुँदै आएको छ । ताल क्षेत्रमा आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा यसको सौन्दर्य र विशेषता गाउँमै सीमित बनेको छ ।’ बाँसर्खकको सुन्तला बाँसखर्कलाई सुन्तलाको पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । सुन्तलाकै कारण समग्र पर्वतलाई सुन्तलाको जिल्ला समेत भनेर चिन्ने गरिन्छ । यहाँको सुन्तलाको माग देशभरबाट उच्च रहेको छ । ढिलो समयसम्म पनि बोटमा रहने मीठो स्वाद भएका कारण बाँसखर्कको सुन्तलाको माग बजारमा बढी हुने गरेको कृषक बताउँछन् । ‘अन्य ठाउँको सुन्तला पाकेर सकिने बेला यहाँको सुन्तला पाक्न सुरु गर्छ’, कृषि ज्ञान केन्द्र पर्वतका कृषि प्रसार अधिकृत विश्वास काफ्लेले भने, ‘१० मेट्रिकटन प्रतिहेक्टरभन्दा माथि सुन्तला उत्पादन हुन्छ ।’ यहाँको मुख्य जीविकोपार्जनको आधार नै सुन्तलाखेती हो । वर्षमा झन्डै रु चार करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । बाँसखर्कमा जम्मा दुई सय ६१ घर रहेकामा दुई सय बढी घरहरूले सुन्तलाखेती गर्दै आएको जलजला गाउँपालिकाको भनाइ छ । सुन्तला बेच्ने मात्र नभएर पर्यटनसँग पनि जोडन सकिने कुरा कुश्माका युवा पर्यटन व्यवसायी नरेन्द्र केसीले बताए । ‘सुन्तलाको बोटहरुको जंगल नै छ’, उनले भने, ‘अहिले व्यापारी गाउँमा आउने र सुन्तला खरिद गरेर लैजाने काम मात्र भाको छ । हामीले यहाँको सुन्तलालाई पर्यटनसँग जोड्न सकेका छैनौँ । विदेशमा हुन्थ्यो भने ‘सुन्तला पर्यटन’ भनेर हजारौँ पर्यटक भित्र्याइसकेका हुन्थे ।’ माछा, मासु नखाने गाउँ माछा, मासु नखाने उपल्लो नाङलिवाङ गाउँमा धार्मिक तथा सांस्कृतिक पर्यटक भित्र्याउन सकिने सम्भावना देखिन्छ । यहाँका ४५ घरधुरीले माछा, मासु खान मात्र होइन पालेका समेत छैनन् । त्यति मात्र नभएर उनीहरुले लसुन र प्याज खान त परै जाओस् खेतीसमेत गरेका छैनन् । पहिले ऋषिमुनीहरुले तपस्या गर्ने स्थल भएकाले यस गाउँलाई शालिग्रामधाम भनेर पनि चिन्निछ । धार्मिक तथा सांस्कृतिक महत्व जोडिएकाले धेरै वर्षअघिदेखि मासुविनाको सात्विक भोजन गर्दै आएको गाउँलेको भनाइ छ । अन्यत्र ठाउँबाट विवाहबारी गरी यस ठाउँमा आएका बुहारीहरुले माछा, मासुदेखि प्याज लसुन सबै त्याग्नुपर्ने हुन्छ । आधुनिकतासँगै हुर्केका पछिल्लो पुस्ताका युवालेसमेत यस परम्परागत मूल्य र मान्यतालाई आत्मसात् गर्दै आएका छन् । स्थानीय हिन्दू धर्मभित्रको वैष्णव सम्प्रदायसँग नजिक छन् । ‘हिन्दू धर्म, संस्कृति र परम्परालाई नजिकबाट बुझ्न र अध्यन गर्न चाहनेहरुका लागि यस माछा मासु नखाने गाउँ धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्ने देखिन्छ’, स्थानीय अग्रज डण्डपाणि उपाध्यायले भने । जलजला गाउँपालिकाले पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई राष्ट्रियरुपमा चिनाउन म्याराथन दौड प्रतियोगिता राख्ने योजना बनाएको छ । ‘हाम्रोमा पर्यटकीय नयाँ गन्तव्य धेरै छन्, तर त्यसको प्रचार गर्न सकिरहेका छैनौँ’, गाउँपालिकाका अध्यक्ष राजु आचार्यले भने, ‘पर्यटनलाई सघाउन नेपालभरिका खेलाडीहरु ल्याएर म्याराथन दौड गर्दैछौँ, यसले राष्ट्रिय स्तरमै प्रचारप्रसारमा सहयोग पुग्छ भन्ने विश्वास छ ।’ रासस

कात्तिक २५ गतेदेखि कामना सेवाका ग्राहकलाई दराजमा ३ हजारसम्मको छुट

काठमाडौं । कामना सेवा विकास बैंक र दराज केयमुबीच सम्झाैता भएकाे छ । बैंक र दराजबीच बैंकका ग्राहकलाई दराजकाे ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको  हाे । कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकमहानुभवहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । दराजको ११.११ छुट योजना कार्तिक २५ गतेदेखि लागू हुने बैंकले जनाएक छ ।